यरूशलेम माता
बाइबलमा यरूशलेम माताचाहिँ जीवनको पानीको मूलको रूपमा दर्शाइएको यरूशलेमको वास्तविकता हुनुहुन्छ । परमेश्वरबाट अनन्त जीवनको प्रतिज्ञा पाएका ‘प्रतिज्ञाका सन्तान’हरूलाई बाइबलमा यरूशलेम माताका सन्तान भनिएको छ ।
यरूशलेम र मुक्ति
यशैया अगमवक्ताले, सबै जातिहरू यरूशलेममा आउनेछन् र तिनीहरूका आत्माले यरूशलेममा सान्त्वना पाउनेछन् भनी अगमवाणी गरे ।[१][२] अनि जकरियाले चाहिँ जीवनको पानी यरूशलेमबाट बगिनिस्केर सारा संसारतिर फैलनेछ भनी अगमवाणी गरे ।[३] अगमवाणीगत रूपमा यरूशलेम र हाम्रो आत्माको मुक्तिबीच नजिकको सम्बन्ध छ ।
मानिसहरूले प्यालेस्टाइनमा भएको यरूशलेमलाई पवित्र भूमि ठान्ने गर्छन् । मनको शान्ति र आशिष् प्राप्त गर्ने चाहनामा तिनीहरू यरूशलेमको तीर्थयात्रा गर्ने गर्छन् । तर वास्तवमा वर्तमान यरूशलेमचाहिँ शान्तिदेखि धेरै टाढा छ । योचाहिँ अन्तर्राष्ट्रिय समुदायमा द्वन्द्वको प्रतिनिधि सहर हो । ३ वटा धर्म(ख्रीष्टियान, यहूदी र इस्लाम), अनि २ वटा देश(इस्राएल र प्यालेस्टाइन)ले स्वामित्व दाबी गरेकाले यहाँ प्रायः विवाद चलिरहेको हुन्छ । पवित्र भूमिको केन्द्र, यरूशलेमको प्राचीन सहरचाहिँ यहूदी, अर्मेनियाली, ख्रीष्टियान र मुस्लिम गरी ४ वर्गमा विभाजित छ, र त्यहाँका सडकहरू सशस्त्र प्रहरी अधिकृतहरू र सिपाहीहरूले खचाखच भरिएको छ ।[४]
राजनीतिक र धार्मिक विवादको बीचमा परिरहने यरूशलेमचाहिँ बाइबलमा उल्लेखित मुक्तिको ठाउँ कदापि हुन सक्दैन । अझ भन्नुपर्दा, न्यायी परमेश्वरले[५] पृथ्वीको कुनै एउटा क्षेत्रलाई मुक्तिको स्थानको रूपमा तोक्नुहुन्न । कारण मुक्तिको चाह भए पनि प्यालेस्टाइनको यरूशलेमसम्म तीर्थयात्रामा जान नसक्ने मानिसहरू संसारमा असंख्य छन् । खासमा यशैया अगमवक्ता र जकरिया अगमवक्ताले लेखेका यरूशलेम सम्बन्धी वचनहरूचाहिँ स्वर्गीय यरूशलेम सम्बन्धी अगमवाणी हो ।
यरूशलेमको वास्तविकता
निश्चय नै स्वर्गीय यरूशलेमले स्वर्गमा रहेको परमेश्वरको सहरलाई जनाउँछ तर यसको अर्को अर्थ पनि छ । प्रेरित पावलले स्वर्गको यरूशलेमचाहिँ मुक्ति पाउने सन्तहरूकी आमा हुन् भनेर लेखेका छन् ।
तर माथि(स्वर्ग)को यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । अब हे भाइ हो, इसहाकजस्तै हामी पनि प्रतिज्ञाका सन्तान हौं ।
स्वर्गीय यरूशलेमचाहिँ हाम्रो ‘आत्माकी आमा (आत्मिक माता)’ हुनुहुन्छ । यरूशलेम मातालाई विश्वास गर्ने सन्तहरूलाई ‘प्रतिज्ञाका सन्तान’ भनिएको छ, र परमेश्वरको प्रतिज्ञाचाहिँ अनन्त जीवन हो ।[६] फेरि भन्नुपर्दा, अनन्त जीवन अर्थात् मुक्ति पाउने सन्तहरूको चाहिँ आत्मिक पिता (पिता परमेश्वर)[७] मात्र होइन तर आत्मिक माता (माता परमेश्वर) पनि हुनुहुन्छ । बाइबलको पहिलो अध्यायदेखि नै माता परमेश्वरको अस्तित्वको बारेमा लेखिएको छ ।
तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं ...” यसरी परमेश्वरले मानिस जातिलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।
परमेश्वरले आफूलाई एकवचनमा ‘मेरै’ नभन्नुभएर बहुवचनमा ‘हाम्रै’ भनेर अभिव्यक्त गर्नुभयो । उहाँले मानिसलाई परमेश्वरको स्वरूपमा सृष्टि गर्नुहुँदा नर र नारी सृष्टि भए । परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिस नर र नारी हुन् भने परमेश्वर पनि नर स्वरूपमा र नारी स्वरूपमा हुनुहुन्छ भन्ने अर्थ हो । अहिलेसम्म विश्वासीहरूले परमेश्वरचाहिँ नर स्वरूपमा मात्र हुनुहुन्छ भन्ठानेर उहाँलाई “पिता” भनेर पुकार्दैआएका छन् । तर बाइबलमा हेर्दा, नर स्वरूपका परमेश्वर मात्र होइनकि नारी स्वरूपकी ‘माता’ परमेश्वर पनि हुनुहुन्छ ।
अनन्त जीवन दिनुहुने माता

परमेश्वरले यावत् थोकलाई आफ्नो इच्छाबमोजिम सृष्टि गर्नुभयो ।[८] यस संसारका असंख्य जीवित प्राणीहरूमा बुबा र आमाबाट जीवन हस्तान्तरण हुन्छ । आकाशमा उड्ने चरा, पानीमा पौडने माछा र जमिनमा चलहल गर्ने जनावर ... सबैका बुबा र आमा हुन्छन् । मानिसको सन्दर्भमा पनि उस्तै हो । यो संसारमा आमाविना जन्मेको मानिस कोही छैन । निश्चय नै बुबा पनि हुनु त पर्छ, तर सन्तानलाई गर्भधारण गरेर जन्माउने कामचाहिँ आमाले गर्नुहुन्छ । परमेश्वरले सम्पूर्ण थोकलाई आफ्नो इच्छाबमोजिम सृष्टि गर्नुभएकोले जीवन जन्माउने मुख्य भूमिका निभाउने आमालाई सृष्टि गर्नुमा पनि निश्चित परमेश्वरको इच्छा छ । शारीरिक जीवन शारीरिक आमाद्वारा दिइएजस्तै अनन्त जीवन[६] पनि आत्मिक आमाद्वारा दिइन्छ । परमेश्वरको इच्छाबमोजिम सृष्टि भएका आदम र हव्वाद्वारा यो यथार्थतालाई निश्चित गर्न सकिन्छ । परमेश्वरको प्रतिरूपमा सृष्टि भएका पहिलो मानिस आदमले यो पृथ्वीमा आउनुभएका ख्रीष्ट, येशूज्यूलाई सङ्केत गर्दछन् ।[९] त्रिएकको सिद्धान्तअनुसार येशूज्यू स्वयम् पिता परमेश्वर हुनुहुन्छ । आदमचाहिँ पछि आउनुहुने पिता परमेश्वर सम्बन्धी अगमवाणी हो भने आदमकी पत्नी हव्वाचाहिँ पछि आउनुहुने माता परमेश्वर सम्बन्धी अगमवाणी हो ।
आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् ।
हिब्रू भाषामा ‘हव्वा’को अर्थ जीवन हो । परमेश्वरको स्वरूपमा सृष्टि भएकी पहिलो स्त्रीको नाउँ हव्वा अर्थात् जीवन राखिनुको कारणचाहिँ सन्तानलाई जीवन दिने मुख्य भूमिकाचाहिँ एउटी स्त्री अर्थात् आमाले निर्वाह गर्नुहुने भएकोले हो । हव्वालाई ‘जीवन’ र ‘सबै जीवितहरूकी आमा’ भनिएको बाइबलको वचनले, अनन्त जीवनचाहिँ अन्तिममा माता परमेश्वरद्वारा नै दिइन्छ भन्ने यथार्थतालाई दर्शाउँछ ।
यरूशलेम माता देखा पर्नुहुने
२,००० वर्षअघि येशूज्यूले “म अन्त्यको दिनमा जीवन दिनेछु” भनेर बारम्बार जोड दिनुभएको थियो ।
“र मलाई पठाउनुहुनेको इच्छा यो हो, कि उहाँले मलाई दिनुभएकाहरूमध्ये कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ ।”
अन्त्यको दिनमा जीवित पार्नेछु भन्ने वचनचाहिँ अन्त्यको दिनमा जीवन दिनेछु भन्ने अर्थ हो । येशूज्यूले ४ पटकसम्म दोहोऱ्याउनुहुँदै “अन्त्यको दिनमा जीवन दिनेछु” भन्नुभयो ।[१०] मुक्तिदाता हुनुभएका येशूज्यूले त्यतिखेरै जीवन दिन सक्नुहुन्थ्यो, तर जीवन दिने कार्यलाई उहाँले अन्त्यको दिनसम्म पछाडि सार्नुभयो । माता परमेश्वर देखा पर्नुहुने समयसँग यसको गहिरो सम्बन्ध छ । अनन्त जीवन दिनुहुने माता परमेश्वर अन्त्यका दिनहरूमा देखा पर्नुहुनेछ भनेर अगमवाणी गरिएको छ । यस्तो मुक्तिको प्रबन्धचाहिँ आकाश र पृथ्वीको सृष्टिको अगमवाणीमार्फत पनि जान्न सकिन्छ । ६ दिनको सृष्टि कार्य परमेश्वरको मुक्तिको प्रबन्ध सम्बन्धी अगमवाणी हो । सृष्टि-कार्यको अन्तिम दिन रहेको छैटौँ दिनमा हव्वा सृष्टि गरिनु भनेको मुक्तिको कार्यको अन्तिम समयमा माता परमेश्वर देखा पर्नुहुने कुराको अगमवाणी हो । परमेश्वरले सन्तहरूलाई प्रतिज्ञा गर्नुभएको अनन्त जीवन अन्ततः माता परमेश्वरद्वारा दिइन्छ । त्यसैले त येशूज्यूले, माता परमेश्वर देखा पर्नुहुने अन्त्यका दिनहरूमा जीवन दिनेछु भनेर बारम्बार भन्नुभएको हो । अन्तिम समयमा देखा पर्नुहुने माता परमेश्वरको बारेमा प्रत्यक्ष गरिएको अगमवाणी प्रकाशको पुस्तकमा देख्न सकिन्छ । प्रकाश अध्याय १९मा हेर्ने हो भने थुमाको विवाहको दिन आउनेछ र उहाँकी पत्नी स्वयम् तयार हुनुहुनेछ भन्ने अगमवाणी छ ।[११] प्रकाशचाहिँ येशूज्यूको स्वर्गारोहणपछि प्रेरित यूहन्नाले ई.सं. ९५ – ९६तिर लेखेका अगमवाणीको पुस्तक हो ।[१२] त्यसैले थुमा र उहाँकी पत्नी देखा पर्नुहुने यो दृश्य येशूज्यूको दोस्रो आगमनको समयमा पूरा हुनेछ । प्रेरित यूहन्नाले पनि, थुमाकी पत्नी को हुनुहुन्छ भन्नेबारे लेखेका छन् ।
तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” ... परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।
स्वर्गदूतले तिनलाई दुलही अर्थात् थुमाकी पत्नी देखाउनेछु भने, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम तिनलाई देखाए । यसकारण दुलही अर्थात् थुमाकी पत्नीलाई स्वर्गीय यरूशलेमको रूपमा दर्शाइएको छ । प्रेरित पावलले स्वर्गीय यरूशलेमचाहिँ स्वतन्त्र हुनुभएकी ‘हाम्री माता’ हुनुहुन्छ भनेर वर्णन गरे ।[१३] सन्तहरूलाई ‘प्रतिज्ञाका सन्तान’ र ‘स्वतन्त्र स्त्रीका सन्तान’ भनिएको छ ।[१४] परमेश्वरबाट अनन्त जीवनको प्रतिज्ञा पाई मुक्ति पाउने सन्तहरूका निम्तिचाहिँ स्वतन्त्र हुनुभएकी स्वर्गीय माता हुनुहुन्छ भन्ने कुरा तिनले प्रष्ट पारे । अनन्त जीवनचाहिँ अन्त्यको समयमा देखा पर्नुहुने स्वर्गीय यरूशलेम, माता परमेश्वरद्वारा दिइन्छ । जो कोही होस्, यदि ऊ अनन्त जीवन पाएर स्वर्ग जान चाहन्छ भने उसले पिता परमेश्वर साथै माता परमेश्वरलाई पनि विश्वास गर्नुपर्छ ।
यो पनि हेर्नुहोस्
सम्बन्धित भिडियो
- प्रवचन : थुमाकी पत्नी, नयाँ यरूशलेम
- प्रवचन : अनन्त जीवनचाहिँ स्वर्गीय माताद्वारा दिइन्छ
सन्दर्भ सामग्रीहरू
- ↑ "यशैया ६०:१-४"।
- ↑ "यशैया ६६:१०-१४"।
- ↑ "जकरिया १४:८"।
- ↑ "इस्राएल-प्यालेस्टाइन विवाद"। Global Conflict Tracker। मे १२, २०२२।
- ↑ "यशैया ३०:१८"।
- ↑ ६.० ६.१ "१ यूहन्ना २:२५"।
- ↑ "मत्ती ६:९"।
- ↑ "प्रकाश ४:११"।
- ↑ "रोमी ५:१४"।
- ↑ "यूहन्ना ६:४०-५४"।
- ↑ "प्रकाश १९:७"।
- ↑ "प्रकाश १:१"।
- ↑ "गलाती ४:२६"।
- ↑ "गलाती ४:२८-३१"।