थुमाकी पत्नी (दुलही)
प्रकाशको पुस्तकमा, अन्त्यका दिनहरूमा थुमाकी पत्नी(दुलही) मुक्तिदाताको रूपमा देखा पर्नुहुनेछ र सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा गर्नुहुन्छ भनेर अगमवाणी गरिएको छ । अन्त्यका दिनहरूमा दुलही देखा पर्नुको उद्देश्यचाहिँ अनन्त जीवन दिनको निम्ति हो । विवाह-भोजमा निमन्त्रणा पाएर दुलहा-दुलहीकहाँ जानेहरूले स्वर्गको राज्यमा प्रवेश गरी सदासर्वदा राज्य गर्नेछन् ।
थुमाको अर्थ
येशूज्यूको स्वर्गारोहणपछि हुन आउने कुराको विषयमा येशूज्यूले यूहन्नालाई प्रकाशमार्फत देखाइदिनुभयो । प्रकाशको पुस्तकचाहिँ ई.सं. ९६मा, प्रेरित यूहन्नाले पवित्र आत्माको प्रेरणाद्वारा लेखेका हुन् ।[१] यस पुस्तकमा, थुमाको विवाह-भोज सम्बन्धी अगमवाणी छ ।
“हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो ।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन् । अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन् ।”
थुमाको विवाह-भोजमा निमन्त्रणा पाउने धन्यको मानिस हुनलाई हामीले पहिला दुलहा र दुलहीलाई चिन्नुपर्छ । दुलहाचाहिँ थुमा हुनुहुन्छ, र दुलहीचाहिँ थुमाकी पत्नी हुनुहुन्छ । हामीले प्रायः देख्न सकेजस्तै, एउटै शब्दको पनि सन्दर्भअनुसार भिन्नाभिन्नै अर्थ हुन्छ । बाइबलमा थुमा भन्ने शब्दको तीन वटा फरक-फरक अर्थ यस प्रकार छ । पहिलो, थुमाले होमबलिको रूपमा चढाइने पशुलाई जनाउँछ ।[२]
दोस्रो, यसले परमेश्वरका प्रजा(सन्त)लाई जनाउँछ । येशूज्यूले आफूलाई गोठाला र आफ्ना प्रजालाई भेडासँग तुलना गर्नुभयो ।[३] स्वर्ग उचालिनुअघि येशूज्यूले पत्रुसलाई “मेरा भेडा(थुमा)हरूलाई खुवाऊ,” अर्थात् “मेरा प्रजाको हेरचाह गर” भन्नुभयो ।[४] अझै पनि आत्मिक रूपमा परिपक्व नभएका तर हेरचाहको खाँचो परेका आफ्ना प्रजालाई परमेश्वरले थुमाहरू भन्नुभयो ।
तेस्रो, यसले ख्रीष्टलाई जनाउँछ । पुरानो करारको समयमा बलि गरिने थुमाको वास्तविकताचाहिँ येशूज्यू हुनुहुन्छ ।[५] बप्तिस्मा-दिने यूहन्नाले येशूज्यूलाई देखेर “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा !” भने ।[६] प्रेरित यूहन्नाले येशूज्यूलाई “एउटा थुमा, जो मारिएको जस्तो देखा पर्नुहुन्थ्यो” भनेर लेखे ।[७]
यी ३ किसिमका अर्थमध्ये स्वर्गीय विवाह-भोजको थुमाले येशूज्यूलाई जनाउँछ । परमेश्वरका प्रजालाई थुमाको रूपमा वर्णन गरिएको पदलाई उद्धृत गर्दै, विवाह-भोजको थुमाले सन्तहरूलाई जनाएको छ भनेर जिद्दी गर्न मिल्दैन । प्रेरित यूहन्नाले प्रकाशमार्फत देखेका थुमाचाहिँ २,००० वर्षअघि आउनुभएका येशूज्यू होइनकि दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ । त्रिएकद्वारा हेर्दा पनि, आफ्नी दुलहीसँगै सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा गर्नुहुने थुमाचाहिँ पिता परमेश्वर हुनुहुन्छ ।
थुमाकी पत्नी(दुलही)को अर्थ
थुमा भन्ने शब्दको विभिन्न अर्थहरू भएजस्तै थुमाकी पत्नी(दुलही) भन्ने शब्दको पनि एकभन्दा बढी अर्थहरू छन् । पहिलो, यसले मण्डली(सन्तहरू)लाई जनाउँछ । ख्रीष्ट र मण्डलीबीचको सम्बन्धलाई प्रेरित पावलले, पति र पत्नीबीचको सम्बन्धसँग तुलना गरेका छन् ।[८][९] परमेश्वरले आदमका करङहरूमध्येबाट हव्वा बनाउनुभएर उनीहरूलाई एउटै शरीर भन्नुभएको पनि, वास्तवमा ख्रीष्ट र सन्तहरूबीचको प्रेमलाई देखाउनको निम्ति हो ।[१०]
तर प्रकाश अध्याय १९मा उल्लेखित स्वर्गीय विवाह-भोजमा उल्लेखित दुलहीचाहिँ मण्डली वा सन्त हुन सक्दैन । दुलहीचाहिँ पाहुनाहरूलाई निमन्त्रणा दिने पात्र हुन्, र पाहुनाहरूचाहिँ निमन्त्रणा पाउने पात्र हुन् । दुलही र पाहुनाहरू निश्चित रूपमा फरक-फरक पात्र हुन् । तसर्थ स्वर्गीय विवाह-भोजका निमन्त्रित व्यक्तिहरूचाहिँ सन्तहरू हुन् भन्ने कुरा प्रष्ट हुन्छ । येशूज्यूले विवाह-भोजको दृष्टान्तमा सन्तहरूलाई दुलही होइन तर पाहुनाको रूपमा वर्णन गर्नुभयो ।[११] साथै उहाँले आफ्ना चेलाहरूलाई दुलहाका पाहुनाहरू भन्नुभयो ।[१२] यदि दुलही सन्तहरू हुन् भने निमन्त्रित व्यक्तिहरू चाहिँ फेरि को हुन् भन्ने ठूलो अन्योल खडा हुन्छ । तसर्थ स्वर्गीय विवाह-भोजमा सहभागी भएर आशिष् पाउने पाहुनाहरूचाहिँ सन्तहरू हुन्, र सन्तहरूलाई आशिष् दिन निमन्त्रणा गर्नुहुने थुमाकी पत्नी(दुलही)चाहिँ मुक्तिदाता हुनुहुन्छ । जब यूहन्नाले थुमाकी पत्नीलाई देखे, तब तिनले यसरी लेखे :
तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।
स्वर्गदूतले यूहन्नालाई थुमाकी पत्नी, अर्थात् दुलही देखाउनेछु भनेर स्वर्गदेखि तलतिर झरिरहेको यरूशलेम देखाए । थुमाकी पत्नी हुनुभएकी यरूशलेमको वास्तविकताको बारेमा गलातीको पुस्तकमा वर्णन गरिएको छ ।
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।
‘हाम्री’ भन्ने शब्दले मुक्ति पाउने सन्तहरूलाई जनाउँछ, अनि स्वर्गीय यरूशलेमचाहिँ तिनै सन्तहरूकी ‘आमा’ हुनुहुन्छ । थुमाकी पत्नी(दुलही)चाहिँ माता परमेश्वर हुनुहुन्छ । थुमाले सन्तहरूलाई जनाएको बाइबलीय पदलाई प्रयोग गर्दै विवाह-भोजका थुमा पनि सन्त हुन् भनेर जिद्दी गर्न मिल्दैन । अनि ख्रीष्टकी पत्नीले सन्तहरूलाई जनाएको पदलाई प्रयोग गर्दै विवाह-भोजकी दुलहीचाहिँ सन्तहरू हुन् भन्न मिल्दैन । स्वर्गीय विवाह-भोजमा, दुलहा पिता परमेश्वर हुनुहुन्छ, र दुलहीचाहिँ माता परमेश्वर हुनुहुन्छ । पिता परमेश्वर(दोस्रो आगमनका येशूज्यू) र माता परमेश्वर(दुलही) देखा पर्नुभएर आफ्ना प्रजाहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा दिनुहुन्छ ।
थुमाकी पत्नी(दुलही) देखा पर्नुहुने
उद्देश्य
स्वर्गीय विवाह-भोजमा निमन्त्रणा पाउने सन्तहरूले अनन्त जीवन पाई स्वर्गको राज्यमा प्रवेश गर्नेछन् । थुमा र उहाँकी दुलही देखा पर्नुभएपछि यो कार्य पूरा हुन्छ । तसर्थ विवाह-भोजमा थुमाकी पत्नी स्वयम् तयार भएकी छिन् भन्ने कुराको अगमवाणीचाहिँ थुमाकी पत्नी हुनुभएकी माता परमेश्वर प्रकट हुनुभएर अनन्त जीवन दिनुहुनेछ भन्ने अर्थ हो ।
हामीले यसको अर्थलाई अदनको बगैँचामा भएका आदम र हव्वाद्वारा बुझ्न सक्छौं । आदमचाहिँ आउनुहुनेका प्रतिरूप हुन्[१३] भनिएकोले आदम र हव्वाले पिता परमेश्वर र माता परमेश्वरलाई जनाउँछन् । हव्वाको नाउँको अर्थ जीवन हुनु, र उनलाई ‘सबै जीवितहरूकी आमा’ भनिनुको कारण पनि हव्वाको रूपमा सङ्केत गरिनुभएकी माता परमेश्वरद्वारा अनन्त जीवन दिइने भएकोले हो ।
आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् ।
पिता परमेश्वर र माता परमेश्वर देखा पर्नुभएपछि सन्तहरू स्वर्गीय विवाह-भोजमा प्रवेश गरी अनन्त जीवन पाउने त्यो अगमवाणीगत दृश्यलाई यूहन्नाले, पवित्र आत्मा र दुलहीले हामीलाई जीवनको पानी दिनुहुन्छ भनेर लेखे ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
जीवनको पानी दिने अधिकारचाहिँ केवल मुक्तिदाता हुनुभएका परमेश्वरसँग मात्र छ ।[१४][१५] पवित्र आत्माचाहिँ पुत्र परमेश्वरसँग समान हुनुभएका पिता परमेश्वर हुनुहुन्छ । योजस्तै जीवनको पानी दिनुहुने दुलहीचाहिँ मुक्तिदाता परमेश्वर हुनुहुन्छ । त्यसैले जीवनको पानी दिनुहुने दुलही कदापि सन्त हुन सक्दैन । उचित समयमा पवित्र आत्मा हुनुभएका पिता परमेश्वर, अनि दुलही हुनुभएकी माता परमेश्वर देखा पर्नुभएर आत्मिक रूपमा तिर्खाइरहेका मानिसहरूलाई जीवनको पानीद्वारा बचाउनुहुनेछ ।
समय
प्रत्येक अगमवाणी उचित समयमा पूरा हुन्छ । सुरुदेखि नै पिता परमेश्वरसँगै कार्य गरिरहनुभएकी माता परमेश्वर पनि उचित समयमा देखा पर्नुहुन्छ ।[१६] अगमवाणीलाई हेर्दा, मुक्तिको प्रबन्धको अन्तिम युग अर्थात् ख्रीष्ट दोस्रो पल्ट देखा पर्नुहुने समयमा थुमाकी पत्नी देखा पर्नुहुन्छ ।
सृष्टिको इतिहासबाट पनि, थुमाकी पत्नी देखा पर्नुहुने अगमवाणीको समयबारे जान्न सकिन्छ । छैटौँ दिनमा परमेश्वरले पाल्तु पशुहरू र सबै किसिमका जीवित प्राणीहरू बनाउनुभई, अन्तिममा आदम र हव्वालाई बनाउनुभयो ।[१७] सातौँ दिन शबाथ-दिन अथवा सातौँ वर्ष शबाथ वर्षको प्रणालीअनुसार हेर्दा, छैटौँ दिनको सृष्टि-कार्यपछिको सातौँ दिन शबाथ-दिनले चाहिँ परमेश्वरको मुक्तिको प्रबन्ध समाप्ति भएपछिको अनन्त विश्रामलाई जनाउँछ ।[१८][१९][२०] शबाथ-दिनभन्दा ठीकअघि हव्वा सृष्टि भएको कुराले, हव्वाद्वारा सङ्केत गरिनुभएकी स्वर्गीय माता अनन्त विश्रामको ठीकअघिका पछिल्ला
दिनहरूमा देखा पर्नुहुन्छ भन्ने कुरालाई जनाउँछ ।
गवाही
२,००० वर्षअघि जस्तै, पिता परमेश्वर बाइबलको अगमवाणीअनुसार यो पृथ्वीमा दोस्रो पल्ट आउनुहुन्छ । त्यसपछि उहाँले माता परमेश्वरको विषयमा गवाही दिनुहुन्छ । दोस्रो आगमनका ख्रीष्टलाई अन्तिम समयका एलियाको[२१] रूपमा अगमवाणी गरिनुको कारणचाहिँ उहाँ पिता परमेश्वरचाहिँ माता परमेश्वरको विषयमा गवाही दिने मिसन लिएर आउनुहुने भएकोले गर्दा हो ।
मैले तेरा पर्खालहरूमा पहरा बस्नेहरू राखेको छु, ए यरूशलेम ! तिनीहरू न त दिनमा न रातमा चूपचाप बस्नेछन् । हे परमप्रभुलाई पुकार्ने हो, विश्राम नलेओ, र जबसम्म उहाँले यरूशलेमलाई स्थापित गरेर त्यसको महिमा पृथ्वीभरि फिँजाउनुहुन्न, तबसम्म उहाँलाई विश्राम गर्न नदेओ ।
पृथ्वीभरिबाट महिमा पाउनुहुने यरूशलेमले स्वर्गीय मातालाई जनाउँछ । परमप्रभुले यरूशलेमलाई स्थापित गर्नुहुने कुराले चाहिँ, पिता परमेश्वरले माता परमेश्वरको विषयमा गवाही दिनुहुन्छ भन्ने यथार्थता बुझाउँछ । थुमाकी पत्नी(दुलही)को विषयमा चाहिँ दोस्रो आगमनका ख्रीष्टले गवाही दिनुहुन्छ । विगतमा, आदमले पनि आफ्नी पत्नीको विषयमा गवाही दिएका थिए ।
जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नुभएको थियो, त्यसबाट एउटी स्त्री बनाउनुभई मानिसकहाँ ल्याउनुभयो । मानिसले भने, “यो त मेरै हाडको हाड र मासुको मासु हो ।”
आदमले आफ्नी पत्नीको नाउँ हव्वा(जीवन) राखे, र “यो त मेरै हाडको हाड र मासुको मासु हो”[२२] भने । आदमले आफ्नी पत्नीको नाउँ जीवन राख्नुको कारणचाहिँ दोस्रो आगमनका ख्रीष्टले जीवनको वास्तविकता हुनुभएकी माता परमेश्वरको बारेमा घोषणा गर्नुहुनेछ भन्ने कुराको छाया भएकोले गर्दा हो । बाइबलको अगमवाणीअनुसार दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले थुमाकी पत्नी(दुलही) हुनुभएकी स्वर्गीय माताको विषयमा गवाही दिनुभयो । पछिल्ला दिनहरूमा देखा पर्नुहुने स्वर्गीय पिता र स्वर्गीय मातालाई विश्वास गर्नेहरूचाहिँ थुमाको विवाह-भोजमा निमन्त्रणा पाएर अनन्त स्वर्गको राज्यमा प्रवेश गर्ने आशिषित मानिसहरू हुन् ।[२३]
यो पनि हेर्नुहोस्
- स्वर्गीय परिवार
- स्वर्गीय विवाह-भोज
- पिता परमेश्वर
- माता परमेश्वर
- पवित्र आत्मा र दुलही
- एलोहिम
- जीवनको पानी
सम्बन्धित भिडियो
- प्रवचन : थुमाकी पत्नी यरूशलेम, हाम्री माता हुनुहुन्छ
सन्दर्भ सामग्रीहरू
- ↑ "२ पत्रुस १:२०-२१"।
- ↑ "प्रस्थान १२:२१"।
- ↑ "यूहन्ना १०:१६"।
- ↑ "यूहन्ना २१:१५"।
- ↑ "१ कोरिन्थी ५:७"।
- ↑ "यूहन्ना १:२९"।
- ↑ "प्रकाश ५:६"।
- ↑ "एफिसी ५:२२-२३"।
- ↑ "२ कोरिन्थी ११:२"।
- ↑ "१ कोरिन्थी ६:१६-१७"।
- ↑ "मत्ती २२:१-१४"।
- ↑ "मर्कूस २:१९-२०"।
- ↑ "रोमी ५:१४"।
- ↑ "यर्मिया २:१३"।
- ↑ "यूहन्ना ४:१३-१४"।
- ↑ "प्रकाश १९:७"।
- ↑ "उत्पत्ति १:२४-३१"।
- ↑ "हिब्रू ४:४-६"।
- ↑ "२ पत्रुस ३:८"।
- ↑ अध्याय २४ पूर्ण र अपूर्ण, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङ, पेज नं. १४९, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड, ISBN: 978-89-6186-112-0
- ↑ "मलाकी ४:५"।
- ↑ "उत्पत्ति ३:२०"।
- ↑ "प्रकाश १९:९"।