पवित्रस्थान (पवित्र वासस्थान)
पवित्रस्थान भनेको पवित्र ठाउँ हो,[१] जहाँ परमेश्वर मानिसहरूका माझ वास गर्नुहुन्छ । पवित्रस्थानमा परमेश्वरको करारको वचन अर्थात्, दश आज्ञा खोपिएका वास्तविक शिला-पाटीहरू राखिएको थियो, र त्यो ठाउँबाट इस्राएलीहरूले पाप-क्षमा प्राप्त गर्दथे । यो बाहिरी कोठा र भित्री कोठा मिलेर बनेको हुन्छ, र पहिलो पवित्रस्थानचाहिँ पवित्र वासस्थान भन्ने अस्थायी पालको रूपमा रहेको थियो । पछि, स्थायी ठाउँमा निर्माण गरिएपछि यसलाई मन्दिर भन्न थालियो ।
नाम
पुरानो करार बाइबलमा, पवित्रस्थान भन्ने शब्दलाई हिब्रू भाषामा मिक्दास (מִקְדָּשׁ)[२] अथवा कोदेश (קֹדֶשׁ)[३] भनेर लेखिएको छ, जसको अर्थ हो, ‘पवित्र थोक’ हो । पवित्रस्थानलाई, परमेश्वर आफ्ना मानिसहरूका माझमा बस्नुहुने ठाउँ[४] अथवा परमेश्वरको मन्दिर भनिन्थ्यो ।[५]
कहिलेकहीँ पवित्रस्थानले बाहिरी कोठालाई मात्र जनाउँछ, र कहिले चाहिँ यसले बाहिरी र भित्री दुवै कोठालाई जनाउँछ, जसलाई महा-पवित्रस्थान पनि भनिन्छ । खुलाएर भन्नुपर्दा, यसले बाहिरी कोठा र भित्री कोठा रहेको संरचना(पवित्र वासस्थान) अथवा पूरै भवन(मन्दिर)लाई जनाउँछ । पवित्रस्थान बनेपछि, यसलाई पवित्र वासस्थान भन्न थालियो, किनभने यो बाटेको धागोद्वारा बनाइएको पाल थियो । साथै यहाँ परमेश्वरसित भेट गर्न सकिने भएकोले यसलाई भेट हुने पाल पनि भनिन्थ्यो । यो ठाउँमा गवाहीको सन्दूक (करारको सन्दूक) राखिने भएकोले यसलाई गवाहीको पाल पनि भन्ने गरिन्थ्यो ।[६]
पवित्रस्थानको संरचना

मोशाले बनाएको पवित्र वासस्थानचाहिँ चौडाइ ५० हात र लमाइ १०० हात भएको,[७] आयत आकारको अस्थायी मन्दिर थियो, जसलाई हिजोआजका पालहरूजस्तै सजिलैसित ठड्याउन र खोलेर राख्न मिल्थ्यो । इस्राएलीहरू उजाड-स्थानमा हिँडिरहनुपरेकोले तिनीहरूले एक ठाउँमा एउटा स्थायी भवन बनाउन सकेनन् ।
पवित्रस्थानको सबैभन्दा महत्त्वपूर्ण संरचना रहेको पवित्र वासस्थानचाहिँ हेर्दाखेरि एउटा जस्तो देखिन्थ्यो । तर त्यसको भित्री भागमा चाहिँ अगाडिको कोठा(पवित्रस्थान) र पछाडिको कोठा(महा-पवित्रस्थान)लाई अलग गर्ने एउटा पर्दा राखिएको थियो । पवित्रस्थान निर्माण गरिँदा, दिशा तोकिएको थियो: यसको पछाडिको भाग, जहाँ महा-पवित्रस्थान थियो, त्योचाहिँ पश्चिमतिर फर्केको हुनुपर्थ्यो भने यसको अगाडिको भाग, जहाँ प्रवेशद्वार थियो, त्योचाहिँ पूर्वतिर फर्केको हुनुपर्थ्यो ।[८][९]
पछि, यसलाई अस्थायी पालबाट एउटा स्थायी मन्दिरमा सारियो । यद्यपि यसको आधारभूत संरचना र दिशा भने उही नै रह्यो ।
पहिलाको करारमा आराधनाका धर्म-विधि र पार्थिव पवित्रस्थान पनि थिए । एउटा पवित्र वासस्थान तयार भएको थियो, जसको पहिलो कोठाभित्र सामदान, टेबिल र भेटीका रोटीहरू थिए । यसलाई पवित्रस्थान भनिन्थ्यो । दोस्रो चाहिँ पर्दाभित्र महा-पवित्रस्थान भनिने कोठा थियो, जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्दूक थियो । सन्दूकभित्र मन्न राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लहुरो र करारका शिला-पाटीहरू थिए ।
बाहिरी पवित्रस्थान
बाहिरी पवित्रस्थानचाहिँ पवित्रस्थानको ढोकादेखि पर्दाको अगाडिसम्मको भाग हो । त्यहाँ भेटीका रोटीका लागि टेबिल, सुनको सामदान र धूपको वेदी थियो ।
- भेटीको रोटीका लागि टेबिल : यो टेबिल बबुल काठद्वारा बनेको थियो, जसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ डेढ हात थियो । त्यो निखुर सुनले मोहोरिएको थियो र त्यसका चारैतिर सुनको बिट बनाइएको थियो । टेबिलमा उपस्थितिको रोटी(भेटीको रोटी) सधैँ राखिन्थ्यो, अनि सुनका थाल र भाँडाहरू साथै करुवा र कचौराहरू पनि राख्ने गरिन्थ्यो । उपस्थितिको रोटी मसिनो पीठोले पकाएर छ-छ वटाको लहर गरी दुई ताँती टेबिलमा राख्ने गरिन्थ्यो । हरेक शबाथमा, नयाँ रोटी राख्ने गरिन्थ्यो । अनि त्यो रोटीलाई प्रधान पूजाहारी र तिनका छोराले पवित्र वासस्थानको चोकमा बसेर खाने गर्थे ।[१०][११]
- सुनको सामदान : सामदानको दुवैपट्टि ३-३ वटा गरेर जम्मा ७ वटा हाँगाहरू, र प्रत्येक हाँगाको छेउमा बदामको फूलजस्तै एउटा कचौरा राख्ने गरिन्थ्यो । हाँगा, कचौरा, फूल र कोपिलाहरू सबै त्यही एउटै टुक्रा पिटेको निखुर सुनबाट बनाइएको हुनुपर्थ्यो ।[१२] त्यहाँ निखुर सुनले बनेको मोसादानी र सलेदाका चिम्टा राखिनुका साथै सामदानको अगाडि उज्यालो पार्नलाई सात वटा दियो प्रयोग गर्ने गरिन्थ्यो । पूजाहारीहरूले कुटेका भद्राक्षको शुद्ध तेलद्वारा दियोहरू बालेर त्यसलाई साँझदेखि बिहानसम्म राख्ने गर्थे ।[१३]
- धूपको वेदी : योचाहिँ बबुल काठले बनेको वेदी हो, जसको लमाइ एक हात, चौडाइ एक हात र उचाइ दुई हात थियो । माथिका चारै कुनाहरूमा सीङ थिए, र त्यो निखुर सुनले मोहोरिनुका साथै त्यसका वरिपरि सुनको बिट बनाइएको थियो । प्रत्येक बिहान र साँझ प्रधान पूजाहारीले सुगन्धित मसलाको धूप वेदीमा बाल्ने गर्थे ।[१४]
भित्री पवित्रस्थान (महा-पवित्रस्थान)
योचाहिँ पर्दापछाडिको भित्री भाग हो । यसको लमाइ, चौडाइ र उचाइ बराबर हुन्छ । करारको सन्दूक राखिएको ठाउँ भित्री पवित्रस्थान हो, जहाँ दश आज्ञा राखिन्छ । यो अति पवित्र ठाउँ भएकोले यसलाई महा-पवित्रस्थान भनिन्छ । महा-पवित्रस्थानभित्रचाहिँ कसैलाई पनि प्रवेश गर्ने अनुमति थिएन । वर्षमा एक चोटि, त्यो पनि प्रायश्चितको दिनमा पाप-बलिद्वारा पवित्र तेलले अभिषेक गरिएका प्रधान
पूजाहारी मात्र प्रवेश गर्न पाउँथे ।[१५][१६]
- पर्दा : करूबको बुट्टा भरिएको पर्दाले पवित्रस्थानको भित्री र बाहिरी भागलाई अलग गरेको थियो । भित्री पवित्रस्थानमा प्रवेश गर्नका लागि पर्दा हुँदै जानुपर्थ्यो ।[१७]
- करारको सन्दूक : पवित्र वासस्थानका सामग्रीहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण भाग नै करारको सन्दूक हो । यो बबुल काठले बनेको हुन्छ, र यसको लमाइ साढे दुई हात, चौडाइ साढे एक हात र उचाइ साढे एक हात आधा हुन्छ । यो निखुर सुनले मोहोरिनुका साथै यसमा चारैतिर सुनको बिट बनाइएको हुन्छ । यसका चारै खुट्टामा सुनका चार वटा मुन्द्रा लगाइएको हुन्छ, अनि लेवीहरूले सन्दूक बोक्नका लागि त्यसका दुवैतिर भएका मुन्द्राहरूमा डन्डाहरू हाले । तिनीहरूले गवाहीका शिला-पाटी(दश आज्ञाको शिला-पाटी)लाई करारको सन्दूकभित्र राखे ।[१८]
- सन्दूकको ढक्कन : करारको सन्दूकलाई ढाक्ने त्यो भागलाई ‘सन्दूकको ढक्कन’ भनिन्थ्यो । परमेश्वरले कृपा-आसनको माथि भएका दुई करूबका बीचबाट मोशासित भेट गर्ने कुरा मोशालाई बताउनुभयो । यी करूबहरूले चाहिँ अदनको बगैँचामा जीवनको रूखको पहरा गरिरहेका करूबहरूलाई जनाउँछ । अनि यहाँ भनिएको परमेश्वरको अनुग्रहले चाहिँ, मानिसहरूलाई दिइएको पाप-क्षमालाई जनाउँछ । सन्दूकको ढक्कनलाई ‘कृपा-आसन’ पनि भनिन्छ ।[१९]
पवित्र वासस्थानको चोक
योचाहिँ पवित्र वासस्थान(पूर्वी ढोका)को प्रवेशद्वारबाट प्रवेश गर्दा देखिने ठूलो ठाउँ हो । पवित्र वासस्थानको चोकमा ६० वटा खम्बाहरू र मसिनो गरी बाटेका सूती कपडाका ३०० हात लामो पर्दाले बार लगाइएको हुन्छ । ती खम्बाहरू पाँच हात(लगभग २.२५ मिटर) अग्लो भएकाले, ढोकाद्वारा बाहेक पवित्र वासस्थानभित्र के भइरहेको छ भनी हेर्न असम्भव थियो ।
- होमबलिको वेदी : योचाहिँ परमेश्वरलाई बलिदान चढाउनका लागि काँसाले बनाइएको वेदी हो ।[२०] पूजाहारीहरूले पवित्रस्थानमा प्रवेश गर्न र धूप बाल्नका लागि होमबलिको वेदीबाट आगो ल्याउने गर्थे ।[२१][२२]
- बाटा : योचाहिँ पूजाहारीहरूले हात र गोडा धुने पानीको बाटा हो । यसलाई होमबलिको वेदी र भेट हुने पालको प्रवेशद्वारको बीचमा राख्ने गरिन्थ्यो । पूजाहारीहरूले पवित्रस्थानमा प्रवेश गर्नुभन्दा अघि आफ्ना हात र गोडा धुने गर्थे ।[२३]
पवित्र वासस्थान र इस्राएलको इतिहास


मोशाले सीनै पर्वतमा दश आज्ञाको शिला-पाटी प्राप्त गर्दा परमेश्वरले तिनलाई स्वर्गीय पवित्रस्थान देखाउनुभयो ।[२४][२५] पर्वतबाट ओर्लेपछि मोशाले मानिसहरूलाई परमेश्वरको वचन सुनाए, र पवित्र वासस्थान निर्माण गर्नका लागि सुन, चाँदी, काँसा र बबुल काठ जस्ता विभिन्न भेटीहरू, र सिपालु मानिसहरू आवश्यक पर्ने कुरा बताए ।[२६] इस्राएलीहरूमध्ये राजीखुशीले दिन चाहनेहरू सबैले पवित्र वासस्थान निर्माणका लागि भेटी ल्याए ।[२७] तिनीहरूले हरेक दिन राजीखुशीका भेटीहरू ल्याएकाले पवित्र वासस्थान निर्माण गर्ने सामानहरूचाहिँ चाहिएको भन्दा ज्यादा भयो । तब मोशाले मानिसहरूलाई थप सामान ल्याउन रोके ।[२८] परमेश्वरका आत्माले भरिएका बजलेल र ओहोलीआब, र हरेक निपुण मानिसले पवित्र वासस्थान निर्माण गर्नका लागि करारको सन्दूक, पूजाहारीहरूको पोशाक लगायत सबै गरगहनाहरू बनाए । तब मोशाले ती कामहरू हेरे, र जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो, तिनीहरूले त्यस्तै नै गरे । अनि मोशाले ती सबैलाई आशीर्वाद मागिदिए । प्रस्थानपछिको दोस्रो वर्षको पहिलो महीनाको पहिलो दिनमा परमेश्वरले आज्ञा गर्नुभएबमोजिम मोशाले पवित्र वासस्थान निर्माणका लागि गरगहनाहरू ल्याए, अनि करारको सन्दूकमा दश आज्ञा(गवाहीको शिला-पाटी) राखेर चोकको प्रवेशद्वारमा पर्दा टाँगे । तब भेट हुने पाललाई बादलले छोप्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो । दिनमा चाहिँ बादलको खामो र रातमा चाहिँ आगोको खामो भएर परमेश्वरको बादल पवित्र वासस्थानमाथि देखा पर्थ्यो ।[२९] त्यस बेलादेखि सारा यात्राभरि इस्राएलका सबै घरानाहरूले देख्ने गरेर दिनमा बादलको खामो र रातमा चाहिँ आगोको खामोको रूपमा पवित्र वासस्थानमाथि रहिरहन्थ्यो ।
जब पवित्र वासस्थान निर्माण भयो, तब परमेश्वरले भेट हुने पाल(पवित्र वासस्थान)[३०]बाट मोशालाई बोलाउनुभयो, र पवित्रस्थानमा परमेश्वरलाई बलि चढाउने विधि विस्तृत रूपमा सिकाइदिनुभयो । परमेश्वरको वचनअनुसार, मोशाले हारून र तिनका छोराहरूलाई पूजाहारी नियुक्त गरे । बलिदान चढाएपछि मोशा र हारून भेट हुने पालभित्र प्रवेश गरे र बाहिर निस्केर मानिसहरूलाई आशीर्वाद दिए । तब परमेश्वरको महिमा सबै मानिसहरूमा प्रकट भयो । परमेश्वरको सामुन्नेबाट आगो निस्क्यो र वेदीमा भएको होमबलि र बोसोलाई भस्म पाऱ्यो ।
पछि, हारूनका दुई छोराहरू नादाब र अबीहूले, परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर बलिदान चढाए ।[२१][२२] त्यतिखेर परमप्रभुबाट आगो निस्केर उनीहरूलाई भस्म पाऱ्यो, र उनीहरू परमप्रभुको सामु मरे ।[३१] तिनीहरूको मृत्युपछि, परमेश्वरले हारूनलाई मृत्युबाट बच्नका लागि सन्दूकको ढक्कनको सामुन्ने पर्दाभित्र महा-पवित्रस्थानमा मनपरी नआउन भन्नुभयो (लेवी १६:१-२)[३२] । अनि पवित्रस्थानमा प्रवेश गर्दा, हारूनले आफ्नो र आफ्नो घरानाको निम्ति प्रायश्चित गर्न र मृत्युबाट बच्नको लागि आगोमा धूप हाल्नुपर्ने कुरा बताउनुभयो । पवित्र वासस्थान निर्माण भएपछि, इस्राएलका बाह्र कुलहरूले उत्तर, दक्षिण, पूर्व, र पश्चिम गरेर चारै दिशामा तीन-तीन वटा कुलका दरले पवित्र वासस्थानको वरिपरि छाउनी हाले । यहूदा, इस्साखार र जबूलूनका कुलहरू पूर्वमा, रूबेन, शिमियोन र गादका कुलहरू दक्षिणमा, एफ्राइम, मनश्शे र बेन्यामीन कुलहरू पश्चिममा, दान, आशेर र नप्तालीका कुलहरू उत्तरमा र लेवीहरू पवित्र वासस्थानको वरिपरि थिए । लेवीको कुललाई पवित्रस्थानको सेवा गर्ने जिम्मा दिइएको थियो, र तिनीहरूले प्रत्येक कुलको आम्दानीको दशांशको हक पाउँथे ।[३३][३४] इस्राएलीहरू प्रत्येकले आ-आफ्नो कुल र परिवारअनुसार छाउनी हाले । जब-जब पालमाथिबाट बादल हट्थ्यो, तब-तब इस्राएलीहरू प्रस्थान गर्थे, र जुन ठाउँमा बादल अडिन्थ्यो, त्यहीँ नै इस्राएलीहरूले पाल टाँग्थे ।[३५] बादल चाहे दुई दिन, एक महिना अथवा एक वर्ष, जति लामो समयसम्म पवित्र वासस्थानको माथि रहन्थ्यो, त्यो अवधिभर इस्राएलीहरू प्रस्थान गर्दैनथे ।
मोशाको पालामा बनाइएको पवित्र वासस्थानचाहिँ पछि इस्राएलीहरू कनानको भूमिमा प्रवेश गरेपछि शीलोमा निर्माण गरियो, र परमेश्वरको करारको सन्दूक पवित्र वासस्थानमा राखियो ।[३६] सोलोमनको पालामा, मोरीयाह डाँडामा यरूशलेम मन्दिर स्थापना गरियो, र तिनीहरूले पवित्रस्थानलाई मन्दिरमा सारे ।
पवित्रस्थानको भूमिका र अर्थ
दश आज्ञा, चाडहरू र पवित्रस्थानचाहिँ एउटा अविभाज्य संस्थाजस्तै एक-अर्कासँग अन्तर्सम्बन्धित छन् । परमेश्वरको करारको वचन रहेको दश आज्ञालाई हिफाजतसाथ राख्नको लागि पवित्रस्थानको आवश्यकता थियो, अनि पवित्रस्थामा परमेश्वरको सेवा गर्नका लागि चाडहरूको आवश्यकता थियो । साथै चाडमा चढाइने पाप-बलिद्वारा मानिसहरू शुद्ध भएर दश आज्ञा राखिएको पवित्रस्थान (जीवनको रूख)मा गई जीवन प्राप्त गर्न सक्थे ।
परमेश्वर वास गर्नुहुने ठाउँ
The most important reason why the sanctuary was regarded as the holy place is because God dwelled there. The sanctuary was called the LORD’s house as the dwelling place of God. It was also a symbol of God’s dwelling with His people. The tabernacle was also called the Tent of Meeting because they met God there.
पवित्रस्थानलाई पवित्र ठाउँको रूपमा लिइनुको सबैभन्दा महत्त्वपूर्ण कारणचाहिँ परमेश्वर त्यहाँ वास गर्नुहुने भएकोले हो । पवित्रस्थानलाई परमेश्वर वास गर्नुहुने परमप्रभुको घर भनिन्थ्यो,[४][३७][३८] र त्योचाहिँ परमेश्वर आफ्ना प्रजाहरूसँग वास गर्नुहुन्छ भन्ने कुराको सङ्केत पनि थियो ।[३९][४०] तिनीहरूले त्यो
ठाउँमा परमेश्वरसित भेट गर्ने भएकोले त्यसलाई भेट हुने पाल पनि भनिन्थ्यो ।[४१][४२][४३][४४]
दश आज्ञा राखिएको ठाउँ
परमेश्वरको आज्ञा, दश आज्ञाचाहिँ करारको सन्दूकको महा-पवित्रस्थानको भित्री भागमा राखिएको थियो ।[४५] परमेश्वरले करारको सन्दूकमा दश आज्ञाहरू राखिदिनुभएर त्यसमाथि(सन्दूकमाथि) दुई करूब अर्थात् स्वर्गदूतहरू भएको ढक्कन राखिदिनुभयो । अदनको बगैँचामा जीवनको रूखलाई पहरा गर्ने दुई करूबहरू करारको सन्दूकमा पनि राखिनाले, त्यहाँ जीवनको फल छ भन्ने कुरालाई दर्शाउँछ ।
पापीहरूलाई जीवनको रूखको फल खान निषेध गर्नका लागि अदनको बगैँचामा जीवनको रूखलाई पहरा गर्ने करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिएको थियो । त्यसै गरी महा-पवित्रस्थानमा करारको सन्दूकलाई पहरा गर्ने दुई करूबहरूसित पनि ज्वालामय तरवार थियो । यसकारण यदि कोही जथाभावी करारको सन्दूकको नजिक गयो भने ऊ मारिन्थ्यो । उज्जाहले संयोगवश करारको सन्दूकलाई छुँदा तिनी त्यहीँ मरे ।[४६] त्यसै गरी हारूनका दुई छोराहरूले परमेश्वरको विधिलाई मिचेकाले तिनीहरू आगोद्वारा भस्म भए ।[४७] फेरि भन्नुपर्दा, जीवनको फलको सट्टामा दश आज्ञा दिइएको हुनाले नै येशूज्यूले यस्तो शिक्षा दिनुभयो, “तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने आज्ञाहरू पालन गर ।”[४८]
पाप क्षमा हुने ठाउँ
परमेश्वर वास गर्नुहुने पवित्रस्थानमा पाप क्षमा गरिन्थ्यो । परमेश्वरले जीवनको फलको सट्टामा दिनुभएको दश आज्ञालाई पापीले सीधै ग्रहण गर्न सक्दैनथे । “रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन”(हिब्रू ९:२२)[४९] भनेर लेखिएजस्तै पाप-क्षमाको लागि पाप-बलिको रगत बगाइन आवश्यक थियो । हाबिलको समयदेखि नै, रगत बलि गर्ने रीति मौखिक रूपमा हस्तान्तरण हुँदैआएर मोशाको पालामा यसलाई संहिताबद्ध गरियो । पुरानो करारको समयमा, पूजाहारीहरूले मोशाको व्यवस्थाअनुसार मानिसहरूका पाप-क्षमाको निम्ति पवित्रस्थानमा पशु-बलिको रगत चढाउँथे । शबाथ-दिन र चाडहरूमा चढाइने बलिदानद्वारा, मानिसहरूका पापहरू केही समयको लागि पवित्रस्थानमा सारिन्थ्यो, र अन्ततः प्रायश्चितको दिनमा ती पापहरू छाडा छोडिने बोकामा सारिन्थ्यो । योचाहिँ नयाँ करारको समयमा सन्तहरूको पाप अस्थायी रूपमा ख्रीष्टमा सारिने, र त्यसपछि चाहिँ चाडमार्फत शैतान(दियाबलस)मा सारिने कुराको छाया हो । छाडा छोडिने बोका एकलास ठाउँमा भौंतारिएर मरेसँगै मानिसहरूका सबै पापहरू क्षमा हुन्थ्यो ।
पार्थिव पवित्रस्थान र स्वर्गीय पवित्रस्थान
The earthly sanctuary that Moses built is a copy and shadow of the heavenly sanctuary. Just as people had to go to the earthly sanctuary to receive the fruit of the tree of life after being cleansed through the blood of sacrifice of the sin offering, in the New Testament times we must be cleansed through the blood of Christ, who is the Lamb, in order to go to the tree of life in the heavenly sanctuary. We come to life by keeping the feasts that symbolize the blood of Christ.
मोशाले बनाएको पार्थिव पवित्रस्थानचाहिँ स्वर्गीय पवित्रस्थानको नकल र छाया हो ।[२५] पार्थिव पवित्रस्थानमा प्रवेश गरेर जीवनको फल प्राप्त गर्नको निम्ति चाहिँ पाप-बलिको रगतद्वारा पहिला शुद्ध हुनुपर्थ्यो । त्योजस्तै स्वर्गीय पवित्रस्थानमा भएको जीवनको रूखमा जानको निम्ति, थुमा हुनुभएका ख्रीष्टको रगतद्वारा पहिला शुद्ध हुनुपर्छ ।[५०][५१][५२] ख्रीष्टको अनमोल रगतलाई सङ्केत गर्ने सबै चाडहरू मानेमा हामीहरू जीवनमा प्रवेश गर्न सक्नेछौं ।
यो पनि हेर्नुहोस्
- महा-पवित्रस्थान
- मन्दिर
- करारको सन्दूक
- यरूशलेम
- नयाँ यरूशलेम
- पुरानो करारको बलिदान
- परमेश्वरका चाडहरू
- प्रायश्चितको दिन
बाह्य कडीहरू
सन्दर्भ सामग्रीहरू
- ↑ "sanctuary"। Britannica।
- ↑ "4720. Miqdash or miqqedash"। Bible Hub।
- ↑ "6944. qodesh"। Bible Hub।
- ↑ ४.० ४.१ "Exodus 25:8"।
- ↑ "Jeremiah 51:51"।
- ↑ "Numbers 9:15"।
- ↑ "Exodus 27:9–18"।
- ↑ "Exodus 26:22"।
- ↑ "Numbers 3:38"।
- ↑ "Exodus 25:23–30"।
- ↑ "Leviticus 24:8–9"।
- ↑ "Exodus 25:31–40"।
- ↑ "Exodus 27:20–21"।
- ↑ "Exodus 30:1-10"।
- ↑ "Leviticus 16:6–34"।
- ↑ "Hebrews 9:1–7"।
- ↑ "Exodus 26:31–33"।
- ↑ "Exodus 25:10–16"।
- ↑ "Exodus 25:17–21"।
- ↑ "Exodus 27:1–8"।
- ↑ २१.० २१.१ "Numbers 16:42–46"।
- ↑ २२.० २२.१ "Leviticus 16:12"।
- ↑ "Exodus 30:17–21"।
- ↑ "Exodus 25:1–9"।
- ↑ २५.० २५.१ "Hebrews 8:5"।
- ↑ "Exodus 35:4–19"।
- ↑ "Exodus 35:20–29"।
- ↑ "Exodus 35:30–36:7"।
- ↑ "Numbers 9:15"।
- ↑ "Leviticus 1:1"।
- ↑ "Leviticus 10:1–2"।
- ↑ "Leviticus 16:1–2"।
- ↑ "Numbers 3:5–8"।
- ↑ "Numbers 18:21"।
- ↑ "Numbers 2:1–34"।
- ↑ "Joshua 18:1"।
- ↑ "Psalms 122:1"।
- ↑ "Psalms 134:1"।
- ↑ "Psalms 114:2"।
- ↑ "Habakkuk 2:20"।
- ↑ "Exodus 25:22"।
- ↑ "Exodus 31:7"।
- ↑ "Exodus 33:7"।
- ↑ "Numbers 11:26"।
- ↑ "Genesis 3:24"।
- ↑ "2 Samuel 6:6-7"।
- ↑ "Leviticus 10:1–2"।
- ↑ "Matthew 19:17"।
- ↑ "Hebrews 9:22"।
- ↑ "Hebrews 10:19–20"।
- ↑ "Revelation 22:14"।
- ↑ "Revelation 7:14"।