पवित्रस्थान (पवित्र वासस्थान)

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
पवित्रस्थान (पवित्र वासस्थान)
पवित्रस्थान (पवित्र वासस्थान)

पवित्रस्थान भनेको पवित्र ठाउँ हो,[१] जहाँ परमेश्वर मानिसहरूका माझ वास गर्नुहुन्छ । पवित्रस्थानमा परमेश्वरको करारको वचन अर्थात्, दश आज्ञा खोपिएका वास्तविक शिला-पाटीहरू राखिएको थियो, र त्यो ठाउँबाट इस्राएलीहरूले पाप-क्षमा प्राप्त गर्दथे । यो बाहिरी कोठा र भित्री कोठा मिलेर बनेको हुन्छ, र पहिलो पवित्रस्थानचाहिँ पवित्र वासस्थान भन्ने अस्थायी पालको रूपमा रहेको थियो । पछि, स्थायी ठाउँमा निर्माण गरिएपछि यसलाई मन्दिर भन्न थालियो ।

नाम

पुरानो करार बाइबलमा, पवित्रस्थान भन्ने शब्दलाई हिब्रू भाषामा मिक्दास (מִקְדָּשׁ)[२] अथवा कोदेश (קֹדֶשׁ)[३] भनेर लेखिएको छ, जसको अर्थ हो, ‘पवित्र थोक’ हो । पवित्रस्थानलाई, परमेश्वर आफ्ना मानिसहरूका माझमा बस्नुहुने ठाउँ[४] अथवा परमेश्वरको मन्दिर भनिन्थ्यो ।[५]

कहिलेकहीँ पवित्रस्थानले बाहिरी कोठालाई मात्र जनाउँछ, र कहिले चाहिँ यसले बाहिरी र भित्री दुवै कोठालाई जनाउँछ, जसलाई महा-पवित्रस्थान पनि भनिन्छ । खुलाएर भन्नुपर्दा, यसले बाहिरी कोठा र भित्री कोठा रहेको संरचना(पवित्र वासस्थान) अथवा पूरै भवन(मन्दिर)लाई जनाउँछ । पवित्रस्थान बनेपछि, यसलाई पवित्र वासस्थान भन्न थालियो, किनभने यो बाटेको धागोद्वारा बनाइएको पाल थियो । साथै यहाँ परमेश्वरसित भेट गर्न सकिने भएकोले यसलाई भेट हुने पाल पनि भनिन्थ्यो । यो ठाउँमा गवाहीको सन्दूक (करारको सन्दूक) राखिने भएकोले यसलाई गवाहीको पाल पनि भन्ने गरिन्थ्यो ।[६]

पवित्रस्थानको संरचना

पवित्रस्थानको रेखाचित्र

मोशाले बनाएको पवित्र वासस्थानचाहिँ चौडाइ ५० हात र लमाइ १०० हात भएको,[७] आयत आकारको अस्थायी मन्दिर थियो, जसलाई हिजोआजका पालहरूजस्तै सजिलैसित ठड्याउन र खोलेर राख्न मिल्थ्यो । इस्राएलीहरू उजाड-स्थानमा हिँडिरहनुपरेकोले तिनीहरूले एक ठाउँमा एउटा स्थायी भवन बनाउन सकेनन् ।

पवित्रस्थानको सबैभन्दा महत्त्वपूर्ण संरचना रहेको पवित्र वासस्थानचाहिँ हेर्दाखेरि एउटा जस्तो देखिन्थ्यो । तर त्यसको भित्री भागमा चाहिँ अगाडिको कोठा(पवित्रस्थान) र पछाडिको कोठा(महा-पवित्रस्थान)लाई अलग गर्ने एउटा पर्दा राखिएको थियो । पवित्रस्थान निर्माण गरिँदा, दिशा तोकिएको थियो: यसको पछाडिको भाग, जहाँ महा-पवित्रस्थान थियो, त्योचाहिँ पश्चिमतिर फर्केको हुनुपर्थ्यो भने यसको अगाडिको भाग, जहाँ प्रवेशद्वार थियो, त्योचाहिँ पूर्वतिर फर्केको हुनुपर्थ्यो ।[८][९]

पछि, यसलाई अस्थायी पालबाट एउटा स्थायी मन्दिरमा सारियो । यद्यपि यसको आधारभूत संरचना र दिशा भने उही नै रह्यो ।


पहिलाको करारमा आराधनाका धर्म-विधि र पार्थिव पवित्रस्थान पनि थिए । एउटा पवित्र वासस्थान तयार भएको थियो, जसको पहिलो कोठाभित्र सामदान, टेबिल र भेटीका रोटीहरू थिए । यसलाई पवित्रस्थान भनिन्थ्यो । दोस्रो चाहिँ पर्दाभित्र महा-पवित्रस्थान भनिने कोठा थियो, जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्दूक थियो । सन्दूकभित्र मन्न राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लहुरो र करारका शिला-पाटीहरू थिए ।

हिब्रू ९:१-४


बाहिरी पवित्रस्थान

भेटीका रोटीका लागि टेबिल, सुनको सामदान र धूपको वेदी
भेटीका रोटीका लागि टेबिल, सुनको सामदान र धूपको वेदी

बाहिरी पवित्रस्थानचाहिँ पवित्रस्थानको ढोकादेखि पर्दाको अगाडिसम्मको भाग हो । त्यहाँ भेटीका रोटीका लागि टेबिल, सुनको सामदान र धूपको वेदी थियो ।

  • भेटीको रोटीका लागि टेबिल : यो टेबिल बबुल काठद्वारा बनेको थियो, जसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ डेढ हात थियो । त्यो निखुर सुनले मोहोरिएको थियो र त्यसका चारैतिर सुनको बिट बनाइएको थियो । टेबिलमा उपस्थितिको रोटी(भेटीको रोटी) सधैँ राखिन्थ्यो, अनि सुनका थाल र भाँडाहरू साथै करुवा र कचौराहरू पनि राख्ने गरिन्थ्यो । उपस्थितिको रोटी मसिनो पीठोले पकाएर छ-छ वटाको लहर गरी दुई ताँती टेबिलमा राख्ने गरिन्थ्यो । हरेक शबाथमा, नयाँ रोटी राख्ने गरिन्थ्यो । अनि त्यो रोटीलाई प्रधान पूजाहारी र तिनका छोराले पवित्र वासस्थानको चोकमा बसेर खान्थे ।[१०][११]
  • सुनको सामदान : सामदानको दुवैपट्टि ३-३ वटा गरेर जम्मा ७ वटा हाँगाहरू, र प्रत्येक हाँगाको छेउमा बदामको फूलजस्तै एउटा कचौरा राख्ने गरिन्थ्यो । हाँगा, कचौरा, फूल र कोपिलाहरू सबै त्यही एउटै टुक्रा पिटेको निखुर सुनबाट बनाइएको हुनुपर्थ्यो ।[१२] त्यहाँ निखुर सुनले बनेको मोसादानी र सलेदाका चिम्टा राखिनुका साथै सामदानको अगाडि उज्यालो पार्नलाई सात वटा दियो प्रयोग गर्ने गरिन्थ्यो । पूजाहारीहरूले कुटेका भद्राक्षको शुद्ध तेलद्वारा दियोहरू बालेर त्यसलाई साँझदेखि बिहानसम्म राख्ने गर्थे ।[१३]
  • धूपको वेदी : योचाहिँ बबुल काठद्वारा बनेको वेदी हो, जसको लमाइ एक हात, चौडाइ एक हात र उचाइ दुई हात थियो । माथिका चारै कुनाहरूमा सीङ थिए, र त्यो निखुर सुनले मोहोरिनुका साथै त्यसका वरिपरि सुनको बिट बनाइएको थियो । प्रत्येक बिहान र साँझ प्रधान पूजाहारीले सुगन्धित मसलाको धूप वेदीमा बाल्ने गर्थे ।[१४]

भित्री पवित्रस्थान (महा-पवित्रस्थान)

करारको सन्दूकको रूप : गवाहीको सन्दूकलाई ढाक्ने ढक्कनचाहिँ कृपा-आसन हो ।
करारको सन्दूकको रूप : गवाहीको सन्दूकलाई ढाक्ने ढक्कनचाहिँ कृपा-आसन हो ।

योचाहिँ पर्दापछाडिको भित्री भाग हो । यसको लमाइ, चौडाइ र उचाइ बराबर हुन्छ । करारको सन्दूक राखिएको ठाउँ भित्री पवित्रस्थान हो, जहाँ दश आज्ञा राखिन्छ । यो अति पवित्र ठाउँ भएकोले यसलाई महा-पवित्रस्थान भनिन्छ । महा-पवित्रस्थानभित्रचाहिँ कसैलाई पनि प्रवेश गर्ने अनुमति थिएन । वर्षमा एक चोटि, त्यो पनि प्रायश्चितको दिनमा पाप-बलिद्वारा पवित्र तेलले अभिषेक गरिएका प्रधान

पूजाहारी मात्र प्रवेश गर्न पाउँथे ।[१५][१६]

  • पर्दा : करूबको बुट्टा भरिएको पर्दाले पवित्रस्थानको भित्री र बाहिरी भागलाई अलग गरेको थियो । भित्री पवित्रस्थानमा प्रवेश गर्नका लागि पर्दा हुँदै जानुपर्थ्यो ।[१७]
  • करारको सन्दूक : पवित्र वासस्थानका सामग्रीहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण भाग नै करारको सन्दूक हो । यो बबुल काठले बनेको हुन्छ, र यसको लमाइ साढे दुई हात, चौडाइ साढे एक हात र उचाइ साढे एक हात आधा हुन्छ । यो निखुर सुनले मोहोरिनुका साथै यसमा चारैतिर सुनको बिट बनाइएको हुन्छ । यसका चारै खुट्टामा सुनका चार वटा मुन्द्रा लगाइएको हुन्छ, अनि लेवीहरूले सन्दूक बोक्नका लागि त्यसका दुवैतिर भएका मुन्द्राहरूमा डन्डाहरू हाले । तिनीहरूले गवाहीका शिला-पाटी(दश आज्ञाको शिला-पाटी)लाई करारको सन्दूकभित्र राखे ।[१८]
  • सन्दूकको ढक्कन : करारको सन्दूकलाई ढाक्ने त्यो भागलाई ‘सन्दूकको ढक्कन’ भनिन्थ्यो । परमेश्वरले कृपा-आसनको माथि भएका दुई करूबका बीचबाट मोशासित भेट गर्ने कुरा मोशालाई बताउनुभयो । यी करूबहरूले चाहिँ अदनको बगैँचामा जीवनको रूखको पहरा गरिरहेका करूबहरूलाई जनाउँछ । अनि यहाँ भनिएको परमेश्वरको अनुग्रहले चाहिँ, मानिसहरूलाई दिइएको पाप-क्षमालाई जनाउँछ । सन्दूकको ढक्कनलाई ‘कृपा-आसन’ पनि भनिन्छ ।[१९]

पवित्र वासस्थानको चोक

बाटा र होमबलिको वेदी
बाटा र होमबलिको वेदी

योचाहिँ पवित्र वासस्थान(पूर्वी ढोका)को प्रवेशद्वारबाट प्रवेश गर्दा देखिने ठूलो ठाउँ हो । पवित्र वासस्थानको चोकमा ६० वटा खम्बाहरू र मसिनो गरी बाटेका सूती कपडाका ३०० हात लामो पर्दाले बार लगाइएको हुन्छ । ती खम्बाहरू पाँच हात(लगभग २.२५ मिटर) अग्लो भएकाले, ढोकाद्वारा बाहेक पवित्र वासस्थानभित्र के भइरहेको छ भनी हेर्न असम्भव थियो ।

  • होमबलिको वेदी : योचाहिँ परमेश्वरलाई बलिदान चढाउनका लागि काँसाले बनाइएको वेदी हो ।[२०] पूजाहारीहरूले पवित्रस्थानमा प्रवेश गर्न र धूप बाल्नका लागि होमबलिको वेदीबाट आगो ल्याउने गर्थे ।[२१][२२]
  • बाटा : योचाहिँ पूजाहारीहरूले हात र गोडा धुने पानीको बाटा हो । यसलाई होमबलिको वेदी र भेट हुने पालको प्रवेशद्वारको बीचमा राख्ने गरिन्थ्यो । पूजाहारीहरूले पवित्रस्थानमा प्रवेश गर्नुभन्दा अघि आफ्ना हात र गोडा धुने गर्थे ।[२३]

पवित्र वासस्थान र इस्राएलको इतिहास

पवित्र वासस्थान निर्माण
पवित्र वासस्थानको माथि, दिनमा बादलको खामो र रातमा आगोको खामो थियो, जसले परमेश्वरको उपस्थितिलाई सङ्केत गर्दछ ।

मोशाले सीनै पर्वतमा दश आज्ञाको शिला-पाटी प्राप्त गर्दा परमेश्वरले तिनलाई स्वर्गीय पवित्रस्थान देखाउनुभयो ।[२४][२५] पर्वतबाट ओर्लेपछि मोशाले मानिसहरूलाई परमेश्वरको वचन सुनाए, र पवित्र वासस्थान निर्माण गर्नका लागि सुन, चाँदी, काँसा र बबुल काठ जस्ता विभिन्न भेटीहरू, र सिपालु मानिसहरू आवश्यक पर्ने कुरा बताए ।[२६] इस्राएलीहरूमध्ये राजीखुशीले दिन चाहनेहरू सबैले पवित्र वासस्थान निर्माणका लागि भेटी ल्याए ।[२७] तिनीहरूले हरेक दिन राजीखुशीका भेटीहरू ल्याएकाले पवित्र वासस्थान निर्माण गर्ने सामानहरूचाहिँ चाहिएको भन्दा ज्यादा भयो । तब मोशाले मानिसहरूलाई थप सामान ल्याउन रोके ।[२८] परमेश्वरका आत्माले भरिएका बजलेल र ओहोलीआब, र हरेक निपुण मानिसले पवित्र वासस्थान निर्माण गर्नका लागि करारको सन्दूक, पूजाहारीहरूको पोशाक लगायत सबै गरगहनाहरू बनाए । तब मोशाले ती कामहरू हेरे, र जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो, तिनीहरूले त्यस्तै नै गरे । अनि मोशाले ती सबैलाई आशीर्वाद मागिदिए । प्रस्थानपछिको दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिनमा परमेश्वरले आज्ञा गर्नुभएबमोजिम मोशाले पवित्र वासस्थान निर्माणका लागि गरगहनाहरू ल्याए, अनि करारको सन्दूकमा दश आज्ञा(गवाहीको शिला-पाटी) राखेर चोकको प्रवेशद्वारमा पर्दा टाँगे । तब भेट हुने पाललाई बादलले छोप्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो । दिनमा चाहिँ बादलको खामो र रातमा चाहिँ आगोको खामो भएर परमेश्वरको बादल पवित्र वासस्थानमाथि देखा पर्थ्यो ।[२९] त्यस बेलादेखि सारा यात्राभरि इस्राएलका सबै घरानाहरूले देख्ने गरेर दिनमा बादलको खामो र रातमा चाहिँ आगोको खामोको रूपमा पवित्र वासस्थानमाथि रहिरहन्थ्यो ।

जब पवित्र वासस्थान निर्माण भयो, तब परमेश्वरले भेट हुने पाल(पवित्र वासस्थान)[३०]बाट मोशालाई बोलाउनुभयो, र पवित्रस्थानमा परमेश्वरलाई बलि चढाउने विधि विस्तृत रूपमा सिकाइदिनुभयो । परमेश्वरको वचनअनुसार मोशाले हारून र तिनका छोराहरूलाई पूजाहारी नियुक्त गरे । बलिदान चढाएपछि मोशा र हारून भेट हुने पालभित्र प्रवेश गरे र बाहिर निस्केर मानिसहरूलाई आशीर्वाद दिए । तब परमेश्वरको महिमा सबै मानिसहरूमाझ प्रकट भयो । परमेश्वरको सामुन्नेबाट आगो निस्क्यो र वेदीमा भएको होमबलि र बोसोलाई भस्म पाऱ्यो ।

पछि, हारूनका दुई छोराहरू नादाब र अबीहूले, परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर बलिदान चढाए ।[२१][२२] त्यतिखेर परमप्रभुबाट आगो निस्केर उनीहरूलाई भस्म पाऱ्यो, र उनीहरू परमप्रभुको सामु मरे ।[३१] तिनीहरूको मृत्युपछि, परमेश्वरले हारूनलाई मृत्युबाट बच्नका लागि सन्दूकको ढक्कनको सामुन्ने पर्दाभित्र महा-पवित्रस्थानमा मनपरी नआउन भन्नुभयो (लेवी १६:१-२) ।[३२] अनि पवित्रस्थानमा प्रवेश गर्दा, हारूनले आफ्नो र आफ्नो घरानाको निम्ति प्रायश्चित गर्न र मृत्युबाट बच्नको लागि आगोमा धूप हाल्नुपर्ने कुरा बताउनुभयो । पवित्र वासस्थान निर्माण भएपछि, इस्राएलका बाह्र कुलहरूले उत्तर, दक्षिण, पूर्व, र पश्चिम गरेर चारै दिशामा तीन-तीन वटा कुलका दरले पवित्र वासस्थानको वरिपरि छाउनी हाले । यहूदा, इस्साखार र जबूलूनका कुलहरू पूर्वमा, रूबेन, शिमियोन र गादका कुलहरू दक्षिणमा, एफ्राइम, मनश्शे र बेन्यामीन कुलहरू पश्चिममा, दान, आशेर र नप्तालीका कुलहरू उत्तरमा र लेवीहरू पवित्र वासस्थानको वरिपरि थिए । लेवीको कुललाई पवित्रस्थानको सेवा गर्ने जिम्मा दिइएको थियो, र तिनीहरूले प्रत्येक कुलको आम्दानीको दशांशको हक पाउँथे ।[३३][३४] इस्राएलीहरू प्रत्येकले आ-आफ्नो कुल र परिवारअनुसार छाउनी हाले । जब-जब पालमाथिबाट बादल हट्‌थ्यो, तब-तब इस्राएलीहरू प्रस्थान गर्थे, र जुन ठाउँमा बादल अडिन्थ्यो, त्यहीँ नै इस्राएलीहरूले पाल टाँग्थे ।[३५] बादल दुई दिन, एक महिना अथवा एक वर्ष, जति लामो समयसम्म पवित्र वासस्थानको माथि रहन्थ्यो, त्यो अवधिभर इस्राएलीहरू प्रस्थान गर्दैनथे ।

मोशाको पालामा बनाइएको पवित्र वासस्थानचाहिँ पछि इस्राएलीहरू कनानको भूमिमा प्रवेश गरेपछि शीलोमा निर्माण गरियो, र परमेश्वरको करारको सन्दूक पवित्र वासस्थानमा राखियो ।[३६] सोलोमनको पालामा, मोरीयाह डाँडामा यरूशलेम मन्दिर स्थापना गरियो, र तिनीहरूले पवित्रस्थानलाई मन्दिरमा सारे ।

पवित्रस्थानको भूमिका र अर्थ

दश आज्ञा, चाडहरू र पवित्रस्थानचाहिँ एउटा अविभाज्य संस्थाजस्तै एक-अर्कासँग अन्तर्सम्बन्धित छन् । परमेश्वरको करारको वचन रहेको दश आज्ञालाई हिफाजतसाथ राख्नको लागि पवित्रस्थानको आवश्यकता थियो, अनि पवित्रस्थामा परमेश्वरको सेवा गर्नका लागि चाडहरूको आवश्यकता थियो । साथै चाडमा चढाइने पाप-बलिद्वारा मानिसहरू शुद्ध भएर दश आज्ञा राखिएको पवित्रस्थान (जीवनको रूख)मा गई जीवन प्राप्त गर्न सक्थे ।

परमेश्वर वास गर्नुहुने ठाउँ

पवित्रस्थानलाई पवित्र ठाउँको रूपमा लिइनुको सबैभन्दा महत्त्वपूर्ण कारणचाहिँ परमेश्वर त्यहाँ वास गर्नुहुने भएकोले हो । पवित्रस्थानलाई परमेश्वर वास गर्नुहुने परमप्रभुको घर भनिन्थ्यो,[४][३७][३८] र त्योचाहिँ परमेश्वर आफ्ना प्रजाहरूसँग वास गर्नुहुन्छ भन्ने कुराको सङ्केत पनि थियो ।[३९][४०] तिनीहरूले त्यो

ठाउँमा परमेश्वरसित भेट गर्ने भएकोले त्यसलाई भेट हुने पाल पनि भनिन्थ्यो ।[४१][४२][४३][४४]

दश आज्ञा राखिएको ठाउँ

परमेश्वरको आज्ञा, दश आज्ञाचाहिँ करारको सन्दूकको महा-पवित्रस्थानको भित्री भागमा राखिएको थियो ।[४५] परमेश्वरले करारको सन्दूकमा दश आज्ञाहरू राखिदिनुभएर त्यसमाथि(सन्दूकमाथि) दुई करूब अर्थात् स्वर्गदूतहरू भएको ढक्कन राखिदिनुभयो । अदनको बगैँचामा जीवनको रूखलाई पहरा गर्ने दुई करूबहरू करारको सन्दूकमा पनि राखिनाले, त्यहाँ जीवनको फल छ भन्ने कुरालाई दर्शाउँछ ।

पापीहरूलाई जीवनको रूखको फल खान निषेध गर्नका लागि अदनको बगैँचामा जीवनको रूखलाई पहरा गर्ने करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिएको थियो । त्यसै गरी महा-पवित्रस्थानमा करारको सन्दूकलाई पहरा गर्ने दुई करूबहरूसित पनि ज्वालामय तरवार थियो । यसकारण यदि कोही जथाभावी करारको सन्दूकको नजिक गयो भने ऊ मारिन्थ्यो । उज्जाहले संयोगवश करारको सन्दूकलाई छुँदा तिनी त्यहीँ मरे ।[४६] त्यसै गरी हारूनका दुई छोराहरूले परमेश्वरको विधिलाई मिचेकाले तिनीहरू आगोद्वारा भस्म भए ।[४७] फेरि भन्नुपर्दा, जीवनको फलको सट्टामा दश आज्ञा दिइएको हुनाले नै येशूज्यूले यस्तो शिक्षा दिनुभयो, “तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने आज्ञाहरू पालन गर ।”[४८]

पाप क्षमा हुने ठाउँ

परमेश्वर वास गर्नुहुने पवित्रस्थानमा पाप क्षमा गरिन्थ्यो । परमेश्वरले जीवनको फलको सट्टामा दिनुभएको दश आज्ञालाई पापीले सीधै ग्रहण गर्न सक्दैनथे । “रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन”(हिब्रू ९:२२)[४९] भनेर लेखिएजस्तै पाप-क्षमाको लागि पाप-बलिको रगत बगाइन आवश्यक थियो । हाबिलको समयदेखि नै, रगत बलि गर्ने रीति मौखिक रूपमा हस्तान्तरण हुँदैआएर मोशाको पालामा यसलाई संहिताबद्ध गरियो । पुरानो करारको समयमा, पूजाहारीहरूले मोशाको व्यवस्थाअनुसार मानिसहरूका पाप-क्षमाको निम्ति पवित्रस्थानमा पशु-बलिको रगत चढाउँथे । शबाथ-दिन र चाडहरूमा चढाइने बलिदानद्वारा, मानिसहरूका पापहरू केही समयको लागि पवित्रस्थानमा सारिन्थ्यो, र अन्ततः प्रायश्चितको दिनमा ती पापहरू छाडा छोडिने बोकामा सारिन्थ्यो । योचाहिँ नयाँ करारको समयमा सन्तहरूको पाप अस्थायी रूपमा ख्रीष्टमा सारिने, र त्यसपछि चाहिँ चाडमार्फत शैतान(दियाबलस)मा सारिने कुराको छाया हो । छाडा छोडिने बोका एकलास ठाउँमा भौंतारिएर मरेसँगै मानिसहरूका सबै पापहरू क्षमा हुन्थ्यो ।

पार्थिव पवित्रस्थान र स्वर्गीय पवित्रस्थान

मोशाले बनाएको पार्थिव पवित्रस्थानचाहिँ स्वर्गीय पवित्रस्थानको नकल र छाया हो ।[२५] पार्थिव पवित्रस्थानमा प्रवेश गरेर जीवनको फल प्राप्त गर्नको निम्ति चाहिँ पाप-बलिको रगतद्वारा पहिला शुद्ध हुनुपर्थ्यो । त्योजस्तै स्वर्गीय पवित्रस्थानमा भएको जीवनको रूखमा जानको निम्ति, थुमा हुनुभएका ख्रीष्टको रगतद्वारा पहिला शुद्ध हुनुपर्छ ।[५०][५१][५२] ख्रीष्टको अनमोल रगतलाई सङ्केत गर्ने सबै चाडहरू मानेमा हामीहरू जीवनमा प्रवेश गर्न सक्नेछौं ।

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू

  1. "sanctuary"Britannica 
  2. "4720. Miqdash or miqqedash"Bible Hub 
  3. "6944. qodesh"Bible Hub 
  4. ४.० ४.१ "प्रस्थान २५:८" 
  5. "यर्मिया ५१:५१" 
  6. "गन्ती ९:१५" 
  7. "प्रस्थान २७:९-१८" 
  8. "प्रस्थान २६:२२" 
  9. "गन्ती ३:३८" 
  10. "प्रस्थान २५:२३-३०" 
  11. "लेवी २४:८-९" 
  12. "प्रस्थान २५:३१-४०" 
  13. "प्रस्थान २७:२०-२१" 
  14. "प्रस्थान ३०:१-१०" 
  15. "लेवी १६:६-३४" 
  16. "हिब्रू ९:१-७" 
  17. "प्रस्थान २६:३१-३३" 
  18. "प्रस्थान २५:१०-१६" 
  19. "प्रस्थान २५:१७-२१" 
  20. "प्रस्थान २७:१-८" 
  21. २१.० २१.१ "गन्ती १६:४२-४६" 
  22. २२.० २२.१ "लेवी १६:१२" 
  23. "प्रस्थान ३०:१७-२२" 
  24. "प्रस्थान २५:१-९" 
  25. २५.० २५.१ "हिब्रू ८:५" 
  26. "प्रस्थान ३५:४-१९" 
  27. "प्रस्थान ३५:२०-२९" 
  28. "प्रस्थान ३५:३०-३६:७" 
  29. "गन्ती ९:१५" 
  30. "लेवी १:१" 
  31. "लेवी १०:१-२" 
  32. "लेवी १६:१-२" 
  33. "गन्ती ३:५-८" 
  34. "गन्ती १८:२१" 
  35. "गन्ती २:१-३४" 
  36. "यहोशू १८:१" 
  37. "भजनसंग्रह १२२:१" 
  38. "भजनसंग्रह १३४:१" 
  39. "भजनसंग्रह ११४:२" 
  40. "हबकूक २:२०" 
  41. "प्रस्थान २५:२२" 
  42. "प्रस्थान ३१:७" 
  43. "प्रस्थान ३३:७" 
  44. "गन्ती ११:२६" 
  45. "उत्पत्ति ३:२४" 
  46. "२ शमूएल ६:६-७" 
  47. "लेवी १०:१-२" 
  48. "मत्ती १९:१७" 
  49. "हिब्रू ९:२२" 
  50. "हिब्रू १०:१९-२०" 
  51. "प्रकाश २२:१४" 
  52. "प्रकाश ७:१४"