स्वर्गीय विवाह-भोज

स्वर्गीय विवाह-भोजचाहिँ येशूज्यूले आफ्ना चेलाहरूलाई दिनुभएको दृष्टान्त हो । विवाह-भोजमा सहभागी हुने सन्तहरूले मुक्ति पाउनेछन् र उनीहरू अनन्त स्वर्गीय राज्यमा प्रवेश गर्नेछन् भनेर दृष्टान्तले वर्णन गर्दछ । विवाह भनेको जीवनकै महत्त्वपूर्ण र हर्षपूर्ण कुरा भएजस्तै, स्वर्ग जाने कुरा पनि उस्तै नै हो । स्वर्गको राज्यलाई विवाह-भोजसँग दृष्टान्त गर्नुको अर्को उद्देश्य भनेको दुलही चिनाउनु हो । दुलहा, दुलही र निमन्त्रित व्यक्तिहरूको सहभागितामा गरिने विवाह-भोजद्वारा हामीले मुक्तिदाता परमेश्वरको बारेमा जान्न सक्छौं ।
विवाह-भोजको दृष्टान्त
येशूज्यूले स्वर्गको राज्यबारे वर्णन गर्नुहुँदा विभिन्न दृष्टान्त भन्नुभयो : असल बीउ[१] छर्ने मानिस, रायोको दाना,[२] खेतमा गाडी राखिएको गाडधन,[३] असल मोती,[४] माछाको जाल,[५] नोकरहरूसँग हिसाब माग्ने राजा,[६] दाखबारीका खेतालाहरू,[७] दुलहाको प्रतीक्षा गर्ने दश कन्याहरू,[८] मालिकको सिक्काको जिम्मा पाएका नोकरहरू[९] आदि । चेलाहरूले येशूज्यूलाई उहाँ दृष्टान्तमा बोल्नुको कारण सोध्दा, येशूज्यूले “तिमीहरूलाई त स्वर्ग-राज्यका रहस्यहरूको ज्ञान दिइएको छ, तर तिनीहरूलाई भने दिइएको छैन”[१०] र “तिमीहरूका आँखा धन्य हुन्, किनकि तिनले देख्तछन् । तिमीहरूका कान धन्य हुन्, किनकि तिनले सुन्छन्” भन्नुभयो ।
येशूज्यूले चेलाहरूलाई बताउनुभएको स्वर्गीय राज्यका रहस्यहरूमध्येको एकचाहिँ विवाह-भोजको दृष्टान्त हो । सन्तहरूको मुक्ति र स्वर्ग प्रवेश गर्ने कुरालाई येशूज्यूले, विवाह-भोजमा सहभागी हुने कुरासँग दृष्टान्त गर्नुभयो ।
येशूज्यूले फेरि तिनीहरूलाई दृष्टान्तहरूमा भन्नुभयो: “स्वर्गको राज्यलाई एक जना राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे, ... तब ती नोकरहरूले सडकहरूमा गएर भेट्टाएका सबैलाई, दुष्ट र असल दुवैलाई, जम्मा गरे, र विवाह-घर पाहुनाहरूले भरियो । किनभने बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन् ।”
स्वर्गीय विवाह-भोजका सदस्यहरू

विवाह-भोज सम्पन्न हुनका लागि दुलहा, दुलही र निमन्त्रित व्यक्तिहरूको आवश्यकता पर्दछ । स्वर्गीय विवाह-भोजलाई स्वर्गको राज्यसँग दृष्टान्त गरिएकोले मुक्ति पाउनको निम्ति हामीले दुलहा, दुलही र निमन्त्रित व्यक्तिहरूलाई राम्ररी चिनेको हुनुपर्छ ।
दुलहा(पिता परमेश्वर)
यहाँ दुलहाले, परमेश्वरको पुत्रको रूपमा आउनुभएका येशूज्यूलाई जनाउँछ [११]। तर २,००० वर्षअघि येशूज्यूले ३ वर्षसम्म सुसमाचार प्रचार गर्नुभएर स्वर्ग उचालिनुहुँदासम्म पनि दुलही देखा पर्नुभएको थिएन । येशूज्यू उचालिनुभएपछि लेखिएको प्रकाशको पुस्तकमा चाहिँ थुमाको विवाह-भोजमा दुलही स्वयम् तयार हुनुभएको छ भनेर अगमवाणी गरिएको छ ।[१२] यहाँ ‘थुमा’ले ख्रीष्टलाई जनाउँछ । तसर्थ दुलही स्वयम् तयार हुनुभएको यस स्वर्गीय विवाह-भोजमा देखा पर्नुभएका दुलहाले निश्चय नै दोस्रो आगमनका ख्रीष्टलाई जनाउँछ ।[१३][१४]
पाहुनाहरू(सन्तहरू)
अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन् ।”
थुमाको विवाह-भोजमा पाहुनाहरूलाई निमन्त्रणा दिने कुराले चाहिँ, स्वर्गीय विवाह-भोजमा सहभागी भएर मुक्ति पाउने सन्तहरूलाई भेला गर्ने कुरालाई जनाउँदछ । त्यसैले त विवाह-भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् भनिएको छ । कसै-कसैले दुलही भनेको सन्त हो भन्दै जिद्दी गर्छन् तर यो गलत बुझाइ हो । यदि दुलही सन्त हो भने निमन्त्रणा पाउने व्यक्तिहरू चाहिँ को हुन् भन्ने कुरा खुलाउन असम्भव हुन्छ । दुलहा र दुलहीचाहिँ पाहुनाहरूलाई निमन्त्रणा दिने पात्र भएकाले दुलही र पाहुनाचाहिँ आधारभूत रूपमा फरक पात्र हुन् । अनि विवाह-भोजको दृष्टान्तबाहेक पनि येशूज्यूले आफ्ना चेलाहरूलाई निरन्तर विवाह घरका पाहुनासँग तुलना गर्नुभएको छ ।[१५] यसकारण स्वर्गीय विवाह-भोजका निमन्त्रित व्यक्ति अर्थात् पाहुनाहरूचाहिँ सन्तहरू हुन् ।
“किनभने बोलाइएका धेरै छन् तर चुनिएका थोरै छन् ।”
यहाँ पाहुनाहरूलाई निमन्त्रणा पाउनेहरू मात्र नभएर चुनिएकाहरू समेत भनिएको छ । सन्तहरूलाई ‘चुनिएकाहरू’ र ‘अनुग्रहद्वारा चुनिएकाहरूको एक बाँकी भाग’[१६] भनिएकोले यहाँ पाहुनाहरूले सन्तहरूलाई जनाउँछ भन्ने कुरा प्रष्ट हुन्छ ।
दुलही(माता परमेश्वर)
स्वर्गीय विवाह-भोजकी दुलहीचाहिँ निमन्त्रणा पाएका सन्तहरूभन्दा आधारभूत रूपमा फरक हुनुहुन्छ ।
मत्ती अध्याय २२मा उल्लेखित विवाह-भोजको दृष्टान्तमा दुलही उल्लेख गरिएको छैन, जो विवाह-भोजमा उपस्थित हुनुपर्थ्यो । योचाहिँ दुलही अस्तित्वमा नै नहुनुभएकोले होइनकि येशूज्यूको समयमा दुलही देखा पर्ने उचित समय नभएकोले हो । दुलहीचाहिँ उचित समयमा देखा पर्नुहुने भएकोले येशूज्यूले स्वर्गीय राज्यलाई विवाह-भोजसँग तुलना गर्नुभएको हो ।
“हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं । किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् ।”
प्रेरित यूहन्नाले आफूले देखेको प्रकाशमा दुलहीको आगमनको बारेमा लेखे । २,००० वर्षअघि येशूज्यूको समयमा देखा नपर्नुभएकी दुलही, थुमाको रूपमा सङ्केत गरिनुभएका दोस्रो आगमनका येशूज्यूसँगै देखा पर्नुहुन्छ । प्रकाशको पुस्तकमा दुलही आउनुहुने कुरा मात्र नभएर दुलहीको पहिचानबारे पनि अगमवाणी गरिएको छ ।
तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।
स्वर्गदूतले यूहन्नालाई लगेर प्रकाशमार्फत दुलही अर्थात् थुमाकी पत्नी देखाए । ती यूहन्नाले देखेको दुलहीचाहिँ स्वर्गदेखि तल झरिरहनुभएकी यरूशलेम हुनुहुन्थ्यो । गलातीको पुस्तकमा यरूशलेमको बारेमा यसरी लेखिएको छ :
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।
यहाँ ‘माथिको यरूशलेम’ भन्नाले ‘स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर’ हुनुहुन्छ, जोचाहिँ मुक्ति पाउने सन्तहरूकी आमा हुनुहुन्छ । स्वर्गीय विवाह-भोजमा दुलहा दोस्रो आगमनका येशूज्यू अर्थात् पिता परमेश्वर हुनुहुन्छ र दुलही माता परमेश्वर हुनुहुन्छ ।
जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही
अन्त्यका दिनहरूमा जब स्वर्गीय पिता र स्वर्गीय माता देखा पर्नुहुन्छ, र जब निमन्त्रित व्यक्तिको रूपमा सङ्केत गरिएका सन्तानहरू मुक्तिमा डोरिन्छन्, तब स्वर्गीय विवाह भोजको अगमवाणी पूरा हुनेछ । प्रकाशको पुस्तकमा यो कुरालाई, स्वर्गीय पिता र माताले जीवनको पानी दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् ।
प्रकाश अध्याय १९ र २१मा, स्वर्गीय पिता र स्वर्गीय मातालाई थुमा र दुलही अर्थात् थुमा र उहाँकी पत्नी भनिएको छ, अनि प्रकाश अध्याय २२मा चाहिँ पवित्र आत्मा र दुलही भनिएको छ । यी सबै वचनहरूले, अन्त्यका दिनहरूमा स्वर्गीय पिता र माता सँगै देखा पर्नुहुने कुराको अगमवाणी गरेको छ । अन्त्यका दिनहरूमा उहाँहरू देखा पर्नुको उद्देश्यचाहिँ हामीलाई जीवनको पानी दिनको निम्ति हो । जीवनको पानीले अनन्त जीवन अर्थात् मुक्तिलाई जनाउँछ । दुलही हुनुभएकी माता देखा पर्नुभएपछि सन्तहरूले जीवनको पानी अर्थात् अनन्त जीवन प्राप्त गरेर स्वर्गीय राज्य प्रवेश गर्न सक्नेछन् । त्यसैले विवाह-भोजमा सहभागी हुने सन्तहरू धन्यका हुन् । बाइबलमा माताका सन्तानलाई ‘प्रतिज्ञाका सन्तान’ भनिएको छ ।[१७] पिता परमेश्वर र माता परमेश्वर अर्थात् पवित्र आत्मा र दुलहीलाई विश्वास गरेर पछ्याउनेहरूले विवाह-भोजमा चुनिएका प्रतिज्ञाको सन्तानको रूपमा स्वर्गको महिमा प्राप्त गर्नेछन् ।
स्वर्गीय विवाह पोशाक
हरेक समारोहमा औपचारिक पोशाक भएजस्तै, विवाहमा निमन्त्रणा पाएका पाहुनाहरूले पनि औपचारिक पोशाक लगाउने गर्छन् । स्वर्गीय विवाह-भोजको सन्दर्भमा पनि उस्तै हो । तर राजाले तयार गरेको विवाह-भोजको दृष्टान्तमा हेर्ने हो भने एक जना मानिस विवाहको पोशाक नपहिरी आएको देखिन्छ ।
“तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोशाक नलगाएको एक जना मानिसलाई देखे । तिनले त्यसलाई सोधे, ‘मित्र, विवाहको पोशाक नपहिरी तपाईं कसरी यहाँ भित्र आउनुभयो ?’ त्यो निरुत्तर भयो । “तब राजाले सेवकहरूलाई भने, ‘त्यसका हात-खुट्टा बाँधेर त्यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्’ । ”
अन्त्यमा विवाह पोशाक नपहिरनेहरूलाई बाहिर फ्याँकिन्छ । तीचाहिँ निमन्त्रणा पाएका तर नचुनिएका मानिसहरू हुन् । स्वर्गीय विवाह-भोजमा सहभागी हुनको निम्ति अनिवार्य विवाहको पोशाक पहिरिनुपर्छ । लेखिएको छ, “किनकि तिमीहरूमध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो, तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ ।”[१८] विवाहको पोशाक पहिरिनु भनेको परमेश्वरको करार रहेको बप्तिस्मा लिएर ख्रीष्टको उदाहरणलाई पछ्याउँदै जिउनु हो । जब हामी ख्रीष्टको उदाहरणलाई पछ्याउँदै परमेश्वरका आज्ञाहरू पालन गर्छौं, र धार्मिक कार्य गरेर नयाँ गरी जन्मन्छौं तब हामी परमेश्वरका सन्तानको रूपमा चुनिएर स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछौं । साथै हामीले दुलही हुनुभएकी स्वर्गीय माताको महिमा गर्न सक्नेछौं ।[१९][२०]
‘विवाह-भोज’को बारेमा अर्को एउटा दृष्टान्त पनि छ । त्यो नै दश कन्याको दृष्टान्त हो ।[२१] येशूज्यूले स्वर्गको राज्यलाई, बत्ती लिएर दुलहालाई भेट गर्न निस्केका दश कन्याहरूसँग तुलना गर्न सकिन्छ भन्नुभयो । दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए । तर मध्यरातमा “हेर दुलहा, उनलाई भेट्न आओ” भन्ने आवाज आयो । तब यथेष्ट तेल तयार गरेका पाँच कन्याहरूले विवाह-भोजमा दुलहालाई भेट्न सके तर तेल सकिएका पाँच कन्याहरू भने विवाह-भोजमा प्रवेश गर्न सकेनन् ।
दृष्टान्तमा बत्तीले परमेश्वरको वचन अर्थात् सत्यतालाई[२२], अनि तेलले विश्वासलाई जनाउँछ । अन्त्यका दिनहरूमा मुक्तिदाता हुनुभएका स्वर्गीय पिता र स्वर्गीय मातालाई ग्रहण गरेर विश्वासलाई अन्त्यसम्म जोगाउनेहरू विवाह-भोजमा सहभागी भएका पाँच बुद्धिमती कन्याजस्तै स्वर्गीय राज्यमा प्रवेश गर्नेछन् ।
यो पनि हेर्नुहोस्
- पिता परमेश्वर र माता परमेश्वर
- माता परमेश्वर
- स्वर्गीय परिवार
- जीवनको पानी
- एलोहिम
- यरूशलेम माता
- थुमाकी पत्नी (दुलही)
- आत्मिक गृहनगर र माता
- जीवनको मूल माता
फुटनोट
- ↑ "मत्ती १३:२४"।
- ↑ "मत्ती १३:३१"।
- ↑ "मत्ती १३:४४"।
- ↑ "मत्ती १३:४५"।
- ↑ "मत्ती १३:४७"।
- ↑ "मत्ती १८:२३"।
- ↑ "मत्ती २०:१"।
- ↑ "मत्ती २५:१"।
- ↑ "मत्ती २५:१४"।
- ↑ "मत्ती १३:१०-११"।
- ↑ "मर्कूस १:१"।
- ↑ "प्रकाश १९:७"।
- ↑ "यूहन्ना १:२९"।
- ↑ "हिब्रू ९:२८"।
- ↑ "मर्कूस २:१८-१९"।
- ↑ "रोमी ११:५"।
- ↑ "गलाती ४:२६-२८"।
- ↑ "गलाती ३:२७"।
- ↑ "यशैया ४९:१८"।
- ↑ "प्रकाश १९:८"।
- ↑ "मत्ती २५:१-२"।
- ↑ "भजनसंग्रह ११९:१०५"।