शरण-नगर

पुरानो करारको समयमा शरण-नगरको व्यवस्थाचाहिँ अजानमा कसैको हत्या गरेको हत्यारा, रगतको साटो फेर्न चाहनेको हातबाट आफ्नो ज्यान जोगाउनलाई भाग्न सक्ने एउटा प्रणाली थियो । शरण-नगरमा कैद भएका हत्याराहरू, पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीको मृत्युपछि मात्र आफ्नो घर फर्कन सक्थे । योचाहिँ हामी मानव-जातिको आत्माको विषय थाहा दिने छाया हो ।[१] हामीले शरण-नगरको व्यवस्थाद्वारा, ‘मानिसको आत्मा कहाँबाट आएको हो, र कहाँ जान्छ ?’ भन्ने विषय, र हाम्रो आत्माको मुक्तिसँग सम्बन्धित महत्त्वपूर्ण सिद्धान्तबारे जान्न सक्छौं ।
पुरानो करारको शरण-नगरको व्यवस्था
उद्देश्य
शरण-नगरको व्यवस्थाचाहिँ, अजानमा कसैको हत्या गरेको हत्यारा, बदला लिन चाहनेको हातबाट बच्नको लागि बनाइएको सहर थियो । पुरानो करारको व्यवस्थाअनुसार, जानाजान कसैको हत्या गरेको हत्याराले पापको ज्याला मृत्यु आफ्नो मृत्युद्वारा तिर्नुपर्थ्यो, नत्रता मृतकका परिवार वा आफन्तले हत्यारालाई मार्न सक्थे ।[२] यदि कसैलाई हत्याको अभियोग लगाइयो भने उसलाई शरण-नगरमा सुरक्षितसाथ राखिन्थ्यो । अनि सभा राखिएर त्यो हत्याचाहिँ जानाजान हो कि अजानमा हो भन्ने कुराको छानबिन गरिन्थ्यो ।[३]
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, . . . “ ‘. . . त्यहाँ शरण-नगरहरू छानेर नियुक्त गर्नू, र अजानमा कसैले मान्छे माऱ्यो भने ज्यानमारा त्यहाँ भागोस् । ती सहरहरू बदला लिन खोज्नेबाट शरण लिने ठाउँ हुनेछन्, र त्यो ज्यानमारा समुदायको सामु न्यायको लागि खडा नहोउञ्जेल नमारिओस् ।’ ”
स्थानहरू

ती शरण-नगरहरू यर्दनवारि पूर्वपट्टि ३ वटा सहरहरू(बेसेर, गिलादको रामोत र बाशानको गोलान) र यर्दनपारि पश्चिमतिरका ३ वटा सहरहरू(गालीलको केदेश, शकेम र हेब्रोन) गरेर इस्राएलका ६ वटा सहरहरूमा शरण-नगरहरू थिए ।[४][५] ती प्रत्येक शरण-नगरहरू, इस्राएलको जुनसुकै ठाउँबाट पनि एक दिनमा पुग्न सकिने गरेर करीब ३०-३० किलोमिटरको दूरीमा अवस्थित थिए । त्योचाहिँ, अजानमा हत्या गरेका हत्याराहरू शरण-नगरतिर भागेर जाने क्रममा नमारिऊन् भनेर यसलाई यसरी राखिएको हो ।[६]
विशेषताहरू
हत्याराहरू आफ्नो ज्यान जोगाउन शरण-नगरमा भागेर जान सक्थे, तर त्यहाँ भागेर जाँदैमा सबै जना सुरक्षित रहनेचाहिँ होइन । यदि कोही जानाजान हत्या गरेको ठहरिएमा ऊ शरण-नगरमै भागेर गए तापनि उसलाई बाहिर ल्याएर मारिन्थ्यो ।[७] तर ठीक विपरीत, यदि छानबिनपछि हत्याचाहिँ अजानमा भएको साबित भएमा त्यो हत्यारालाई शरण-नगरमा पठाइन्थ्यो, र तोकिएको अवधिसम्म ऊ त्यहीँ रहनुपर्थ्यो । पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल ऊ त्यहीँ बस्नुपर्थ्यो । अर्थात् यदि प्रधान पूजाहारीको मृत्यु चाँडै भयो भने ऊ चाँडै रिहा भई आफ्नो गृहनगर फर्कन पाउँथ्यो, तर यदि तिनको मृत्यु ढिलो भयो भने ऊ त्यति नै लामो समयसम्म शरण-नगरमा रहनुपर्थ्यो ।
“ ‘तर यदि कसैले कसैलाई अजानमा घचेटेर माऱ्यो, अथवा केही कुरा हान्दा लागेर त्यो मऱ्यो भने, वा दुश्मनी नभएको र खति गर्न नचाहने व्यक्तिले हानेको ढुङ्गाले लागेर कोही मऱ्यो भने, समुदायले ज्यानमारा र रगतको साटो फेर्ने व्यक्तिको बीचमा यी विधिअनुसार न्याय गर्नुपर्छ । समुदायले त्यस ज्यानमारालाई रगतको साटो लिन चाहनेको हातबाट छुटाओस्, र भागेर गएको शरण-नगरमा नै त्यसलाई पठाइदेओस् । अनि पवित्र तेलले अभिषेक भएको प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल त्यो त्यहीँ रहोस् । तर त्यो ज्यानमारा कुनै बेला आफू भागेर गएको शरण-नगरदेखि बाहिर गयो, र रगतको साटो फेर्न चाहनेले त्यसलाई यसरी बाहिर फेला पारेर ज्यानमारालाई माऱ्यो भने, त्यो रगतको दोषी हुनेछैन । किनभने प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल त्यो सहरभित्र रहनुपर्नेथियो । प्रधान पूजाहारीको मृत्युपछि मात्र त्यो आफ्नै अधिकारको जग्गामा फर्कोस्’ ।”
शरण-नगरमा थुनिएकाहरू आफ्नो जग्गामा फर्कने एकमात्र बाटो भनेको प्रधान पूजाहारीको मृत्यु थियो । प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल हत्याराले छुटकाराको मोल तिरे तापनि ऊ आफ्नो घर फर्कन सक्दैनथ्यो ।[८]
शरण-नगरको व्यवस्थाको वास्तविकता
पुरानो करारको व्यवस्था, नयाँ करारमा हुन आउने असल कुराहरूको छाया हो ।[१] पुरानो करारको शरण-नगरको व्यवस्थाचाहिँ मानिसको आत्माको विषयको छाया र अगमवाणी पनि हो ।
आत्मिक पापी रहेका मानव-जाति
प्रेरित पावलले यो पृथ्वीमा धर्मी कोही छैन भनेका छन् ।[९] मृत्युजन्य पाप गरेर शरण-नगरमा भागेका पापीहरूले मानव-जातिलाई जनाउँछ । हामीलाई यो यथार्थता बुझाउन येशूज्यूले यस्तो शिक्षा दिनुभयो :
यो सुनेर उहाँले भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन, तर रोगीहरूलाई हुन्छ । . . . किनकि म धर्मीलाई होइन, तर पापीहरूलाई बोलाउन आएँ ।”
येशूज्यू हराएकालाई खोज्न र बचाउन स्वर्गदेखि पृथ्वीसम्म आउनुभयो ।[१०] येशूज्यू हराएकालाई खोज्न र पापीहरूलाई बोलाउन आउनुभएको हो भनिएकोले यो पृथ्वीका सबै मानव-जाति स्वर्गमा पाप गरेर हराएका पापीहरू हुन् भन्ने कुरा बुझ्न सकिन्छ । इजकिएल र यशैयाको पुस्तकमा, हाम्रो अघिल्लो जीवनको बारेमा र हामीलाई स्वर्गबाट निष्कासित गराउने हाम्रो पापको बारेमा लेखिएका उदाहरणहरू छन् ।[११][१२] असल र खराबको ज्ञान दिने रूखको फल नखानू भन्ने परमेश्वरको आज्ञा उल्लङ्घन गरेर आदम र हव्वा अदनको बगैँचाबाट निकालिएको इतिहासचाहिँ स्वर्गमा स्वर्गदूतको रूपमा रहेका मानव-जातिले पनि पाप गरेकोले उनीहरू स्वर्गबाट निष्कासित भएका हुन् भन्ने कुरालाई दर्शाउने नकल हो ।[१३][१४]
प्रधान पूजाहारी येशूज्यू
बाइबलमा, परमपवित्रलाई अभिषेक गरिनेछ भनेर अगमवाणी गरिएको छ ।
“तिम्रो जाति र तिम्रो पवित्र सहरको निम्ति अपराध खतम पार्न, पाप समाप्त गर्न, दुष्टताको लागि प्रायश्चित गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई मोहोर लगाएर बन्द गर्न र महापवित्रस्थान(परमपवित्र, KJV)लाई अभिषेक गर्न सत्तरी ‘सातहरू’को आदेश तोकिएको छ ।”
जब परमपवित्र जनलाई अभिषेक गरिन्छ, तब अपराध खतम हुनेछ र पाप समाप्त हुनेछ भनेर लेखिएको छ । अर्थात् परमपवित्र परमेश्वर, मानव-जातिको पाप प्रायश्चितको निम्ति एक अभिषिक्त जनको रूपमा देखा पर्नुहुनेछ भन्ने वचन हो । यो अगमवाणीअनुसार २,००० वर्षअघि यस पृथ्वीमा आउनुभएका व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ ।
उहाँ[येशूज्यू] पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो, र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो । मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्वरद्वारा उहाँ नियुक्त हुनुभयो ।
येशूज्यू, पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीको रूपमा आउनुभयो । शरण-नगरको व्यवस्थामा पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीचाहिँ, पापी मानव-जातिलाई बचाउन यो पृथ्वीमा आउनुभएका येशूज्यू[१०] सम्बन्धी अगमवाणी हो ।
शरण-नगर, पृथ्वी
शरण-नगरका पापीहरू प्रधान पूजाहारीको मृत्युद्वारा छुटकारा पाई आफ्नो घर फर्कन सक्थे । प्रधान पूजाहारी हुनुभएका येशूज्यूको मृत्युद्वारा हामीहरू फर्कने घरको बारेमा पनि बाइबलमा लेखिएको छ ।
जुन देशबाट तिनीहरू निस्केर गएका थिए, यदि तिनीहरूले त्यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्ने थियो । तर तिनीहरू अझ उत्तम देश, अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन् ।
विश्वासका पुर्खाहरूले फर्कन गहिरो चाह गरेको देश नै स्वर्गीय देश हो भनेर हिब्रूको पुस्तकका लेखक बताउँछन् । मानव-जातिले चाह गर्नुपर्ने वास्तविक गृहनगरचाहिँ यो पृथ्वी होइनकि स्वर्ग हो, र पृथ्वीचाहिँ पापीहरूको लागि शरण-नगर हो भन्ने कुरा यसले प्रष्ट्याउँछ ।
स्वर्गीय देशमा फर्कने तरिका
पुरानो करारको समयमा, शरण-नगरमा थुनिएका पापीहरू पवित्र तेलले अभिषिक्त प्रधान पूजाहारीको मृत्युपछि मात्र आफ्नो घर फर्कन सक्थे । यसै गरी आत्मिक शरण-नगर रहेको यो पृथ्वीमा जिइरहेका मानिसहरू पनि प्रधान पूजाहारी हुनुभएका येशूज्यूको मृत्युपछि मात्र आफ्नो स्वर्गीय घर फर्कन सक्छन् । त्यसैले पत्रुस र पावलले, ख्रीष्टको मृत्यु अर्थात् ख्रीष्टको बलिदानको रगतद्वारा मात्र हामीले पापको क्षमा पाउन सक्छौं भनेर लेखे ।[१५][१६] शरण-नगरका पापीहरूले पाप-क्षमा पाउनु भनेको आफ्नो गृहनगर फर्कन सक्नु भन्ने अर्थ हो । पुरानो करारको समयमा शरण-नगरका पापीहरू, प्रधान पूजाहारीको मृत्यु(बलिदान)विना आफ्नो घर फर्कन सक्दैनथे । त्यसै गरी हामीले पनि प्रधान पूजाहारी हुनुभएका ख्रीष्टको बलिदानको रगत ग्रहण नगरेसम्म हामीहरू कदापि स्वर्गीय देश फर्कन सक्दैनौं । येशूज्यूले हामीलाई उहाँको बलिदानको रगत ग्रहण गर्न सकिने तरिका जानकारी दिनुभयो । त्यो नै नयाँ करार निस्तार-चाड मान्नु हो ।
तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।”
येशूज्यू मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको रूपमा यो पृथ्वीमा आउनुभयो ।[१७] मल्कीसेदेकले रोटी र दाखमद्यद्वारा आशिष् दिएजस्तै, येशूज्यूले पनि नयाँ करारको रोटी र दाखमद्यद्वारा[१८] मानव-जातिलाई पाप-क्षमाको प्रतिज्ञा गर्नुभयो । यसकारण येशूज्यूलाई विश्वास गर्छु भनेर सोच्दैमा ख्रीष्टको रगतमा सहभागी भइने होइन । हामीले नयाँ करार निस्तार-चाड मानेमा, प्रधान पूजाहारी हुनुभएका ख्रीष्टको बलिदानद्वारा हामीहरू स्वर्गीय घर फर्किजान सक्नेछौं ।
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ "हिब्रू १०:१"।
- ↑ "लेवी २४:२०-२१"।
- ↑ "यहोशू २०:६-९"।
- ↑ "गन्ती ३५:६-१५"।
- ↑ "यहोशू २०:७-९"।
- ↑ "व्यवस्था १९:३-६"।
- ↑ "गन्ती ३५:१६-२१"।
- ↑ "गन्ती ३५:३२"।
- ↑ "रोमी ३:९-१०"।
- ↑ १०.० १०.१ "लूका १९:१०"।
- ↑ "इजकिएल २८:११-१४"।
- ↑ "यशैया १४:४, १२-१५"।
- ↑ "उत्पत्ति ३"।
- ↑ "रोमी ५:१२"।
- ↑ "१ पत्रुस १:१८-१९"।
- ↑ "एफिसी १:७"।
- ↑ "हिब्रू ५:८-१०"।
- ↑ "उत्पत्ति १४:१८-१९"।