मल्कीसेदेक

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
Melchizedek
מֶלֶךְ־צֶדֶק
Melchizedek King of Salem by Juan de Juanes
Melchizedek King of Salem by Juan de Juanes

मल्कीसेदेक (हिब्रू : מֶלֶךְ־צֶדֶק)[१] ई.पू. २०औँ शताब्दीतिर शालेमका राजा र परमेश्वरका पूजाहारी थिए । तिनले शासन गरेको शालेम सम्भवतः यरूशलेम थियो । भजनसंग्रह ७६:२मा, शालेमलाई यरूशलेम[२]को पर्यायवाची शब्दको रूपमा उल्लेख गरिएको छ, र उत्पत्ति १४:१७मा चाहिँ “शावेको उपत्यका(राजाको उपत्यका)” भनिएको छ ।[३] उत्पत्तिको पुस्तकमा मल्कीसेदेक एक पटक मात्र देखा परेका छन् । बाइबलमा देखा परेका प्रथम पूजाहारी मल्कीसेदेकले विश्वासका पुर्खा अब्राहामलाई रोटी र दाखमद्यद्वारा आशिष्‌ दिए, अनि अब्राहामले चाहिँ तिनलाई दशांश दिए । अब्राहामको यस्तो कार्यले गर्दा, बाइबल अध्ययनमा मल्कीसेदेकको ठूलो महत्त्व बोकेको छ । पूजाहारी र राजा रहेका मल्कीसेदेकलाई नयाँ करार बाइबलको हिब्रू अध्याय ५-७मा, मसीहलाई जनाउने पात्रको रूपमा विस्तृत रूपले वर्णन गरिएको छ ।[४]

मल्कीसेदेक को हुन् ?

अब्राहाम र मल्कीसेदेक, बारथोलोमिउस ब्रिन्बर्ग(Bartholomeus Breenbergh) : रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशिष्‌

नाम

मल्कीसेदेक नाउँचाहिँ मेलेक (מֶלֶךְ[५], राजा) र सेदेक (צֶדֶק[६], धार्मिकता) भन्ने हिब्रू शब्दको संयोजन हो, जसको अर्थ धार्मिकताका राजा हो । मल्कीसेदेकले शासन गरेको शालेम(שָׁלֵם)[७]को अर्थचाहिँ शान्ति हो ।

पुरानो करार बाइबलमा, धार्मिकताका राजा र शान्तिका राजकुमारले, भविष्यमा देखा पर्नुहुने ख्रीष्टलाई सङ्केत गर्दछ ।[८][९] त्यसैले नयाँ करार बाइबलको हिब्रूका लेखकले मल्कीसेदेकलाई, ख्रीष्टको छायाको रूपमा वर्णन गरेका छन्, जो साँचो धार्मिकता र शान्तिका राजा हुनुहुन्छ ।[१०]

रोटी र दाखमद्यद्वारा आशिष् दिएका पूजाहारी

ई.पू. २०औँ शताब्दीतिर, मृत सागर वरपरका ५ वटा देशहरू, र एलामका राजा कदोर्लाओमेरको नेतृत्वमा रहेका मित्र देशहरूबीच युद्ध भयो । त्यो समयमा, एलामका मित्र देशहरूले अब्राहामका भतिजा लोतलाई कैदी बनाए । तब अब्राहामले छिमेकी कुल र तिनको घरानामा जन्मेर तालीम पाएका ३१८ जना मानिसहरूलाई लिएर एलामका मित्र देशहरूविरुद्ध लडे, र विजयी भए ।[११] अब्राहाम आफ्नो देश फर्कंदा सदोमका राजा तिनलाई भेट गर्न आए । अनि परमेश्वरका पूजाहारी र शालेमका राजा रहेका मल्कीसेदेकले रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशिष् दिए । बदलामा अब्राहामले आफूले जितेर ल्याएका सबै कुराको दशांश मल्कीसेदेकलाई दिए ।


कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा शावेको उपत्यका, अर्थात् राजाको उपत्यकामा सदोमका राजा तिनलाई भेट गर्न आए । अनि शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए । उनी सर्वोच्च परमेश्वरका पूजाहारी थिए । उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, “स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्रामलाई आशिष् मिलोस् । सर्वोच्च परमेश्वर धन्यका होऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पिदिनुभयो ।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए ।

उत्पत्ति १४:१७-२०


पुरानो करारको समयमा, परमेश्वरलाई रोटी र दाखमद्य अर्पण गरेर आशिष्‌ माग्नु भनेको असामान्य रीति थियो । अब्राहामको समय भनेको पुरानो करारको बलिदानको प्रणाली संहिताबद्ध हुनुभन्दा अघिको समय हो । यद्यपि हाबिलको समयदेखि परमेश्वरलाई पशुबलिको रगत चढाउनु सामान्य कुरा थियो ।[१२][१३] तर रोचक कुराचाहिँ, मल्कीसेदेकले होमबलिद्वारा होइनकि रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशीर्वाद दिएका थिए । पुरानो करारको समयका पूजाहारीहरूमध्ये, रोटी र दाखमद्यद्वारा मानिसहरूलाई आशिष् दिने पूजाहारीचाहिँ मल्कीसेदेक मात्र थिए ।

मल्कीसेदेकको दर्जा

मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी

मल्कीसेदेक सम्बन्धी अगमवाणी पुरानो करार बाइबलको भजनसंग्रह अध्याय ११०मा अगमवाणी गरिएको पाइन्छ । दाऊदले, भविष्यमा देखा पर्नुहुने परमप्रभु अर्थात् मसीहलाई जनाउँदै ‘मल्कीसेदेकको दर्जाअनुसार अनन्तका पूजाहारी’ भनेका छन् ।


परमप्रभुले मेरा प्रभुलाई भन्नुहुन्छ, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ ।” परमप्रभुले सियोनबाट तपाईंको शक्तिशाली राजदण्डको विस्तार गर्नुहुनेछ, . . . परमप्रभुले शपथ खानुभएको छ, र आफ्नो मन बदल्नुहुनेछैन, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ ।”

भजनसंग्रह ११०:१-४


बाइबलमा दुई किसिमका पूजाहारी पदहरू छन् : भजनसंग्रहको पुस्तकमा लिखित मल्कीसेदेकको दर्जाबमोजिमको पूजाहारी पद र अर्कोचाहिँ पुरानो करारमा भएको हारूनको दर्जाबमोजिमको पूजाहारी पद । हारूनको दर्जालाई पछ्याउने पूजाहारीहरूले पशुबलि गरेर रगत चढाउँछन् ।[१४] तर मल्कीसेदेकको दर्जालाई पछ्याउने पूजाहारीहरूले चाहिँ परमेश्वरलाई रोटी र दाखमद्य चढाउँछन् । मल्कीसेदेकको दर्जाअनुसारका पूजाहारीको रूपमा देखा पर्नुभएका ‘परमप्रभु’ नै येशू ख्रीष्ट हुनुहुन्थ्यो ।[१५]


उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो, र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो । मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्वरद्वारा उहाँ नियुक्त हुनुभयो ।

हिब्रू ५:८-१०


नयाँ करारको समयमा येशूज्यू, मल्कीसेदेकको दर्जाअनुसारका पूजाहारीको रूपमा देखा पर्नुभएपछि, पूजाहारी पद हारूनको दर्जाबाट मल्कीसेदेकको दर्जामा बद्लियो । मल्कीसेदेकको दर्जाअनुसारको येशूज्यूको पूजाहारी पद खोटरहित, पूर्ण र अपरिवर्तनीय छ ।[१६]

निस्तार-चाडको रोटी र दाखमद्यद्वारा आशिष् दिनुभएका ख्रीष्ट

येशूज्यूले निस्तार-चाडको रोटी र दाखमद्यद्वारा हामीलाई अनन्त जीवनको आशिष् दिनुभयो ।
येशूज्यूले निस्तार-चाडको रोटी र दाखमद्यद्वारा हामीलाई अनन्त जीवनको आशिष् दिनुभयो ।

मल्कीसेदेकले रोटी र दाखमद्यद्वारा परमेश्वरलाई बलिदान चढाए । मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुभएका येशूज्यूले पनि, मल्कीसेदेकले जसरी हामीलाई रोटी र दाखमद्यद्वारा आशिष् दिनुभयो ।


“ ‘मेरो बेला नजिक आएको छ । म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’ ।” तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा[दाखमद्य] पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।”

मत्ती २६:१८-२८


निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले रोटी र दाखमद्यलाई उहाँको देह र रगत भन्नुहुँदै पाप-क्षमा र अनन्त जीवनको आशिष् दिनुभयो । येशूज्यूको समयमा, यहूदी पूजाहारीहरूले भेडा-बाख्रा र गाई-गोरु बलि गर्थे, तर रोटी र दाखमद्यद्वारा मानिसहरूलाई अनन्त जीवनको आशिष् दिनुभएका व्यक्तिचाहिँ येशूज्यू मात्र हुनुहुन्थ्यो ।[१७] निस्तार-चाडको रोटी र दाखमद्यचाहिँ येशूज्यू नै मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुहुन्छ भन्ने कुराको चिन्ह हो ।

मल्कीसेदेक र दोस्रो आगमनका ख्रीष्ट

मल्कीसेदेकको विषयमा भन्नु त धेरै छ, तर बुझाउनु गाह्रो छ

येशूज्यू नै मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुहुन्छ भन्ने कुरामा शङ्कै छैन । हिब्रूका लेखकले येशूज्यू नै मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुहुन्छ भनेर लेखेका भए पनि तिनले फेरि ‘मल्कीसेदेकको विषयमा भन्नु त धेरै छ, तर बुझाउनु गाह्रो छ’ भनेर लेखेका छन् ।[१८] हिब्रू अध्याय ७मा मल्कीसेदेकलाई विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्त्य नभएका व्यक्ति भनिएको छ ।


यिनै मल्कीसेदेक शालेमका राजा र सर्वोच्च परमेश्वरका पूजाहारी थिए । . . . विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्त्य नभएका, तर परमेश्वरका पुत्र स्वरूप, यिनी सदाकाल पूजाहारी भइरहन्छन् ।

हिब्रू ७:१-३


मल्कीसेदेकलाई ‘विनापिता, विनामाता र विनावंशावली’ भनिनु पनि ख्रीष्टसम्बन्धी अगमवाणी हो । तिनका आफ्नै बुबा-आमा र वंशावली थिएन भन्ने अर्थचाहिँ होइन । तर मल्कीसेदेकको वास्तविकता हुनुभएका ख्रीष्टचाहिँ परमेश्वरलाई विश्वास नगर्ने बुबा-आमाबाट अर्थात् अन्यजातिको परिवारबाट जन्मनुपर्छ भन्ने अर्थ हो ।[१९] यद्यपि येशूज्यू, मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुभए तापनि उहाँ इस्राएलको यहूदाको कुलमा जन्मनुभयो ।[२०] त्यसैले त सुरुको मण्डलीको समयमा मल्कीसेदेकको विषयमा बुझाउन गाह्रो परेको थियो । येशूज्यूको पहिलो आगमनद्वारा मात्रचाहिँ बुझ्न गाह्रो भएको मल्कीसेदेक सम्बन्धी अगमवाणीचाहिँ दोस्रो आगमनका ख्रीष्ट इस्राएलमा नभएर अन्यजातिको देशमा जन्मनुहुने कुराको अगमवाणी हो ।[२१]

निस्तार-चाडलाई पुनर्स्थापन गर्नुभएका ख्रीष्ट

२,००० वर्षअघि मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारीको रूपमा आउनुभएका येशूज्यूले जस्तै दोस्रो आगमनका ख्रीष्टले पनि निस्तार-चाडको रोटी र दाखमद्यद्वारा अनन्त जीवनको आशिष् दिनुपर्छ । नयाँ करार निस्तार-चाडचाहिँ ई.सं. ३२५मा निकेयाको धार्मिक सम्मेलनमा रद्द गरियो ।[२२] अर्थात् रोटी र दाखमद्यद्वारा अनन्त जीवन दिलाउने मल्कीसेदेकको दर्जा रोकियो । १६औँ शताब्दीदेखि धेरै धर्मसुधारकहरू देखा परेर विश्वास र सत्यतामा धर्मसुधारको निम्ति आवाज उठाए । फलस्वरूप धेरै मण्डलीहरू र सम्प्रदायहरू देखा परे, तर तीमध्ये कसैले पनि निस्तार-चाडलाई पुनर्स्थापन गर्न सकेनन् ।


सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ । उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ । उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । परमप्रभु परमेश्वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ । उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ । परमप्रभुले भन्नुभएको छ । त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो ।”

यशैया २५:६-९


‘छिप्पिएको मद्य’ भन्नाले ई.सं. ३२५ देखि करीब १,६०० वर्षसम्म नमनाइएको निस्तार-चाड हो । निस्तार-चाडको रोटी र दाखमद्यद्वारा हामीलाई अनन्त जीवनको आशिष् दिन सक्नुहुने व्यक्तिचाहिँ, मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी अर्थात् परमेश्वर मात्र हुनुहुन्छ । बाइबलमा लेखिएअनुसार यो युगमा नयाँ करार निस्तार-चाडलाई पुनर्स्थापन गर्नुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । पुरानो करारको समयमा रोटी र दाखमद्य लिएर देखा परेका एकमात्र पूजाहारीचाहिँ मल्कीसेदेक थिए । २,००० वर्षअघि निस्तार-चाडको रोटी र दाखमद्यद्वारा अनन्त जीवनको आशिष् दिनुभएका एकमात्र व्यक्ति येशूज्यू हुनुहुन्थ्यो । कारण निस्तार-चाडको रोटी र दाखमद्यचाहिँ मल्कीसेदेकको दर्जाअनुसारका प्रधान पूजाहारी हुनुभएका ख्रीष्टको निर्णायक चिन्ह हो । कसैले पनि निस्तार-चाड मान्न नसकेको वर्तमान यस युगमा, निस्तार-चाडको रोटी र दाखमद्यद्वारा मानिसहरूलाई अनन्त जीवनको आशिष् दिनुभएका व्यक्तिचाहिँ केवल आन साङ होङज्यू हुनुहुन्छ । मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको रूपमा यस युगमा आउनुभएका आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुका साथै उहाँ नै जीवनको आदि र अन्त्य नभएका परमेश्वर हुनुहुन्छ ।

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू