यहोवा

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
हिब्रू भाषाको ४ वटा व्यञ्जन वर्ण मिलेर बनेको शब्द यहोवा

यहोवा भनेको पुरानो करार बाइबलमा देखिने पिता परमेश्वरको नाउँ हो, जुन सबैभन्दा पहिला मोशालाई प्रकट गरिएको थियो । उहाँको नाउँमा हिब्रू भाषाका ४ वटा व्यञ्जन वर्णहरू (יהוה, रोमी वर्णमालामा YHWH) छन्,[१] जसलाई टेट्राग्रामाटन (प्राचीन ग्रीक: τετραγράμματον) भनेर चिनिन्छ । बाइबलमा यहोवा भन्ने नाउँ सुरुमा उत्पत्ति २:४मा देखा पर्दछ ।[२] उहाँलाई यावे पनि भनिन्छ । यहोवा शब्दलाई विभिन्न तरिकाले अर्थ लगाइएको छ । परमेश्वरको ४ अक्षरको नाउँ יהוהलाई प्रायः “म हुँ” भनेर बुझिन्छ, जुनचाहिँ “हुनु (הָיָה, हाया) भन्ने हिब्रू क्रियाबाट व्युत्पन्न भएको हो ।[३] धेरैजसो विद्वानहरूले यसलाई “म हुँ, जो म हुँ” भनेर अर्थ लगाउने गर्छन् ।[४]

यहोवाको नाउँको सङ्केत लिपि

बेबिलोनको कैद (ई.पू. छैटौँ शताब्दी)पछि र विशेष गरी ई.पू. तेस्रो शताब्दीदेखि यहूदीहरूले यहोवा भन्ने नाउँ प्रयोग गर्न छोडे । त्यस बेला यहूदीहरूले “परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू”[५] भन्ने तेस्रो आज्ञालाई ‘परमेश्वरको नाउँलाई काढेर बोलाउनुहुँदैन’ भनेर बुझेका थिए । मानिसहरूले परमेश्वरको नाउँचाहिँ अति पवित्र भएकोले यो नाउँलाई जथाभावी उच्चारण गर्नुहुँदैन भनेर सोच्थे । तिनीहरूले सभाघरमा आराधना गर्दा, ‘अदोनै’(אֲדֹנָי, मेरा परमप्रभु) भनी पुकार्थे । छैटौँ शताब्दीदेखि १०औँ शताब्दीतिर बाइबलको मूल हिब्रू ग्रन्थलाई पुनरुत्पादन गरेका यहूदी मासोरेटीहरूले יהוהमा अदोनैएलोहिमको स्वर चिन्ह थपे । पुरानो करार(सेप्टुअजिन्ट)को ग्रीक अनुवादमा यहोवालाई किरिओस अर्थात् परमप्रभु भनेर अनुवाद गरिएको थियो ।[४]

अधिकांश अङ्ग्रेजी अनुवादहरू(NIV, NASB, RSV, KJV)मा यहोवालाई ‘The LORD(परमप्रभु)’ र जर्मन अनुवादमा चाहिँ, ‘der Herr(परमेश्वर)’ भनेर अनुवाद गरिएको छ । फ्रान्सेली अनुवादमा यहोवालाई ‘अनन्त एक जना’ भन्ने अर्थमा “l’Éternel” भनेर अनुवाद गरिएको छ । यो नाउँलाई रोमन अक्षरमा लेख्दा YHWH, YHVH, JHWH, JHVH भनेर लेखिएको पाइन्छ ।

परमेश्वरका अन्य उप-नामहरू

यहोवा समाविष्ट शब्दावली

यहोवाको मुक्तिको कार्य

पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर एकै र उही (त्रिएक) हुनुहुन्छ । पिता परमेश्वरले मानव-जातिका मुक्तिको निम्ति प्रत्येक युगमा फरक नाउँद्वारा मुक्तिको कार्य गर्नुभएको हो । पुरानो करारको समयमा कार्य गर्नुभएका पिता परमेश्वरको नाउँ यहोवा हो ।

आदमदेखि कुलपिताहरूको युगसम्म

आदम र हव्वाको पाप

जुलिउस स्नोर भोन क्यारोल्सफेल्डद्वारा कोरिएको चित्रमा बाइबल यहोवा (चित्रको शीर्षक : कयिन र हाबिल)

(हाबिलदेखि सुरु भएको रगत बगाउने बलिको विधि मोशाको समयसम्ममा हस्तान्तरण हुँदैआएर व्यवस्थामा संहिताबद्ध भयो ।)[६][७][८]  योचाहिँ येशू ख्रीष्ट संसारको पाप उठाइलैजाने थुमाको रूपमा आउनुहुनेछ, र मानव-जातिले उहाँको अनमोल रगतद्वारा पाप-क्षमा पाउनेछन् भन्ने कुरालाई देखाउनको निम्ति थियो ।[९][१०])

नोआ जलप्रलयबाट बचाइएका

सन् १५७०देखि इटालियाली चित्रकार ज्याकोबो बासानोद्वारा कोरिएको, जनावरहरू नोआको जहाजमा प्रवेश गर्दै

नोआको समयमा, संसार पापले भरिएको थियो । त्यो समयमा यहोवा परमेश्वरले जलप्रलयद्वारा संसारलाई इन्साफ गर्नुअघि त्यो समयका धार्मिक मानिस नोआलाई चाहिँ अग्रिम रूपमा जहाज बनाउन लगाउनुभएर तिनका परिवार र सबै जीवित-जीवातहरूलाई बचाउन भन्नुभयो । जलप्रलयपछि नोआका सन्ततिहरू अभिमानी भए, र तिनीहरूले स्वर्गसम्म पुग्नलाई बाबेलको धरहरा बनाउन जम्मा भए । तिनीहरूले एक-अर्काको भाषा नबुझून् भनेर परमेश्वरले तिनीहरूको भाषा खलबल पारिदिनुभयो र तिनीहरूलाई पृथ्वीभरि छरपष्ट गरिदिनुभयो ।

अब्राहामसँग करार बाँध्नुभएका यहोवा

अब्राहामले आफ्नो गृहनगर ऊर छोड्नुअघि यहोवा परमेश्वर तिनीकहाँ प्रकट हुनुभएर तिनलाई कनान देश दिने प्रतिज्ञा गर्नुभयो ।[११][१२] अब्राहामले उहाँको वचन मानेर कनानतिर लागे । अब्राहाम ९९ वर्षका हुँदा यहोवाले तिनीसित करार बाँध्नुभयो । उहाँले तिनका सन्तान(अर्को वर्ष जन्मनेवाला)का परमेश्वर हुनेछु भन्नुहुँदै त्यस बेलादेखि खतनालाई करारको चिन्ह बनाउनुभयो ।[१३]

परमेश्वरको प्रतिज्ञाद्वारा जन्मेका इसहाक र याकूब

अब्राहाम १०० वर्ष पुग्दा तिनकी पत्नी साराले तिनको छोरा इसहाक जन्माइन् । यहोवाले इसहाकलाई अब्राहामको समस्त सम्पत्तिको उत्तराधिकारी हुन दिनुभयो ।

जब इसहाक हुर्किए, तिनका पनि एसाव र याकूब गरी दुई जुम्ल्याहा छोराहरू भए । ती जुम्ल्याहा बच्चाहरू आमाको गर्भमा छँदादेखि नै, परमेश्वरले याकूबलाई जन्मसिद्ध ज्येष्ठाधिकारको आशिष् दिनुभयो । परमेश्वरबाट आशिष् पाउन याकूबले धेरै पीडा र कठिनाइहरू सहे र पछि गएर तिनले

इस्राएल’ भन्ने नाउँ पाए, जसको अर्थ परमेश्वरसँग लडन्त गर्नु हो ।

मिश्रमा इस्राएलीहरूको जीवन

कनानमा घोर अनिकाल छाएको बेला यहोवाले याकूबका एघारौँ छोरा योसेफद्वारा याकूबको परिवारलाई मिश्रमा बसाइँ सर्ने गराउनुभई तिनीहरूलाई बचाउनुभयो । समय बित्दैजाँदा याकूबका १२ जना छोराहरूबाट इस्राएलको १२ कुल निर्माण भयो, र त्यो नै मिश्रमा एउटा ठूलो जाति भयो । इस्राएलीहरूको सङ्ख्या धेरै भएको देखेर मिश्रका राजा फारोले तिनीहरूसित दुर्व्यवहार गरे र तिनीहरूलाई दास बनाए ।[१४]

प्रस्थानको समयदेखि न्यायकर्ताहरूको समयसम्म

४० वर्षको उजाड-स्थानको जीवन

सीनै पर्वतमा ओर्लिआउनुभएका यहोवा

यहोवाले मोशालाई अगमवक्ता नियुक्त गर्नुभई तिनीद्वारा इस्राएलीहरूलाई मिश्रबाट छुटकारा गराउनुभयो । उहाँले लाल समुद्र फटाउनुभई इस्राएलीहरूलाई ओबानो जमिनबाट हिँड्ने गराउनुभयो, अनि दिनमा बादलको खामो र रातमा आगोको खामो भएर तिनीहरूको साथमा रहनुभयो । उजाड-स्थानको अवधिभर परमेश्वरले तिनीहरूका निम्ति स्वर्गबाट मन्न बर्साइदिनुभयो । तिनीहरूलाई प्रतिज्ञाको कनानमा प्रवेश गर्न ४० वर्ष लाग्यो । इस्राएलीहरूको ४० वर्षको उजाड-स्थानको इतिहासचाहिँ तिनीहरूमा परमेश्वरप्रतिको विश्वास र करारप्रतिको आज्ञाकारिताको जाँच प्रक्रिया थियो ।[१५]
यहोवाले इस्राएलीहरू मिश्रबाट निस्किआएको वर्षमा सीनै पर्वतमा दश आज्ञा घोषणा गर्नुभएर तिनीहरूसँग करार बाँध्नुभयो । त्यसलाई पुरानो करार अथवा मोशाको व्यवस्था भनिन्थ्यो । त्यो करार र व्यवस्था पालन गर्नेलाई उहाँले ‘मेरो प्रजा’ भन्नुहुँदै उजाड-स्थानको अवधिभर तिनीहरूलाई करार र व्यवस्थाद्वारा शिक्षा दिनुभयो । तर मिश्रबाट निस्केका मानिसहरूमध्ये धेरैले गनगन गरी परमेश्वरको करारलाई त्यागे र अन्ततः उजाड-स्थानमै नष्ट भए । मिश्रबाट निस्किआएका पुरुषहरूमध्ये केवल यहोशू, कालेब र उजाड-स्थानमा जन्मिएका पुस्ता मात्र कनानमा प्रवेश गर्न सके ।

न्यायकर्ताको समयमा मूर्तिपूजा

कनानमा आएका इस्राएलीहरूले अनेक युद्ध लडेर त्यो देशलाई कब्जा गरे । तर तिनीहरूले परमेश्वरको वचन उल्लङ्घन गरेकाले तिनीहरूले सबै कनानीहरूलाई धपाउन भने सकेनन् । आफ्नै अनाज्ञाकारिताले गर्दा तिनीहरूले कनानीहरूको रीतिअनुसार मूर्तिलाई पुज्न पुगे । पापले गर्दा इस्राएलीहरूले आफ्नै वरपरका मानिसहरूबाट दमन र अपमान भोगे । इस्राएललाई बचाउन यहोवाले न्यायकर्ताहरू नियुक्त गर्नुहुन्थ्यो । तर शान्ति छाउँदैपिच्छे इस्राएलीहरूले परमेश्वरलाई बिर्सेर फेरि पाप गर्थे । पापको यो दुष्चक्र न्यायकर्ताहरूको समयसम्म चलिरह्यो ।

राज्यहरूको युग

संयुक्त राजतन्त्र

न्यायकर्ताहरूको युगको अन्त्यमा, इस्राएलीहरूले उनीहरूका वरपरका राज्यहरूमा जस्तै एक जना राजा नियुक्त गरिदिन परमेश्वरलाई बिन्ती गरे । तब यहोवाले शाऊललाई इस्राएलको पहिलो राजा नियुक्त गर्नुभयो । यो नै संयुक्त राजतन्त्रको सुरुवात थियो । केही समयपछि, शाऊल अनाज्ञाकारी भएकाले परमेश्वरले तिनलाई राजाको पददेखि हटाइदिनुभयो र दाऊदलाई राजा नियुक्त गर्नुभयो । दाऊदले आफ्नो शासनकालमा सियोनको गढी कब्जा गरे, यरूशलेमलाई नयाँ राजधानी बनाए र करारको सन्दूक यरूशलेममा सार्ने जस्ता कार्यहरू गरे । दाऊदले परमेश्वरको करार र व्यवस्था ईमानदारिताका साथ पालन गरेकाले इस्राएलमा शान्ति छायो । दाऊदका छोरा, राजा सोलोमनको समयमा यरूशलेम मन्दिर निर्माण भएपछि इस्राएलमा शान्ति छायो । तर आफ्नो शासनकालको अन्त्यमा राजा सोलोमनले आफ्ना सहायकहरूलाई पछ्याउँदै मूर्तिपूजा गरे (१ राजा अध्याय १-११; २ इतिहास अध्याय १-९) ।

विभाजित इस्राएल : दक्षिण यहूदा र उत्तर इस्राएल

दक्षिण यहूदाको राज्य र उत्तर इस्राएलको राज्य

सोलोमन राजाको मृत्युपछि इस्राएल कमजोर हुँदैगयो, र यो दुई भागमा विभाजन भयो : दक्षिण यहूदा र उत्तर इस्राएल । पहिलो राजा यारोबामको समयदेखि उत्तर इस्राएलले परमेश्वरको करारलाई इन्कार गरी सुनको बाछा पुज्यो । त्यसपछि तिनीहरूले बाल र अशेरा जस्ता अन्य देवताहरूलाई पुज्दै मूर्तिपूजामा रमाउन थाले । तिनीहरूको अनाज्ञाकारिताका कारण उत्तर इस्राएलले परमेश्वरको सुरक्षा गुमायो र ई.पू. ७२१तिर अश्शूरद्वारा नष्ट भयो । तर जब अश्शूरी सेनाहरू दक्षिण यहूदामा आइपुगे, तब त्यहाँ ईमानदारितापूर्वक परमेश्वरको सेवा गरेका राजाहरू भएकाले तिनीहरूले परमेश्वरको सुरक्षा पाए । उदाहरणको लागि, राजा यहोशापातले परमेश्वरको व्यवस्था पालन गरेर मोआब र अम्मोनको आक्रमणलाई परास्त गरे । अनि राजा हिजकिया, लामो समयसम्म नमनाइएको निस्तार-चाड मान्नू भन्ने परमेश्वरको आज्ञामा आज्ञाकारी भए । तिनीहरूको आज्ञाकारिताले गर्दा परमेश्वरले दक्षिण यहूदालाई अश्शूरको आक्रमणबाट बचाउनुभयो ।

बेबिलोनको कैददेखि यरूशलेम फर्कनेसम्म

ई.पू. ५८६तिर दक्षिण यहूदाले परमेश्वरको करारलाई त्यागेकोले बेबिलोन(नियो बेबिलोनिया)द्वारा नष्ट भयो । मानिसहरूलाई कैदी बनाएर लगियो, र राजधानी सहर यरूशलेम उजाड भूमिमा परिणत भयो । ७० वर्षको कैदपछि इस्राएलीहरू आफ्नो गृहनगर फर्कनेछन् भनेर यहोवाले अगमवाणी गर्नुभएको थियो ।[१६] फारस साम्राज्यले बेबिलोनलाई परास्त गरेपछि, अगमवाणीलाई विश्वास गर्ने र बेबिलोनलाई सहनेहरू खुशीसाथ आफ्नो गृहनगर फर्के । तिनीहरूले बुझे, कि तिनीहरूले परमेश्वरको करार र व्यवस्थालाई त्यागेकाले तिनीहरू अन्यजातिको कब्जामा परेका हुन् । यसकारण तिनीहरूले यरूशलेम मन्दिर पुनर्निर्माण गर्न र परमेश्वरको व्यवस्था पालन गर्न हरप्रयत्न गरे । येशूज्यू नआउञ्जेल तिनीहरूले यसै गरिरहे ।

विगतको इतिहास हुन आउने कुराहरूको छाया

पुरानो करारमा यहोवाले नेतृत्व गर्नुभएको मुक्तिको कार्यचाहिँ मसीह अर्थात् ख्रीष्टले यो संसारमा आउनुभएर पूरा गर्नुहुने मुक्तिको कार्यको नकल र छाया हो ।


किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो ।

हिब्रू १०:१


यहोवाले बाइबलमा छोड्नुभएका अगमवाणीहरूचाहिँ ख्रीष्ट को हुनुहुन्छ भन्ने कुराका गवाही हुन् ।


“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्,”

यूहन्ना ५:३९


विगतको इतिहास दोहोरिएको छ र नयाँ करारमा अगमवाणीहरू पूरा भएका छन् ।[१७][१८] अझ भन्ने हो भने, उजाड-स्थानमा इस्राएलीहरूको ४० वर्षको इतिहास, अनि पुरानो करारको समयमा इस्राएलको उदय र पतनचाहिँ नयाँ करारको समयमा कसले परमेश्वरको आशिष् पाउँछ भन्ने कुराको उदाहरण हो ।[१९][२०]

यहोवा परमेश्वरले आफ्ना चुनिएका प्रजाहरूमाझ करार र व्यवस्था स्थापना गर्नुभयो, अनि विश्वासी र आज्ञाकारीहरूलाई अनुग्रह गर्नुभयो । नयाँ करारको समयमा आउनुभएका ख्रीष्टले चुनिएकाहरूका निम्ति नयाँ करार र ख्रीष्को व्यवस्था स्थापना गर्नुभयो । अनि यो नयाँ करार पालन गर्नेहरूलाई उहाँले आशिष् दिनुहुन्छ ।

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू