आराधना

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

शाब्दिक रूपमा आराधना भनेको ‘ईश्वरप्रतिको आदर, श्रद्धा’ हो । विस्तृत रूपमा भन्नुपर्दा, पुरानो करारको समयमा बलिदान चढाइएजस्तै, आफू होचिएर परमेश्वरलाई श्रद्धा गर्नको लागि गरिने कार्यलाई नै आराधना भन्न सकिन्छ । तर सामान्यतया यसलाई, प्रार्थना अथवा स्तुतिद्वारा परमेश्वरलाई गरिने उपासनाको रूपमा प्रयोग गर्ने गरिएको पाइन्छ ।

आराधना गरिरहेको स्वरूप, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिर
आराधना गरिरहेको स्वरूप, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिर

पुरानो करारको बलिदान

प्रधान पूजाहारीले पशु बलिद्वारा चढाएको बलिदान

पुरानो करारको समयमा, बलि चढाएर परमेश्वरलाई आराधना गर्ने गरिन्थ्यो । बलिदानको सुरुवातचाहिँ मानव-जातिका पुर्खा आदमको समयदेखि भएको थियो । आदमका दुई छोराहरू कयिन र हाबिलले आ-आफ्नै तरिकाले परमेश्वरलाई भेटी चढाए । थुमा बलिद्वारा चढाइएको हाबिलको बलिदानलाई परमेश्वरले ग्रहण गर्नुभयो, तर भूमिको उब्जनीबाट चढाइएको कयिनको बलिदानलाई चाहिँ उहाँले ग्रहण गर्नुभएन । परमेश्वरले चाहनुहुने बलिदानचाहिँ पशुबलि हो भन्ने कुरा यसबाट बुझ्न सकिन्छ ।[१] त्यस बेलादेखि, धेरै विश्वासका पुर्खाहरूले हाबिलको उदाहरणलाई पछ्याउँदै पशुबलि चढाए ।[२][३][४] पशुको रगत बगाएर चढाइने यो बलिदान, मोशाको पालामा आएर संहिताबद्ध गरियो । पुरानो करारको समयमा, इस्राएलीहरूले व्यवस्थाअनुसार हरेक शबाथमा र ७ वटा वार्षिक चाडहरूमा बिहान र दिउँसो नित्य होमबलि चढाएर परमेश्वरसित बातचीत गर्थे । यसबाहेक पनि तिनीहरूले निरन्तर उद्देश्य र आवश्यकता अनुसारका थोक ल्याएर व्यक्तिगत रूपमा पनि बलिदान चढाउँथे ।

पुरानो करारमा बलिदानको प्रकार

पुरानो करारको समयमा पवित्रस्थानमा चढाइने बलिदानको प्रकार, विधि र नाम मिल्दोजुल्दो हुने र दोहोरिने भएकोले ती बलिदानहरूलाई ठीकसँग छुट्‌ट्याउन सजिलो थिएन । यद्यपि बलिदानको उद्देश्य, बलिको वस्तु र विधिअनुसार यसलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ ।

  • उद्देश्यअनुसार वर्गीकरण
यो मुख्य गरी पापबलि, दोषबलि र मेलबलिमा वर्गीकृत छ । पापबलि र दोषबलि दुवैमा, पापबाट छुटकारा भन्ने अर्थ समावेश छ । परमेश्वरको विरुद्धमा पाप गर्दा मानिसहरूले प्रायः पापबलि चढाउँथे, अनि मानिस-मानिसबीचको सामाजिक नियम तोड्दा तिनीहरूले दोषबलि चढाउँथे । मेलबलिचाहिँ पाप-क्षमा दिनुभएका परमेश्वरको अनुग्रहप्रति धन्यवाद दिँदा अथवा परमेश्वरलाई कुनै कुराको बिन्ती गर्दा चढाइने बलि थियो । यसमा चाहिँ, बलिदान चढाउने व्यक्तिले पनि पूजाहारीसँगै उक्त बलिदानबाट खान सक्थ्यो ।
  • बलिको वस्तुअनुसार वर्गीकरण
यसलाई होमबलि, अन्नबलि र अर्घबलिको रूपमा वर्गीकरण गर्न सकिन्छ । होमबलिचाहिँ सबैभन्दा आधारभूत र साधारण बलिदान थियो, र यसमा पशुलाई आगोमा जलाएर बलिदान गरिन्थ्यो । शाब्दिक रूपमा अन्नबलि भनेको अन्न चढाइने बलि हो, र यसमा पीठो, तेल र धूप बालेर अनि रोटी पोलेर चढाइन्थ्यो । त्यसै गरी अर्घबलि गर्दा दाखमद्य खन्याएर बलिदान चढाइन्थ्यो । होमबलिचाहिँ अन्नबलि वा अर्घबलि सँगसँगै चढाइन्थ्यो ।[५][६]
  • विधिअनुसार वर्गीकरण
आगोद्वारा चढाइने बलि, माथि उठाइने बलि र डोलाइने बलि गरेर यसमा ३ वटा विधि पर्दछ । होमबलि र केही अन्नबलिचाहिँ आगोद्वारा चढाइन्थ्यो । माथि उठाइने बलिलाई, परमेश्वर सामु माथि उठाएर चढाइन्थ्यो र डोलाइने बलिलाई चाहिँ डोलाएर चढाइन्थ्यो । अगौटे फलको चाडमा, परमेश्वरलाई बालीको पहिलो उब्जनीको एक बिटा डोलाएर चढाइन्थ्यो ।

नयाँ करारमा आराधना

बलिदानदेखि आराधनासम्म

पुरानो करारको व्यवस्थाचाहिँ नयाँ करारमा हुन आउने उत्तम कुराहरूको छाया हो ।[७] मोशाको व्यवस्थाअनुसार पूजाहारीहरूले पशुबलि गरेर रगतको बलिदान चढाउँथे । पशुलाई बलि गरेर पाप-क्षमा पाइने पुरानो करारको बलिदानचाहिँ, भविष्यमा मानव-जातिको पापको सट्टामा ख्रीष्ट बलिदान हुनुहुने कुरालाई दर्शाउने अगमवाणी हो । पुरानो करारको बलिदानको रगतले, येशूज्यूले क्रूसमा बगाउनुभएको अनमोल रगतलाई सङ्केत गर्दछ ।[८] अनि येशूज्यू स्वयम्‌ अनन्त पापबलिको रूपमा बलिदान हुनुभएकोले त्यस उप्रान्त पुरानो करारको बलिदान आवश्यक परेन ।[९][१०] साथै नयाँ करारको समयमा, हामीले आत्मा र सत्यतामा आराधना गऱ्यौं भने येशूज्यूको बलिदानद्वारा हामीले पाप-क्षमा र सम्पूर्ण आशिष् प्राप्त गर्छौं ।

सामरी स्त्रीलाई आत्मा र सत्यतामा आराधना गर्न सिकाउनुहुने येशूज्यू

येशूज्यूको शिक्षा

येशूले तिनलाई भन्नुभयो, “ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँडामा, न यरूशलेममा पिताको आराधना गर्नेछौ । . . . तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन् । किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ ।”

यूहन्ना ४:२१-२३


येशूज्यूको समयमा, यरूशलेममा पुरानो करारको व्यवस्थाअनुसार हरेक दिन पशुहरू बलि गरिन्थ्यो । तर येशूज्यूले अब उप्रान्त पुरानो करारको विधिअनुसार पशुबलि गर्न जरुरी छैन भन्ने अर्थमा ‘न यरूशलेममा’ भन्नुभयो । नयाँ करारको समयमा, येशूज्यूले देखाउनुभएको उदाहरणलाई पछ्याउँदै प्रेरितहरूले आत्मा र सत्यतामा आराधना गरे ।

आराधनाको उद्देश्य

पाप-क्षमा पाएर परमेश्वरसँग मेलमिलाप गर्न

आराधना गर्नुको सबैभन्दा ठूलो उद्देश्यमध्येको एक नै पाप-क्षमा पाउनु हो । पापले गर्दा परमेश्वरबाट टाढिएका मानव-जातिले पाप-क्षमा पाएर परमेश्वरको समीप जाने एकमात्र धर्मविधि भनेकै आराधना हो ।[११][१२][१३] पुरानो करारको समयमा इस्राएलीहरूले, आफ्नो पाप क्षमा पाउनको निम्ति पशुबलि गर्थे, र त्यो बलिको रगतद्वारा आराधना गर्थे । तर नयाँ करारको समयमा, थुमाको रूपमा सङ्केत गरिनुभएका ख्रीष्ट स्वयम्‌ मानव-जातिको पाप-क्षमाको निम्ति बलिदान हुनुभयो ।[१४] योद्वारा धेरै मानिसहरू पापको साङ्लोबाट मुक्त भए, र पापले गर्दा टाढिनुभएका परमेश्वरसँग मेलमिलाप गर्न सक्ने बाटो खुल्यो ।[१५] त्यसैले पापी मानव-जातिका निम्ति बलिदान हुनुभएका ख्रीष्टको प्रेमलाई सम्झना गर्नको निम्ति मानव-जातिले परमेश्वरलाई आराधना गर्न आवश्यक छ ।

परमेश्वरसँगको हाम्रो सम्बन्ध निश्चित गर्न

परमेश्वर र उहाँका प्रजाले आराधनाद्वारा आत्मिक रूपमा भेटघाट र बातचीत गर्न सक्छन् । परमेश्वरले बलिदान अर्थात् आराधनाद्वारा आफ्ना प्रजासँग करार बाँध्नेछु भन्नुभएको छ ।[१६] आराधनाचाहिँ मानिसहरूले सृष्टिकर्ता परमेश्वरसँग बाँधेका करारलाई दह्रिलो पार्न र दृढताका साथ परमेश्वरको सेवा गर्न सकून् भनेर बनाइएको विधि हो । आराधनाद्वारा सन्तहरूले परमेश्वर र आफूबीच बुबा-आमा र सन्तान, राजा र प्रजा, सृष्टिकर्ता र सृष्टिका थोकको सम्बन्ध गाँसिन्छ भनी सोच्दछन् । संसारमा धेरै देवताहरू र प्रभुहरू छन् ।[१७] तर यदि मानिसहरूले परमेश्वरलाई पूर्ण रूपमा सेवा गरेनन् भने तिनीहरू विनाशमा पर्नेछन् ।[१८] सन्तहरूले आराधनाद्वारा साँचो परमेश्वरको सेवा गर्न सक्ने भएकाले तिनीहरू परमेश्वरसित अविभाज्य प्रेमको सम्बन्धमा बाँधिन्छन् ।[१९][२०]

परमेश्वरलाई धन्यवाद र महिमा दिन

परमेश्वर यावत् थोक सृजनुहुने सृष्टिकर्ता हुनुहुन्छ । उहाँले नै मानव-जातिलाई जीवनको सास दिनुभयो, पापी मानव-जातिलाई बचाउनुभयो, र सत्यताको वचनद्वारा स्वर्गको प्रतिज्ञा गर्नुभयो । परमेश्वरले मुक्तिको प्रबन्ध खडा गर्नुभयो र त्यसैअनुसार पूरा गर्नुभयो, जुन कुरा मानिसहरूले बुझेका छैनन् ।


“हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए, र तिनको सृष्टि भयो ।”

प्रकाश ४:११


सन्तहरू हरेक दिन परमेश्वरको प्रेम र हेरचाह प्राप्त गर्दै उहाँको अनुग्रहभित्र जिउँछन् । महिमा, आदर र धन्यवाद ग्रहण गर्न योग्यका परमेश्वरलाई आराधना गर्नुचाहिँ मुक्ति पाउने सन्तहरूले गर्नैपर्ने कार्य हो ।

आराधनाको आशिष्‌

परमेश्वरको सेवा गर्नेहरूलाई स्वर्गीय प्रजाको योग्यता र परमेश्वरका सन्तानको अधिकार, अनि अन्त्यमा आशिष् दिन चाहनुहुने परमेश्वरको इच्छा आराधनामा समावेश छ । सन्तहरूले परमेश्वरलाई आत्मा र सत्यतामा धन्यवाद र महिमा दिँदा परमेश्वरले तिनीहरूलाई प्रशस्त आशिष्‌ दिनुहुनेछ । पुरानो करारको बलिदानमा समाविष्ट परमेश्वरका प्रतिज्ञाहरूद्वारा

आराधनाको आशिष्‌बारे जान्न सकिन्छ ।

  • पुरानो करारको बलिदानचाहिँ, पापले गर्दा परमेश्वरबाट टाढिएका पापीहरूले[२१] पाप-क्षमा पाएर परमेश्वरकहाँ जान सक्ने एकमात्र तरिका थियो ।[२२][२३] हुन त मुक्तिको चाह गर्ने सन्तहरूले आराधना गर्नुको उद्देश्य पाप-क्षमा पाउनु हो, तर यसमा परमेश्वरको ठूलो आशिष् पनि छ ।
  • यदि कसैले बलिदान(आराधना) चढायो भने ऊ शारीरिक र आत्मिक दुवै रूपमा समृद्ध हुन सक्छ । सोलोमनले एक हजार होमबलि चढाएर परमेश्वरबाट बुद्धि प्राप्त गरे, र त्यो समयका सबैभन्दा बुद्धिमान् राजा बने ।[२४] परमेश्वरको आशिष्‌मुनि तिनको राज्य निकै समृद्ध भयो । ओबेद-एदोमको घरमा करारको सन्दूक राखिँदा परमेश्वरले त्यो घरानालाई ठूलो आशिष् दिनुभयो । यो कुराले, मन्दिरमा परमेश्वरको आराधना गर्नेहरूले आशिष् पाउनेछन् भन्ने कुरा देखाउँछ ।[२५]
  • जब हामीले परमेश्वरको आज्ञाअनुसार आराधना गर्छौं, तब हामीले आत्मिक बुद्धि र समझको आशिष् पाउनेछौं । तर मानिसको नियम पालन गर्नेहरूको चाहिँ बुद्धि र समझ लोप हुनेछ भनेर यशैया अगमवक्ताले अगमवाणी गरेका छन् ।[२६] मानिसको नियम भन्नाले बाइबलमा नभएको आइतबारको सेवाक्रिसमसजस्ता झूटा आराधनाहरू हुन् । बाइबलमा नभएको मानिसको नियम अर्थात् झूटो आराधना गर्नेहरू कदापि स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनन् । परमेश्वरले आज्ञा गर्नुभएको आराधना र चाडहरू मानेमा मात्र ख्रीष्टको रगतद्वारा बुद्धि र समझ प्राप्त गरी परमेश्वरको रहस्य र मुक्तिको प्रबन्धलाई पूर्ण रूपमा बुझ्न सकिन्छ ।[२७]
  • चाडको आराधनामा समाविष्ट अर्थ र आशिष् अझ विशेष छ । परमेश्वरका ३ चरणका ७ वटा चाडहरू प्रत्येकमा फरक-फरक आशिष्‌को प्रतिज्ञा भएकोले ती चाडका आराधनाहरू गरेमा परमेश्वरबाट आशिष् पाउन सकिन्छ । चाडको आराधना भनेको एउटा यस्तो बाटो हो, जसबाट भएर गएमा पाप-क्षमा, अनन्त जीवन, विपत्तिबाट सुरक्षा, पुनरुत्थानको जीवित आशा, स्वर्ग उचालिने प्रतिज्ञा र पवित्र आत्माका वरदान जस्ता थुप्रै आशिष्‌हरू पाउन सकिन्छ । साप्ताहिक चाड रहेको शबाथको आराधना गरेमा, परमेश्वरको प्रजाको रूपमा स्वीकार पाई अनन्त विश्राममा प्रवेश गर्ने आशिष्‌को प्रतिज्ञा पाउन सकिन्छ ।

आराधनाको दिन

परमेश्वरका प्रजाले चाडको विधिअनुसार साप्ताहिक र वार्षिक चाडहरू मान्दछन् ।[२८]

साप्ताहिक चाड

  • शबाथ-दिन: शबाथ-दिनचाहिँ सृष्टिकर्ताको शक्तिलाई सम्झना गर्ने साप्ताहिक चाड हो । बाइबलमा शबाथ-दिनचाहिँ सातौँ दिन, शनिबार हो ।
  • तेस्रो दिनको आराधना : शुद्धीकरणको आशिष् दिलाउने तेस्रो दिनको आराधनाचाहिँ मंगलबार साँझमा गरिन्छ ।[२९]

वार्षिक चाड

वार्षिक चाडहरूमा निस्तार-चाड, अखमिरी रोटीको चाड, पुनरुत्थानको दिन (अगौटे फलको चाड), पेन्तिकोसको दिन (साताहरूको चाड), तुरहीको चाड, प्रायश्चितको दिन, र छाप्रो-वासको चाड पर्दछ । ३ चरणका ७ वटा चाडहरू प्रत्येकको आ-आफ्नै अगमवाणीगत अर्थ र आशिष् छ ।

विशेष आराधना

विशेष उद्देश्य हुँदा गरिने विशेष आराधना हुन्छ । साथै मण्डलीमा सम्झनात्मक आराधना, पारिवारिक आराधना जस्ता विशेष अवसरका आराधनाहरू पनि गर्न सकिन्छ ।

आराधनाका ढाँचा

बाइबलमा आराधनाको आधारभूत ढाँचा यही नै हो भनेर लेखिएको त छैन तर येशूज्यू र प्रेरितहरूको कार्यलाई हेरेमा सुरुको मण्डलीको आराधनाको ढाँचा देख्न सकिन्छ । सुरुको मण्डलीको समयमा विभिन्न ठाउँहरूमा आराधना गरिन्थ्यो, जस्तै सन्तहरूको घरमा, बाहिरी

ठाउँहरूमा, र यहूदीहरू भेला हुने सभाघरहरूमा आदि ।

  • प्रवचन : येशूज्यूले शबाथ-दिनमा सभाघरमा गएर प्रवचन दिनुहुँदै उदाहरण देखाउनुभयो ।[३०][३१] प्रेरितहरूले पनि सभाघरमा आराधना गर्दै प्रवचन दिए ।[३२]
  • प्रार्थना : आराधनालाई प्रार्थना समय पनि भन्न सकिन्छ । पावल र सिलासले शबाथ-दिनमा आराधना गर्ने ठाउँ खोजेका कुरालाई बाइबलमा, तिनीहरूले ‘प्रार्थना गर्ने ठाउँ’ खोजेका थिए भनेर लेखिएको पाइन्छ ।[३३]
  • प्रशंसा : आराधना समयमा प्रशंसा पनि सँगै गरिन्छ । सन्तहरू एकसाथ भेला हुँदा भजन गाउनुपर्छ, वचन अध्ययन गर्नुपर्छ भनेर प्रेरित पावलले बताएका छन् ।[३४]
  • चाडको धर्मविधि: चाडको आराधनाको अर्थअनुसार केही चाडहरूमा विशेष धर्मविधि गरिन्छ । बाइबलमा हेर्दा, निस्तार-चाडमा पवित्र भोज र पुनरुत्थानको दिनमा रोटी भाँचेर खाएको कुरा लेखिएको छ ।[३५][३६]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

  1. "उत्पत्ति ४:१-५" 
  2. "उत्पत्ति ८:२०-२१" 
  3. "उत्पत्ति १२:७" 
  4. "उत्पत्ति १५:९" 
  5. "प्रस्थान २९:४१-४२" 
  6. "गन्ती १५:५-६" 
  7. "हिब्रू १०:१" 
  8. "हिब्रू ७:२७" 
  9. "रोमी ५:६-११" 
  10. "हिब्रू १०:८-१८" 
  11. "यशैया ५९:१-२" 
  12. "लेवी ४:१३-२०" 
  13. "लेवी ५:१८-१९" 
  14. "१ कोरिन्थी ५:७" 
  15. "एफिसी २:१२-१९" 
  16. "भजनसंग्रह ५०:४-५" 
  17. "१ कोरिन्थी ८:५" 
  18. "यर्मिया १०:११" 
  19. "लेवी २६:१२" 
  20. "यूहन्ना ४:२३" 
  21. "यशैया ५९:१-२" 
  22. "लेवी ४:१३-२०" 
  23. "लेवी ५:१८-१९" 
  24. "१ राजा ३:४-१४" 
  25. "२ शमूएल ६:९-११" 
  26. "यशैया २९:१३-१४" 
  27. "एफिसी १:७-९" 
  28. "लेवी २३:१-४४" 
  29. "गन्ती १९:१-२२" 
  30. "मर्कूस १:२१" 
  31. "लूका ४:१६" 
  32. "प्रेरित १३:१३-४४" 
  33. "प्रेरित १६:१३" 
  34. "१ कोरन्थी १४:२६-४०" 
  35. "१ कोरिन्थी ११:२३-२६" 
  36. "प्रेरित २०:७"