परमेश्वरको छाप

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
अन्तिम भोजको रूपमा चिर-परिचित निस्तार-चाडको पवित्र भोज
अन्तिम भोजको रूपमा चिर-परिचित निस्तार-चाडको पवित्र भोज

नयाँ करार बाइबलको प्रकाश अध्याय ७को अगमवाणीमा परमेश्वरको छापबारे देख्न सकिन्छ । महासङ्ककष्ट आउनुअघि परमेश्वरका प्रजाको निधारमा मोहोर लगाइने कुरालाई प्रेरित यूहन्नाले प्रकाशमा देखे । सजिलो गरी भन्नुपर्दा, परमेश्वरको मोहोर भनेकै परमेश्वरको छाप हो ।[१] जुनसुकै युगमा होस्, परमेश्वरबाट योग्य ठहरिएकाहरूलाई परमेश्वरले छाप लगाउनुहुन्छ । बाइबलमा प्रेरितको कार्यभारको छाप पनि छ[२] भने विश्वासद्वारा पाइने धार्मिकताको छाप पनि छ ।[३] साथै परमेश्वरले आफ्ना प्रजामाथि आफ्नो छाप लाउनुहुन्छ, र हाम्रो हृदयमा बैनाको रूपमा पवित्र आत्मा दिनुहुन्छ ।[४] तर प्रकाश ७:२मा भनिएको छापचाहिँ सन्तहरूलाई अन्तिम विपत्तिबाट पार गराउने उद्धारको चिन्ह अर्थात् नयाँ करारको निस्तार-चाड हो ।

परमेश्वरको छाप लगाउने कार्य

बतासलाई रोकेका चार स्वर्गदूतहरू, अल्ब्रेच ड्यूरर, सन् १४९८

परमेश्वरको छाप लगाउने कार्यसम्बन्धी अगमवाणी प्रकाश ७मा लेखिएको छ ।


यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें । तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें । पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने, “हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर ।”

प्रकाश ७:१-३


पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार पाएका चार स्वर्गदूतले बतासलाई रोकिरहेका छन् । बाइबलमा बतासले युद्धलाई जनाउँछ ।[५] अनि चार स्वर्गदूतहरूले चारै कुनामा रोकेर राखेका बतासले चाहिँ सारा संसारमा हुने विश्वयुद्धलाई जनाउँछ । पृथ्वीको चार कुनाबाट चल्ने बतासलाई रोकेपछि, परमेश्वरले सन्तहरूको निधारमा छाप लगाउनुहुन्छ । अनि जब परमेश्वरको छाप लगाउने कार्य सकिन्छ, तब ती चार स्वर्गदूतहरूले रोकेर राखेका बतास छोडिनेछ र संसारमा महायुद्ध हुनेछ । विपत्ति आउनुअघि परमेश्वरले आफ्ना प्रजालाई बचाउन तिनीहरूमा छाप लगाउनुहुन्छ ।

कहिले ?

इतिहासमा हेर्ने हो भने विश्वयुद्ध दुई पटक भएको छ । प्रकाश ७मा भनिएको स्वर्गदूतहरूले रोकिराखेका युद्धचाहिँ दोस्रो विश्वयुद्ध (सन् १९३९-१९४५) हो । यो कुरा प्रकाश ६ले प्रमाणित गरेको छ ।


जब उहाँले छैटौँ मोहोर तोड्नुभयो, तब मैले ठूलो भूकम्प गएको देखें । सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो । अनि अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे ।

प्रकाश ६:१२-१३


बाइबलमा अञ्जीरका फल र आकाशका ताराहरूले इस्राएलीहरूलाई जनाउँछ ।[६][७] अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे भन्नाले विश्वयुद्धमा परेर धेरै यहूदीहरू मारिए भन्ने अर्थ हो । दोस्रो विश्वयुद्धको बेला जर्मन नाजीले यहूदीहरूलाई निम्न दर्जाका जातिको संज्ञा दिएर तिनीहरूलाई जबरजस्ती घेट्टो(बन्दी यहूदीहरूको आवासको लागि निर्मित असुविधाजनक गृह) र यातना शिविरहरूमा पठाए, अनि जातीय सफाइको नाममा लिङ्ग र उमेरको पर्वाह नगरी सबैलाई संहार गरे । यसरी १५ लाख जना बालबालिका सहित ६० लाखभन्दा बढी यहूदीहरू मारिए ।[८]

स्वर्गदूतहरूले पृथ्वीका चार कुनाको बतासलाई छोडेपछि अर्थात् सन् १९४५मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि परमेश्वरको छाप लगाउने कार्य सुरु हुन्छ भनेर प्रकाश अध्याय ७मा लेखिएको छ ।

कहाँ ?

परमेश्वरको छाप लगाउने कार्य पूर्वबाट सुरु हुन्छ ।


तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें । पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने, “हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर ।”

प्रकाश ७:२-३


प्रेरित यूहन्नाले प्रकाश देखेको पत्मोस टापूलाई केन्द्रबिन्दु बनाएर हेर्दा, प्रकाश अध्याय ७मा भनिएको पूर्वले गणतन्त्र कोरिया(दक्षिण कोरिया, यस उप्रान्त कोरिया)लाई जनाउँछ, जुनचाहिँ महादेशसँग जोडिएको पूर्वको पल्लो छेउको देश हो । पूर्वका धेरै देशहरूमध्ये, बाइबलमा अगमवाणी गरिएको पूर्वी देशचाहिँ कोरिया हो । कारण ‘परमेश्वरको छाप’ कोरियाबाट देखा परेको हो ।

इस्राएलबाट पूर्वको पल्लो छेउमा अवस्थित गणतन्त्र कोरिया
इस्राएलबाट पूर्वको पल्लो छेउमा अवस्थित गणतन्त्र कोरिया

परमेश्वरको छाप, निस्तार-चाड

परमेश्वरका प्रजालाई अन्तिम विपत्तिबाट बचाउने चिन्ह नै परमेश्वरको छाप हो । साथै विपत्तिबाट बचाउने सत्यता निस्तार-चाड हो । निस्तारको अर्थ भनेकै विपत्ति पार हो । त्यसैले यसलाई हिब्रूमा फेसाह (פֶּסַח) र ग्रीकमा पास्का (πασχα) भनिन्छ । यी सबै शब्दले विपत्ति पार भन्ने अर्थ बुझाउँछ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि स्थापना भएको समयदेखि नै विपत्ति पार गराउने उद्धारको चिन्ह बनेको छ । चार स्वर्गदूतले पृथ्वीको चार कुनामा बतासलाई रोकिरहेका बेला, सन्तहरूलाई त्यो निकट विपत्तिबाट बचाउन परमेश्वरले तिनीहरूका निधारमा छाप लगाउनुहुन्छ । यहाँ, छापले पनि निस्तार-चाडलाई जनाउँछ ।

प्रस्थानको समय

निस्तार-चाड मानेको घरानाबाट पार भएर जाने विनाशक स्वर्गदूत

ई.पू. १५औँ शताब्दीतिर इस्राएलीहरू मिश्रको दासत्वमा जिइरहेका थिए । तिनीहरूलाई छुटकारा गराउन परमेश्वरले, मिश्रका पहिले जन्मेकाहरूलाई नाश गर्ने ठूलो विपत्ति झार्नुभयो । तर विपत्ति झार्नुअघि उहाँले इस्राएलीहरूलाई (पवित्र पात्रोअनुसार) पहिलो महिनाको चौधौँ दिनको साँझमा थुमा काटेर त्यसको रगत ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लाउन भन्नुभयो । यो पहिलो पटकको निस्तार-चाड थियो ।


“तिमीहरूको पाठो खोटरहित होस्– एक वर्षको पाठो । तिमीहरूले त्यो भेडा अथवा बाख्राबाट लिनू । त्यो तिमीहरूले त्यस महिनाको चौधौँ दिनसम्म राख्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले यो बेलुकीपख मारून् । तब तिनीहरूले त्यसको रगत लिएर जुन-जुन घरमा त्यो खाइन्छ, त्यसको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लाऊन् । . . . यो परमप्रभुको निस्तार-चाड हो । त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु । म परमप्रभु हुँ । तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ । जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन ।” -

प्रस्थान १२:५-१३


निस्तार-चाडको रातमा, फारोको जेठो छोरादेखि लिएर झ्यालखानमा हुने कैदीको जेठो छोरासम्म, मिश्रमा सबै पहिले जन्मेका र गाईबस्तुहरूका पहिले बियाएकासमेत सबै मारिए ।[९] तर निस्तार-चाड मानेका इस्राएलीहरू भने विपत्तिबाट बचाइए र त्यसको भोलिपल्ट तिनीहरूले मिश्रबाट छुटकारा पाए । इस्राएलीभन्दा बाहिरका अन्यजातिहरू समेत निस्तार-चाडको थुमाको रगतद्वारा विपत्तिबाट बाँचे, र तिनीहरूले पनि इस्राएलीहरूसँगै मिश्रदेश छोडे ।[१०] परमेश्वरको प्रतिज्ञाअनुसारै, निस्तार-चाडको थुमाको रगतचाहिँ विपत्ति पार गराउने चिन्ह बन्यो ।

हिजकिया राजाको समय

पिटर पल रुबेन्सद्वारा कोरिएको सनहेरीबको पराजय : स्वर्गदूतद्वारा एकै रातमा १,८५,००० जना अश्शूरी सेना मारिएका

‘विपत्ति पार’ गराउने निस्तार-चाडको प्रतिज्ञा प्रस्थानको समयमा मात्र सीमित थिएन । प्रस्थानपछिको करीब ८०० वर्ष, अर्थात् हिजकियाको समयमा पनि निस्तार-चाड उत्तिकै प्रभावकारी रहेको देख्न सकिन्छ । हिजकिया दक्षिण यहूदाका १३औँ राजा थिए । एकीकृत राज्य इस्राएल जब उत्तर इस्राएल र दक्षिण यहूदामा विभाजित भयो, तब लामो समयसम्म निस्तार-चाड मनाइएन । तर हिजकिया सिंहासनमा बस्नेबित्तिकै,[११] यशैया अगमवक्ताको सल्लाहअनुसार तिनले भत्किएको मन्दिरलाई मर्मत गरे र निस्तार-चाड मान्ने निर्णय गरे ।[१२] तिनले दक्षिण यहूदामा मात्र होइन तर उत्तर इस्राएलमा पनि समाचारवाहकहरू पठाए, र तिनीहरूलाई निस्तार-चाड मान्न आऊन् भनी निम्तो दिए । उत्तर इस्राएलका प्रथम राजा यारोबामले मूर्ति बनाएर मानिसहरूलाई त्यो पुज्न लगाएका समयदेखि उत्तर इस्राएलका मानिसहरूले २५० वर्षभन्दा बढी समयसम्म निस्तार-चाड मानेका थिएनन् ।[१३] त्यसैले निस्तार-चाडको विषयमा अनभिज्ञ रहेका ती उत्तर इस्राएलीहरूले समाचारवाहकहरूको गिल्ला र हाँसो गरे ।[१४] तर समाचारवाहकहरूको कुरा नम्रतापूर्वक स्वीकारेका यहूदा र केही उत्तर इस्राएलका मानिसहरू भने निस्तार-चाड मान्नलाई यरूशलेममा भेला भए ।[१५]

त्यसको ३ वर्षपछि, अश्शूरी सेनाले उत्तर इस्राएलको राजधानी सामरियालाई घेरा हाले । अश्शूरचाहिँ, भूमध्यसागरको तट र एसिया माइनरको केही भाग कब्जा गरेको शक्तिशाली राज्य थियो । ३ वर्षसम्म घेरा हालेपछि सामरिया कब्जा गरियो, लाखौँ मानिसहरू मारिए र हजारौँ मानिसहरू कैदी बनाइए ।[१६] अनि ई.पू. ७२१तिर उत्तर इस्राएल पूर्ण रूपमा नष्ट भयो । उत्तर इस्राएल नष्ट हुनुको मूलभूत कारणचाहिँ त्यो देशले परमेश्वरको करारलाई उल्लङ्घन गरेकोले हो भनेर २ राजाको पुस्तकमा बताइएको छ ।


हिजकियाका शासनकालको चौथो वर्षमा, जो इस्राएलका राजा एलाहका छोरा होशियाको सातौँ वर्ष थियो, अश्शूरका राजा शलमनेशेरले सामरियामाथि आक्रमण गरे, र त्यसलाई घेरा हाले । तीन वर्षसम्म घेरा हालेपछि अश्शूरीहरूले त्यो कब्जा गरे । यसरी हिजकियाको छैटौँ वर्षमा, जो इस्राएलका राजा होशियाको नवौँ वर्ष थियो, सामरिया कब्जा गरियो । . . . यो यही कारण भएको थियो, कि तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गरेका थिएनन्, तर उहाँको करार, अर्थात् परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएका सबै आज्ञालाई तिनीहरूले उल्लङ्घन गरेका थिए । तिनीहरूले न त आज्ञाहरूमा ध्यानै दिए, न ती पालन गरे ।

२ राजा १८:९-१२

यहूदा देश वरिपरिको अश्शूरी क्षेत्र

हिजकियाको १४औँ वर्षमा, अश्शूरका राजा सनहेरीबले आफ्ना सेनाको नेतृत्व गर्दै दक्षिण यहूदाका किल्ला भएका सहरहरू कब्जा गरे । घेराबन्दीचाहिँ राजधानी यरूशलेमसम्म थियो ।[१७][१८] सनहेरीब र तिनका सेवकहरूले दक्षिण यहूदा र तिनीहरूका परमेश्वरको गिल्ला गरे ।[१९]

तब हिजकियाले परमेश्वरको इच्छा सोध्न आफ्ना एल्डरहरूलाई यशैया अगमवक्ताकहाँ पठाए । परमेश्वरले भन्नुभयो, “त्यो यस सहरभित्र पस्नेछैन, अथवा त्यसले एउटा काँड पनि यहाँ हान्नेछैन । त्यो ढाल लिएर यसको अगि आउनेछैन, अथवा यसको विरुद्धमा घेरा-मचान लाउनेछैन । त्यो आएकै बाटो भएर फर्किजानेछ ।”[२०] परमेश्वरले भन्नुभएअनुसारै अश्शूरी सेना एकै रातमा नष्ट भए ।


“मेरो खातिर र मेरो दास दाऊदको खातिर म यस सहरलाई रक्षा गर्नेछु र बचाउनेछु ।” त्यस रात परमप्रभुका स्वर्गदूत निस्के, र तिनले अश्शूरको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे । जब भोलिपल्ट बिहानै मानिसहरू उठे, त्यहाँ सबै लाशहरू मात्र थिए ।

२ राजा १९:३४-३५


हिजकियाले परमेश्वरको आशिष्‌भित्र आफ्नो देशको स्थिरतालाई सुनिश्चित गर्न निस्तार-चाड सुनाए र माने । तिनले चाहेअनुसारै परमेश्वरले, निस्तार-चाड मानेको यहूदालाई अश्शूरको आक्रमणबाट बचाउनुभयो ।

नयाँ करारको समय

फ्रान्सिस्को डेइ जुर्बारान, परमेश्वरको थुमा, सन् १६३५ - १६४०: ख्रीष्ट, निस्तारको थुमाको रूपमा बलिदान हुनुभयो ।

पुरानो करारको समयमा इस्राएलीहरूले थुमाको मासु र रगतद्वारा निस्तार-चाड माने । यो तरिकाले निस्तार-चाड मनाइनुको उद्देश्यचाहिँ नयाँ करारको समयमा येशू ख्रीष्टको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा सन्तहरूलाई नयाँ करार निस्तार-चाड मान्न लगाउनको निम्ति हो । पुरानो करारको समयमा[२१] पशु बलिको वास्तविकताको रूपमा आउनुभएर आफ्ना प्रजाको मुक्तिको निम्ति क्रूसमा रगत बगाउनुभयो ।


हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ ।

१ कोरिन्थी ५:७


पुरानो करारको समयमा, निस्तारको थुमाको रगतचाहिँ इस्राएलीहरूबाट विपत्ति पार हुने चिन्ह थियो । नयाँ करारको समयमा, निस्तारको थुमाको रूपमा येशूज्यूले क्रूसमा बगाउनुभएको रगत पनि उस्तै हो ।

त्यसैले येशूज्यूले निस्तार-चाडमा आफ्ना चेलाहरूलाई दाखमद्य दिनुहुँदै “यो कचौरा तिमीहरूको मुक्तिको निम्ति बगाइएको करारको मेरो रगत हो” भन्नुभयो । साथै उहाँले निस्तार-चाडको रोटीलाई आफ्नो शरीर भन्नुभयो ।


“मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ, ...” अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” . . . यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा(दाखमद्य) लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”

लूका २२:१५, १९-२०


पुरानो करारको समयमा इस्राएलीहरूले थुमाको मासु र रगतद्वारा निस्तार-चाड मानेजस्तै, नयाँ करारका सन्तहरूले पनि थुमाको वास्तविकता हुनुभएका येशूज्यूको देह र रगतद्वारा नयाँ करारको निस्तार-चाड मान्दछन् । क्रूसमा रगत बगाउनुभएका ख्रीष्टको प्रेमलाई हृदयमा खोपेर नयाँ करार निस्तार-चाड मानेका सन्तहरूले ख्रीष्टको रगतद्वारा पाप-क्षमा र अनन्त जीवनको आशिष् प्राप्त गर्छन् ।[२२][२३] साथै छाया रहेको पुरानो करारको इतिहासमा देखाउनुभएजस्तै, यी अन्त्यका दिनहरूमा हामीले महासङ्कष्टबाट बच्ने आशिष् पाउनेछौं । प्रस्थानको समय र हिजकियाको समयमा जस्तै, निस्तार-चाडको रगतचाहिँ अन्त्यका दिनहरूमा परमेश्वरका प्रजालाई विपत्ति पार गराउने चिन्ह हुनेछ । त्यसैले प्रकाश ७मा उल्लेखित परमेश्वरको छापचाहिँ नयाँ करार निस्तार-चाडसम्बन्धी अगमवाणी हो । यूहन्नाको सुसमाचारमा लिखित येशूज्यूको वचनद्वारा पनि यो यथार्थतालाई निश्चित गर्न सकिन्छ । येशूज्यूले भन्नुभयो, “मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।”[२४] योचाहिँ निस्तार-चाड मानेमा येशूज्यूसँग एउटै शरीर बन्न सकिन्छ भन्ने अर्थ हो । येशूज्यूले आफूलाई परमेश्वरको छाप प्राप्त व्यक्ति भन्नुभएको छ ।


“किनभने परमेश्वर पिताले उस(येशू)माथि आफ्नो छाप लगाउनुभएको छ ।”

यूहन्ना ६:२७


नयाँ करार निस्तार-चाड मानेर येशूज्यूसँग एउटै शरीर हुनेहरूले मात्र परमेश्वरको छाप प्राप्त गर्न सक्छन् । फेरि भन्नुपर्दा, नयाँ करार निस्तार-चाडचाहिँ परमेश्वरको छाप प्राप्त गर्न सकिने सत्यता हो । नयाँ करार निस्तार-चाडद्वारा परमेश्वरको छाप प्राप्त गर्ने सन्तहरू परमेश्वरका प्रजा बन्दछन्,[२५] तिनीहरू परमेश्वरका हुन्[२६] र अन्तिम विपत्तिको दिनमा परमेश्वरले तिनीहरूलाई सुरक्षा प्रदान

गर्नुहुनेछ ।

तर अब हे याकूब, तिमीलाई रच्नुहुने, हे इस्राएल, तिमीलाई सृष्टि गर्नुहुने परमप्रभु भन्नुहुन्छ: “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु । मैले तँलाई तेरो नाउँ काढेर बोलाएको छु, तँ मेरै होस् । तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु । तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट हिँडेर जाँदा डढ्नेछैनस् । त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन । किनभने म परमप्रभु, तेरा परमेश्वर हुँ, इस्राएलका परमपवित्र, तेरा उद्धारक ।”

यशैया ४३:१-३


साथै निस्तार-चाडको पवित्र भोजचाहिँ पाप-क्षमा,[२७] उद्धार,[२८] मेलमिलाप,[२९] धार्मिकता,[३०] शान्ति[३१] र रगतद्वारा किनिने[३२] जस्ता परमेश्वरका सबै प्रतिज्ञाहरू पूरा गर्ने छाप हो ।

प्रकाश अध्याय ७का अनुसार, अन्तिम महा-विपत्तिबाट बच्न सकिने एकमात्र तरिका भनेको परमेश्वरको छाप प्राप्त गर्नु हो । फेरि भन्नुपर्दा, नयाँ करारको समयमा ख्रीष्टको प्रेम र बलिदानलाई हृदयमा खोपेर निस्तार-चाडको रोटी र दाखमद्य खाने र पिउनेहरू नै, निधारमा परमेश्वरको छाप भएका र अन्तिम विपत्तिबाट बच्नेहरू हुन् ।

परमेश्वरको छापसम्बन्धी पुरानो करारका अगमवाणीहरू

परमेश्वरको छापसम्बन्धी अगमवाणीहरू प्रकाशको पुस्तकमा मात्र होइनकि पुरानो करारको इजकिएलको पुस्तकमा पनि लेखिएका छन् ।


“यरूशलेम सहरका चारैतिर गएर त्यसमा गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदार-निदारमा एउटा चिन्ह लगा ।” मैले सुनिरहँदा उहाँले अरूहरूलाई चाहिँ भन्नुभयो, “तिमीहरूचाहिँ दया वा करुणा नगरी सहरभित्र त्यसको पछिपछि गएर मार । बूढा मानिस, तरुण-तरुणी, स्त्री र बालकहरू सबैलाई खतम पार, तर निधारमा त्यो चिन्ह भएको कसैलाई पनि नछोओ ।”

इजकिएल ९:४-६


मुखले परमेश्वरलाई विश्वास गर्छु भने तापनि उहाँको व्यवस्थालाई लत्याएर मूर्तिपूजा जस्तो घिनलाग्दो काम गरिरहेको देखेर, त्यसप्रति शोक र विलाप गर्नेहरूलाई परमेश्वरले अलग गर्नुहुने बारे इजकिएल अगमवक्ताले प्रकाश देखे । यसरी विलाप गर्नेहरूका निधारमा परमेश्वरले छाप लगाइरहनुभएको, र छाप नभएकाहरूलाई चाहिँ उहाँले नष्ट गरिरहनुभएको तिनले देखे । इजकिएलचाहिँ दक्षिण यहूदा विनाश हुने बेलाका अगमवक्ता थिए । अनि इजकिएलको पुस्तकचाहिँ यहूदा देश नियो-बेबिलोनियन साम्राज्य(बेबिलोन)द्वारा पूर्ण रूपमा नष्ट हुनु(ई.पू. ५८६)भन्दा ठीकअघि तिनै इजकिएललाई दिइएको परमेश्वरको प्रकाश हो । इजकिएलभन्दा थोरै अघिका योशियाह राजाको पालाका सपन्याह अगमवक्ताले पनि यहूदाको निकट विनाशबारे अगमवाणी गरेका थिए । तिनका अगमवाणीहरू पहिलो चरणमा, पुरानो करारमै घट्ने घटनासम्बन्धी भए तापनि वास्तविकतामा चाहिँ अन्तिम विपत्ति निकट हुँदा घट्ने घटनासम्बन्धी हुन् । त्यसैले सपन्याहको पुस्तकमा, यहूदा देश विनाश भएको समयको भन्दा अझ खराब अवस्था हुनेछ, यहाँसम्म कि आकाशका चराहरू र समुद्रका माछाहरूसमेत नष्ट हुने त्यस्तो ठूलो विपत्ति आउनेछ भनेर अगमवाणी गरिएको छ ।[३३] इजकिएलको पुस्तक पनि त्यसरी नै लेखिएको छ । तसर्थ इजकिएल ९मा उल्लेखित विपत्तिहरूबाट बच्ने चिन्ह, अनि प्रकाश ७मा उल्लेखित परमेश्वरको छापचाहिँ एउटै विषयका अगमवाणी हुन् । विपत्तिबाट बच्ने चिन्ह प्राप्त गर्नेहरू नै, परमेश्वरको व्यवस्थालाई त्यागेर मूर्तिपूजा गर्ने मानिसहरूका घिनलाग्दा कामहरू देखेर त्यसप्रति शोक र विलाप गर्नेहरू हुन् । अन्तिम विपत्तिमा बचाइनेहरूचाहिँ परमेश्वरको आज्ञा पालन गर्नेहरू मात्र हुन् भनेर सपन्याहले भनेका छन् ।


ए शर्मलाग्दो जाति हो, तिमीहरू एकसाथ जम्मा होओ, एकसाथ जम्मा होओ, नियुक्त गरिएको समय आउन अघि नै, र भुसजस्तै त्यो दिन बितेर जान अघि, परमप्रभुको भयङ्कर रीस तिमीहरूमाथि आउन अघि, र परमप्रभुका क्रोधको दिन तिमीहरूमाथि आउन अघि नै । हे देशका दीन हो, तिमीहरू, जो उहाँको आज्ञापालन गर्छौ, परमप्रभुको खोजी गर । धार्मिकता खोज, नम्रता खोज, र परमप्रभुका रीसको दिनमा शायद तिमीहरूले शरण पाउनेछौ ।

सपन्याह २:१-३


सपन्याहले, परमेश्वरको आज्ञा पालन गर्नेहरू विपत्तिबाट बचाइनेछन् भनेका छन्, इजकिएल ९मा चाहिँ निधारमा चिन्ह हुनेहरू भनिएको, र प्रकाश अध्याय ७मा चाहिँ निधारमा परमेश्वरको छाप भएकाहरू विपत्तिबाट बचाइनेछन् भनिएको छ ।[३४] विपत्तिबाट बच्ने एकमात्र चिन्ह भनेकै निस्तार-चाड हो । प्रस्थानको समयमा निस्तार-चाडको थुमाको रगत नै चिन्ह थियो, र त्यो चिन्ह भएका घरहरूबाट विनाशक स्वर्गदूत पार भएर गए । त्यसै गरी अन्तिम विपत्ति आउँदा, निस्तार-चाडको थुमाको वास्तविकता हुनुभएका ख्रीष्ट नै मुक्तिको चिन्ह अर्थात् परमेश्वरको छाप हुनुहुन्छ, र उहाँको रगत प्राप्त गरेकाहरू मात्र विपत्तिबाट पार हुनेछन् । परमेश्वरको आज्ञा रहेको नयाँ करार निस्तार-चाड नम्र मनद्वारा मान्नेहरूले परमेश्वरको छाप प्राप्त गर्न सक्छन् ।

परमेश्वरको छाप ल्याइदिनुभएका आन साङ होङज्यू

प्रकाश अध्याय ७मा उल्लेखित परमेश्वरको छाप लगाउने कार्य पूर्वबाट सुरु हुन्छ । योचाहिँ ई.सं. ३२५मा हराएको निस्तार-चाड, पूर्वी देश कोरियाबाट देखा पर्ने कुराको प्रकाश हो । निस्तार-चाड पुनर्स्थापना हुनेबारे यशैया अगमवक्ताले पनि अगमवाणी गरेका थिए ।

सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ । उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ । उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । . . . त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो ।”

यशैया २५:६-९


परमेश्वरले मृत्युलाई सदाको निम्ति निलिदिन, लामो समयदेखि गुप्त राखिएको छिप्पिएको मद्यको भोज तयार गर्नुभयो । बाइबलमा, मृत्युलाई सदाको निम्ति निलिदिने र अनन्त जीवनको प्रतिज्ञा भएको दाखमद्यचाहिँ नयाँ करारको निस्तार-चाडको दाखमद्य मात्र हो ।[२३][३५] यो अगमवाणीचाहिँ, प्रेरितहरूको युगदेखि लामो समयसम्म नमनाइएको नयाँ करार निस्तार-चाड परमेश्वरले फेरि ल्याउनुहुनेछ भन्ने अर्थ हो । परमेश्वरबाहेक अरू कसैले प्रकट गर्न नसक्ने यो नयाँ करार निस्तार-चाड पुनर्स्थापन गरिदिनुभएका व्यक्ति आन साङ होङज्यू हुनुहुन्छ । प्रेरित यूहन्नाले प्रकाश देखेको पत्मोस टापूबाट पूर्वको पल्लो छेउमा अवस्थित देश गणतन्त्र कोरियामा ख्रीष्ट आन साङ होङज्यूको जन्म भयो । उहाँले ३० वर्ष पुग्नुभएको साल सन् १९४८मा बप्तिस्मा लिनुभएर नयाँ करार मुक्तिको सत्यता प्रचार गर्नुभयो । योचाहिँ सन् १९४५मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि परमेश्वरको छाप लगाउने कार्य पूर्वबाट सुरु हुनेछ भन्ने अगमवाणीको पूर्णता थियो ।[३६] यशैयाको पुस्तकको अगमवाणीलाई हेर्दा, जसले नयाँ करार निस्तार-चाड ल्याइदिनुहुन्छ, निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ भनिएको छ ।

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सम्बन्धित भिडियो

  • विपत्ति पार गराउने निस्तार-चाड

सन्दर्भ सामग्री

  1. "Seal"Dictionary.com 
  2. "१ कोरिन्थी ९:२" 
  3. "रोमी ४:११" 
  4. "२ कोरिन्थी १:२२" 
  5. "यर्मिया ४:११-१९" 
  6. "उत्पत्ति १५:५" 
  7. "लूका १३:७" 
  8. "DOCUMENTING NUMBERS OF VICTIMS OF THE HOLOCAUST AND NAZI PERSECUTION"Holocaust Encyclopedia 
  9. "प्रस्थान १२:२९-३०" 
  10. "प्रस्थान १२:३७-३८" 
  11. "२ इतिहास २९:२-३" 
  12. "२ इतिहास ३०:२" 
  13. "१ राजा १२:२५-२९" 
  14. "२ इतिहास ३०:१-१०" 
  15. "२ इतिहास ३०:११-१२" 
  16. "२ राजा १७:४-६" 
  17. "२ राजा १८:१३-१७" 
  18. "Sennacherib: The Assyrian King's Failed Second Siege of Jerusalem", वारफेयर हिस्ट्री नेटवर्क 
  19. "२ इतिहास ३२:१०-११" 
  20. "२ राजा १९:३२-३३" 
  21. "हिब्रू १०:१" 
  22. "मत्ती २६:२८" 
  23. २३.० २३.१ "यूहन्ना ६:५४" 
  24. "यूहन्ना ६:५६" 
  25. "यर्मिया ३१:३१-३३" 
  26. "१ पत्रुस २:९" 
  27. "एफिसी १:७" 
  28. "१ पत्रुस १:१८-१९" 
  29. "रोमी ३:२५" 
  30. "रोमी ५:९" 
  31. "कलस्सी १:२०" 
  32. "प्रेरित २०:२८" 
  33. "सपन्याह १:३" 
  34. "प्रकाश ७:२-३" 
  35. "लूका २२:२०" 
  36. "प्रकाश ७:१-३"