येशूज्यूको दोस्रो आगमनको ठाउँ

येशूज्यूको दोस्रो आगमनको ठाउँबारे बाइबलमा अगमवाणी गरिएको छ । त्यो नै सूर्य उदाउने पूर्व हो । ख्रीष्टको पहिलो आगमनको ठाउँबारे पनि बाइबलमा अगमवाणी गरिएको थियो । पुरानो करारको समयका मीका अगमवक्ताको अगमवाणीअनुसार २,००० वर्षअघि येशूज्यू बेथलेहेममा जन्मनुभयो । त्यस बेला, यहूदीहरूका राजाको रूपमा जन्मनुभएका ख्रीष्टलाई खोज्न ज्योतिषीहरू (सायद फारसका पूजाहारीहरू)[१] यरूशलेममा आए । अनि मुख्य पूजाहारीहरू र शास्त्रीहरूले मीकाको अगमवाणी थाहा पाएर, ख्रीष्टको जन्म बेथलेहेममा हुनेछ भने ।[२][३]

येशूज्यू जन्मनुभएको ठाउँको खोजी गर्दै त्यतैतिर लागेका पूर्वका ज्योतिषीहरू

मानव-जातिलाई उद्धार गर्नको निम्ति येशूज्यू यो संसारमा फेरि आउनुहुनेछ ।[४] ख्रीष्ट फेरि देखा पर्नुभएर अन्तिम उद्धारको कार्य गर्नुहुने ठाउँ पूर्व हो ।

येशूज्यूको दोस्रो आगमनको ठाउँको रूपमा अगमवाणी गरिएको पूर्व

पूर्व र परमेश्वरको छाप

 
बतासलाई रोकेका चार स्वर्गदूतहरू, आल्ब्रेच ड्युररको चित्र, सन् १४९८

परमेश्वरको छाप लगाउने कार्य

परमेश्वरको छाप लगाउने कार्य पूर्वमा हुनेछ भन्ने कुरा प्रेरित यूहन्नाले प्रकाशमा देखे ।


यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें । तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें । पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने, “हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर ।”

प्रकाश ७:१-३


चार स्वर्गदूतले रोकेका चार बतास जब छोडिन्छ, तब पृथ्वी र समुद्रलाई हानि गर्ने विपत्ति आउनेछ । पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म चल्ने चार बतासले चाहिँ पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने ठूलो विपत्तिलाई जनाउँछ । त्यो विपत्ति आउनुअघि परमेश्वरले आफ्ना प्रजालाई बचाउन छाप लगाउनुहुनेछ । यो कार्य, सूर्य उदाउने पूर्वबाट सुरु हुन्छ । प्रकाश अध्याय ६मा लेखिएका विशेष चिन्हहरू देखा परेपछि परमेश्वरको छाप लगाउने कार्य सुरु हुन्छ ।


जब उहाँले छैटौँ मोहोर तोड्नुभयो, तब मैले ठूलो भूकम्प गएको देखें । सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो । अनि अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे ।

प्रकाश ६:१२-१३


छाप लगाउने कार्य सुरु हुनुअघि सूर्य, चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछ । येशूज्यूको दोस्रो आगमन हुँदा पनि यस्तै चिन्ह देखा पर्नेछ भनेर येशूज्यूले भन्नुभएको छ ।


“ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन् । “तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् ।”

मत्ती २४:२९-३०


जब सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले चमक दिनेछैन र जब ताराहरू आकाशबाट खस्नेछन् तब मानिसको पुत्र अर्थात् ख्रीष्ट फेरि आउनुहुनेछ भनेर येशूज्यूले भन्नुभयो । प्रेरित यूहन्नाले चाहिँ, जब सूर्य र चन्द्रमा अँध्यारो हुनेछ र ताराहरू आकाशबाट खस्नेछन्, तब परमेश्वरको छाप लगाउने कार्य पूर्वबाट सुरु हुनेछ भनेर दर्शनमा देखे । यी दुई वचनहरूलाई तुलना गरिहेर्दा, पूर्वबाट मुक्तिको छाप ल्याउनुहुने व्यक्ति नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा बुझ्न सकिन्छ ।

परमेश्वरको छाप, निस्तार-चाड

 
निस्तार-चाड मानेको घरबाट पार भएर जाने विनाशक स्वर्गदूत

परमेश्वरको छापचाहिँ परमेश्वरले मान्यता दिनुभएको छाप हो । दोस्रो आगमनका ख्रीष्टले ल्याउनुहुने परमेश्वरको छापचाहिँ परमेश्वरका प्रजालाई विपत्तिबाट बचाउने चिन्ह हो । परमेश्वरको छाप नपाएकाहरूलाई हानि हुनेछ भनेर प्रकाश अध्याय ९मा लेखिएको छ ।[५]

विपत्तिबाट बचाउने मुक्तिको प्रतिज्ञा समाविष्ट सत्यता नै निस्तार-चाड हो । निस्तार भनेको विपत्ति पार हो । त्यसैले निस्तार-चाड मान्ने मानिस विपत्तिबाट पार हुन्छ । प्रस्थानको समयमा निस्तार-चाड मानेका इस्राएलीहरू विपत्तिबाट पार भएर मिश्रबाट छुटकारा पाए ।[६] त्यसै गरी यहूदाका राजा हिजकियाको पालामा निस्तार-चाड मानेका यहूदाका मानिसहरूले अश्शूरीहरूको आक्रमणबाट सुरक्षा पाए ।[७]

नयाँ करारको समयमा परमेश्वरको छाप प्राप्त गर्नुभएका व्यक्ति येशूज्यू हुनुहुन्छ ।[८] येशूज्यूले “मेरो देह खाने र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु” भन्नुभएको छ । फेरि भन्नुपर्दा, परमेश्वरको छाप भएका मानिसहरू येशूज्यूसँग एउटै शरीर हुन्छन् ।


येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने तिमीहरूमा जीवन हुँदैन . . . मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।”

यूहन्ना ६:५३-५६


निस्तार-चाडचाहिँ येशूज्यूसँग एउटै शरीर भएर परमेश्वरको छाप प्राप्त गर्ने तरिका हो ।


तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।”

मत्ती २६:१९, २६-२८


जुनसुकै युगमा होस्, निस्तार-चाड मान्नेहरू विपत्तिबाट बचाइएका छन् । अन्तिम महासङ्कष्ट आउनुअघि पूर्वमा देखा पर्नुहुने दोस्रो आगमनका ख्रीष्टले परमेश्वरको छाप निस्तार-चाड घोषणा गर्दै मुक्तिको कार्य अगि बढाउनुहुन्छ ।

पूर्वबाट देखा पर्ने एक जना मानिस

पूर्वको टाढा देशबाट परमेश्वरको अभिप्राय पूरा गर्ने एक जना मानिसको विषयमा यशैया अगमवक्ताले यसरी लेखे ।


“उहाँको सेवा गर्न धार्मिकतामा बोलाउँदै कसले पूर्व दिशाबाट एक जनालाई उत्तेजित गरेको छ ? . . . प्रारम्भदेखि पुस्ताहरूलाई बोलाएर यो काम पूरा गर्ने को हो ? के म नै होइन र ? म, परमप्रभु, तिनीहरूका पहिलो र पछिल्लोसित रहने म उही नै हुँ ।”

यशैया ४१:२-४


“पूर्वबाट म शिकारी पक्षी बोलाउँछु, र टाढा देशबाट मेरो अभिप्राय पूरा गर्न म एक जना मानिसलाई बोलाउँछु । मैले जे भनेको छु, त्यो म गर्नेछु । मैले जे योजना बनाएको छु, म त्यो गर्ने नै छु ।”

यशैया ४६:११


पहिलो चरणको अगमवाणी, कोरेसद्वारा पूरा

 
बेबिलोनको पतन : कल्दीहरूलाई पराजित गरेका कोरेस राजा, जोन मार्टिनको चित्र, सन् १८३१

पूर्वी टाढाको देशबाट देखा पर्ने मानिसको विषयमा गरिएको अगमवाणी पहिलो चरणमा चाहिँ, इस्राएलको पूर्वमा अवस्थित फारसका कोरेस(कोरेस द्वितीय)द्वारा पूरा भयो । कोरेसले बेबिलोन(नियो बेबिलोनी साम्राज्य)लाई कब्जा गरी इस्राएलीहरूलाई बेबिलोनको कैदबाट मुक्त गरे र तिनीहरूलाई तिनीहरूकै देश जान दिए ।[९]

यशैयाको पुस्तकचाहिँ कोरेसले बेबिलोनलाई परास्त गर्नुभन्दा करीब १७० वर्षअघि लेखिएको थियो । कोरेसको नाउँ, अनि तिनले विभिन्न देशहरूलाई पराजित गरी परमेश्वरका प्रजा इस्राएलीहरूलाई बेबिलोनबाट मुक्त गराउने कार्यबारे यशैया अध्याय ४४ र ४५मा अगमवाणी गरिएको थियो ।[१०][११] बाइबलमा अगमवाणी गरिएअनुसार कोरेसले यहूदीहरूलाई आफ्नो गृहनगर फर्कन मात्र होइनकि बेबिलोनी आक्रमणको समयमा भग्नावशेष भएको यरूशलेममा मन्दिर निर्माण गर्न पनि आदेश दिए ।


फारसका राजा कोरेसको पहिलो वर्षमा . . . फलस्वरूप उनले आफ्ना राज्यभरि मौखिक अनि लिखित रूपमा यस्तो घोषणा गरे : “फारसका राजा कोरेस यसो भन्छन्, ‘परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले नै मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । तिमीहरूका बीचमा हुने उहाँका प्रजाको प्रत्येक मानिससँग परमेश्वर रहून् । सो यहूदाको यरूशलेममा उक्लेर जाओस्, र यरूशलेममा हुनुहुने परमेश्वर, इस्राएलका परमेश्वर, परमप्रभुको मन्दिर त्यसले पुनर्निर्माण गरोस् ।”

एज्रा १:१-३


अन्तिम चरणको अगमवाणी, दोस्रो आगमनका ख्रीष्टद्वारा पूरा

यशैया अध्याय ४१मा हेर्ने हो भने पूर्वमा जब एक जना मानिस देखा पर्नेछन्, तब मरुभूमि पानीको दहमा र सुक्खा जमिन पानीको मूलमा परिणत हुनेछ भनिएको छ ।[१२] अगमवाणीअनुसार, योचाहिँ परमेश्वर आउनुभएमा मात्र पूरा हुन सक्ने कार्य हो ।[१३] जब पूर्वमा एक जना मानिस देखा पर्छन्, तब मूर्तिपूजकहरू डर र त्रासमा एकसाथ भेला हुनेछन् भनिएको थियो ।[१४] तर कोरेसले बेबिलोनलाई कब्जा गर्दा यस्तो घटना घटेन । किनभने कोरेसले आफूले विजय गरेको देशका मानिसहरूको धर्मलाई मान्यता दिए ।[१५] पूर्वको टाढा देशबाट देखा पर्ने एक जना मानिसको अगमवाणी अन्ततः परमेश्वरले नै पूरा गर्नुहुनेछ । यशैया अध्याय ४६मा उल्लेखित शिकारी पक्षी भनेको आफ्ना प्रजाको साथमा रहनुभएर तिनीहरूलाई उद्धार गर्नुहुने परमेश्वरको चिन्ह हो । परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट छुटकारा गराउनुहुने कुरालाई, गरुडको पखेटामा बोक्ने कुरासँग दृष्टान्त गर्नुभयो ।[१६] परमेश्वरले इस्राएलीहरूलाई सुरक्षा गर्नुभएर उजाड-स्थानमा डोऱ्याउनुभएको प्रक्रियालाई, ‘गरुडले आफ्ना बच्चालाई सुरक्षा गर्ने कुरा’सँग तुलना गरिएको छ ।[१७] यसकारण यशैया अध्याय ४१ र ४६को अगमवाणीले, पछिल्ला दिनहरूमा परमेश्वर पूर्वमा आउनुहुने र आफ्ना प्रजाहरूलाई बचाउनुहुने कुरालाई जनाउँछ ।[१८]

२,००० वर्षअघि परमेश्वर येशू नाउँ लिएर आउनुभयो । येशूज्यूको जन्मस्थानचाहिँ पूर्वी टाढाको देश नभएर यशैयाले प्रकाश देखेको इस्राएल देश थियो । पूर्वी टाढाको देशमा देखा पर्नुहुने अगमवाणीका कोरेसचाहिँ दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । कोरेसले इस्राएलीहरूलाई बेबिलोनको कैदबाट छुटकारा गराएजस्तै दोस्रो आगमनका ख्रीष्ट पनि, पूर्वको टाढा देशमा जन्मनुहुनेछ र उहाँले जीवनको पानीको सत्यताद्वारा परमेश्वरका प्रजालाई आत्मिक बेबिलोनबाट छुटकारा गराउनुहुनेछ ।


... “महानगरी बेबिलोनको पतन भयो,” . . . “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ, नत्रता त्यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्यसका विपत्तिहरू तिमीहरू भोग्नेछौ ।”

प्रकाश १८:१-४


पूर्वी देश, गणतन्त्र कोरिया

 
पत्मोस टापूबाट पूर्वको पल्लो छेउमा अवस्थित गणतन्त्र कोरिया

यशैया अगमवक्ताले अगमवाणी गरेको इस्राएल, र प्रेरित यूहन्नाले प्रकाश देखेको पत्मोस टापूलाई केन्द्रबिन्दु बनाएर हेर्दा पूर्वको पल्लो छेउको देश गणतन्त्र कोरिया हो । इस्राएलबाट पूर्वमा अवस्थित धेरै देशहरूमध्ये येशूज्यूको दोस्रो आगमन हुने ठाउँ, दक्षिण कोरिया नै हुनुको कारणचाहिँ परमेश्वरको छाप निस्तार-चाड १,६०० वर्षपछि कोरियाबाटै देखा परेकोले गर्दा हो । निस्तार-चाड ई.सं. ३२५मा निकेयाको सम्मेलनद्वारा रद्द भएको थियो । तर निस्तार-चाड पुनर्स्थापना हुने समय आउनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।


सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, . . . उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ । उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । . . . त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो । उहाँ नै परमप्रभु हुनुहुन्छ, उहाँमाथि हामीले भरोसा गऱ्यौं । उहाँले गर्नुभएको उद्धारमा हामी खुशी होऔं र रमाऔं ।”

यशैया २५:६-९


परमेश्वरले छिप्पिएको मद्यको भोज लगाउनुको उद्देश्यचाहिँ मृत्युलाई सदाको निम्ति निलिदिन अर्थात् हामीलाई अनन्त जीवन दिनको निम्ति हो । हामीलाई अनन्त जीवन दिलाउने दाखमद्यचाहिँ केवल निस्तार-चाडको दाखमद्य हो ।[१९][२०] ‘छिप्पिएको मद्य’ भन्नाले ई.सं. ३२५मा रद्द भएदेखि लामो समयसम्म नमनाइएको निस्तार-चाड हो । जसले निस्तार-चाड पुनर्स्थापन गर्नुहुन्छ, उहाँ नै दोस्रो आगमनका ख्रीष्ट अर्थात् परमेश्वर हुनुहुन्छ । अनि निस्तार-चाड पुनर्स्थापना हुने ठाउँ पनि, अन्तिम विपत्ति आउनुअघि दोस्रो आगमनका ख्रीष्टले मुक्तिको कार्य सुरु गर्नुहुने ठाउँ हो ।

दोस्रो आगमनका ख्रीष्टले सत्यता सिकाउनुहुने ठाउँ, सियोन

यशैया अगमवक्ताले मुक्तिदाता आउनुहुने ठाउँ नै सियोन हो भनेर लेखे, अनि प्रेरित पावलले नयाँ करार बाइबलमा सोही अगमवाणीलाई उद्धृत गरे ।

सियोन परमेश्वरले छान्नुभएको ठाउँ हो, जहाँ परमेश्वर आफ्ना प्रजासँग रहनुहुनेछ, र जहाँ परमेश्वरका चाडहरू मनाइन्छ । अर्थात् यसले नयाँ करारका चाडहरू मान्ने मण्डलीलाई जनाउँछ ।[२१][२२][२३] पछिल्ला दिनहरूमा सियोनमा परमेश्वरले हामीलाई सत्यताको मार्ग सिकाउनुहुनेछ भनेर मीका अगमवक्ताले अगमवाणी गरे ।


पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् ।

मीका ४:१-२


पछिल्ला दिनहरूमा सियोनबाट निस्कने व्यवस्था भनेकै नयाँ करार हो ।[२४] अनि नयाँ करारको केन्द्रबिन्दु भनेकै परमेश्वरको छाप, निस्तार-चाड हो ।[२५] नयाँ करारका चाडहरू मानिने मण्डली रहेको आत्मिक सियोनमा परमेश्वरले मुक्तिको सत्यता सिकाउनुहुनेछ, र मुक्ति पाउने सन्तहरूलाई भेला गर्नुहुनेछ । फेरि भन्नुपर्दा, जीवनको सत्यता नभएर सुक्खा भएको यो संसारलाई परमेश्वरले जीवनको पानी दिनुहुनेछ । यस युगमा परमेश्वरको छाप रहेको नयाँ करार निस्तार-चाड लिएर आउनुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । नयाँ करारका चाडहरू पुनर्स्थापना गर्नुभएका, सियोनको पुनर्निर्माण गर्नुभएका र मानव-जातिलाई विपत्तिबाट बचाउन पूर्वी देश गणतन्त्र कोरियामा देखा पर्नुभएका दोस्रो आगमनका ख्रीष्ट नै आन साङ होङज्यू हुनुहुन्छ ।

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू