पहिलो आज्ञा

दश आज्ञामध्येको पहिलो आज्ञाचाहिँ “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भन्ने आज्ञा हो । योचाहिँ परमेश्वरले सीनै पर्वतमा दश आज्ञा घोषणा गर्नुहुँदा आफ्ना प्रजालाई दिनुभएको पहिलो आज्ञा हो । नयाँ करारको समयमा चाहिँ येशूज्यूले परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु नै पहिलो आज्ञा हो भन्नुभयो । यसलाई ‘सबैभन्दा महान् आज्ञा’ पनि भनिन्छ । तर पुरानो र नयाँ करारमा भएको पहिलो आज्ञा आपसमा विवादास्पद भने छैन । किनभने यदि हामी परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्छौं भने हामीहरू अन्य देवता-देवीहरूलाई नमानी केवल परमेश्वरलाई मात्र मान्न पुग्छौं । पहिलो आज्ञाको बारेमा पूर्ण रूपमा बुझेका मानिसहरू खासै छैनन् । साथै यो पहिलो आज्ञालाई कसरी पूरा गर्न सकिन्छ भन्ने तरिका पनि धेरैलाई थाहा छैन । पुरानो करारको समयमा “परमेश्वरलाई विश्वास गर्छौं, उहाँलाई प्रेम गर्छौं” भनेर दाबी गर्ने इस्राएलीहरूले बारम्बार अन्य देवता-देवीहरू र मूर्तिहरूलाई पुज्न पुगे । मानिसको सोचाइ र तरिकाद्वारा चाहिँ पहिलो आज्ञालाई पूरा गर्न सकिँदैन । अन्य देवताहरूलाई नमानी केवल परमेश्वरलाई मात्र मान्ने र प्रेम गर्ने तरिका भनेकै परमेश्वरको आज्ञा, निस्तार-चाड मान्नु हो ।

हिब्रू भाषामा लेखिएको दश आज्ञा (इस्राएलमा भएको काँसाको मेनोरा, नेसेट मेनोराको अंश)

पहिलो आज्ञाको विषयवस्तु

मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू

 
दश आज्ञामध्येको पहिलो आज्ञाचाहिँ “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भन्ने आज्ञा हो । दश आज्ञाको शिला-पाटी बोकेका मोशा, गुइडो रेनी, सन् १६२४

पहिलो आज्ञाको रूपमा परमेश्वरले “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भन्नुभयो ।


“मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू ।”

प्रस्थान २०:३


पहिलो आज्ञाले दुई किसिमको अर्थ बोकेको छ । ती हुन्, ‘अरू देवता-देवीहरूलाई नमान्नू’ र ‘परमेश्वरलाई मात्र मान्नू ।’ परमेश्वरले तानाशाही तरिकाले “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भनेर आज्ञा गर्नुभएको होइन । तर उहाँले यस्तो पहिलो आज्ञा दिनुको कारणचाहिँ इस्राएलीहरूलाई मिश्रको दासत्वबाट मुक्त गर्नुभएका मुक्तिदाता उहाँ नै हुनुभएकोले गर्दा हो ।[१] त्यसैले पहिलो आज्ञा दिनुहुँदाखेरि उहाँले “म परमप्रभु हुँ, जसले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ” भन्नुभयो ।

  • “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ । मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू ।” (प्रस्थान २०:२-३)
  • “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ । मबाहेक अरू कुनै देवी-देवताहरू नमान्नू ।” (व्यवस्था ५:६-७)

परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको दिन नै निस्तार-चाडको दिन थियो ।[२] उहाँले निस्तार-चाडको रातमा आफ्नो शक्तिशाली हातले इस्राएलीहरूलाई डोऱ्याउनुभएकोले त्यो छुटकाराको दिन रहेको निस्तार-चाड मान्नू, र उद्धारकर्ता परमेश्वरबाहेक अन्य देवताहरूलाई नमान्नू भन्नुभयो ।

परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्नू

 
महान् आज्ञा, एम्ब्रोसिउस फ्राङ्कन पहिलो, सन् १५८५

एक जना व्यवस्थाका अध्यापकले येशूज्यूलाई, व्यवस्थामा महान् आज्ञा कुन हो भनेर सोध्दा येशूज्यूले यस्तो जवाफ दिनुभयो, “ ‘तैंले परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू ।’ महान् र प्रथम आज्ञा यही हो ।”


तीमध्ये एक जना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे, “गुरुज्यू, व्यवस्थामा महान् आज्ञा कुन हो ?” उहाँले तिनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू । महान् र प्रथम आज्ञा यही हो ।”

मत्ती २२:३५-३८


परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नेले मात्र अरू देवता-देवीहरूलाई नमानीकन केवल परमेश्वरलाई मात्र मान्न सक्छ । तर परमेश्वरलाई प्रेम गर्छु भनेर भन्दैमा अथवा सोच्दैमा चाहिँ उसले परमेश्वरलाई सारा हृदयले, सारा प्राणले र सारा समझले प्रेम गर्छ भनी परमेश्वरले स्वीकार्नुहुन्न ।

निस्तार-चाडद्वारा पूरा हुने पहिलो आज्ञा

अन्य देवताहरूको इन्साफ गर्ने प्रतिज्ञा समाविष्ट निस्तार-चाड

‘मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू’ भन्ने दश आज्ञामध्येको पहिलो आज्ञामा, ‘परमेश्वरलाई मात्र मान्नू’ र ‘अरू कुनै देवता-देवीहरूलाई नमान्नू’ भन्ने आज्ञा समावेश छ । यी दुई आज्ञालाई पालन गर्न सकिने सत्यता भनेकै निस्तार-चाड हो । किनभने परमेश्वरले निस्तार-चाडलाई, अन्य देवताहरूको इन्साफ गर्ने दिनको रूपमा तोकिदिनुभयो ।

प्रस्थानको समयको इतिहास

 
प्रस्थानको समयमा मनाइएको पहिलो निस्तार-चाड

इस्राएलीहरू मिश्रबाट प्रस्थान गरेको समयमा निस्तार-चाड पहिलो चोटि स्थापना गरिएको थियो ।


“यो परमप्रभुको निस्तार-चाड हो । त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु । म परमप्रभु हुँ ।”

प्रस्थान १२:११-१२


निस्तार-चाडमा अन्य सबै देवताहरूको इन्साफ हुनेछ भनेर परमेश्वरले भन्नुभयो । अन्य सबै देवताहरूको इन्साफ भयो भने केवल साँचो परमेश्वर मात्र बाँकी रहनुहुन्छ । जब हामी निस्तार-चाडलाई महसुस गरेर मान्दछौं, तब हामी अरू देवता-देवीहरूलाई नमानीकन स्वतः परमेश्वरलाई मात्र मान्न पुग्छौं । यसरी, हामीले पहिलो आज्ञा पालन गर्न सक्नेछौं ।

हिजकियाको समय

 
निस्तार-चाड मानेपछि हर किसिमका मूर्तिलाई नष्ट गरेका हिजकिया र यहूदाका मानिसहरू

दक्षिण यहूदाका तेह्रौँ राजा रहेका हिजकियाको पालासम्म यहूदामा लामो समयसम्म निस्तार-चाड मनाइएको थिएन । तर हिजकिया सिंहासनमा बसेपछि तिनले मन्दिर मर्मत गरे[३] र मानिसहरूसँगै निस्तार-चाड माने ।


हिजकियाले यरूशलेममा परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड परमप्रभुको मन्दिरमा मान्न आऊन् भनी निम्तो दिएर सबै इस्राएल र यहूदाकहाँ समाचार पठाए, अनि एफ्राइम र मनश्शेलाई पनि चिट्ठीहरू पठाए । . . . तब तिनीहरूले बेर्शेबादेखि दानसम्मै सारा इस्राएलभरि यस्तो घोषणा गर्ने निश्चय गरे, कि परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड मान्न मानिसहरू यरूशलेममा आउनैपर्छ । यसको अघि तोकिएको विधिबमोजिम यति धेरैले यो चाड मानेका थिएनन् ।

२ इतिहास ३०:१, ५


निस्तार-चाड मानेपछि मानिसहरूले अन्य देवताहरूलाई नष्ट गरे ।


जब यो उत्सव भइसकियो तब उपस्थित भएका सबै इस्राएलीहरू यहूदाका सहरहरू हुँदो गएर ती सबै खतम नहोउञ्जेल तिनीहरूले चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए र अशेरा देवीका मूर्तिहरू ढालिदिए । सारा यहूदा र बेन्यामीन, र एफ्राइम र मनश्शेका अल्गा-अल्गा थानहरू र वेदीहरू भत्काइदिए । त्यति गरिसकेपछि इस्राएलीहरू हरेक आ-आफ्नो सहर र पैतृक भूमिमा फर्के ।

२ इतिहास ३१:१


निस्तार-चाड मान्नु अघिसम्म, हिजकिया र मानिसहरूले आफूले पनि थाहै नपाई अन्य देवताहरूलाई पुज्दै, आफ्नो वरपर चोखा ढुङ्गाहरू र अशेराको खम्बा जस्ता विभिन्न मूर्तिहरू राखेका थिए । तर निस्तार-चाड मानेपछि, तिनीहरूले ती घिनलाग्दा देवताहरूलाई सबै नष्ट गरे ।

योशियाहको समय

 
निस्तार-चाडलाई महसुस गरेपछि मूर्तिहरू सबै नष्ट गरेका योशियाह र मानिसहरू

दक्षिण यहूदाका १६औँ राजा योशियाहको शासनकालको १८औँ वर्षमा राजा र प्रजाले व्यवस्थाको पुस्तकमा लेखिएको परमेश्वरको करारलाई महसुस गरेपछि मन्दिरबाट सबै मूर्तिहरूलाई हटाए । त्यो करार नै निस्तार-चाड थियो ।[४]


तब खम्बाको छेउमा उभिएर राजाले परमप्रभुको सामुन्ने करारलाई पुनर्स्थापना गरे– परमप्रभुलाई पछ्याउन र उहाँका आज्ञाहरू, विधिहरू र उर्दीहरू आफ्नो सारा हृदयले र प्राणले पालन गर्न, र यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्नलाई परमप्रभुका यी कुराहरू तिनले अनुमोदन गरे । त्यसपछि सबै मानिसहरूले त्यस करारअनुसार हिँड्न आफूलाई धितो राखे । राजाले प्रधान पूजाहारी हिल्कियाह, तिनका पछिको दर्जामुनिका पूजाहारीहरू र ढोकेहरूलाई परमप्रभुको मन्दिरबाट बाल देवता र अशेरा देवी र आकाशका तारामण्डलका निम्ति बनाइएका सबै थोक हटाउनलाई हुकुम गरे । तिनले यी सबै यरूशलेमको बाहिर किद्रोन खोल्साको मैदानमा जलाइदिए, र खरानीचाहिँ बेथेलमा लगे ।

२ राजा २३:३-४


योशियाह राजाले परमेश्वरलाई विश्वास गर्थे र तिनी उहाँको इच्छाअनुसार जिउन प्रयत्न गर्थे । तर तिनले आफू सिंहासनमा बसेदेखि १८ वर्षसम्म परमेश्वरको मन्दिरभित्र मूर्तिहरूलाई त्यत्तिकै राख्दैआएका थिए ।[५] तर जब तिनले निस्तार-चाडलाई महसुस गरे, तब तिनले देशभरिका सबै मूर्तिहरू र सुनको बाछालाई नष्ट गरे । अनि उत्तर इस्राएलका प्रथम राजा यारोबामले बनाएका अल्गा ठाउँहरूलाई पनि भत्काइदिए ।[६]

  • यारोबामको पाप
उत्तर इस्राएलका प्रथम राजा यारोबामले मानिसहरूलाई निस्तार-चाड लगायतका परमेश्वरका चाडहरू मान्नलाई यरूशलेममा जान निषेध गरे । यसैले तिनले सुनका दुई वटा बाछाहरू बनाएर एउटालाई बेथेलमा र अर्कोलाई दानमा बसाले, र मानिसहरूलाई भने, “हे इस्राएल हो, तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएका तिमीहरूका देवताहरू त यहाँ पो छन् ।” अनि तिनले, परमेश्वरद्वारा नतोकिएको दिनलाई चाडको रूपमा तोके ।[७] यसले गर्दा उत्तर इस्राएलले परमेश्वरका चाडहरू त्याग्यो, अनि परमेश्वरलाई विश्वास गर्ने बहानामा अन्य देवताहरूलाई मान्न थाल्यो । यसरी निस्तार-चाड नमान्दा आफूले पनि थाहै नपाई अन्य देवताहरूलाई पुज्न पुगिन्छ भन्ने कुरा यो इतिहासबाट जान्न सकिन्छ ।

इतिहास दोहोरिएको

 
आफूले बनाएको मूर्तिमा बलि चढाउँदै यारोबाम, क्लेस कर्नेलिस्जुन मोएर्ट, सन् १६४१

निस्तार-चाडद्वारा अन्य देवताहरूको इन्साफ गर्ने परमेश्वरको प्रतिज्ञा प्रस्थानको समयमा मात्र सीमित थिएन । जुनसुकै युगमा होस्, निस्तार-चाडलाई महसुस गरेर मान्दाखेरि अन्य देवताहरू सबै नष्ट भएका थिए । तर ठीक विपरीत, निस्तार-चाडलाई त्याग्दा चाहिँ ‘परमेश्वरलाई विश्वास गर्छु’ भने तापनि मानिसहरू अन्य देवताहरूलाई पुज्न पुग्थे । यो इतिहास बारम्बार दोहोरिएको छ ।[८]

हिजकिया र योशियाहको समयमा निस्तार-चाड मान्नुअघिसम्म मानिसहरूले मूर्तिहरूलाई यत्तिकै राखेर त्यसैलाई पुज्न पुगेका थिए । त्योजस्तै वर्तमान समयमा परमेश्वरलाई विश्वास गर्छु भने तापनि यदि निस्तार-चाड मानेको छैन भने आफूले पनि थाहै नपाई अन्य देवतालाई पुज्न पुगिन्छ । त्यसैले त निस्तार-चाड नमान्ने मण्डलीहरूले सूर्य देवताको पवित्र दिन रहेको आइतबारको सेवा गर्छन्, र सूर्य देवताको जन्मदिन रहेको क्रिसमस मनाउने गर्छन् ।[९][१०][११] तर ख्रीष्टको उदाहरणलाई पछ्याउँदै निस्तार-चाड मान्ने परमेश्वरको मण्डलीले चाहिँ आइतबारको सेवा, क्रिसमस, क्रूस श्रद्धा, इस्टर जस्ता कुनै पनि गैर-ख्रीष्टियान परम्पराहरू मान्दैन ।

यसकारण “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भन्ने पहिलो आज्ञाचाहिँ निस्तार-चाड मानेमा मात्र पूरा गर्न सकिन्छ ।

निस्तार-चाडद्वारा परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्न सकिने

हातमा चिन्ह र निधार अगि सम्झना गराउने कुरा

 
सन् १९१३, हर्मन स्ट्रक, यहूदीहरूले आफ्नो निधार र हातमा टेफिलिन(תְּפִלִּין, चर्मपत्रमा लेखिएका धर्मशास्त्रका स्क्रोलहरू भएको कालो छालाको बक्स) लगाउँथे ।

“परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर” भन्ने पहिलो आज्ञालाई, हातमा र निधारमा चिन्हको लागि राखिनुपर्छ भनेर मोशाले बताए ।


हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ । तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर । मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख । ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ । घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर । ती आफ्ना हातमा चिन्हको लागि कसिराख । ती तिमीहरूको निधारमा बाँधिराख ।

व्यवस्था ६:४-८


तर उही मोशाद्वारा लिखित प्रस्थानको पुस्तकमा चाहिँ निस्तार-चाडलाई हातमा चिन्हको रूपमा कसिराख र निधारमा बाँधिराख भनेर लेखिएको छ ।


“त्यस दिन तिमीहरूले आफ्नो छोरालाई यसो भन्नू, ‘जब म मिश्रबाट निस्केर आएँ, तब परमप्रभुले मेरो निम्ति जे गर्नुभयो, यो त्यसैको निम्ति गरिएको हो’ । परमप्रभुको व्यवस्था तिमीहरूका मुखमा रहोस् भनेर यो तिमीहरूका निम्ति हातमा एउटा चिन्ह र निधार अगि तिमीहरूलाई सम्झना गराउने कुरा हुनेछ ।”

प्रस्थान १३:८-९


इस्राएलीहरू मिश्रबाट निस्कँदा परमेश्वरले तिनीहरूका निम्ति गर्नुभएको कार्य भनेको, मिश्रमा पहिले जन्मेकाहरू सबैलाई उहाँले विपत्ति प्रहार गरेर नाश गर्नुभएको, तर निस्तार-चाड मान्ने इस्राएलीहरूलाई चाहिँ बचाउनुभएको कार्य थियो ।[१२] निस्तार-चाडको रातमा इस्राएलीहरूले मिश्रबाट छुटकारा पाए । त्यसैले हातमा चिन्ह र निधार अगि सम्झना गराउने कुरा भनिएको यो धर्मविधिले निस्तार-चाडलाई जनाउँछ । यी वचनहरूलाई हेर्दा “परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर” भन्ने पहिलो आज्ञा र निस्तार-चाड एउटै हुन् भन्ने कुरा थाहा हुन्छ ।

पहिलो आज्ञा पूरा गरेका योशियाह

बाइबलमा हेर्दा, परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गरेको भनेर गवाही पाएका एक जना व्यक्ति छन् । ती हुन्, दक्षिण यहूदाका राजा योशियाह ।


आफ्नो सारा हृदय, प्राण र शक्तिले मोशाका सबै व्यवस्था मानेर परमप्रभुतर्फ त्यसरी फर्केका कुनै पनि राजा योशियाहजस्तै अघि वा पछि कहिल्यै भएको छैन ।

२ राजा २३:२५


परमेश्वरका सबै व्यवस्था मानेर आफ्नो सारा हृदय, प्राण र शक्तिले परमेश्वरतर्फ फर्केका व्यक्तिचाहिँ योशियाह थिए भनेर लेखिएको छ । अर्थात् योशियाहले “परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर” भन्ने पहिलो आज्ञा लगायत सबै व्यवस्थालाई पूर्ण रूपले माने भन्ने कुरा हो । यसरी लामो समयसम्म

नमनाइएको निस्तार-चाड मानेपछि, योशियाहले यस्तो गवाही पाउन सकेका हुन् ।


राजाले सबै मानिसहरूलाई यो हुकुम गरे: “परमप्रभु आफ्ना परमेश्वरको निस्तार-चाड करारको यस पुस्तकमा लेखेझैँ मनाओ ।” इस्राएलीहरूलाई अगुवाइ गर्ने न्यायकर्ताहरूका दिनहरूदेखि र इस्राएलका राजाहरू र यहूदाका राजाहरूको समयदेखि यसो यस्तो निस्तार-चाड कहिल्यै मनाइएको थिएन । तर योशियाह राजाको अठारौँ वर्षमा यरूशलेममा परमप्रभुको निम्ति यो निस्तार-चाड मनाइयो ।

२ राजा २३:२१-२३


योशियाहले निस्तार-चाड मानेर “परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर” भन्ने पहिलो आज्ञालाई पूर्ण रूपले माने ।

नयाँ करार निस्तार-चाड

 
क्रूसमा टाँगिनुअघि येशूज्यूले मान्नुभएको नयाँ करार निस्तार-चाड

पहिलो आज्ञा र निस्तार-चाडको समानताचाहिँ पुरानो करारको समयमा मात्र सीमित छैन । २,००० वर्षअघि, येशूज्यूले नयाँ करार निस्तार-चाड स्थापना गर्नुभयो । येशूज्यू देहधारी हुनुभएका परमेश्वर हुनुहुन्छ । यद्यपि मानव-जातिको मुक्तिको निम्ति उहाँले क्रूसमा रगत बग्नेसम्म कष्ट भोग्नुभयो । उहाँले त्यो कष्ट भोग्नुअघि आफ्ना चेलाहरूसँग मान्नुभएको अन्तिम कुरा भनेकै नयाँ करार निस्तार-चाड थियो, जुन अन्तिम भोजको रूपमा चिर-परिचित छ । येशूज्यूले निस्तार-चाडको रोटीलाई, क्रूसमा च्यातिने उहाँको देह, अनि निस्तार-चाडको दाखमद्यलाई चाहिँ क्रूसमा बग्ने उहाँको रगत भनी प्रतिज्ञा गर्नुभयो ।


उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”

लूका २२:१५, १९-२०


आफू क्रूसमा टाँगिनुभएर रगत बग्ने पीडा सहनुभई मुक्तिको मार्ग खोल्नुभएका येशूज्यूको बलिदान र प्रेमलाई महसुस गर्न सकिने सत्यता नै नयाँ करार निस्तार-चाड हो । निस्तार-चाडद्वारा बचाइएकाहरू र परमेश्वरको प्रेमलाई महसुस गरेकाहरूले परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्न सक्छन् । नयाँ करारको समयमा पनि, जब हामी नयाँ करार निस्तार-चाड मान्छौं, तब हामीले परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्न सक्नेछौं । तसर्थ चाहे जुनसुकै युगमा होस्, ‘परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर’ भन्ने पहिलो आज्ञाचाहिँ निस्तार-चाडद्वारा पूरा हुन्छ ।

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सम्बन्धित भिडियो

  • प्रवचन : पहिलो आज्ञा र निस्तार-चाड


  • प्रवचन : मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू

सन्दर्भ सामग्रीहरू