पिता परमेश्वर र माता परमेश्वर
स्वर्गीय परिवारमा पनि, सन्तान(सन्त)हरूलाई अनन्त जीवन दिनुहुने पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ ।
पिता परमेश्वर र माता परमेश्वरचाहिँ नर स्वरूपका परमेश्वर र नारी स्वरूपकी परमेश्वरलाई जनाउने सम्बोधन हुन् । पिता परमेश्वरको बारेमा चाहिँ जानेका तर माता परमेश्वरको बारेमा चाहिँ नजानेका मानिसहरू संसारमा धेरै छन् । यद्यपि बाइबलले चाहिँ उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म पिता परमेश्वर र माता परमेश्वरको अस्तित्वलाई प्रमाणित गरेको छ । येशू ख्रीष्टले परमेश्वरचाहिँ “स्वर्गमा हुनुहुने हाम्रा पिता” हुनुहुन्छ भनी सिकाउनुभयो र प्रेरित पावलले गलातीको पुस्तकमा “माथि(स्वर्ग)को यरूशलेम हाम्री आमा हुन्” भनेर लेखे ।
परमेश्वरको स्वरूप : नर र नारी
परमेश्वरको स्वरूपमा सृष्टि भएका मानव-जाति
पिता परमेश्वर र माता परमेश्वरको अस्तित्वचाहिँ बाइबलको पहिलो पुस्तक रहेको उत्पत्तिको पहिलो अध्यायदेखि नै देखिन थाल्छ । आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो । सृष्टिको अन्तिम दिन, अर्थात् छैटौँ दिनमा परमेश्वरले मानव-जातिलाई सृष्टि गर्नुभयो ।
अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । -
परमेश्वरले आफूलाई ‘हामी’ भनेर अभिव्यक्त गर्नुभयो । अनि परमेश्वरकै स्वरूप र प्रतिरूपमा मानिस सृष्टि गरिँदा, नर र नारी सृष्टि भए । अर्थात् परमेश्वरको स्वरूपभित्र नर स्वरूप र नारी स्वरूप छ भन्ने कुरा हो । कसै-कसैले, यहाँ ‘हामी’ भन्ने शब्दले त्रिएक अर्थात् पिता, पुत्र र पवित्र आत्मालाई जनाउँछ भनेर तर्क गर्ने गर्छन् । तिनीहरूका जिद्दीअनुसार सोच्ने हो भने त्रिएकमध्ये कुनै एक जनाले चाहिँ नारी स्वरूप लिएको हुनुपर्छ । किनभने परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिसहरू नर र नारी थिए । कसै-कसैले चाहिँ त्रिएक परमेश्वर भनेको ३ जना अलग-अलग अस्तित्व(व्यक्ति) हुन् भन्दै जिद्दी गर्ने गर्छन् । यदि त्यसो हो भने ३ किसिमका मानिसहरू सृष्टि हुनुपर्थ्यो । तर त्रिएकको सिद्धान्तलाई हेर्ने हो भने पिता, पुत्र र पवित्र आत्माचाहिँ नर स्वरूपका परमेश्वर हुनुहुन्छ । यसकारण आकाश र पृथ्वी सृष्टि गर्नुभएका, र ‘हाम्रै’ भन्नुहुँदै आफ्नै स्वरूपमा मानिसलाई सृष्टि गर्नुभएका परमेश्वर दुई स्वरूपका हुनुहुन्छ : नर स्वरूपका परमेश्वर र नारी स्वरूपकी परमेश्वर ।
हुन त बाइबलमा परमेश्वरलाई ‘एउटै परमेश्वर’[१] भनेर पनि लेखिएको छ । तर त्यसो भन्दैमा पिता परमेश्वर मात्र हुनुहुन्छ भन्ने अर्थचाहिँ होइन । परमेश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि भएका आदम र हव्वा खासमा दुई फरक व्यक्ति हुन् । तर बाइबलमा उनीहरूलाई ‘एउटै मानिस’ र ‘एउटै शरीर’ भनेर अभिव्यक्त गरिएको पाइन्छ ।[२][३] बाइबलमा आदम र हव्वालाई ‘एउटै शरीर’ भनेर व्यक्त गरिएजस्तै, पिता परमेश्वर र माता परमेश्वर पनि दुई फरक व्यक्ति हुनुभए तापनि उहाँहरू वास्तवमा एकै परमेश्वर हुनुहुन्छ भन्न सकिन्छ ।
परमेश्वरको बहुवचन नाउँ, एलोहिम
एलोहिमको अर्थ
हिब्रू भाषामा लेखिएको पुरानो करार बाइबलमा परमेश्वरलाई करीब २,५०० पटक एलोहिम(אֱלֹהִים) भनेर लेखिएको छ । त्यसैले आकाश, पृथ्वी र मानव-जातिलाई सृष्टि गर्नुभएका परमेश्वरलाई उत्पत्तिको पुस्तकमा एलोहिम भनेर सम्बोधन गरिएको छ ।[४] हिब्रू भाषामा ‘परमेश्वर’ भन्ने शब्दको एकवचनचाहिँ ‘एलोहा’ हो । एलोहा भन्ने शब्दमा जब इम् भन्ने प्रत्यय थपिन्छ, तब त्यो ‘एलोहिम’ बन्दछ, जसको अर्थ ‘परमेश्वरहरू’ हो । यसले परमेश्वर एक जना मात्र होइन तर एक जनाभन्दा बढी हुनुहुन्छ भन्ने अर्थ बुझाउँछ ।
पिता परमेश्वर, माता परमेश्वर
२,००० वर्षअघि येशूज्यूले, स्वर्गमा पिता परमेश्वर हुनुहुन्छ भनी सिकाउनुभयो ।
“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ’, . . .”
येशूज्यूको शिक्षाअनुसार, प्रेरित पावलले स्वर्गमा माता परमेश्वर हुनुहुन्छ भनी लेखे ।
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।
यहाँ ‘हामी’ले प्रेरित पावल लगायतका मुक्ति पाउने सन्तहरूलाई जनाउँछ । मुक्ति पाउने प्रजाले पिता
परमेश्वरलाई मात्र होइनकि माता परमेश्वरलाई पनि ग्रहण गर्नुपर्छ ।
सृष्टिको नियम र परमेश्वरको ईश्वरीय स्वभाव
जीवन जन्मने सिद्धान्त
परमेश्वरले आफ्नो इच्छाबमोजिम सबै थोक सृष्टि गर्नुभयो ।[५] ती थोकहरूलाई हेरेमा परमेश्वरको ईश्वरीय स्वभाव जान्न सकिन्छ ।[६] परमेश्वरले सृष्टि गर्नुभएका थोकहरूमध्ये जीवनको बारेमा सोचौं । यो पृथ्वीमा भएका प्रायः सबै जीवित प्राणीहरूले आफ्ना बुबा र आमाबाट जीवन पाउँछन् । मानिसको सन्दर्भमा पनि उस्तै नै हो । यसले, अनन्त जीवन पनि पिता परमेश्वर र माता परमेश्वरद्वारा दिइन्छ भन्ने कुरा बुझाउँछ ।[७]
पारिवारिक प्रणाली
बुबा भनेको घरमा प्रयोग हुने सम्बोधन हो, र यसले सन्तान भएको पुरुषलाई जनाउँछ । कुनै पनि पुरुष बुबा बन्नको निम्ति उसको आफ्नै सन्तान हुनुपर्छ । परमेश्वरका पनि सन्तानहरू भएकाले उहाँलाई ‘पिता’ भनिएको हो । परमेश्वरले मुक्ति पाउनेहरूलाई ‘मेरा छोरा-छोरी’ भन्नुभएको छ ।
... “म तिमीहरूलाई ग्रहण गर्नेछु । म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।”
बुबा एकलैले सन्तान जन्माउन सक्नुहुन्न । सन्तानलाई गर्भमा बोकेर अन्त्यमा जन्माउने भूमिकाचाहिँ आमाले निर्वाह गर्नुहुन्छ । आमा हुनुहुन्न भने सन्तान पनि हुन सक्दैन, र सन्तान छैन भने कुनै पनि पुरुष बुबा बन्न सक्दैन । बुबा भन्ने सम्बोधनले, सन्तान र आमा पनि अवश्य हुनुहुन्छ भन्ने कुरालाई बुझाउँछ । त्योजस्तै पिता परमेश्वर भन्ने सम्बोधनले पनि माता परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्छ ।
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।
पार्थिव परिवारचाहिँ बुबा, आमा र सन्तानद्वारा गठन भएजस्तै, स्वर्गीय परिवार पनि पिता परमेश्वर, माता परमेश्वर र उहाँका सन्तान(सन्त)हरूद्वारा गठन हुन्छ ।
पवित्र आत्माको युगका मुक्तिदाता : पवित्र आत्मा र दुलही
स्वर्गीय विवाह भोज
प्रेरित यूहन्नाले परमेश्वरबाट पाएको दर्शनमार्फत, भविष्यमा हुने कुरा देखेपछि प्रकाशको पुस्तक लेखेका हुन् । जसमध्येको एक नै स्वर्गीय विवाह-भोज सम्बन्धी प्रकाश हो ।[८] उक्त प्रकाशमा, थुमाको विवाहको दिन आउनेछ, र उहाँकी दुलहीले स्वयम् तयार हुनुभएको छ भनेर लेखिएको छ । अनि विवाह-भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् भनिएको छ ।
“... किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो ।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन् । अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।”
यहाँ ‘थुमा’ले येशूज्यूलाई जनाउँछ ।[९] माथिको अगमवाणी लेखिनुअगावै येशूज्यू स्वर्ग उचालिनुभएको थियो । त्यसैले यहाँ उल्लेखित थुमाले दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ । ‘निमन्त्रणा पाउनेहरू’ भन्नाले अनन्त जीवनको आशिष् पाउने परमेश्वरका प्रजा हुन् । अनि दुलहा हुनुभएका थुमासँगै देखा पर्नुहुने ‘दुलही’चाहिँ ‘थुमाकी पत्नी’ हुनुहुन्छ । प्रकाश अध्याय २१मा हेर्ने हो भने दुलहीचाहिँ स्वर्गदेखि तलतिर झर्नुहुने यरूशलेम हुनुहुन्छ ।
... सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” ... र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।
स्वर्गीय यरूशलेमले माता परमेश्वरलाई सङ्केत गर्दछ ।[१०] स्वर्गमा रहनुभएकी माता परमेश्वर यो पृथ्वीमा ओर्लिआउनुहुने कुरालाई प्रेरित यूहन्नाले ‘स्वर्गदेखि तलतिर झर्नुहुने यरूशलेम’को रूपमा वर्णन गरे । साथै तिनले स्वर्गीय विवाह-भोजमा दुलही देखा पर्नुहुने विषयलाई पनि उल्लेख गरे । अर्थात् स्वर्गीय विवाह भोजचाहिँ, दोस्रो आगमनका ख्रीष्ट हुनुभएका पिता परमेश्वर र उहाँकी दुलही हुनुभएकी माता परमेश्वर यो संसारमा आउनुभएर सन्तहरूलाई मुक्तिमा डोऱ्याउनुहुनेछ, र त्यसपछि सन्तहरूले स्वर्गको महिमा उपभोग गर्नेछन् भन्ने कुराको अगमवाणी हो ।
जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही
यहाँ येशूज्यूले जीवनको पानी दिनेछु भन्नुभएको दृश्य चित्रण गरिएको छ ।
प्रकाश अध्याय १९मा उल्लेखित थुमा र उहाँकी दुलहीलाई प्रकाश अध्याय २२मा पवित्र आत्मा र दुलही भनिएको छ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् ।
योचाहिँ अन्त्यका दिनहरूमा पवित्र आत्मा र दुलही देखा पर्नुभएर जीवनको पानी दिनुहुने विषयको अगमवाणी हो । त्रिएकका अनुसार पिता, पुत्र र पवित्र आत्मा एकै हुनुभएकोले पवित्र आत्मा स्वयम् पिता परमेश्वर हुनुहुन्छ । यसकारण पवित्र आत्माकी दुलहीचाहिँ माता परमेश्वर हुनुहुन्छ । पिता परमेश्वर र माता परमेश्वर देखा पर्नुको उद्देश्यचाहिँ मानव-जातिलाई जीवनको पानी अर्थात् अनन्त जीवन दिनको निम्ति हो । पुरानो करारको समयमा यहोवाले जीवनको पानी दिनुभयो[११] र २,००० वर्षअघि चाहिँ येशूज्यूले जीवनको पानी दिनुभयो ।[१२][१३] यस अन्तिम पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलहीले जीवनको पानी दिनुहुन्छ । योचाहिँ पिता परमेश्वर र माता परमेश्वर नै यस पवित्र आत्माको युगका मुक्तिदाता हुनुहुन्छ भन्ने अर्थ हो ।
सम्बन्धित भिडियो
- प्रवचन : पिता परमेश्वर र माता परमेश्वर
- पिता परमेश्वर हुनुहुन्छ भने माता परमेश्वरचाहिँ किन हुनुहुन्न ?
यो पनि हेर्नुहोस्
बाह्य कडी
सन्दर्भ सामग्रीहरू
- ↑ "१ तिमोथी ६:१५"।
- ↑ "रोमी ५:१२-१५"।
- ↑ "उत्पत्ति २:२२-२४"।
- ↑ "उत्पत्ति १:१"। Bible Hub।
בְּרֵאשִׁ֖ית בָּרָ֣א אֱלֹהִ֑ים אֵ֥ת הַשָּׁמַ֖יִם וְאֵ֥ת הָאָֽרֶץ
- ↑ "प्रकाश ४:११"।
- ↑ "रोमी १:२०"।
- ↑ "१ यूहन्ना २:२५"।
- ↑ "प्रकाश १:१"।
- ↑ "यूहन्ना १:२९"।
- ↑ "गलाती ४:२६"।
- ↑ "यर्मिया २:१३"।
- ↑ "यूहन्ना ४:१४"।
- ↑ "यूहन्ना ७:३७"।