परमेश्वरको इच्छा र वचन अभिलिखित पुस्तक बाइबल
परमेश्वरको इच्छा र वचन अभिलिखित पुस्तक बाइबल

धर्मशास्त्र अथवा बाइबलचाहिँ पवित्र आत्माको प्रेरणा[१] पाएका मानिसहरूद्वारा परमेश्वरको इच्छा र विचारलाई अभिलेख गरिएको पुस्तक हो । ख्रीष्टियान र यहूदी धर्ममा यसलाई पवित्र शास्त्रको रूपमा प्रयोग गर्ने गरिन्छ । यो पुस्तक ई.पू. १५०० देखि ई.सं. ९६सम्म गरेर करीब १,६०० वर्षको अवधिभित्र लेखिएको थियो । यसलाई, येशूज्यूको जन्म हुनुअघि लेखिएको पुरानो करार(३९ वटा पुस्तक), र येशूज्यूको जन्म भएपछि लेखिएको नयाँ करार(२७ वटा पुस्तक) गरेर दुई भागमा वर्गीकरण गरिएको छ । बाइबलचाहिँ फरक युग र वातावरणमा जिएका दर्जनौँ मानिसहरूद्वारा लेखिएको भए तापनि बाइबलका सबै वचनहरूमा एकरूपता र समानता छ । यसले बाइबलका लेखकचाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्दछ । बाइबल, मानव-जातिलाई मुक्ति दिनुहुने ख्रीष्टको विषयमा गवाही दिने पुस्तक हो । योचाहिँ मानव-जातिको विगत र वर्तमानबारे थाहा दिने र भविष्यको कुरा

अगमवाणी गर्ने, र मानव-जातिलाई स्वर्गको राज्यतिर डोऱ्याउने निर्देशिका पनि हो ।

बाइबलका लेखक

बाइबलका ६६ वटा पुस्तकहरूचाहिँ ई.पू. १५०० देखि ई.सं. ९६ सम्म करीब १,६०० वर्षसम्म फरक समय र वातावरणमा जिएका दर्जनौँ मानिसहरूद्वारा लेखिएको थियो । ती प्रत्येक लेखकहरूको पेशा र जीवनशैली एक-अर्कामा फरक थियो । त्यहाँ दाऊद जस्ता राजा, आमोस जस्ता गोठाला र पत्रुस जस्ता मछुवाहरू थिए । यद्यपि बाइबलको उत्पत्तिदेखि प्रकाशसम्मका सबै वचनहरूमा एकरूपता र समानता रहेको देख्न सकिन्छ । यसले, बाइबल धेरै जना मानिसहरूद्वारा लेखिएको भए पनि बाइबलको साँचो लेखकचाहिँ परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा दर्शाएको छ ।


किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन् ।

२ पत्रुस १:२१


बाइबलका लेखकहरूले, आफूले पवित्र आत्माको प्रेरणा पाएर परमेश्वरको तर्फबाट बोलेका हुन् भनेका छन् । यो नै, बाइबल मानिसद्वारा लेखिएको भए तापनि यसमा परमेश्वरको इच्छा र वचन समावेश छ भन्ने अर्थ हो । मानौं, कुनै एक जना धनी मानिसले वकीललाई आफ्नो इच्छापत्र लेख्न लगाए । यस्तो अवस्थामा सबै इच्छा-पत्र लेखिदिने व्यक्ति वकील भए तापनि त्यस इच्छा-पत्रको साँचो लेखकचाहिँ ती धनी मानिस हुन् । किनकि इच्छा-पत्रमा वकीलको होइन तर ती धनी मानिसको विचार र वचन समावेश हुन्छ । त्यसै गरी बाइबलको साँचो लेखक परमेश्वर हुनुहुन्छ ।

बाइबलको भूमिका

परमेश्वरले मानव-जातिलाई बाइबल दिनुको मुख्य उद्देश्यचाहिँ बाइबलले सुझाएको मुक्तिको मार्ग उनीहरूलाई थाहा दिएर स्वर्गतर्फ डोऱ्याउनको निम्ति हो । अर्को शब्दमा भन्नुपर्दा, बाइबलचाहिँ मानिसहरूलाई स्वर्गीय राज्यमा डोऱ्याउने मार्गदर्शक हो ।

परमेश्वरको अस्तित्वबारे गवाही

मानिसको नाङ्गो आँखाले सूक्ष्मजीव अथवा सूक्ष्मकणको संसारलाई देख्न सक्दैन, र टाढाको ब्रह्माण्डको संसारलाई पनि देख्न सक्दैन । तर सूक्ष्मदर्शक यन्त्रद्वारा हेरेमा सूक्ष्मजीवहरूको अस्तित्वलाई देख्न सकिन्छ, र दूरदर्शक यन्त्रद्वारा हेरेमा टाढाको अन्तरिक्षमा रहेका ताराहरूलाई पनि देख्न सकिन्छ ।

त्यसोभए परमेश्वरको अस्तित्वलाई चाहिँ केद्वारा निश्चित गर्न सकिन्छ होला ? बाइबलद्वारा । बाइबलले, अदृश्य हुनुभएका परमेश्वरको अस्तित्वलाई जानकारी दिने आत्मिक दूरदर्शक यन्त्र र आत्मिक सूक्ष्मदर्शक यन्त्रको काम गर्छ । भोलि के हुन्छ भन्ने कुरा कसैलाई थाहा छैन ।[२][३] तर बाइबलमा चाहिँ परमेश्वर शरीरमा आउनुहुने बारे[४][५][६] र उहाँको मृत्युपछिको अवस्थाबारे समेत प्रष्टसँग अगमवाणी गरिएको थियो ।[७][८] संसारका थुप्रै देशहरूको उदय र पतनबारे[९] सयौँ, हजारौँ वर्ष अघिदेखि नै अगमवाणी गरिएका थिए र ती सबै जस्ताको तस्तै पूरा भए । यसले, भविष्यको बारेमा अगमवाणी गर्नुहुने र पूरा गर्नुहुने परमेश्वरको अस्तित्वबारे गवाही दिन्छ ।


तिमीहरू आफैलाई सोधौला, “कुनै वचन परमप्रभुद्वारा बोलिएको होइन भनेर हामी कसरी जान्ने ?” कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको वचन पूरा भएन वा सत्य ठहरेन भने, त्यो परमप्रभुले भन्नुभएको वचन होइन । सो त्यही अगमवक्ताको मनगढन्त कुरा हो । तिमीहरू त्यसदेखि नडराउनू ।

व्यवस्था १८:२१-२२


मुक्तिदाताको विषयमा गवाही

धार्मिक मानिसहरूले मात्र होइन तर साधारण मानिसहरूले पनि विभिन्न उद्देश्यले बाइबल पढ्ने गर्छन् । कसै-कसैले यसलाई ‘इस्राएलको इतिहास र ख्रीष्टको जीवन’ समाविष्ट ऐतिहासिक पुस्तकको रूपमा लिन्छन् भने कसैले यसलाई जीवनको बुद्धि र नैतिक शिक्षा समाविष्ट पुस्तकको रूपमा लिन्छन् । तर वास्तवमा बाइबलचाहिँ मानव-जातिलाई पाप र मृत्युबाट बचाउनुहुने मुक्तिदाताको विषयमा गवाही दिने पुस्तक हो भनी येशूज्यूले सिकाउनुभयो ।


“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ।”

यूहन्ना ५:३९


स्वर्ग भनेको फेरिचाहिँ मृत्यु नहुने ठाउँ[१०] भएकोले त्यो संसारमा जानको निम्ति मानव-जातिले अनन्त जीवन पाएको हुनुपर्छ । अनन्त जीवन दिनुहुने मुक्तिदातालाई चिन्न सकिने माध्यम नै बाइबल हो । ख्रीष्टको विषयमा गरिएका सबै अगमवाणीहरू येशूज्यूद्वारा पूरा भयो भन्ने यथार्थताले, येशूज्यू नै जीवनको पानीको मूल अर्थात् ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा देखाउँछ ।[११] त्यसै गरी अन्त्यको समयमा जीवनको पानीको मूल हुनुभएका पवित्र आत्मा(पिता परमेश्वर) र दुलही(माता परमेश्वर)को विषयमा पनि बाइबलका थुप्रै अगमवाणीहरूद्वारा गवाही दिइएको छ ।[१२]

बुद्धि र शिक्षा प्रदान

साथै सन्तहरूले लिनुपर्ने सही व्यवहार र चरित्रसम्बन्धी पनि बाइबलमा धेरै शिक्षाहरू उल्लेखित छन् । बाइबलचाहिँ ख्रीष्टियानहरूलाई परमेश्वरमा मिल्ने सुन्दर स्वरूपमा परिवर्तन गराएर स्वर्गमा सदासर्वदा राज्य गराउन चाहनुहुने परमेश्वरको प्रेमको शिक्षा समाविष्ट पुस्तक हो ।[१३]


तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ । सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ ।

२ तिमोथी ३:१५-१७


बाइबलको मूल भाषा र नाउँ

बाइबलको मूल भाषा

पुरानो करार बाइबलका अधिकांश पुस्तकहरू हिब्रू भाषामा लेखिएका थिए । एज्रा, यर्मिया र दानिएल जस्ता केही पुस्तकहरू मात्र आरमेइक भाषामा लेखिएका थिए । कारण बेबिलोन(नियो-बेबिलोनिया)को कैदमा परेपछि यहूदीहरूले आरमेइक भाषा धेरै बोल्न लागे, जुनचाहिँ बेबिलोन र फारसको मुख्य भाषा थियो । अनि नयाँ करार बाइबल ग्रीक भाषामा लेखिएको थियो, जुनचाहिँ त्यस बेला रोमी साम्राज्यको आम भाषा थियो । अन्यजातिहरूले पनि उद्धार पाऊन् भन्ने आशा गर्दै प्रेरितहरूले नयाँ करार बाइबललाई ग्रीक भाषामा लेखे । तर मत्तीको सुसमाचार र हिब्रूको पुस्तकचाहिँ यहूदीहरूका लागि भनेर सुरुमा हिब्रू भाषामा लेखिएका थिए भन्ने जानकारी प्राप्त भएको छ ।[१४][१५]

बाइबलको नाउँ

नयाँ करार बाइबलमा उल्लेखित ‘धर्मशास्त्र’ भन्ने शब्दले त्यस बेलाका यहूदीहरूले पढ्ने गरेको पुरानो करार बाइबललाई जनाउँछ । यसलाई ग्रीक भाषामा ‘ग्राफे’ भनिन्छ, जसको अर्थ हो, ‘लिखित कुरा’ । येशूज्यू र प्रेरितहरूले पुरानो करार बाइबललाई ‘मोशा र सबै अगमवक्ताहरूका लेख’,[१६] ‘मोशाको व्यवस्था र अगमवक्ताहरूको लेख र भजनसंग्रह’,[१७] ‘मोशाको व्यवस्था र अगमवक्ताहरूको पुस्तक’ भनेर वर्णन गर्नुभएको छ ।[१८] अङ्ग्रेजी शब्द Bible(बाइबल)चाहिँ ‘Biblos(बिब्लोस)’ भन्ने ग्रीक शब्दबाट व्युत्पन्न भएको हो, जसको अर्थ हो, पुस्तक । ‘पुस्तक’ भन्ने अर्थ बोकेको शब्द ‘बिब्लिओन’चाहिँ ‘बिब्लोस’बाट व्युत्पन्न भएको हो, र ल्याटिन शब्द ‘बिब्लिआ’चाहिँ ‘बिब्लिओन(पुस्तक)’ शब्दको बहुवचन रहेको ‘बिब्लिआ(पुस्तक)’बाट बनेको हो । ल्याटिन शब्द ‘बिब्लिआ’चाहिँ अङ्ग्रेजी शब्द ‘बाइबल’को व्युत्पत्ति हो । अनि नयाँ करार बाइबलमा पनि ‘बिब्लोस’ र ‘बिब्लिओन’ भन्ने शब्द प्रयोग भएका छन् । NIV बाइबलमा यसलाई ‘पुस्तक’ अथवा ‘मुट्ठा’ भनेर अनुवाद गरिएको छ ।

बाइबलको संरचना

बाइबलमा जम्मा ६६ वटा पुस्तकहरू छन् । बाइबल २ भागमा विभाजित छ : येशूज्यू आउनुअघि लेखिएको पुरानो करार बाइबल र येशूज्यू आउनुभएपछि लेखिएको नयाँ करार बाइबल । पुरानो करार बाइबल भन्नाले उत्पत्तिदेखि मलाकीसम्मका ३९ वटा पुस्तकहरू हुन्, जुन ई.पू. १५०० देखि ई.पू. ४००को बीचमा लेखिएका थिए । त्यसै गरी नयाँ करार बाइबल भन्नाले मत्तीदेखि प्रकाशसम्मका २७ वटा पुस्तकहरू हुन् । अहिले हामीले प्रयोग गरिरहेको बाइबलचाहिँ समयको क्रमअनुसार होइन तर पुस्तकको विशेषताअनुसार मिलाएर राखिएको छ । साथै बाइबल लेखिएको समयमा अध्याय र पदहरू छुट्ट्याइएका थिएनन् । भनिन्छ, बाइबलका अध्यायहरू विभाजत गरिएको चाहिँ ई.सं. १३औँ शताब्दीतिर हो ।[१९] १६औँ शताब्दीको मध्यतिर जब स्टेफानस नामक फ्रान्सेली मुद्रकले ग्रीक भाषामा नयाँ करार बाइबल प्रकाशित गरे, सोही बेला बाइबलका पदहरू पहिलो चोटि विभाजन गरियो । सन् १५६०मा अङ्ग्रेजी भाषामा प्रकाशित जेनेभा बाइबलकै आधारमा, अहिलेको बाइबलको अध्याय र पद विभाजित भएको हो ।[२०]

पुरानो करार बाइबलका ३९ वटा पुस्तकहरू

व्यवस्थाका पुस्तकहरू (पञ्च ग्रन्थ) : ५ वटा पुस्तकहरू
उत्पत्ति, प्रस्थान, लेवी, गन्तीव्यवस्था
इतिहासका पुस्तकहरू : १२ वटा पुस्तकहरू
यहोशू, न्यायकर्ता, रूथ, १ शमूएल, २ शमूएल, १ राजा, २ राजा, १ इतिहास, २ इतिहास, एज्रा, नहेम्याह, एस्तर
कविताका पुस्तकहरू : ५ वटा पुस्तकहरू
अय्यूब, भजनसंग्रह, हितोपदेश, उपदेशक, श्रेष्ठगीत
अगमवाणीका पुस्तकहरू : १७ वटा पुस्तकहरू
यशैया, यर्मिया, विलाप, इजकिएल, दानिएल, होशे, योएल, आमोस, ओबदिया, योना, मीका, नहूम, हबकूक, सपन्याह, हाग्गै, जकरिया, मलाकी

नयाँ करार बाइबलका २७ वटा पुस्तकहरू

सुसमाचारका पुस्तकहरू (येशूज्यूका कार्यहरू) : ४ वटा पुस्तकहरू
मत्ती, मर्कूस, लूका, यूहन्ना
इतिहासका पुस्तकहरू : १ वटा पुस्तक
प्रेरितहरूको कार्य
पावलका पत्रहरू (प्रापकअनुसार पुस्तकको नाउँ राखिएको) : १४ वटा पुस्तकहरू
रोमी, १ कोरिन्थी, २ कोरिन्थी, गलाती, एफिसी, फिलिप्पी, कलस्सी, १ थेसलोनिकी, २ थेसलोनिकी, १ तिमोथी, २ तिमोथी, तीतस, फिलेमोन, हिब्रू
साधारण पत्रहरू(प्रेषकअनुसार नाउँ राखिएको) : ७ वटा पुस्तकहरू
याकूब, १ पत्रुस, २ पत्रुस, १ यूहन्ना, २ यूहन्ना, ३ यूहन्ना, यहूदा
अगमवाणीको पुस्तक : १ वटा पुस्तक
प्रकाश

बाइबलको सर्वाधिकार र संरक्षण

बाइबलको सर्वाधिकार

परमेश्वरको वचन रहेको बाइबलको पनि सर्वाधिकार छ । बाइबलमा लिखित परमेश्वरको वचनले मानव-जातिको मुक्ति र इन्साफलाई निर्धारण गर्दछ । परमेश्वरले मुक्तिसँग सीधै सम्बन्धित रहेको बाइबल, मानव-जातिलाई जस्ताको तस्तै थम्याउन चाहनुभएकोले उहाँले बाइबलको वचनमा अलिकति पनि थपघट नगर्न भन्नुभयो ।[२१]


यस पुस्तकको अगमवाणीका वचन सुन्ने हरेक मानिसलाई म चेताउनी दिन्छु: यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ । अनि कसैले यस अगमवाणीको पुस्तकका वचनबाट केही घटायो भने, यस पुस्तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोस्नुहुनेछ ।

प्रकाश २२:१८-१९


यस्तो चेताउनीद्वारा परमेश्वर स्वयम्‌ले बाइबललाई संरक्षण गर्नुभएको कुरा हामी अनुमान लगाउन सक्छौं । कोही पनि नष्ट नहोऊन्, तर सबै जनाले मुक्ति पाऊन् भन्ने परमेश्वर चाहनुहुन्छ ।[२२] तर यदि बाइबल नष्ट अथवा परिवर्तन भयो भने कसैले पनि मुक्ति पाउन सक्दैन । तसर्थ बाइबलको सर्वाधिकारचाहिँ जीवित परमेश्वर स्वयम्‌ले सुनिश्चित गर्नुभएको छ ।

बाइबलको अभिलेख र संरक्षण

 
पपाइरसमा बनेको बाइबलको प्रतिलिपि

मुद्रण प्रविधिको विकास नभएको समयमा मानिसहरूले एक-एक शब्दहरू लेखेर पुस्तक बनाउने गर्थे । समय बित्दैजाँदा मूल लिपि पुरानो र थोत्रो भयो भने मानिसहरूले मूल लिपिका शब्दहरूलाई माटो, छाला अथवा रूखका बोक्राहरूमा सार्ने गर्थे, जसलाई पाण्डुलिपि भनिन्छ । मिश्रदेशको नील नदी वरपर सजिलै पाइने चर्मपत्र अथवा पपाइरस जस्ता सामग्रीहरू प्रायः प्रयोग गरिन्थ्यो ।

  • पुरानो करार बाइबल

हुन त पुरानो करार बाइबलका मूल लिपिहरू अहिले अस्तित्वमा त छैनन् तर त्यसका विषयवस्तुहरू पाण्डुलिपिद्वारा हस्तान्तरण भएका छन् । इस्राएलमा शास्त्रीहरू थिए, जसले बाइबललाई प्रतिलिपि गर्ने र निरीक्षण गर्ने गर्थे । ती पाण्डुलिपि बनाउने प्रक्रिया एकदम विस्तृत थियो । शास्त्रीहरूले बाइबललाई प्रतिलिपि गर्दा, त्यसमा भएका विषयवस्तु फेरबदल नहुने गरी एक-एक अक्षरको गन्ती गर्दै मूल ग्रन्थलाई हिफाजत गर्थे ।

एपिओनविरुद्ध, पुस्तक १
हामीले हाम्रै जातिका यी पुस्तकहरूलाई कति दृढतापूर्वक श्रेय दिएका छौं भन्ने कुरा त हाम्रा गतिविधिहरूबाटै प्रष्ट छ । किनभने यत्तिका समय बितिसक्दा पनि यसमा भएका विषयवस्तुमा केही थप्ने, घटाउने वा बदल्ने कसैले आँट गरेको छैन । तर सबै यहूदीहरूले ती पुस्तकहरूमा ईश्वरीय सिद्धान्त छ भनी विश्वास गर्दै त्यसलाई सम्मान गर्ने, त्यसमा लीन भइरहने र परेको खण्डमा त्यसको निम्ति आफ्नो ज्यान दिन पनि तयार रहने कुरा स्वाभाविक हो । हाम्रा बन्दीहरूका लागि यो कुनै नयाँ कुरा होइन । तीमध्ये धेरै जना हर किसिमका धम्कीहरू सहँदै उत्पीडन र मृत्यु भोग्न समेत तयार भए, तर व्यवस्था र तिनमा लिखित विषयवस्तुको विरुद्धमा भने तिनीहरूले एक शब्द पनि बोलेनन् ।
— फ्लेभियस जोसेफस, जोसेफसका पूर्ण कृति : यहूदीहरूका पुरातात्विक वस्तुहरू, एपिओनविरुद्ध यहूदीहरूको युद्ध इत्यादि, सन् १९२४, पेज नं. ४१९

बाइबल लामो समयदेखि पाण्डुलिपिको रूपमा हस्तान्तरण हुँदैआएको भए पनि यसमा भएका विषयवस्तु एउटा पनि परिवर्तन भएको छैन भन्ने कुराचाहिँ ‘मृत सागरका मुट्ठा’बाट प्रष्टसँग जान्न सकिन्छ । ई.पू. १००मा लेखिएको मुट्ठो सन् १९४७मा मृत सागर नजिकैको कुम्रान गुफामा भेट्टिएको थियो, जसलाई मृत सागरको मुट्ठा अथवा कुम्रान गुफाको मुट्ठा पनि भनिन्छ । त्यस बेलाको सबैभन्दा पुरानो पाण्डुलिपिचाहिँ ई.सं. ९००तिरको मासोरेटिक पाण्डुलिपि हो । विद्वान्‌हरूले ती दुवै पाण्डुलिपिलाई दाँजेर हेर्दा, तिनमा करीब १,००० वर्षको समय भिन्नता भए तापनि छक्कै पर्ने गरी, तिनमा लेखिएका विषयवस्तु ठ्याक्कै मिलेका थिए ।[२३]

  • नयाँ करार बाइबल

ई.पू. पहिलो शताब्दीतिर चेलाहरूले, येशूज्यूको जीवनी र शिक्षाहरूलाई संरक्षण गरेर अभिलेख गर्नुपर्ने आवश्यकतालाई महसुस गरे, जुन अहिले सुसमाचारका पुस्तकहरूको रूपमा रहेका छन् । साथै प्रेरित पावल लगायत अन्य अगुवाहरूले स्थानीय मण्डलीहरूको एक-एक गरी भ्रमण गर्न साद्दे नभएकोले त्यहाँका सन्तहरूको विश्वास हुर्काउन उनीहरूले पत्रहरू लेखेर पठाउँथे । ती पत्रहरू प्रायः सबै मण्डलीहरूमा साझा गरिन्थ्यो ।[२४][२५][२६][२७] अनि त्यसपछि येशूज्यू र प्रेरितहरूको शिक्षालाई पछ्याउनको निम्ति ती स्थानीय मण्डलीहरूमा लामो समयसम्म पढिएका ती पत्रहरूले पछि गएर बाइबलको रूपमा मान्यता पाए ।

बाइबलको व्याख्यान

परमेश्वरले अगमवक्ताहरूलाई पवित्र आत्माको प्रेरणा दिनुभई बाइबल लेख्न प्रेरित गर्नुभयो ।[१]

यसकारण बाइबल पढ्दा र व्याख्या गर्दा, उही पवित्र आत्माद्वारा प्रेरित भएका मानिसहरूले मात्र बाइबलमा अभिलिखित परमेश्वरको साँचो इच्छालाई महसुस गर्न सक्छन् ।[२८] पवित्र आत्माद्वारा प्रेरित हुने तरिका भनेकै नयाँ करारको सत्यता पालन गर्नु हो । नयाँ करारको सत्यताभित्र ख्रीष्टको रगतद्वारा शुद्धता धारण गरेमा[२९] परमेश्वरको पवित्र आत्मा उनीहरूमा वास गर्नुहुन्छ ।[३०] जब परमेश्वरको पवित्र आत्मा उनीहरूमा वास गर्नुहुन्छ, तब उनीहरू पवित्र आत्माको बुद्धि र ज्ञानले परिपूर्ण हुन्छन्, र उनीहरूले बाइबलमा समाहित परमेश्वरका गहिरा-गहिरा रहस्यहरू जान्नेछन् ।[३१]

तर प्रेरितहरूको युगपछि नयाँ करारको सत्यता लोप भयो । त्यसपछि, साँचो विश्वास लिएको र पवित्र आत्माको बुद्धि र ज्ञान पाएको मानिस एक जना पनि भएन ।[३२] अर्थात् मानव-जातिको मुक्तिको निम्ति लेखिएको बाइबल पूर्ण रूपमा मोहोरबन्द भयो । यस्तो अवस्थामा, मानव-जातिलाई बाइबलको अर्थ सही तरिकाले जानकारी दिने व्यक्तिचाहिँ केवल दाऊदको मूल अर्थात् दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।


सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा भित्र र बाहिरपट्टि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखें, जो सात वटा मोहोर लगाएर बन्द गरिएको थियो । अनि एउटा बलवान् स्वर्गदूतलाई ठूलो आवाजले यसो भनिरहेको मैले देखें, “यो मुट्ठो खोल्न र यसका मोहोरहरू तोड्न योग्य को छ ?” स्वर्गमा अथवा पृथ्वीमा वा पृथ्वीमुनि यो चर्मपत्रको मुट्ठो खोल्न वा त्यसभित्र हेर्न सक्ने कोही थिएन । कोही पनि त्यो चर्मपत्रको मुट्ठो खोल्ने अथवा त्यसभित्र हेर्ने योग्यको नपाइएको हुनाले म खूबै रोएँ । तब धर्म-गुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ ! हेर, यहूदाका कुलको सिंह, दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्न विजयी हुनुभएको छ ।”

प्रकाश ५:१-५


बाइबललाई सही तरिकाले व्याख्यान गरेर मानव-जातिलाई मुक्तिमा डोऱ्याउनुहुने व्यक्ति नै दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ । हिजोआज धेरै मानिसहरूले दाऊदको मूललाई ग्रहण नै नगरी, र नयाँ करारको सत्यता पनि पालन नै नगरी बाइबलको अर्थ लगाइरहेका छन् । तर दाऊदको मूल बाहेकका व्यक्तिले बाइबललाई जथाभावी व्याख्या गर्नु भनेको आफैमाथि विनाश ल्याउने कार्य हो ।[३३]

नयाँ करारको सत्यता पालन गर्ने र ख्रीष्टको रगतद्वारा शुद्ध भएकाहरूले समेत बाइबलको वचनलाई जथाभावी व्याख्या गर्नुहुँदैन । हामीले बाइबल र मुक्तिदाताद्वारा सिकाइएको अनन्त जीवनको मार्गतिर ध्यानदृष्टि लगाउँदै उहाँको वचनलाई पछ्याउनुपर्छ ।[३४][३५]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ "२ पत्रुस १:२०-२१" 
  2. "हितोपदेश २७:१" 
  3. "लूका १२:२०" 
  4. "यशैया ५३:१-५" 
  5. मत्ती २७:२६-३०, ३५
  6. "यूहन्ना १९:३४" 
  7. "यशैया ५३:९" 
  8. मत्ती २७:३८, ५७-६०
  9. दानिएल ८:१, २०-२२
  10. "प्रकाश २१:४" 
  11. "यूहन्ना ४:१४" 
  12. "प्रकाश २२:१७" 
  13. "प्रकाश २२:५" 
  14. The Ecclesiastical History of Eusebius Pamphilus, Bishop of Cesarea, in Palestine, सन् १८६०, पेज १२७
  15. The Ecclesiastical History of Eusebius Pamphilus, Bishop of Cesarea, in Palestine; In Ten Books, TheClassics.us, सन् २०१३ सेप्टेम्बर १२, पेज १२४
  16. "लूका २४:२७" 
  17. "लूका २४:४४" 
  18. "प्रेरित २८:२३" 
  19. "बाइबल किन अध्याय र पदहरूमा वर्गीकृत छ ?"Blue Letter Bible 
  20. सन् १५६० जेनेभा बाइबल (सन् १५६० जेनेभा बाइबल ठूलो अक्षर मुद्रण सम्पादन, पहिलो मुद्रण, Facsimile) अपरिचित बाइन्डिङ
  21. "व्यवस्था ४:२" 
  22. "२ पत्रुस ३:९" 
  23. Halley’s Bible Handbook, पेज ८७८-८८२, Zondervan, सन् २०००
  24. "२ पत्रुस ३:१५-१६" 
  25. "कलस्सी ४:१६" 
  26. "१ थेसलोनिकी ५:२७" 
  27. "२ थेसलोनिकी २:१५" 
  28. "१ कोरिन्थी २:१०" 
  29. "लूका २२:७-२०" 
  30. "यूहन्ना ६:५३-५६" 
  31. "एफिसी १:७-९" 
  32. "लूका १८:८" 
  33. "२ पत्रुस ३:१६" 
  34. "यूहन्ना ५:३९" 
  35. "तिमोथी ३:१५-१७"