क्रूस
क्रूसचाहिँ अधिकांश ख्रीष्टियान मण्डलीहरूले ख्रीष्टियान धर्मको प्रतीकको रूपमा प्रयोग गर्ने प्रतिमा हो । यद्यपि ख्रीष्टको क्रूसीकरणपछि मात्र यो पहिलो चोटि देखा परेको भने होइन, तर प्राचीन समयदेखि नै गैर-ख्रीष्टियान धर्महरूले यसलाई धार्मिक वस्तुको रूपमा पुज्दैआएका थिए । ‘इराकको इतिहास(ancient Near East)’मा, मृत्युदण्डको साधनको रूपमा क्रूस आकारको फ्रेम प्रयोग गर्ने गरिन्थ्यो । शबाथको अघिल्लो दिनमा परेको अखमिरी रोटीको चाडमा, मानव-जातिको पापको प्रायश्चितको निम्ति येशू ख्रीष्ट यरूशलेम बाहिर गलगथाको डाँडामा क्रूसमा टाँगिनुभयो । क्रूसचाहिँ येशूज्यूलाई मात्र होइन तर असंख्य सन्तहरूलाई मृत्युदण्ड दिने साधनको रूपमा प्रयोग गरिएकोले, सुरुको मण्डलीका सन्तहरूले क्रूसलाई आस्थाको प्रतीक मान्नु भनेको असम्भव कुरा थियो । बाइबल र ख्रीष्टियान धर्मको इतिहासमा हेर्ने हो भने सुरुको मण्डलीले आस्थाको प्रतीकको रूपमा क्रूस प्रयोग गरे भनेर कतै पनि लेखिएको छैन । चौथो शताब्दीतिर मण्डली धर्मनिरपेक्ष भएसँगै सत्यता परिवर्तन भयो, र गैर-ख्रीष्टियान धर्मको प्रतीक र मृत्युदण्डको साधनको रूपमा प्रयोग गरिँदैआएको क्रूसलाई मण्डलीमा खडा गरियो ।[१]

क्रूसको उत्पत्ति र प्रयोग
आराधना सामग्रीहरू
खास गरी, क्रूसचाहिँ विभिन्न सभ्यताहरूमा व्यापक रूपले प्रयोग गरिएको पूजा सामग्री थियो । दुई वटा काठद्वारा बनाइएको क्रूसको आकारचाहिँ प्राचीन बेबिलोनको तम्मूज(Tammuz) पूजाबाट उत्पन्न भएको हो भन्ने गरिन्छ ।
“ अहिले प्रयोग गरिने क्रूसको आकारचाहिँ प्राचीन कल्दी(Chaldea)बाट उत्पन्न भएको थियो, र मिश्रदेश लगायत छेउका देशहरूमा तम्मुजलाई [रहस्यमय ताउ(Tau)को आकार, तिनको नाउँको पहिलो अक्षर(T) देवताको प्रतीकको रूपमा प्रयोग गरिएको थियो । “ — Vine's Annotated Dictionary of Old and New Testaments, विलियम एड्वी भाइन, थोमस नेल्सन इन्कर्परेटेड
प्राचीन इजिप्टको मन्दिर र राजाहरूका चिहानमा पनि क्रूसको चिन्ह देख्न सकिन्छ । इजिप्टको लक्जरमा अवस्थित प्राचीन इजिप्टको नयाँ राज्य(ई.पू. १५७०- ई.पू. १०७०)को राजकीय चिहानहरूको ऐतिहासिक स्थल ‘भ्याली अफ द किङ्स’मा तपाईंले, गाँठोसमेत भएको क्रूस, अँख(Ankh) चित्रित भित्तेचित्रहरू देख्न सक्नुहुनेछ ।[२][३] भेरिटस, फोनिसिया(अहिलेको बेरुत, लेबनान)मा प्रयोग गरिने सिक्काको पछाडि भागमा अस्टार्टे देवीले क्रूस बोकेको दृश्य देख्न सकिन्छ, जसलाई फोनिसियालीहरूले पूजा गर्थे ।[४] ई.पू. ८८३-८५९तिर राज्य गरेका निओ-अश्शूरी साम्राज्यका राजा अश्शूर्नसिर्पाल दोस्रोको घाँटीमा क्रूस लगाएको एउटा ढुङ्गाको स्मारक पनि अश्शूरका भग्नावशेषहरूमा भेट्टिएको थियो ।[५] त्यसैले क्रूसको श्रद्धाचाहिँ येशूज्यू क्रूसमा टाँगिनुभन्दा पहिलादेखि नै प्राचीन देशहरूमा लामो समयदेखि चलिआएको धार्मिक चलन थियो ।
मृत्युदण्डको साधन
क्रूसचाहिँ ई.पू. छैटौँ शताब्दीदेखि ई.सं. चौथो शताब्दीसम्म प्राचीन पश्चिममा अपराधीहरूलाई क्रूसमा टाँगेर मृत्युदण्ड दिन प्रयोग गरिएको फ्रेम थियो ।[६][७] भनिन्छ, क्रूसीकरणलाई आविष्कार गरेका मानिसहरूचाहिँ कार्थेजका फोनिसियालीहरू अथवा फारसीहरू थिए । यसले प्राचीन बेबिलोन (बेबिलोनिया), मिश्र, र अश्शूरका मानिसहरूमा पनि प्रभाव पारेको थियो । फारसमा क्रूसीकरणको बारेमा सिकेका अलेक्जेण्डर महान्ले ग्रीसमा समेत यो प्रथा फैलाए । अनि जब रोमीहरूले चाहिँ दोस्रो प्यूनिक युद्ध जिते तब तिनीहरूले कार्थेजको फोनिसियालीहरूबाट यसबारे सिके, र रोमी साम्राज्यमा प्रयोग गरे । पछि रोमी साम्राज्यले, अपराधीहरूलाई सबैभन्दा क्रूर र कठोर तरिकाले मृत्यु दण्ड दिन क्रूसीकरणलाई प्रयोग गऱ्यो । क्रूसीकरणचाहिँ प्रायः दोषी व्यक्तिलाई क्रूसमा बाँधेर वा झुण्ड्याएर दिइने मृत्युदण्ड थियो । रोमले यसलाई मुख्यतया जघन्य अपराध गरेका अपराधीहरू, देशद्रोहीहरू, र दासहरूलाई सजाय दिनलाई प्रयोग गऱ्यो । क्रूसीकरणचाहिँ सबैभन्दा क्रूर र अपमानजनक दण्ड थियो । रोमी वकील जुलियस पउलसद्वारा सङ्कलन गरिएको फौजदारी संहिताका अनुसार रोमको पालामा ३ किसिमका सजायलाई सबैभन्दा क्रूर सजाय मानिन्थ्यो, जसमध्येको पहिलोचाहिँ क्रूसीकरण थियो । रोमी राजनीतिज्ञ सिसेरोले क्रूसीकरणलाई “सबैभन्दा क्रूर र घृणित दण्ड” भनेर व्यक्त गरे, अनि यहूदी इतिहासकार जोसेफसले चाहिँ यसलाई “सबैभन्दा कठोर मृत्यु” भनेर व्यक्त गरे ।[८]
त्यो समयमा क्रूसीकरणका विभिन्न तरिकाहरू थिए । सामान्यतया दोषी मानिसलाई कोर्रा लगाइन्थ्यो, र त्यसलाई क्रूसको तेर्सो काठलाई सजाय स्थलसम्म घिसार्न लगाइन्थ्यो, जहाँ क्रूसको ठाडो भागचाहिँ जमिनमा पहिल्यै तय भइसकेको हुन्थ्यो । दोषीका दुवै हातलाई तन्काएर त्यसका दुवै नाडीमा बेसरी कीला ठोकी चरम पीडा दिइन्थ्यो । त्यसपछि क्रूसको तेर्सो काठलाई ठाडो काठसम्म माथि उठाइन्थ्यो, जुनचाहिँ जमिनबाट लगभग ९ देखि १२ फिट (करीब ३ मिटर) जति हुन्थ्यो । त्यसपछि दोषीको गोडालाई बेसरी बाँधेर ठाडो काठमा कीलाले ठोकिन्थ्यो । विज्ञहरूका अनुसार क्रूसीकरणले शारीरिक रूपमा चरम र घातक पीडा निम्त्याउँछ । दोषीलाई ठाडो गरी झुण्ड्याउँदा त्यसका मांसपेशीहरूमा असर पर्छ, डायफ्रामले राम्ररी काम गर्न सक्दैन, जसले गर्दा रक्त सञ्चारमा समस्या, अङ्ग निष्क्रियता, श्वास-प्रश्वासमा अवरोध, झटका र अन्तिममा मृत्यु निम्त्याउन सक्छ ।[९][१०]
क्रूसका प्रकार
युग र क्षेत्रको आधारमा विभिन्न आकारमा क्रूसहरू बनाइन्थ्यो । उदाहरणको लागि प्राचीन मिश्रमा प्रयोग गरिने अँख क्रूस, सेल्ट जातिको सूर्य देवता पुज्ने विधिबाट व्युत्पन्न भएको सेल्टिक क्रूस, पश्चिमी मण्डलीहरूमा प्रयोग गरिने ल्याटिन क्रूस, र दोस्रो विश्व युद्धको समयमा नाजीको चिन्हको रूपमा प्रयोग गरिएको स्वस्तिक क्रूस । क्याथोलिक मण्डलीमा विभिन्न प्रकारका क्रूसहरू छन् । क्याथोलिक विश्वकोशको कुनै एउटा पेजमा ४० वटा विभिन्न किसिमका क्रूसहरू देख्न सकिन्छ । गैर-ख्रीष्टियान धर्मको प्रभावविना यदि येशूज्यूको बलिदानलाई मात्र दर्शाउने हो भने पनि सबै मण्डलीहरूमा एकै किसिमको क्रूस हुनुपर्छ । मण्डलीभित्र धेरै किसिमका क्रूसहरू छन् भन्ने यथार्थताद्वारा क्रूसचाहिँ विभिन्न गैर-ख्रीष्टियान धर्महरूको प्रभावमा परेर बनाइएको चीज हो भन्ने कुरा जान्न सकिन्छ ।
ख्रीष्टियान धर्ममा क्रूस भित्रियो
इतिहास
रोमी साम्राज्यका कन्स्टेन्टाइन पहिलोको पालादेखि ख्रीष्टियान मण्डलीहरूमा क्रूसलाई ख्रीष्टियान धर्मको प्रतीकको रूपमा प्रयोग गर्न थालिएको हो (ई.सं. ३०६-३३७सम्म) ।[१२] यसले, येशूज्यूपछि करीब ३०० वर्ष अर्थात् कन्स्टेन्टाइनको पालासम्म पनि मण्डलीमा क्रूस राखिएको थिएन भन्ने कुरालाई प्रमाणित गर्दछ । रोमीहरूले क्रूसीकरणचाहिँ सबैभन्दा जघन्य अपराधीहरूलाई मात्र मृत्युदण्ड दिइने साधन हो भन्ने खालको घृणाको भाव लिएका थिए । सुरु-सुरुका ख्रीष्टियानहरूका लागि, क्रूसचाहिँ नाम मात्र लिँदा पनि डरले काँप्ने साधन थियो । त्यसैले यसलाई सौन्दर्यीकरण गर्नु जोखिमको विषय थिएन ।[१२] कारण क्रूसचाहिँ रोमी साम्राज्यले सुरुको मण्डलीका सन्तहरूलाई सताउने क्रममा ख्रीष्टियानहरूलाई मृत्युदण्ड दिनलाई प्रयोग गरेको साधन थियो । भनिन्छ, कि प्रेरित पत्रुस पनि क्रूसमा उँधोमुन्टो झुण्डयाइएर शहीद भएका थिए ।[१३][१४] अन्ततः कन्स्टेन्टाइनको पालामा आएपछि बल्ल क्रूसीकरण प्रथा रद्द गरियो ।
“ तिनले(कन्स्टेन्टाइनले) क्रूसलाई विशेष श्रद्धाको दृष्टिले हेरे । . . . तिनले अदालतको सहयोगद्वारा रोमीहरूको बीचबाट क्रूसीकरणको प्रथालाई हटाए । “ — Nicene and Post-Nicene Fathers: दोस्रो शृङ्खला खण्ड २ सुकरात, सोजोमेनस : Church Histories, कोसिमो क्लासिक्स, सन् २००७, पेज २४५
ई.सं. ३१३मा कन्स्टेन्टाइन पहिलोले मिलानो आदेश जारी गरेर ख्रीष्टियान धर्मलाई मान्यता दिएपछि ख्रीष्टियान धर्मप्रतिको रोमी साम्राज्यको सतावट रोकियो । कन्स्टेन्टाइन पहिलोले ख्रीष्टियानहरूलाई प्राथमिकता दिने नीति लागू गर्दै ख्रीष्टियान धर्मलाई सङ्केत गर्ने ३० किसिमका सिक्काहरू जारी गरे, जसमा क्रूस कुँदिएको थियो ।[१५] अनि सम्राटको समर्थनद्वारा रोमी मण्डली(हाल रोमन क्याथोलिक मण्डली) विस्तार हुँदैगयो, र त्यसले ख्रीष्टियानमा धर्ममा लागेका अन्यजातिहरूको धार्मिक रीतिलाई अपनायो ।[१६] तीमध्येको एक नै क्रूसपूजा थियो । रोमन क्याथोलिक मण्डलीमा कन्स्टेन्टाइन पहिलोकी आमा हेलेना, जो एक ‘सन्त’ थिइन्, तिनले आफूले साँचो क्रूस पत्ता लगाएको कुरा दाबी गरिन् । यसबाहेक ई.सं. ३२०देखि ३४५को बीचमा रोमन क्याथोलिक मण्डलीले, येशूज्यूले मृत्यु भोग्नुभएको ठाउँमा क्रूस खडा गरिनका लागि त्यहाँ एउटा मण्डली हुनुपर्छ भन्ने बहानामा, क्रूसको मठ लगायत यरूशलेममा ख्रीष्टको पुनरुत्थान मण्डली निर्माण गऱ्यो । त्यसपछि तिनीहरूले मण्डली समर्पणको लागि चाड स्थापना गरेर क्रूसलाई आदरको वस्तु मान्न थाले ।[१७] मण्डलीभित्र क्रूस राख्न थालिएको चाहिँ ई.सं. ४३१पछि देखि हो । ई.सं. ५६८तिर क्रूसलाई मण्डलीको धुरीमा ठड्याइयो ।[१८] अनि ई.सं ६९२मा, ट्रुलो मण्डली परिषदद्वारा क्रूसको श्रद्धालाई बढावा दिन थालियो । ई.सं. ७८७मा निकेया दोस्रो धार्मिक सम्मेलनले क्रूसपूजालाई आधिकारिक रूपमा मान्यता दिएसँगै, संसारका अधिकांश मण्डलीहरूमा विभिन्न किसिमका क्रूसहरू बनाउन थालियो, जसलाई आजसम्म पनि पुज्ने गरिन्छ ।[१७]
“ “ई.सं. ४३१तिर मण्डलीमा र कक्षहरूमा क्रूस भित्रिन थाल्यो, र ई.सं. ५६८तिर धुरीहरूमा क्रूस राख्न थालियो ।” “ — Haydn's Dictionary of Dates, Joseph Haydn et al., E. Moxon and Co., सन् १८६६, पेज २२०
विवाद
संसारका अधिकांश मण्डलीका धुरीहरूमा र प्रवचन टेबिलमा क्रूस राखिएको हुन्छ । तर ख्रीष्टियान संसारमा क्रूस स्थापना गर्न हुने/नहुने विषयमा विवादहरू उठेका थिए भन्ने कुरा सन्तहरूलाई थाहा छैन । १६औँ शताब्दीमा धर्म-सुधारकहरूले क्रूसपूजाको चर्को आलोचना गर्दै, बाइबलका शिक्षाहरूमा आधारित विश्वास पुनर्स्थापनको लागि आग्रह गरे । १६औँ शताब्दीमा फ्रान्सेली धर्म-सुधारक जिन केल्विनले आफ्नो पुस्तक ‘Institutes of the Christian Religion’मा क्रूस पूजालाई निषेध गर्दै यसो भने, “परमेश्वरको मूर्ति बनाएको त, उहाँलाई पुज्नका लागि पो हो त ।”
“ ७. साँचो सुसमाचार प्रचारद्वारा ख्रीष्ट हाम्रो आँखाअगि देखिनुहुन्छ र क्रूसमा टाँगिनु पनि हुन्छ (गला ३:१) । यदि यो सिद्धान्तलाई विश्वास र ईमानदारिताका साथ प्रचार गरिएको भए काठ, ढुङ्गा, सुन र चाँदीका यत्तिका धेरै क्रूसहरूलाई मण्डलीमा खडा गरिन के जरुरत् पर्थ्यो र ? हामीलाई हाम्रा सरापबाट छुटाउन ख्रीष्ट स्वयम् काठमा झुण्डिनुभयो (गला ३:१३), अनि हाम्रा पापको लेखि उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो (१ पत्र २:२४), उहाँले आफ्नो रगतद्वारा हाम्रा पापहरू पखालिदिनुभयो अर्थात् पिता परमेश्वरसँग हामीलाई मिलन गराउनुभयो । मानिसहरूले काठ र ढुङ्गाका हजारौँ क्रूसहरूबाट भन्दा, यो एउटा सिद्धान्तबाट धेरै कुरा सिक्न सक्छन् । “
“ ९. परमेश्वरलाई दृश्य रूपमा बनाउने बित्तिकै, उहाँको शक्ति तुरुन्तै त्यसमा पनि प्रवाह हुन्छ भनी मानिसहरू सोच्दछन् । मानिसहरू यति मूर्ख छन्, कि तिनीहरूले परमेश्वरलाई जहाँ पायो त्यहीँ बनाइहाल्छन्, र आत्मसन्तुष्टिका लागि त्यसैको पूजा गर्न थाल्छन् । तसर्थ मूर्तिलाई पुज्नु र परमेश्वरको मूर्तिलाई पुज्नुमा केही भिन्नता छैन । “ — Institute of the Christian Religion, Vol 1, जीन केल्विन, ख्रीष्टियान क्लासिक्स इथेरियल पुस्तकालय, ग्रान्ड ऱ्यापिड्स, MI, सन् १८४५, पेज १०१-१०२
हल्डरिस ज्विङ्ली र जोन नक्सजस्ता धर्म सुधारकहरूले क्रूस लगायत पवित्र सन्तहरूको प्रतिमा र मूर्तिलाई पुज्न इन्कार गरे । कारण ती प्रतिमाहरूले मूर्तिपूजातर्फ डोऱ्याउँछ । त्यसैले तिनीहरूले मण्डलीमा कुनै पनि प्रतिमा अथवा सजावटका वस्तुहरू राख्न प्रतिबन्ध गरे ।[१९][२०] वर्तमान समयमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले पनि मूर्ति रहेको क्रूसलाई इन्कार गर्छ, र बाइबलको शिक्षाअनुसार यसलाई राख्दैन ।
क्रूसको श्रद्धा मूर्तिपूजा हो
बाइबलको शिक्षा
दश आज्ञामध्येको दोस्रो आज्ञामा कुनै पनि किसिमको मूर्ति नबनाउन र तिनीहरूको पूजा नगर्न स्पष्टसँग भनिएको छ ।[२१] बाइबलमा कतै पनि, क्रूसको आकारको मूर्तिचाहिँ बनाउँदा हुन्छ भन्ने वचन छैन । त्यसैले परमेश्वरको सेवा गर्नको लागि क्रूसको प्रतिमालाई जतिसुकै पूजा गर्दै विश्वास गरे पनि मूर्ति बनाउने कुरा आफैमा परमेश्वरको आज्ञा उल्लङ्घन गर्ने कार्य हो । यसकारण परमेश्वरले उहाँलाई कुनै मूर्तिसँग तुलना नगर्नू भन्नुभयो । परमेश्वरको आराधना गर्ने सन्दर्भमा, हामीले कदापि धातुद्वारा कुनै वस्तु बनाएर त्यसको पूजा गर्नुहुँदैन ।
मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू । तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्ना निम्ति नबनाउनू ।
आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू । तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू ।”
बाइबलमा सुन, चाँदी, काठ वा ढुङ्गाले बनेका मूर्तिहरूमा भरोसा गर्न वा पुज्न निषेध गरिएको छ ।[२२] बाइबलमा काठ वा अन्य धातुद्वारा बनाइएको क्रूसलाई पनि मूर्ति भनिएको छ । यस्ता धातुद्वारा बनाइएका मूर्तिहरूमा मानिसहरूलाई श्राप वा आशिष् दिने शक्ति हुँदैन[२३] र यस्ता मूर्ति स्थापना गर्ने वा पूजा पर्ने मानिस श्रापित हुनेछ भनेर बाइबलमा शिक्षा दिइएको छ ।[२४]
क्रूसपूजाको अगमवाणी
बाइबलमा लेखिएको इस्राएलीहरूको इतिहासमा, वर्तमान मण्डलीहरूले क्रूसपूजा गर्नेछन् भन्ने कुरा अगमवाणी गरिएको थियो । ३,५०० वर्षअघि परमेश्वरको शक्तिद्वारा इस्राएलीहरू मिश्रबाट निस्केर कनानतिर लागे । लामो बाटो हिँड्नुपर्दा, तिनीहरूले परमेश्वर र मोशाको विरुद्धमा गनगन र गुनासो गरे ।[२५] तब परमेश्वरको क्रोध तिनीहरूमाथि खनियो र उजाड-स्थानमा विषालु सर्पको टोकाइमा परेर तिनीहरूमध्ये धेरै जना मरे ।[२६] त्यसपछि मोशाले मानिसहरूका निम्ति परमेश्वरलाई बिन्ती गरे[२७] र उहाँले मोशालाई काँसाको सर्प बनाएर खामामा झुण्ड्याउन भन्नुभयो । परमेश्वरले भन्नुभयो, “सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन् ।”[२८] मोशाले परमेश्वरको वचनअनुसार गर्दा, खामामा झुण्ड्याइएको काँसाको सर्पलाई हेरेपछि इस्राएलीहरू बाँचे । वास्तवमा तिनीहरूलाई बचाएको चाहिँ “काँसाको सर्पलाई हेरेपछि बाँच्नेछन्” भन्ने परमेश्वरको वचनको शक्तिले थियो । काँसाको सर्प आफैमा एउटा भौतिक चीज मात्र थियो । त्यसमा मानिसहरूलाई बचाउने शक्ति थिएन । तर आफूले गलत आस्था लिन पुगेकाले तिनीहरूले हिजकिया राजाको समय अर्थात् करीब ८०० वर्षसम्म काँसाको सर्पलाई पुजे । दक्षिण यहूदाका धर्म सुधारक कहलिएका हिजकिया राजाले, मानिसहरूको मन-मस्तिष्कमा डेरा जमाएको काँसाको सर्पलाई टुक्रा-टुक्रा पारिदिए र त्यसलाई ‘नहूश्तान’(काँसाको टुक्रा) भने ।[२९] पुरानो करारको समयमा घटेको काँसाको सर्पको घटनाचाहिँ नयाँ करारको समयमा येशूज्यूको क्रूसीकरण सम्बन्धी अगमवाणी हो ।
“जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ, र जस-जसले उहाँमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ ।”
पुरानो करारको समयमा “सर्पले डसेकाहरूले त्यसलाई(काँसाको सर्पलाई) हेरेपछि तिनीहरू बाँच्नेछन्” भन्ने परमेश्वरको शक्तिशाली वचनद्वारा इस्राएलीहरू बाँचेका थिए । त्यो इतिहासले, येशूज्यूको क्रूसको बलिदान र शक्तिद्वारा नयाँ करारका सन्तहरू बचाइनेछन् भन्ने कुरा देखाउँछ । तर पुरानो करारको समयमा, इस्राएलीहरूले परमेश्वरको वचनको शक्तिलाई बिर्सेर आँखाअगिको त्यो काँसाको सर्पलाई पुजे । त्योजस्तै नयाँ करारको समयमा पनि धेरै ख्रीष्टियानहरूले क्रूसमा अनमोल रगत बगाउनुभएका येशूज्यूको बलिदानलाई बिर्सेर, क्रूसको दृश्य स्वरूपलाई मात्र आदर गरिरहेका छन् । जसरी काँसाको सर्पचाहिँ काँसाको टुक्रा मात्र हो, त्यसरी नै क्रूस पनि काठको टुक्रा र मृत्युदण्डको साधन मात्र हो भनेर सुरुको मण्डलीका प्रेरितहरूले धेरै पटक उल्लेख गरेका छन् ।[३०][३१]
क्रूसको महत्त्व
मानव-जातिको मुक्तिचाहिँ क्रूसको प्रतिमाद्वारा होइन तर येशूज्यूको बलिदानको अनमोल रगतद्वारा पूरा भएको हो भनेर बाइबलले बताएको छ ।[३२][३३] येशूज्यूले आफ्नो अनमोल रगतद्वारा स्थापना गर्नुभएको नयाँ करारको केन्द्रबिन्दु नै निस्तार-चाड हो । त्यसैले पावलले, ख्रीष्टको क्रूस बाहेक मसित घमण्ड(गर्व) गर्ने कुरा अरू केही छैन भन्दै, नयाँ करार निस्तार-चाडद्वारा ख्रीष्टको बलिदानमा सहभागी भए र त्यसको प्रचार गरे । यदि हामी पनि येशूज्यूको क्रूसको बलिदानमा गर्व गर्न चाहन्छौं भने हामीले पनि क्रूसको प्रतिमा ठड्याएर होइन, तर नयाँ करार निस्तार-चाड मानेर यसको प्रचार गर्नुपर्छ ।
किनकि प्रभुबाट मैले जे पाएँ, सो तिमीहरूलाई सुम्पी पनि दिएँ, अर्थात् जुन रात उहाँ पक्राउ पर्नुभयो, त्यो रात प्रभु येशूले रोटी लिनुभयो, . . . “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो अक्सर गर ।” किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ ।
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ "क्रूस", Britannica
- ↑ Looking out from Ramses V_VI tomb in Valley of Kings on West Bank of Luxor Egypt, विकिमिडिया
- ↑ KV17, the tomb of Pharaoh Seti I of the Nineteenth Dynasty, Valley of the Kings, Egypt, विकिमिडिया
- ↑ सिक्का, The British Museum
- ↑ स्टेला, The British Museum
- ↑ "क्रूसीकरण", WORLD HISTORY ENCYCLOPEDIA
- ↑ "क्रूस"। Bible Study Tools।
- ↑ "क्रूसीकरणको इतिहास र प्याथोलोजी, चिकित्सा राष्ट्रिय पुस्तकालय"। National Library of MedicinePub Med। डिसेम्बर २००३।
- ↑ "क्रूसीकरण"। Britannica।
- ↑ चिकित्सा प्रमाण, भाग ३, पुनरुत्थानबारे अनुसन्धान, मृत्युको कारण, ख्रीष्टको मामिला, पेज नं. १८१-१८२, Lee Strobel, Zondervan Publishing House, सन् १९९८
- ↑ क्याथोलिक विश्वकोश, खण्ड ४, The Encyclopedia Press, Inc, सन् १९१३, पेज ५३८
- ↑ १२.० १२.१ क्रूस, Baker's Dictionary of Theology, Everett F. Harrison, Baker Book House, सन् १९६०, पेज १५२
- ↑ "यूहन्ना २१:१८-१९"।
- ↑ पत्रुसलाई क्रूसमा उँधोमुन्टो टाँगियो, 1001 Days That Shaped the World, माइकल वुड, क्विन्टेसेन्स, अक्टोबर १३, पेज ८९
- ↑ A Study on the First Christian Coins of the Emperor Constantine, Korea Citation Index, सन् २०१८
- ↑ कन्स्टेन्टाइन, ख्रीष्टियान धर्म र गैर-ईसाइ रीतिरिवाज, A Lion Handbook, The History of Christianity, टिम डोउली, लायन प्रकाशन, सन् १९७७, पेज १४१
- ↑ १७.० १७.१ The Cross, In Tradition, History, And, Art, Rev. विलियम वुड सेमोर, द निकरबोकर प्रेस, सन् १८९८, पेज १८५, पेज ३९९
- ↑ [विशेष जानकारी ● लुथरको ५०० वर्षको धर्म सुधार _परमेश्वरको मण्डली र बाइबलको सत्यता] तिनीहरू के विश्वास गर्छन् र के पालन गर्छन् ?, Monthly JoongAng, सन् २०१७ नोभेम्बर १७
- ↑ Precise Guidelines Needed for 'Cross in the Chapel', The Christian Newspaper, सन् २०१६ अप्रिल ११
- ↑ परमेश्वरको मण्डलीका महासचिवज्यूसँगको अन्तर्वार्ता, Woman DongA, सन् २०२१ फेब्रुअरी ४
- ↑ "प्रस्थान २०:४-६"।
- ↑ "लेवी २६:१"।
- ↑ "यर्मिया १०:१-५"।
- ↑ "व्यवस्था २७:१५"।
- ↑ "गन्ती २१:४-५"।
- ↑ "गन्ती २१:६"।
- ↑ "गन्ती २१:७"।
- ↑ "गन्ती २१:८-९"।
- ↑ "२ राजा १८:३-४"।
- ↑ "गलाती ३:१३"।
- ↑ "१ पत्रुस २:२४"।
- ↑ "एफिसी १:७"।
- ↑ "१ पत्रुस १:१८-१९"।