एलोहिम
हिब्रूमा ‘एलोहिम’
एलोहिम(אֱלֹהִים)चाहिँ पुरानो करार बाइबलमा ‘परमेश्वरलाई जनाउन सबैभन्दा बढी प्रयोग भएको हिब्रू बहुवचन शब्द हो । यसको शाब्दिक अर्थचाहिँ परमेश्वरहरू हो, जसले पिता परमेश्वर र माता परमेश्वरलाई जनाउँछ । आकाश र पृथ्वी सृष्टि भएको समयदेखि लिएर नयाँ आकाश र नयाँ पृथ्वी आउने अन्त्यको दिनसम्म, एलोहिम परमेश्वरले एकसाथ मुक्तिको कार्यलाई नेतृत्व गर्नुहुन्छ ।
एलोहिमको अर्थ
परमेश्वर भन्ने एकवचन शब्दलाई हिब्रू भाषामा एल् र एलोहा भनिन्छ । एलोहा शब्दमा इम(ים) प्रत्यय जोडेपछि एलोहिम हुन्छ, जसको अर्थ हो, परमेश्वरहरू । परमेश्वरलाई जनाउने यी तीन शब्दहरूमध्ये अत्यधिक मात्रामा प्रयोग भएको शब्दचाहिँ एलोहिम हो, जुन पुरानो करार बाइबलमा करीब २,५०० पटक प्रयोग भएको छ । एलोहिम भन्ने शब्द बाइबलको पहिलो अध्यायदेखि नै देखा पर्छ । उत्पत्ति १:१मा ‘आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो’ भनिएको छ । यो पदको हिब्रू अनुवादमा, ‘परमेश्वर’ भन्ने शब्दलाई एलोहिम भनेर प्रयोग गरिएको छ ।
בְּרֵאשִׁ֖ית בָּרָ֣א אֱלֹהִ֑ים אֵ֥ת הַשָּׁמַ֖יִם וְאֵ֥ת הָאָֽרֶץ׃
410. אל एल् | 433. אֱלוֹהַּ एलोहा | 430. אֱלֹהִים एलोहिम |
---|---|---|
एल्; ३५२को छोटो रूप; शक्ति; विशेषण शब्द; शक्तिमान्; विशेष गरी सर्वशक्तिमान् (ईश्वरलाई जनाउनको लागि पनि प्रयोग गरिने) – परमेश्वर [२१३x], ईश्वर [१६x] | एलोहा; ४१०बाट उत्पन्न भएको शब्द, जसले ईश्वर वा परमेश्वरको गुणलाई जनाउँछ– परमेश्वर [५२x], ईश्वर [५x] | एलोहिम; ४३३को बहुवचन; सामान्यतया परमेश्वरहरू(बहुवचन) भन्ने अर्थ; विशेष गरी सर्वोच्च परमेश्वरलाई जनाउनको निम्ति प्रयोग गरिने |
※The New Strong’s Expanded Dictionary of Bible Words, James Strong, Thomas Nelson, Inc., 2001. 410., 433., and 430., is a number that James Strong, an American theologian at the end of the 19th century, added to words so that people could easily study the Bible in the original language. It is commonly called “Strong Code.”
आफूलाई ‘हामी’ भन्नुभएका एलोहिम परमेश्वर
एलोहिम भन्ने बहुवचन शब्दबाहेक पनि परमेश्वरले ‘हामी’ भन्ने प्रथम पुरुष बहुवचन सर्वनामको पनि प्रयोग गर्नुभएको छ ।
अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं ।”
बाइबलमा हेर्ने हो भने परमेश्वरले “मानिसलाई आफ्नै स्वरूपमा, मेरै प्रतिरूपमा बनाउँछु” भन्नुभएन तर बारम्बार “हाम्रै” र “बनाऔं” भन्नुभयो । यदि परमेश्वर एक जना मात्र हुनुभएको भए उहाँले ‘हाम्रै’ नभएर ‘मेरै’ भन्नुहुनेथियो । परमेश्वरलाई ‘पिता’ भनेर पुकार्ने र परमेश्वरचाहिँ एक जना मात्र हुनुहुन्छ भनेर विश्वास गर्दैआएका ख्रीष्टियानहरूमाझ ‘परमेश्वर’ भन्ने शब्दको बहुवचन रूपले धेरै प्रश्नहरू खडा गरेको छ ।
“ उत्पत्ति अध्याय १को उत्कर्ष र यसको मुख्य रहस्यचाहिँ ‘मानव’ वा ‘मानवता’ भन्ने अर्थ बोकेको हिब्रू शब्द, ‘आदम’को सृष्टिसम्बन्धी वर्णनमा रहेको छ । परमेश्वरले भन्नुभयो, “उज्यालो होस् ।” तर यहाँचाहिँ परमेश्वरले “मानिस होस्” भन्नुभएन । बरु उहाँले “मानिस(आदम)लाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुभयो (उत्पत्ति १:२६) । ... बाइबलको अर्थ लगाउने मानिसहरूको निम्ति यो वाक्यांश, लामो समयदेखि एउटा रहस्य बन्दैआएको छ । “ — बाइबलभित्रका रहस्यहरू, Reader’s Digest Association, Inc., सन् १९८८, पेज नं. २१
यस विषयमा धर्मविद्हरूको फरक-फरक धारणा छ । कसैले ‘हामी’ भन्नाले परमेश्वर र स्वर्गदूतहरू हुन् भन्ने गर्छन् भने कसैले चाहिँ त्रिएक हो भन्ने गर्छन् । कसैले त्यो बहुवचन शब्दचाहिँ परमेश्वरको महिमा व्यक्त गर्नको निम्ति प्रयोग भएको मात्र हो भन्ठान्छन् । अनि कसैले चाहिँ बाइबल लेखिएको समयमा वरपरका बहुदेववादी मानिसहरूको प्रभाव भएकोले हो भनेर जिद्दी गर्छन् । यदि ‘हामी’ भन्ने शब्दले परमेश्वर र स्वर्गदूतहरूलाई जनाएको हो भने स्वर्गदूत पनि सृष्टिकर्ता हुने भएकाले मानव-जातिले ती स्वर्गदूतहरूको पनि सेवा गर्नुपर्छ । तर बाइबलमा हेर्ने हो भने स्वर्गदूतहरूचाहिँ मुक्ति पाउने सन्तहरूलाई सेवा गर्ने आत्माहरू,[१] र ती सन्तहरूद्वारा इन्साफ गरिनेहरू हुन् भनिएको छ ।[२] साथै त्रिएक भनेको पिता, पुत्र र पवित्र आत्मा, एकै र उही पिता परमेश्वर हुनुभएकोले त्रिएकलाई बहुवचन भन्नै मिल्दैन । अनि पहिलो आज्ञामा “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू”[३] भनिएकोले बहुदेववादी मानिसहरूको प्रभावका कारण परमेश्वर शब्द बहुवचनमा लेखिएको हो भन्ने कुरा तर्कहीन जिद्दी हो ।
एलोहिमचाहिँ पिता परमेश्वर र माता परमेश्वर
हामीले परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिसलाई हेरेमा एलोहिम परमेश्वरको बारेमा बुझ्न सक्छौं ।
उत्पत्ति १:२६मा उल्लेखित ‘एलोहिम’ र ‘हामी’ भन्ने बहुवचन शब्दसम्बन्धी प्रश्नचाहिँ यसपछिको अर्को पदद्वारा सजिलै बुझ्न सकिन्छ ।
यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।
परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिसचाहिँ नर र नारी हुन् । सृष्टि भएका मानव-जातिलाई हेरेमा, दुई वटा यथार्थता जान्न सकिन्छ : परमेश्वर दुई जना हुनुहुन्छ, अनि नर स्वरूप र नारी स्वरूपमा हुनुहुन्छ । हामीले छायालाई हेरेमा वास्तविकताबारे जान्न सक्छौं । यदि नर र नारीचाहिँ वास्तविकता हुनुभएका परमेश्वरको स्वरूपमा सृष्टि भएका हुन् भने परमेश्वर पनि नर र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने अर्थ हो । येशूज्यूले “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ” भन्नुहुँदै, प्रार्थनाद्वारा नर स्वरूपका परमेश्वरको विषयमा शिक्षा दिनुभयो ।
“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर : ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, ...’ ”
बुबा भन्ने पदवीचाहिँ सन्तान भएको पुरुषलाई मात्र दिन मिल्छ । तर गर्भधारण गरेर सन्तानलाई जन्माउने भूमिकाचाहिँ आमाले निर्वाह गर्छिन् । आमा अस्तित्वमा भएमा सन्तान पनि अस्तित्वमा रहन सक्छ र कुनै पुरुषले बुबा भन्ने पदवी पाउन सक्छ । बुबा हुनुहुन्छ भने त्यहाँ निश्चय नै आमा पनि हुनुहुन्छ भन्ने अर्थ हो । हामीले परमेश्वरलाई पिता भनेर पुकार्नुपर्छ भनेर येशूज्यूले सिकाउनुभएकोले माताको अस्तित्व पनि अवश्य हुनुपर्छ ।
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।
मुक्ति पाउने परमेश्वरका सन्तानहरूका लागि पिता परमेश्वर मात्र होइकि माता परमेश्वर पनि हुनुहुन्छ । “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुहुँदै नर र नारी सृष्टि गर्नुभएका एलोहिम परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ ।
आदम र हव्वाद्वारा सङ्केत गरिनुभएका एलोहिम परमेश्वर
आदम र हव्वाचाहिँ विशेष गरी सृष्टिकर्ता परमेश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि भएका हुन्, जसलाई पृथ्वीका सम्पूर्ण जीवित प्राणीहरूमाथि अधिकार गर्ने अनुमति दिइयो ।[४] यसमा मानव-जातिको मुक्तिदातालाई प्रकट गराउन चाहनुहुने परमेश्वरको इच्छा समावेश छ ।[५]
परमेश्वरको स्वरूपमा सृष्टि भएको पहिलो मानिस आदम हुन् । बाइबलमा, जसरी पहिलो मानिस आदम थिए, त्यसै गरी अन्तिम आदम अर्थात् ख्रीष्ट पनि हुनुहुन्छ भनेर जानकारी दिइएको छ ।
ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए ।
“पहिलो मानिस आदम जीवित प्राणी भयो ।” अन्तिम आदम जीवन दिने आत्मा भयो ।
आदमले ख्रीष्ट अर्थात् पिता परमेश्वरलाई सङ्केत गर्छन् र तिनकी पत्नी हव्वाले चाहिँ माता परमेश्वरलाई सङ्केत गर्छिन् । हव्वा नाउँको अर्थ जीवन हो । उनीचाहिँ केवल ३ सन्तान कयिन, हाबिल र शेतकी मात्र आमा होइनन् तर ‘सबै जीवितहरूकी आमा हुन्’ भनिएको छ ।[६] योचाहिँ परमेश्वरका सन्तानहरूले अन्तिम हव्वाको रूपमा सङ्केत गरिनुभएकी माता परमेश्वरबाट अनन्त जीवन प्राप्त गर्नेछन् भन्ने कुराको अगमवाणी हो ।
कहिलेकहीँ बाइबलमा, परमेश्वरलाई एक जनाको रूपमा अभिव्यक्त गरिएको पनि पाइन्छ ।[७][८] यसको कारण पनि, आदम र हव्वाद्वारा जान्न सकिन्छ । सर्पको छलमा परेर असल र खराबको ज्ञान दिने रूखको फल सुरुमा खाएकी व्यक्तिचाहिँ हव्वा थिइन् ।[९] तर बाइबलमा चाहिँ त्यसलाई ‘आदमको पाप’[१०] अथवा ‘एक जना मानिसको अपराध’[११] भनेर लेखिएको छ । अर्थात् आदम र हव्वालाई एउटै शरीरको रूपमा, अनि आदमलाई चाहिँ प्रतिनिधि पात्रको रूपमा लिइएको छ भन्ने कुरा हो ।[१२] दुई जनालाई एक व्यक्तिको रूपमा लिइनुको कारणचाहिँ हव्वा आदमको एउटा करङबाट सृष्टि भएकीले हो । आदम र हव्वाचाहिँ दुई फरक व्यक्ति भए तापनि तिनीहरूलाई एकै व्यक्ति, आदमको रूपमा वर्णन गरिएको छ । बाइबलमा उल्लेखित आदम एक जनाको पापले चाहिँ वास्तवमा आदम र हव्वा दुई जनाले सँगै गरेको पापलाई जनाउँछ । आदम र हव्वाचाहिँ परमेश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि भएका प्रतिलिपि हुन् । यदि आदम र हव्वालाई एउटै शरीर मान्ने हो भने तिनीहरूको वास्तविकता हुनुभएका एलोहिम परमेश्वरलाई पनि उही तरिकाले हेर्न सकिन्छ । हुन त एलोहिम परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ तापनि उहाँहरूलाई एक परमेश्वरको रूपमा वर्णन गर्न सकिन्छ । योद्वारा, पिता परमेश्वरले सम्पूर्ण कार्य एकलैले गर्नुभएको होइनकि माता परमेश्वरसँगै गर्नुभएको हो भन्ने कुरा बुझ्न सकिन्छ ।
एलोहिम परमेश्वर र जीवनको पानी
बाइबलमा एलोहिम परमेश्वरले सृष्टिको कार्यदेखि लिएर विभिन्न अवस्थाहरूमा सँगै कार्य गर्नुभएको दृश्य देख्न सकिन्छ । उदाहरणको लागि, उहाँहरूले अभिमानी मानिसहरूको बाबेलको धरहरा निर्माण कार्यलाई रोक्न “हामी ओर्लेर जाऔं” भन्नुभयो।[१३] उहाँहरूले यशैया अगमवक्तालाई बोलाउनुभएर “हाम्रा निम्ति को जाने ?” भन्नुभयो ।[१४] सधैँ सँगै कार्य गर्नुभएका एलोहिम परमेश्वर अन्त्यको समयमा पवित्र आत्मा र दुलहीको रूपमा यो पृथ्वीमा आउनुहुनेछ,[१५] र तिर्खाएका संसारका मानव-जातिलाई जीवनको पानी दिने कार्य सँगै गर्नुहुनेछ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
त्रिएकका अनुसार, पवित्र आत्माचाहिँ पिता परमेश्वर हुनुहुन्छ । स्वर्गदूतले प्रेरित यूहन्नालाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु भनेर स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम देखाए ।[१६] स्वर्गीय यरूशलेमले माता परमेश्वरलाई सङ्केत गर्दछ ।[१७] जीवनको पानी प्राप्त गर्नको निम्ति हामीहरू एलोहिम हुनुभएका पिता परमेश्वर र माता परमेश्वरकहाँ जानुपर्छ ।[१८] यसरी आदिदेखि अन्त्यसम्म, एलोहिम परमेश्वरले मानव-जातिको मुक्तिको निम्ति सँगै कार्य गर्दैआउनुभएको छ ।
यो पनि हेर्नुहोस्
- एल् (हिब्रू)
- एलोहा
- माता परमेश्वर
- थुमाकी पत्नी (दुलही)
- स्वर्गीय परिवार
- अब्राहामको परिवारको इतिहास
- परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
सम्बन्धित भिडियो
- बाइबलको रहस्य, एलोहिम परमेश्वर
फुटनोट
- ↑ "हिब्रू १:१४"।
- ↑ "१ कोरिन्थी ६:३"।
- ↑ "प्रस्थान २०:३"।
- ↑ "उत्पत्ति १:२८"।
- ↑ "प्रकाश ४:११"।
- ↑ "उत्पत्ति ३:२०"।
- ↑ "१ तिमोथी २:५"।
- ↑ "१ तिमोथी ६:१५"।
- ↑ "उत्पत्ति ३:६"।
- ↑ "रोमी ५:१४"।
- ↑ "रोमी ५:१५"।
- ↑ "उत्पत्ति २:२२-२४"।
- ↑ "उत्पत्ति ११:१-९"।
- ↑ "यशैया ६:८"।
- ↑ "आमोस ८:११"।
- ↑ "प्रकाश २१:९-१०"।
- ↑ "गलाती ४:२६"।
- ↑ "एलोहिम परमेश्वरहरू"। WATV.org।