पवित्र आत्मा
पवित्र आत्माचाहिँ परमेश्वरका आत्मालाई जनाउने शब्द हो । बाइबलमा उत्पत्तिको पहिलो अध्यायको सुरुमै यो शब्द आएको छ । “परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो” (उत्पत्ति १:२) भनिएको छ । यहाँ पवित्र आत्माचाहिँ ‘परमेश्वरका आत्मा’ हुनुहुन्छ । ईश्वर वा आत्मा भन्ने अर्थ बोकेको हिब्रू शब्द रूआख(רוּחַ),लाई नयाँ करारको ग्रीक भाषामा निउमा (πνεῦμα) भनेर लेखिएको छ ।[१] रुआख र निउमाले बतास, सास र श्वास-प्रश्वासलाई पनि जनाउँछ ।
पवित्र आत्मा भनेको के हो ?
पवित्र आत्माचाहिँ सन्तहरूका निम्ति प्रार्थना गरिदिने[२] र शोक गर्ने परमेश्वरका आत्मा हुनुहुन्छ ।[३] उहाँ कुनै अमूर्त बाह्य शक्ति हुनुहुन्न । त्रिएकअनुसार, उहाँ पिता परमेश्वर र पुत्र परमेश्वर हुनुहुन्छ । अर्को शब्दमा भन्नुपर्दा, उहाँ मूलभूल रूपमा परमेश्वर हुनुहुन्छ । सुरुदेखि अहिलेसम्म उहाँले प्रत्येक युगमा परमेश्वरका प्रजासँग कार्य गर्नुभयो[४][५] र २,००० वर्षअघि येशू नाउँ लिएर शरीरमा आउनुभयो ।[६] ख्रीष्टियानहरूले परमेश्वरबाट सुसमाचारको शक्ति प्राप्त गर्दा “पवित्र आत्मा पाएँ’ भन्ने गर्छन् । बाइबलमा पछिल्ला दिनहरूमा पवित्र आत्मा देखा पर्नुभएर मानव-जातिलाई जीवनको पानी दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।[७][८]
पवित्र आत्मा को हुनुहुन्छ ?
पवित्र आत्माचाहिँ परमेश्वरका आत्मा हुनुहुन्छ
पवित्र आत्माचाहिँ परमेश्वरका आत्मा हुनुहुन्छ । परमेश्वर र उहाँको आत्मा फरक-फरक नभएर एकै हुनुहुन्छ । कारण परमेश्वर आत्मा हुनुहुन्छ ।
परमेश्वर आत्मा हुनुहुन्छ ।
हाम्रो आत्माले हाम्रा विचारहरूलाई पूर्ण रूपमा बुझ्न सकेजस्तै पवित्र आत्माले पनि परमेश्वरका विचारहरू र गहिरा-गहिरा कुराहरूको खोजी गर्नुहुन्छ । कारण पवित्र आत्मा नै स्वयम् परमेश्वर हुनुहुन्छ । यदि पवित्र आत्माचाहिँ परमेश्वरभन्दा अलग अस्तित्व हुनुभएको भए यो सम्भव हुनेथिएन । किनभने परमेश्वरका विचारहरू पनि परमेश्वरबाहेक अरू कसैले जान्न सक्दैन ।[९]
पवित्र आत्मा र पुत्र परमेश्वर एकै हुनुहुन्छ
पिता परमेश्वर पुत्रको रूपमा जन्मनुभएर यो पृथ्वीमा शरीर धारण गरी आउनुहुनेछ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो ।[१०] मत्तीको सुसमाचारका अनुसार येशूज्यूले पवित्र आत्माद्वारा जन्मनुभएर[११] यो अगमवाणी पूरा गर्नुभयो ।[६] योद्वारा पिता परमेश्वर र पुत्र परमेश्वर, अनि पिता परमेश्वर र पवित्र आत्मा, त्यसै गरी येशूज्यू र पवित्र आत्मा एकै हुनुहुन्छ भन्ने कुरा बुझिन्छ । बाइबलका थुप्रै ठाउँहरूमा येशूज्यू र पवित्र आत्मा एकै हुनुहुन्छ भन्ने अभिलेख पाउन सकिन्छ ।
- पवित्र आत्माले सन्तहरूका निम्ति प्रार्थना गर्नुभएको, र येशूज्यूले पनि सन्तहरूका निम्ति प्रार्थना गर्नुभएको भनेर प्रेरित पावलले लेखेका छन् ।
त्यसै गरी पवित्र आत्माले हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ । कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ । र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ । ... दण्डको आज्ञा दिने को हो ? मर्ने त ख्रीष्ट येशू, हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ ।
- प्रेरित पत्रुसले बाइबलचाहिँ पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट लेखेका हुन् भनेका छन् ।
सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्रधर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन । किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन् ।
तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए । तिनीहरूभित्र हुनुभएका ख्रीष्टको आत्माले ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए ।
- बाइबलमा पवित्र आत्माको कार्यलाई येशूज्यू अथवा येशूका आत्माको कार्य भनेर लेखिएको छ ।
पवित्र आत्माबाट एसियामा वचन प्रचार गर्न मनाही भएकोले ... तर येशूका आत्माले तिनीहरूलाई जान दिनुभएन ।
यो वचनद्वारा येशूज्यू र पवित्र आत्मा एकै हुनुहुन्छ भन्ने यथार्थता जान्न सकिन्छ ।
पवित्र आत्माको युगका मुक्तिदाता नै पवित्र आत्मा
पवित्र आत्माले चाहिँ पवित्र आत्माको युगका मुक्तिदाता, दोस्रो आगमनका ख्रीष्टलाई पनि सङ्केत गर्दछ । यो कुरालाई प्रमाणित गर्ने पदहरू बाइबलमा धेरै छन् ।
- पिताको युगका मुक्तिदाता हुनुभएको नाउँ, र पुत्रको युगका मुक्तिदाताको नाउँसँगै पवित्र आत्माको नाउँ पनि उल्लेख गरिएको छ । यो नै पवित्र आत्माको युगका मुक्तिदाताको नाउँ नै पवित्र आत्माको नाउँ हो भन्ने अर्थ हो ।
“यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ ।”
प्रकाशको पुस्तकमा पवित्र आत्माको नाउँलाई येशूज्यूको नयाँ नाउँ भनेर अगमवाणी गरिएको छ ।[१२][१३] तसर्थ मत्ती २८:१९मा उल्लेखित ‘पवित्र आत्मा’ले पवित्र आत्माको युगका मुक्तिदाता हुनुभएका दोस्रो आगमनका ख्रीष्टलाई जनाउँछ ।
- प्रकाश अध्याय १९मा पछिल्ला दिनहरूमा थुमा र उहाँकी पत्नी विवाह-भोजमा देखा पर्नुहुनेछ भनेर अगमवाणी गरिएको छ ।
हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । ... अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन् ।”
‘थुमा’ले येशूज्यूलाई जनाउँछ ।[१४] यो वचनमा, दुलहीसँगै देखा पर्नुहुने थुमाले दोस्रो आगमनका येशूज्यूलाई जनाउँदछ । किनभने पहिलो आगमनको समयमा येशूज्यूको साथमा दुलही देखा पर्नुभएको थिएन । तर उही पुस्तकमा ‘पवित्र आत्मा र दुलही’ देखा पर्नुभएर मानव-जातिलाई जीवनको पानी दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ । अर्थात् दोस्रो आगमनका येशूज्यू नै पवित्र आत्मा हुनुहुन्छ भन्ने कुरा हो ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
- येशूज्यूले, उहाँको दोस्रो आगमनमा पिताले फरक नाउँ गरेको अर्को सल्लाहकार दिनुहुनेछ भन्नुभयो ।
“र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ । ... तिमीहरू उहाँलाई चिन्छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ । म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ । म तिमीहरूकहाँ आउनेछु । अब केही समयपछि संसारले मलाई कहिल्यै देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ । म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ । त्यस दिन तिमीहरूले जान्नेछौ, कि म मेरा पितामा छु, र तिमीहरू ममा, र म तिमीहरूमा छु ।”
येशूज्यूले “म सल्लाहकार पठाउनेछु” भन्नुभयो, र “म तिमीहरूकहाँ आउनेछु” पनि भन्नुभयो । अर्थात् उहाँ स्वयम् सल्लाहकारको रूपमा फेरि आउनुहुनेछ भन्ने वचन हो । बाइबलमा ‘सल्लाहकार’ले पवित्र आत्मालाई जनाउँछ ।[१५] तसर्थ दोस्रो आगमनका येशूज्यू नै पवित्र आत्मा हुनुहुन्छ भन्ने कुरा यो
वचनद्वारा जान्न सकिन्छ ।
पवित्र आत्मासम्बन्धी गलत बुझाइ र तथ्य कुरा
के पवित्र आत्मा भनेको कुनै विद्युतीय तरङ्ग वा ऊर्जा जस्तै सक्रिय शक्ति हो ?
कसै-कसैले पवित्र आत्माचाहिँ केवल परमेश्वरको सक्रिय शक्ति हो भन्दै जिद्दी गर्ने गर्छन् । तर बाइबलमा पवित्र आत्मामा विचार र भावना छ भनेर स्पष्टसित लेखिएको छ ।
प्रमाण | पद र वर्णन | |
---|---|---|
उहाँ दुःखित हुनुभएको छ । | पद | अनि परमेश्वरका पवित्र आत्मालाई दुःखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ । (एफिसी ४:३०) |
वर्णन : | पवित्र आत्माले न्याय गर्नुहुन्छ, र सन्तहरूले गल्ती गर्दा उहाँ दुःखित बन्नुहुन्छ । | |
उहाँले सुस्केरा हाल्नुहुन्छ, प्रार्थना गर्नुहुन्छ र विचार गर्नुहुन्छ । | पद | त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ । कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ । र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ । (रोमी ८:२६-२७) |
वर्णन : | विचार र भावना भएकाहरूले मात्र सुस्केरा हाल्न सक्छन् । हाम्रो निम्ति प्रार्थना गर्नु भनेको उहाँले सन्तहरूको कठिनाइ बुझ्नुहुन्छ, उहाँ विचारशील हुनुहुन्छ र उहाँमा सोच्ने शक्ति छ भन्ने अर्थ हो । पवित्र आत्माको ‘विचार’ भन्ने शब्दले पनि यो कुरालाई समर्थन गर्दछ । | |
उहाँ सन्तहरूसँग बोल्नुहुन्छ । | पद | तब पवित्र आत्माले फिलिपलाई भन्नुभयो, “जाऊ र त्यस रथको साथ लाग” (प्रेरित ८:२९) । जब पत्रुस दर्शनको विषयमा विचार गरिरहेका थिए तब पवित्र आत्माले तिनलाई भन्नुभयो, “हेर, तीन जना मानिसले तिमीलाई खोज्दैछन् । उठ, र तल जाऊ, र नहिचकिचाईकन तिनीहरूका साथ लाग, किनभने तिनीहरूलाई मैले पठाएको हुँ ।” (प्रेरित १०:१९-२०) |
वर्णन : | फिलिप र पत्रुसलाई यसो गर्नू भनेर भन्ने व्यक्ति नै पवित्र आत्मा हुनुहुन्थ्यो । योद्वारा, पवित्र आत्माले विचार गर्नुभएर व्यक्त गर्न सक्नुहुन्छ भन्ने कुरा बुझ्न सकिन्छ । |
के स्वर्गदूतहरूले पवित्र आत्माको भूमिका निर्वाह गर्छन् ?
कतिपय मानिसहरूले स्वर्गदूत र पवित्र आत्माबीच केही भिन्नता छैन, र स्वर्गदूतहरूले पनि पवित्र आत्माको भूमिका निभाउँछन् भनेर भन्छन् । तर वास्तवमा स्वर्गदूत र पवित्र आत्माबीच ठूलो भिन्नता छ ।
- स्वर्गदूतहरू परमेश्वरविरुद्ध विद्रोह गरेर नरकमा फ्याँकिन सक्छन् ।[१९] त्यसैले बाइबलमा, उद्धार पाएकाहरूले स्वर्गदूतहरूलाई पनि इन्साफ गर्न सक्छन् भनिएको छ ।[२०] पवित्र आत्माको इन्साफ भयो भन्ने अभिलेख बाइबलमा कहीँ पनि छैन ।
- पवित्र आत्माको प्रेरणा पाएकाहरूले गर्ने सुसमाचारलाई हेर्न स्वर्गदूतहरू पनि उत्सुक हुन्छन् भनेर लेखिएको छ ।[२१] यसबाट, स्वर्गदूतहरूलाई परमेश्वरको रहस्यमय प्रबन्ध थाहा हुँदैन भन्ने कुरा बुझिन्छ । तर पवित्र आत्माले चाहिँ परमेश्वरका गहिरा-गहिरा कुराहरू समेत खोजी गर्नुहुन्छ ।[२२]
के अन्य भाषामा बोल्नु नै पवित्र आत्मा पाएको प्रमाण हो ?
सर्वप्रथम पवित्र आत्मा पाउनु भनेको के हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । यस सन्दर्भमा पवित्र आत्माले, ‘आत्मामा रहनुभएका परमेश्वर’लाई होइन तर ‘वरदान रहेको पवित्र आत्मा’लाई जनाउँदछ । जसको साथमा पवित्र आत्मा हुनुहुन्छ, तिनै मानिसहरूद्वारा पवित्र आत्माको शक्ति प्रकट हुन्छ । परमेश्वरको यस्तो अनुग्रहद्वारा प्रदान गरिने शक्ति वा प्रतिभालाई नै पवित्र आत्माको वरदान भनिन्छ ।[२३] पवित्र आत्माको वरदान प्राप्त गर्ने कुरालाई पवित्र आत्मा प्राप्त गर्ने कुराद्वारा अभिव्यक्त गरिएको छ । मानिसहरूले पवित्र आत्मालाई परमेश्वरको कुनै ऊर्जा अथवा विद्युतीय तरङ्ग भनेर गलत तरिकाले सोच्नुको कारणचाहिँ तिनीहरूलाई पवित्र आत्मा र पवित्र आत्माको वरदानबीचको खास भिन्नाताबारे थाहा नभएकोले हो । कसै-कसैले हामीले अन्य भाषा बोल्न सक्नु नै पवित्र आत्मा (अथवा पवित्र आत्माको वरदान) पाएको कुराको प्रमाण हो भन्दै जिद्दी गर्ने गर्छन् । प्रेरितको पुस्तकमा, पेन्तिकोसको दिन मानेका प्रेरितहरू पवित्र आत्माले भरिए र पवित्र आत्माले दिनुभएको उच्चारणबमोजिम उनीहरूले अन्य भाषाहरूमा सुसमाचार प्रचार गरे भनेर लेखिएको छ ।[२४] वास्तवमा अन्य भाषामा बोल्नु मात्र पवित्र आत्माको वरदान होइन भन्ने कुरा हामी बाइबलद्वारा जान्न सक्छौं । पवित्र आत्मा एक जना मात्र हुनुभए तापनि पवित्र आत्माका वरदानहरूचाहिँ अनेक किसिमका हुन्छन् ।[२५] यसकारण अन्य भाषामा बोल्न सक्ने नै पवित्र आत्मा पाएको कुराको एकमात्र प्रमाण हुन सक्दैन ।
पवित्र आत्माको कार्य

जसको साथमा पवित्र आत्मा हुनुहुन्छ, तिनीहरूद्वारा पवित्र आत्माको शक्ति प्रकट हुन्छ, र तिनीहरूद्वारा नै उदेकको मुक्तिको कार्य पूरा हुन्छ । पुरानो करारको समयमा न्यायकर्ता अथवा अगमवक्ता जस्ता विशेष व्यक्तिहरूमाथि पवित्र आत्मा ओर्लनुभएर उनीहरूलाई मुद्दा-मामिला समाधान गर्ने शक्ति र अगमवाणी कहने शक्ति दिइएको थियो । तर नयाँ करारको समयमा चाहिँ, प्रार्थनामा समर्पित भएका सबै चेलाहरूमा पवित्र आत्माको शक्ति बर्सियो ।[२४] योचाहिँ ख्रीष्टको रगतद्वारा शुद्ध भएका सबै मानिसहरूद्वारा पवित्र आत्माले कार्य गर्नुहुने समय आयो भन्ने अर्थ हो ।[२५][२६][२७]
सुरुको मण्डलीको समयमा पवित्र आत्माको कार्य
स्वर्ग उचालिनुअघि येशूज्यूले “तिमीहरू यरूशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर । यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ” भन्नुभयो ।[२८] ख्रीष्टको वचन पालन गर्दै तिनीहरूले यरूशलेममा भेला भएर एकसाथ प्रार्थना गरे ।[२९]
येशूज्यू पुनरुत्थान हुनुभएको ५०औँ दिनमा, स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो । आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे । अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे ।[२४]
पवित्र आत्माको शक्ति धारण गरेका चेलाहरूले नजानेको भाषामा सुसमाचार प्रचार गरे । आफ्नो मातृभाषामा सुसमाचार सुनेपछि एकै दिनमा ३,००० जना मानिसहरूले पश्चात्ताप गरी बप्तिस्मा लिए ।[३०] येशूज्यूलाई विश्वास गर्ने मानिसहरूको संख्या दिनहुँ वृद्धि हुँदैगएकोले यहूदी धर्मका अगुवाहरूले प्रेरितहरूलाई धम्काए र कैदमा हाले । त्यस्तो सतावटमा समेत नझुकीकन प्रेरितहरूले एकै मनका भएर परमेश्वरको वचन साहसका साथ प्रचार गरे, र सुसमाचार सारा संसारमा फैलाए ।
अन्तिम झरी पवित्र आत्माबारे अगमवाणी
पवित्र आत्माको युगमा पवित्र आत्माको कार्यचाहिँ सुरुको मण्डलीको भन्दा ७ गुणा बढी प्रकट हुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।[३१]
- येशूज्यूको पहिलो आगमनको समयमा येशूज्यूलाई विश्वास गरी ग्रहण गर्नेहरूलाई पवित्र आत्माको अनुग्रह प्रदान गरिएको थियो । पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलहीलाई ग्रहण गरी विश्वास गर्नेहरूले पवित्र आत्मा प्राप्त गर्न सक्नेछन् । किनभने अन्तिम झरी पवित्र आत्मा प्राप्त गर्ने पूर्वशर्त नै परमेश्वरको ज्ञान हो ।
“आओ, हामी परमप्रभुलाई मानौं(चिन्ने चेष्टा गरौं, सरल नेपाली), हामी परमप्रभुलाई मान्नका निम्ति प्रयत्न गरिरहौं । उहाँको आगमन सूर्योदयझैँ निश्चित छ । उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ ।”
- जकरिया अगमवक्ताले, परमेश्वरले अन्तिम झरी पवित्र आत्मा खन्याउनुहुने कुराको अगमवाणी गर्नुका साथै[३२][३३] त्यो पवित्र आत्मा प्राप्त गर्ने तरिका समेत बताइदिए ।
तब यरूशलेमलाई आक्रमण गर्ने जाति-जातिहरूमा जत्ति बाँचेका हुन्छन्, तिनीहरू वर्षेनी सर्वशक्तिमान् परमप्रभुका महाराजालाई दण्डवत् गर्न र छाप्रो-वासको चाड मान्नलाई यरूशलेममा जानेछन् । सर्वशक्तिमान् परमप्रभु महाराजालाई दण्डवत् गर्न पृथ्वीका सबै परिवारमध्येका जो जाँदैनन्, तिनीहरूका निम्ति पानी पर्नेछैन ... ।
हामीले आत्माको विषयमा अध्ययन गर्दा आफू पापी हुँ भन्ने कुरा महसुस गर्न सक्छौं ।[३४] तर यदि हामीहरू नयाँ करारका चाडहरूमा समाविष्ट ख्रीष्टको रगतद्वारा शुद्ध भयौं भने हाम्रो शरीर परमेश्वरको मन्दिर हुन्छ, जहाँ पवित्र आत्मा वास गर्नुहुन्छ ।[३५] छाप्रो-वासको चाड मान्नेहरूले अन्तिम झरी पवित्र आत्मा पाउनेछन् भनेर अगमवाणी गरिएको छ । यसलाई प्रमाणित गर्न, येशूज्यूले छाप्रो-वासको चाडमा हरेक दिन मन्दिरमा प्रचार गर्नुभयो, र चाडको अन्तिम दिनमा “पवित्र आत्मा लेओ” भन्नुभयो ।[३६]
- निष्कर्षमा भन्ने हो भने, हामीले परमेश्वरसँग पवित्र आत्माको शक्तिको लागि बिन्ती गर्नुपर्छ भन्ने कुरा हो ।
वसन्त ऋतुको समयमा परमप्रभुसँग वर्षा माग । परमप्रभुले नै बादलहरू भएको आँधी बनाउनुहुन्छ । उहाँले मानिसहरूलाई पानीको झरी बर्साइदिनुहुन्छ, हरेकलाई खेतमा बोटबिरुवा दिनुहुन्छ ।
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ "pneuma"। Biblehub।
- ↑ "रोमी ८:२६-२७"।
- ↑ "एफिसी ४:३०"।
- ↑ "२ शमूएल २३:१-२"।
- ↑ "प्रेरित ८:२९"।
- ↑ ६.० ६.१ "मत्ती १:१८-२३"।
- ↑ "प्रकाश २२:१७"।
- ↑ "प्रेरित २:१८, ३३"।
- ↑ "१ कोरिन्थी २:१०-११"।
- ↑ "यशैया ९:६-७"।
- ↑ "लूका १:३१-३३"।
- ↑ "प्रकाश ३:१२"।
- ↑ "प्रकाश २:१७"।
- ↑ "यूहन्ना १:२९"।
- ↑ "यूहन्ना १४:२६"।
- ↑ "हिब्रू १:१४"।
- ↑ "एफिसी ४:४"।
- ↑ "१ कोरिन्थी १२:१३"।
- ↑ "२ पत्रुस २:४"।
- ↑ "१ कोरिन्थी ६:३"।
- ↑ "१ पत्रुस १:१२"।
- ↑ "१ कोरिन्थी २:१०-११"।
- ↑ "प्रेरित १:६-८"।
- ↑ २४.० २४.१ २४.२ "प्रेरित २:१-४"।
- ↑ २५.० २५.१ "१ कोरिन्थी १२:४-११"।
- ↑ "हिब्रू ६:४"।
- ↑ "रोमी ८:९"।
- ↑ "प्रेरित १:४-५"।
- ↑ "प्रेरित १:१२-१४"।
- ↑ "प्रेरित २:३८-४१"।
- ↑ "यशैया ३०:२६"।
- ↑ "जकरिया १३:१"।
- ↑ "जकरिया १४:८"।
- ↑ "१ यूहन्ना १:८-१०"।
- ↑ "१ कोरिन्थी ३:१६-१७"।
- ↑ "यूहन्ना ७:३७-३९"।