दाऊद

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
दाऊद
David, דָּוִד
राजा दाऊद, पिटर पल रुबेन्स
अवधिई.पू. ११औँ - १०औँ शताब्दी
परिवारबुबा : यिशैका
छोरा (उत्तराधिकारी) : सोलोमन
पेशा(विशेषता)इस्राएलका दोस्रो राजा
कार्य क्षेत्रयरूशलेम
शासनकाल४० वर्ष
मुख्य कार्यसियोन सहर (यरूशलेम) कब्जा ।
भूमि विस्तार ।
विभिन्न प्रणाली स्थापना ।
भजनसंग्रहका

दाऊद (हिब्रू : דָּוִד,[१] अरबी: داود[२]) ई.पू. ११औँ शताब्दीतिर संयुक्त राज्य इस्राएलका दोस्रो राजा थिए । तिनले ३० वर्षको उमेरमा राजा बनेर ४० वर्ष राज्य गरे । तिनी परमेश्वरको हृदयअनुसारको मानिस भएकाले परमेश्वरले तिनलाई राजाको रूपमा चुन्नुभयो ।[३]

तिनीचाहिँ इस्राएलका महान् राजा, जसले परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्थे भनेर परिचित छन् । साथै इस्राएलको इतिहासमा एउटा शक्तिशाली वंश स्थापना गरेका अतुलनीय र आदर्श राजा पनि तिनै दाऊद हुन् । यहोवा परमेश्वरप्रतिको विश्वासद्वारा तिनले, आपसमा झगडा गरिरहने इस्राएलका बाह्र कुललाई एउटै जातिको रूपमा एकताबद्ध गराए, र यरूशलेमलाई राजधानी नियुक्त गरे । आफ्नो सैन्य शक्तिलाई विस्तार गर्दै तिनले विदेशी सेनाको कुनै आक्रमणमा नपरी शान्तिसँग राज्य गरे । तिनको शासनकालको इतिहासबारे बाइबलको २ शमूएल१ इतिहास अध्याय ११-२९मा विस्तृत रूपमा वर्णन गरिएको छ । दाऊदका छोरा सोलोमनपछि, इस्राएल उत्तर र दक्षिण गरेर दुई भागमा विभाजित भएकोले लगातार विदेशी मुलुकहरूको आक्रमणमा पऱ्यो, जसका कारण यहूदीहरूको मनमा दाऊदजस्तै, एक शक्तिशाली मसीहको चाह बढ्दैगयो । पछि गएर देखा पर्नुहुने मसीहलाई पुरानो करार बाइबलका धेरै पुस्तकहरूमा राजा दाऊदको रूपमा वर्णन गरिएको पाइन्छ ।

दाऊदको जीवनी

जन्म

गोठालो दाऊद, एलिजाबेथ जेन गार्डनर, सन् १८५९

दाऊदचाहिँ यहूदाको कुलमा मोआबी स्त्री रूथ र बोअजका पनाति, र यिशैका कान्छो छोराको रूपमा जन्मेका थिए ।[४] १ शमूएलको पुस्तकमा, दाऊदका ७ जना दाजुहरू थिए भनिएको छ ।[५] तर १ इतिहासको पुस्तकमा चाहिँ केवल ६ जनाको नाउँ (एलीआब, अबीनादाब, शिमेअ, नतनेल, राद्दै, ओसेम) मात्र उल्लेख गरिएको छ । इतिहासको पुस्तकबाट दाऊदका एक जना दाजुको नाउँ हटाइनुको कारणचाहिँ सायद सानैमा तिनको मृत्यु भएकोले अथवा तिनी खासै महत्त्वपूर्ण नभएकोले हुन सक्छ भनेर अनुमान गरिएको छ । दाऊदका दुई जना बहिनीहरू थिए– सरूयाह र अबीगेल ।[६]

ठिटो दाऊदचाहिँ आफ्ना बुबा यिशैका बगालका गोठाला थिए । सिंह अथवा भालूले आएर बगालबाट भेडा खोसेर लैजाँदा दाऊदले त्यसको पछि-पछि गएर भेडालाई छुटाएर ल्याउँथे ।[७]

परमेश्वरद्वारा चुनिएका राजा

शमूएलबाट तेलले अभिषेक गरिएका दाऊद, भिक्टर बिएनौरी, सन् १८४२
दाऊदको सालिक, आन्द्रेआ देल भेरोचियो, सन् १४७६

परमेश्वरले अनाज्ञाकारी शाऊलको सट्टामा राजा हुनलाई दाऊदलाई पहिल्यै चुन्नुभएको थियो । दाऊद जवान ठिटो भए तापनि तिनलाई अभिषेक गर्न परमेश्वरले शमूएल अगमवक्तालाई गुप्त रूपले पठाउनुभयो । किनभने परमेश्वरले मानिसको रूप होइन तर हृदय हेर्नुहुन्छ । पछि, परमेश्वरका आत्मा दाऊदमाथि आउनुभयो र शाऊललाई चाहिँ एउटा हानिकारक आत्माले पक्रियो । तब शाऊलले दाऊदलाई तिनका निम्ति वीणा बजाइदिने व्यक्तिको रूपमा नियुक्त गरे (१ शमूएल अध्याय १६) । इस्राएलीहरू र पलिश्तीहरूबीच युद्ध हुँदा, गोल्यत नाम गरेको एक जना वीर पलिश्तीले चर्को सोरमा इस्राएल र परमेश्वरको अपमान गऱ्यो । इस्राएलीहरू डराएर कोही पनि अगि बढ्न नसकेको त्यो घडीमा, अन्ततः बुबा यिशैको काममा हिँड्दैगर्दा, बाटो परेर युद्ध मैदानतिर आइपुगेका दाऊद, क्रोधले भरिएर गोल्यतको सामना गरे । दाऊदले गोल्यतको निधारमा ढुङ्गाले हानेर त्यसलाई पराजित गरे । परिणामस्वरूप इस्राएली सेना पलिश्ती सेनामाथि विजयी भए । यो विजयसँगै, दाऊदचाहिँ इस्राएललाई बचाउने वीर पुरुष कहलिए (१ शमूएल अध्याय १७) ।

शाऊलबाट भाग्दै

शाऊलले दाऊदलाई आफ्नो सेनाको उच्च पदमा नियुक्त गरे । तब दाऊद शाऊलका छोरा जोनाथनसँग घनिष्ठ मित्र भए, र तिनले शाऊलकी छोरी मीकलसित विवाह गरे । जब दाऊदले हरेक युद्धमा ठूलो विजय हासिल गर्दै सर्वप्रिय बने, तब शाऊलले दाऊदको डाह गर्दै तिनलाई मार्न धेरै पटक षडयन्त्र रचे । अन्ततः दाऊद शाऊलबाट भागे (१ शमूएल अध्याय १८-२०) ।

तिनले पूजाहारीहरूको सहर नोबमा भागेर गए, र त्यहाँ तिनले अहीमेलेक पूजाहारीबाट चढाइएको पवित्र रोटी र गोल्यतको तरवार लिए । नोबका मानिसहरूले दाऊदलाई खानेकुरा र तरवार दिएका कारणले शाऊलले नोबमा भएका पुरुष, स्त्री, गाई-गोरु, गधा र भेडाबाख्रा सबैलाई मारे । यसरी, कसैले पनि दाऊदलाई सहयोग नगरून् अथवा नलुकाऊन् भन्ने आफ्नो दृढ सङ्कल्प शाऊलले व्यक्त गरे ।

जब दाऊद पलिश्तीहरूको देश गातका राजा आकीशकहाँ गए, तब पलिश्तीहरूले तिनलाई चिने । यसकारण दाऊदले पागलपनको अभिनय गरेर जोखिमबाट उम्के । अनि जब तिनी इस्राएलको पूर्वमा स्थित मोआबमा भागेर गए, तब गाद अगमवक्ताले तिनलाई यहूदामा गइहाल्नू भन्ने परमेश्वरको इच्छा सुनाइदिए । त्यो वचनमा आज्ञाकारी भई दाऊद यहूदामा त फर्किए, तर तिनको भागदौडको जीवन भने सकिएन (१ शमूएल २१-२३) ।

दाऊद रामा, नोब, अदुल्लामको ओडार, हारेतको वन, जीपको मरुभूमि र एन-गेदीको मरुभूमि जस्ता ठाउँहरूमा भागेर शरण लिए । त्यहाँ दाऊदजस्ता शरणार्थीहरू धेरै थिए । कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू दाऊदको वरिपरि जम्मा भए, र दाऊद तिनीहरूका अगुवा बने ।[८] तिनले जाति-जातिहरूसँग सम्बन्ध गाँसे, स्थानीय बासिन्दाहरूलाई लुटेराहरूबाट बचाए, लुटेराहरूलाई खेदे र लुटिएका माल-सामानहरू बरामद गरे ।[९] हुन त शाऊल राजालाई मार्नको लागि दाऊदसित दुई वटा अवसरहरू थिए, तापनि शाऊल ‘परमप्रभुबाट अभिषेक गरिएका’ राजा भएकाले दाऊदले तिनीमाथि हात उठाएनन् ।[१०][११]

शासनकाल

शाऊल र जोनाथन पलिश्तीहरूसँगको युद्धमा मारिए । यो सुनेर दाऊदले छाती पिटी पिटीकन रुँदै उपवास बसे र तिनीहरूप्रति विलाप गरे । अनि यो विलापको गीत यहूदाका मानिसहरूलाई सिकाउनू भनी हुकुम गरे (२ शमूएल अध्याय १) ।

पछि गएर ३० वर्षको उमेरमा दाऊद, हेब्रोनमा यहूदाको कुलका राजा बने । शाऊलका सेनापति रहेका अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई उत्तरमा राजा नियुक्त गरे र महनोममा ११ वटा कुलसित मिलेर घराना गठन गरे । तर राजा बनेको २ वर्षपछि तिनी केही अधिकारीहरूद्वारा मारिए (२ शमूएल अध्याय २-४) । उत्तरका ११ वटा कुलका प्रतिनिधिहरूले हेब्रोनमा दाऊदलाई भेटे, र तिनलाई अभिषेक गरे । अन्ततः इस्राएलका जम्मै १२ कुलले दाऊदलाई आधिकारिक रूपमै राजा स्वीकार गरे,[१२] र दाऊदले ४० वर्षसम्म राज्य गरे ।[१३]

इस्राएलको राजा बनेपछि तिनले राजधानीलाई यरूशलेममा सार्ने योजना बनाए । तिनले यबूसीहरूको गढी रहेको सियोनलाई कब्जा गरेर त्यसलाई नयाँ राजधानी बनाए,[१४] र इस्राएलको धर्मको सबैभन्दा महान् चिन्ह रहेको करारको सन्दूकलाई त्यहाँ राखे ।[१५]

परिवार

विजय युद्धको समयमा दाऊद, सेनापति उरियाहकी पत्नी बतशेबाप्रति आकर्षित भए, र तिनले बतशेबाका पति उरियाहलाई युद्ध-मैदानमा पठाइयोस् र त्यतै मारियोस् भनी सेनापति योआबलाई हुकुम गरे । त्यसपछि बतशेबाले दाऊदसित विवाह गरेर एक जना छोरो जन्माइन् । तर नातान अगमवक्ताले दाऊदलाई तिनको दुष्कर्मका लागि हप्काए र तिनको छोरा अकालमै मर्ने कुरा बताए । आफूले गरेको पापप्रति दाऊदलाई निकै अफसोस भयो । तिनको छोराको मृत्यु भयो, र बतशेबाले फेरि अर्को छोरा जन्माइन् । त्यो अर्को छोरा सोलोमन हो (२ शमूएल अध्याय ११-१२) । दाऊदले विभिन्न समूहलाई एकीकृत गरेर राज्य गठन गर्नको लागि धेरैलाई आफ्ना पत्नी बनाए र धेरै सन्तानहरू जन्माए । तर तिनका सन्तानहरूबीचको आपसी सम्बन्ध भने राम्रो थिएन । दाऊदका छोरा अमनोनले सौतेनी साहिँला दाजु अब्शालोमको आफ्नै बहिनी तामारलाई बलात्कार गरेकाले अब्शालोमले अमनोनको हत्या गरे । यसले गर्दा निर्वासनमा परेका अब्शालोमले आफ्ना बुबा दाऊदसित क्षमा मागे । तर जब तिनले मानिसहरू र सेवकहरूबाट लोकप्रियता पाउँदैगए तब तिनले दाऊदविरुद्ध विद्रोह गर्न थाले । दाऊद अब्शालोमबाट भागे, तर अन्त्यमा अब्शालोमका सेना पराजित भए र अब्शालोमचाहिँ दाऊदका सेनापति योआबद्वारा मारिए । यो खबर सुनेपछि दाऊदले “मेरो छोरा अब्शालोम” भन्दै धुरुधुरु रोए । (२ शमूएल अध्याय १३-१८) ।

उत्तराधिकारी

सोलोमनलाई राजकीय अधिकार दिँदैगरेका दाऊद, कर्नेलिस दे भोस, सन् १६४०

जब दाऊदको उमेर ढल्कियो, तब तिनको उत्तराधिकारी को बन्ने भन्ने कुरामा विवाद उत्पन्न हुन थाल्यो । सोलोमनले दाऊदको सिंहासनको उत्तराधिकार पाई परमेश्वरको मन्दिर निर्माण गर्ने त्यस्तो योजना थियो ।[१६] तर दाऊदका बाँचेका छोराहरूमध्येका जेठो छोरा अदोनियाहले आफूलाई हुनेवाला राजा सोच्दै भोज समेत दिए । जब दाऊदले यो कुरा सुने तब तिनले पूजाहारी सादोकलाई बोलाएर सोलोमनलाई अभिषेक गर्न लगाई तिनलाई राजा बनाए (१ राजा अध्याय १) । मर्नुअघि दाऊदले सोलोमनलाई “परमप्रभु आफ्ना परमेश्वरतिरको आफ्नो कर्तव्य पूरा गर । उहाँका मार्गमा हिँड । मोशाको व्यवस्थामा लेखेका उहाँका विधिहरू र आज्ञाहरू, उहाँका नियमहरू र आदेशहरू पालन गर, ताकि तिमीले जे-जे गर्छौ र तिमी जहाँकहीँ जान्छौ, त्यसमा तिम्रो उन्नति होस्” भन्दै तिनलाई, आशिषित जीवन जिउने तरिका सिकाए ।[१७]

दाऊदका उपलब्धिहरू

सियोन(यरूशलेम)को विजय

प्रस्थानपछि कनानमा बसोबास गरेको करीब २०० वर्षसम्म जातीय गठबन्धनद्वारा जोडिएका इस्राएलका १२ कुलको आपसी सम्बन्ध खुकुलो थियो । राजनीतिक र प्रशासनिक केन्द्र नहुनु पनि ठूलो समस्याको विषय बनेको थियो । इस्राएलका कुलहरूमा भएको एकमात्र समानता भनेको परमेश्वरप्रतिको तिनीहरूको विश्वास थियो । मानिसहरूबीच ऐक्यबद्धता निर्माण गर्न र राष्ट्रिय स्तरमा मानिसहरूलाई एक गराउन एउटा राजधानी सहरको खाँचो थियो, जुनचाहिँ राष्ट्रिय विश्वासको केन्द्र बन्न सक्थ्यो । दाऊदले, इस्राएलीहरूले त्यस बेलासम्म कब्जा गर्न नसकेको यबूसीहरूको केन्द्र रहेको सियोन सहर, यरूशलेमलाई रोजे । पहाडमा अवस्थित यो ठाउँ, दीर्घकालीन युद्ध भइरहँदा समेत कसैले कब्जा गर्न नसकेको त्यस्तो एउटा अजेय गढी थियो ।[१८] तर दाऊद राजा हुनेबित्तिकै तिनी सियोनको गढीतर्फ अगि बढे । तिनले कुन बाटो प्रयोग गरे भन्ने कुरा प्रष्ट त छैन, तर तिनले पानी तान्न प्रयोग गरिने चट्टानको पर्खाल चढेर सियोनलाई सजिलैसित कब्जा गरे । सियोन सहरलाई ‘दाऊदको सहर’ पनि भनिन्थ्यो ।[१४] यरूशलेम, जहाँ सियोन सहर अवस्थित थियो, त्यो नै एकीकृत इस्राएलको राजधानी बन्यो, र दाऊदले करारको सन्दूकलाई ओबेद-एदोमको घरबाट नयाँ राजधानीमा सारे ।[१५]

क्षेत्र विस्तार

दाऊदले कब्जा गरेको क्षेत्र

दाऊद राजा बनेको खबर सुनेपछि पलिश्तीहरूले इस्राएलमाथि दुई चोटिसम्म लगातार आक्रमण गरे । त्यस बेला दाऊदका सेनाले पलिश्तीहरूलाई पराजित गरेर तिनीहरूलाई किनारसम्मै लखेटे ।[१९] दाऊदले पलिश्तीहरूलाई पराजित गर्न युद्ध सुरु गरे, र विजय हासिल गरी तिनीहरूका क्षेत्रलाई इस्राएलसँग गाँभे । तिनले, भविष्यमा इस्राएलको सुरक्षामा खतरा हुन सक्ने छिमेकी राज्यहरू– उत्तरमा अरामको दमस्कस(वर्तमान सिरिया), पूर्वमा अम्मोन र मोआब(वर्तमान जोर्डन), दक्षिणमा एदोम(वर्तमान नेगेव)लाई पराजित गरेर राज्य स्थापना गरे (१ इतिहास अध्याय १८-२०) । बाइबलमा “दाऊद जहाँ-जहाँ गए, त्यहाँ-त्यहाँ परमेश्वरले तिनलाई विजय दिनुभयो” भनेर लेखिएको छ ।[२०]

मन्दिर निर्माणको तयारी

यबूसी अरौनाको खला किन्दैगरेका दाऊद, विलियम होल

दाऊदले आफूचाहिँ देवदारुले बनेको महलमा बसेको, तर परमेश्वरको करारको सन्दूक भने पालमा रहेको कुराप्रति चिन्ता व्यक्त गरे, र परमेश्वरको मन्दिर निर्माण गर्ने गहिरो इच्छा गरे । दाऊदको यस्तो हृदय देख्नुभएर परमेश्वर प्रसन्न हुनुभयो र तिनका छोरा सोलोमनद्वारा त्यो मन्दिर निर्माण गर्न लगाउनुभयो ।[२१]

आफ्नो शासनकालको अन्त्यमा दाऊदले यबूसी(अथवा अरौना) ओर्नानको खला किने (२ शमूएल अध्याय २४) । त्यो ठाउँचाहिँ, परमेश्वरको वचनमा आज्ञाकारी भएका अब्राहामले इसहाकलाई होमबलिको रूपमा अर्पण गर्न खोजेको मोरीयाह डाँडा थियो । त्यहाँ परमेश्वरको अनुग्रहद्वारा अब्राहामले, इसहाकको सट्टामा भेडालाई बलि चढाए ।[२२] दाऊदले ओर्नानको खलालाई मन्दिरको जग बनाए, र आफ्नो छोरा सोलोमनलाई आफ्ना योजनाहरू, कोषहरू र निर्माण सामग्रीहरू हस्तान्तरण गरे (१ इतिहास अध्याय २२; २८-२९) । पछि सोलोमनले मन्दिर निर्माण गरे, र करारको सन्दूकलाई दाऊदको सहर अर्थात् सियोन सहरबाट मन्दिरमा सारे ।[२३]

मन्दिरमा सेवा-कार्यको व्यवस्थापन

मन्दिरको सेवा-कार्यचाहिँ लेवी कुललाई सुम्पिइयो । मन्दिरको सेवा-कार्य व्यवस्थित रूपमा गर्नको निम्ति दाऊदले पूजाहारीहरू, गायन टोली(२८८ जना पेशेवर अगुवासहित ४,००० जनाको गायन टोली), मन्दिरका द्वारपाल, पवित्र भेटी व्यवस्थापकहरू साथै परीक्षण र प्रशासन जस्ता मन्दिरका आवश्यक कार्यको निम्ति लेवीहरूलाई कार्य विभाजन गरे । (१ इतिहास अध्याय २३-२७)

भजनसंग्रहको अधिकांश पुस्तक लेखे

दाऊदका कविताहरू सुनेर लेख्ने शास्त्रीहरू (११औँ शताब्दीतिरको आइभोरि मूर्तिकला)

सङ्गीत र कविताप्रति दाऊदमा उत्कृष्ट प्रतिभा थियो । तिनी आफैले थुप्रै गीत र कविताहरू लेखे र रचना गरे । तिनका केही गीतहरू र कविताहरू पुरानो करार बाइबलको भजनसंग्रहको पुस्तकमा लेखिएको पाइन्छ । भजनसंग्रहको पुस्तकमा भएका १५० वटा भजनहरूमध्ये ७३ वटाचाहिँ दाऊदसँग सम्बन्धित छन् (भज ३-९, ११-३२, ३४-४१, ५१-६५, ६८-७०, ८६, १०१, १०३, १०८-११०, १२२, १२४, १३१, १३३, १३८-१४५) ।

शिक्षा

परमेश्वरमा भरोसा गर्ने विश्वास

गोल्यतलाई परास्त गरेका दाऊद, डोमेनिको फेटी, सन् १६२०

सानैदेखि दाऊद परमेश्वरमा पूर्ण भरोसा गर्थे । ठिटो भए पनि दाऊद, पलिश्ती सेनापति गोल्यतसँग लड्न जाँदा तिनले तरवार, भाला, ढाल वा हतियारमा होइन तर परमेश्वरमा भरोसा गरी साहसका साथ अगि बढेर त्यस गोल्यतलाई परास्त गरे ।[२४] दाऊदमा अपरिवर्तनीय विश्वास भएकोले परमेश्वर सधैँ तिनको साथमा रहनुभएर तिनलाई सहयोग गर्नुभयो ।[२५]


अब मलाई थाहा भयो, कि परमप्रभुले आफ्ना अभिषिक्तलाई सहायता गर्नुहुन्छ । उहाँले आफ्नो दाहिने बाहुलीको उद्धार गर्ने शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट उनलाई उत्तर दिनुहुनेछ । कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्, तर हामी त परमप्रभु, हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं ।

भजनसंग्रह २०:६-७


सबै परिस्थितिमा धन्यवाद चढाउने

राजा शाऊलको निम्ति वीणा बजाउँदैगरेका दाऊद, जान भान डेन होके

महान् राजा दाऊदको जीवनमा थुप्रै परीक्षाहरू आए । तर जस्तोसुकै परिस्थितिमा पनि तिनले परमेश्वरविरुद्ध गनगन नगरी उल्टै परमेश्वरलाई धन्यवाद र प्रशंसा चढाए । किनभने वर्तमानमा कठिनाइ भए तापनि अन्तिममा परमेश्वरले आशिष् दिनुहुन्छ भन्ने कुरा तिनले विश्वास गर्दथे ।


[अबीमेलेकको सामु पागलको अभिनय गरेर त्यहाँबाट उम्केपछि दाऊदको भजन] हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ । मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ । कष्टमा परेकाहरू यो सुनेर खुशी होऊन् । मसँगसँगै परमप्रभुको महिमा गर, र हामी एकसाथ उहाँको नाउँ उच्च पारौं ! मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो । . . . जवान सिंहहरू कमजोर होलान्, र तिनीहरू भोकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन ।

भजनसंग्रह ३४:१-१०


परमेश्वरप्रतिको हृदय

करारको सन्दूक सामु नाचेका राजा दाऊद, पिटर भान लिन्ट, सन् १६५०

परमेश्वरलाई सबैभन्दा बढी प्रेम गरेका व्यक्ति दाऊद हुन् भनेर बाइबलमा लेखिएको छ । जब करारको सन्दूकलाई सियोन सहरमा ल्याइयो, तब परमेश्वरको सेवा गर्न पाइने त्यो खुशीमा दाऊद परमेश्वरको सामु नाँचे । मानिसहरूले के सोच्लान् भन्ने कुराको तिनले वास्ता गरेनन् ।[२६] आफूचाहिँ देवदारुले बनेको महलमा बसिरहेको, तर परमेश्वरको करारको सन्दूक भने पालमा राखिएको कुरामा चिन्तित हुँदै तिनले परमेश्वरको मन्दिर निर्माण गर्ने योजना बनाए । परमेश्वरप्रतिको त्यो आदर देख्नुभएर परमेश्वरले पनि तिनलाई प्रेम र आदर गर्नुभयो ।


दाऊदले आफैलाई आफ्नो महलमा सुरक्षित पारेपछि, र तिनका चारैतिरका शत्रुहरूबाट परमप्रभुले तिनलाई विश्राम दिनुभएपछि, तिनले नातान अगमवक्तालाई भने, “म त देवदारुले बनाएको महलमा बस्दैछु, तर परमप्रभुको सन्दूक भने पालमा राखिएको छ ।” . . . “ ‘सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ: मैले तँलाई मेरो प्रजा इस्राएलको गोठालो हुनलाई खर्कबाट र भेडाहरूका पछिपछि लाग्नबाट बोलाएँ । जहाँ-जहाँ तँ गइस् म तँसँग रहें, र तेरा सबै शत्रुलाई तेरो बाटोदेखि नाश गरिदिएँ । अब पृथ्वीका प्रतिष्ठित व्यक्तिहरूका बीचमा म तेरो नाउँ महान् बनाउनेछु’ ।”

२ शमूएल ७:१-९


परमेश्वरको आज्ञालाई शुद्ध सुनभन्दा बढी प्रेम गरेका

दाऊदको जीवनमा खुशी र आनन्द भनेकै परमेश्वरको आज्ञा, नियम र व्यवस्था थियो । दाऊदले परमेश्वरको आज्ञालाई शुद्ध सुनभन्दा अझ बहुमूल्य ठानेर पालन गरे ।


परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने । परमप्रभुका कानूनहरू विश्वसनीय छन्, निर्बोधलाई बुद्धिमान् तुल्याउने । परमप्रभुका नियमहरू ठीक छन्, हृदयलाई आनन्द गराउने । परमप्रभुका आज्ञाहरू उज्ज्वल छन्, आँखालाई प्रकाश दिने । परमप्रभुको भय स्वच्छ छ, अनन्तकालसम्मै स्थिर रहने । परमप्रभुका विधिहरू सच्चा छन्, ती सर्वथा धर्ममय छन् । सुनभन्दा पनि ती बढी चाहना गर्ने योग्य छन्, निखुर सुनभन्दा पनि ज्यादै बढी, चाकाबाट टप्कने महभन्दा बढी गुलिया । तीबाटै तपाईंको दासले चेताउनी पाउँदछ, ती पालन गर्दा ठूलो इनाम मिल्नेछ ।

भजनसंग्रह १९:७-११


आफूलाई पक्रेर मार्न खोजेका शाऊललाई, दाऊदले उल्टै मार्न सक्ने अवसर थियो । तापनि दाऊद तिनीबाट भाग्नुको कारणचाहिँ तिनले शाऊललाई ‘परमप्रभुका अभिषिक्त जन’ ठानेकाले गर्दा हो । दाऊदले आफ्नो सुरक्षा र पदलाई भन्दा पनि परमेश्वरको इच्छालाई अझ बढी मान्यता दिए ।[११]

दाऊद र ख्रीष्ट

दाऊदको सालिक, माइकलेन्जेलो, सन् १५०१-१५०४

पुरानो करारका अगमवक्ताहरूले मसीहलाई दाऊदको वंशमा आउने मानिसको रूपमा वर्णन गरे, र यो संसारमा मसीहको रूपमा आउनुहुने परमेश्वरलाई राजा दाऊदसँग तुलना गर्दै अगमवाणी गरे । यो अगमवाणी येशूज्यूद्वारा पूरा भयो ।[२७]

यशैयाको अगमवाणी

  • किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ । उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुनेछैन । दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पूरा गर्नेछ । (यशैया ९:६-७)
  • यिशैको ठुटाबाट एउटा टुसा निस्कनेछ, त्यसका जराहरूबाट निस्केको हाँगाले फल फलाउनेछ । परमप्रभुका आत्मा उहाँमा रहनुहुनेछ– बुद्धि र समझका आत्मा, सल्लाह र शक्तिका आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा . . . त्यस दिन मानिसहरूका निम्ति यिशैको वंशबाट एउटा झन्डाजस्तै खडा हुनेछ । जाति-जातिहरू उहाँकहाँ भेला हुनेछन्, र उहाँको विश्रामको स्थान महिमामय हुनेछ । (यशैया ११:१-१०)
  • प्रेममा एउटा सिंहासन स्थापित गरिनेछ, त्यसमा दाऊदको घरानाबाट विश्वासयोग्यसाथ एक मानिस विराजमान हुनुहुनेछ, र उहाँले इन्साफ गर्दा न्यायको खोजी गर्नुहुनेछ, र धार्मिकताका पक्षको गति तीव्र पार्नुहुनेछ । (यशैया १६:५)
  • कान थाप, र मकहाँ आओ । सुन, ताकि तिमीहरूको प्राण जिओस् । म तिमीहरूसित अनन्त करार बाँध्नेछु, दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्वासको प्रेम । (यशैया ५५:३)

यर्मियाको अगमवाणी

  • “जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खडा गर्नेछु, एक जना राजा जसले बुद्धिसित राज गर्नेछन्, र जे उचित र ठीक छ त्यही तिनले देशमा गर्नेछन् । तिनको समयमा यहूदा बचाइनेछ र इस्राएल सुरक्षितसाथ रहनेछ । जुन नाउँले तिनी कहलाइनेछन् त्यो यही हो, ‘परमप्रभु हाम्रा धार्मिकता’ ।” (यर्मिया २३:५-६)
  • “त्यसको सट्टामा तिनीहरूले परमप्रभु आफ्ना परमेश्वर र मैले तिनीहरूका निम्ति खडा गरेका तिनीहरूका राजा दाऊदकै सेवा गर्नेछन् ।” (यर्मिया ३०:९)
  • “ती दिन र त्यस समयमा म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा उत्पन्न गराउनेछु, र तिनले देशमा न्याय र उचित काम गर्नेछन् । ती दिनमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षितसाथ रहनेछ । तिनी यही नाउँले कहलाइनेछन्, ‘परमप्रभु हाम्रा धार्मिकता’ ।” (यर्मिया ३३:१५-१७)

इजकिएलको अगमवाणी

  • “म तिनीहरूको एउटै गोठालो हुनलाई मेरो दास दाऊदलाई नियुक्त गर्नेछु । त्यसले तिनीहरूको हेरचाह गर्नेछ, त्यो तिनीहरूको गोठालो हुनेछ । म परमप्रभु, तिमीहरूका परमेश्वर हुनेछु, र मेरो दास दाऊदचाहिँ तिनीहरूका माझमा राजकुमार हुनेछ । म परमप्रभुले यो भनेको हुँ ।” (इजकिएल ३४:२३-२४)
  • “ ‘मेरो दास दाऊद तिनीहरूमाथि राजा हुनेछ, र तिनीहरूको एउटै गोठालो हुनेछ । तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा विधिहरू पालन गर्नलाई वास्ता गर्नेछन् । मैले मेरो दास याकूबलाई दिएको देशमा तिनीहरू बस्नेछन्, र जहाँ तिनीहरूका पिता-पुर्खाहरू बसेका थिए । तिनीहरू र तिनीहरूका सन्तान-दरसन्तानहरू सदासर्वदा त्यहाँ बस्नेछन्, र मेरो दास दाऊद सदासर्वदाको निम्ति तिनीहरूको राजकुमार हुनेछ’ ।” (इजकिएल ३७:२४-२५)

होशेको अगमवाणी

  • त्यसपछि इस्राएलीहरू फर्कनेछन्, परमप्रभु आफ्ना परमेश्वरलाई र आफ्ना राजा दाऊदलाई खोज्नेछन् । पछिल्ला दिनहरूमा तिनीहरू भयसित परमप्रभु र उहाँका आशिष्‌तिर आउनेछन् । (होशे ३:५)

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सन्दर्भ सामग्री

"https://ne.churchofgod.wiki/index.php?title=दाऊद&oldid=962" बाट अनुप्रेषित