सुसमाचार
शाब्दिक रूपमा हेर्दा, सुसमाचार (ग्रीक : εὐαγγέλιον, एअङ्गेलियन)[१] भनेको ‘शुभ समाचार’ हो । विशेष गरी यसले, येशूज्यूले यो पृथ्वीमा सिकाउनुभई उदाहरण देखाउनुभएको सत्यतालाई बुझाउँछ ।[२][३] खुलेर भन्नुपर्दा, पुरानो करार बाइबललाई पनि सुसमाचार भन्न सकिन्छ । किनभने त्यो पनि परमेश्वरका प्रजाका लागि आशिष्को वचन हो । यद्यपि नयाँ करार बाइबलमा भनिएको सुसमाचारचाहिँ, येशूज्यूले यूहन्नाबाट बप्तिस्मा लिनुभएको समयदेखि सुरु हुन्छ । अनि सुसमाचारको केन्द्रबिन्दु नै नयाँ करार निस्तार-चाड हो, जसले मानव-जातिलाई पाप र मृत्युको दासत्वबाट छुटकारा गराउँछ ।[४]
सुसमाचारको अर्थ
येशूज्यूले सुनाउनुभएको सुसमाचारलाई ‘आशिषित र शुभ समाचार’ भनिनुको कारणचाहिँ यसमा स्वर्गतर्फ लैजाने मार्ग समावेश छ । त्यसैले येशू ख्रीष्टको सुसमाचारलाई ‘राज्यको सुसमाचार’ पनि भनिन्छ । बाइबलमा, सबै मानव-जाति पाप गरेर स्वर्गबाट धपाइएका पापीहरू हुन् र तिनीहरूको पापको ज्याला मृत्यु हो भनिएको छ ।[५][६] यसरी, मृत्युजन्य पाप गरेका मानव-जातिको पापको ज्याला सट्टामा तिरेर तिनीहरूलाई बचाउन येशूज्यू स्वयम् शरीरमा आउनुभयो ।[७][८]
“जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो ।”
“म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ ।”
३ वर्षको सेवा-कार्यमा येशूज्यूले, मानव-जातिलाई स्वर्गतिर डोऱ्याउने सत्यता अर्थात् पाप-क्षमा र अनन्त जीवन पाउने तरिकाबारे प्रचार गर्नुभयो । पापले गर्दा मर्नुबाहेक अर्को विकल्प नभएका मानव-जातिका लागि यो साँच्चै नै आशिषित र शुभ समाचार थियो ।
सुसमाचारको आरम्भ
नयाँ करार बाइबलमा उल्लेखित सुसमाचारचाहिँ २,००० वर्षअघि येशूज्यूले बप्तिस्मा लिनुभएदेखि आरम्भ भएको थियो ।
जब सबै मानिसहरूले बप्तिस्मा लिए, अनि येशूले पनि बप्तिस्मा लिएर . . . येशूले आफ्नो सेवाकार्य आरम्भ गर्नुहुँदा उहाँ करीब तीस वर्षका हुनुहुन्थ्यो ।
परमेश्वरका पुत्र येशू ख्रीष्टको सुसमाचारको आरम्भ ।
पुरानो करारको युगका अन्तिम अगमवक्ता रहेका बप्तिस्मा दिने यूहन्ना[९][१०]ले शरीरमा आउनुभएका परमेश्वर, येशूज्यू[८]को विषयमा गवाही दिन थालेदेखि नयाँ करार सुसमाचारको युगको सुरुआत भयो । येशूज्यूले बप्तिस्मा-दिने यूहन्नाबाट बप्तिस्मा लिनुभएपछि राज्यको सुसमाचार प्रचार गर्न आरम्भ गर्नुभयो ।
त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ ।” . . . अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै, . . . सारा गालीलभरि घुम्नुभयो ।
सुसमाचार र नयाँ करार
येशूज्यूले सिकाउनुभएको र उदाहरण देखाउनुभएको सुसमाचार नै नयाँ करार हो ।[११] प्रेरित पावलले आफूलाई सुसमाचारका सेवक पनि भनेका छन् र नयाँ करारका सेवक भनेका छन् । योद्वारा तिनले सुसमाचार नै नयाँ करार हो भन्ने कुरालाई प्रष्ट्याएका छन् ।[१२][१३] परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ भन्ने पुरानो करार बाइबलको अगमवाणीअनुसार येशूज्यूले पुरानो करार[१४] अर्थात् पुरानो करारको व्यवस्थालाई, सिद्ध रहेको नयाँ करार[१५] मा परिवर्तन गर्नुभई, नयाँ करारका चाडहरू स्वयम्ले मानेर उदाहरण देखाउनुभयो ।
- बप्तिस्मा

- पाप-क्षमाको प्रतिज्ञा रहेको धर्मविधि नै बप्तिस्मा हो ।[१६] बप्तिस्माद्वारा हाम्रा सबै पाप पानीमा गाडिएर हामी नयाँ गरी जन्मन्छौं ।[१७] येशूज्यू पापरहित हुनुभए तापनि उहाँले बप्तिस्मा-दिने यूहन्नाबाट बप्तिस्मा लिनुभयो,[१८] र उहाँ स्वयम्ले पनि मानिसहरूलाई बप्तिस्मा दिनुभयो ।[१९] योचाहिँ, मुक्तिको निम्ति बप्तिस्मा एक अत्यावश्यक धर्मविधि हो भनी देखाउने उदाहरण र शिक्षा हो ।[२०]
- शबाथ
उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो ।
- परमेश्वरले ६ दिनसम्म सृष्टि कार्य गर्नुभएर सातौँ दिनमा विश्राम गर्नुभएको यथार्थताबाट सुरु भएको शबाथ-दिनचाहिँ सृष्टिकर्ताको सम्झना गर्ने दिन हो ।[२१] मोशाको समयमा यसलाई दश आज्ञामध्ये चौथो आज्ञाको रूपमा तोकिएको थियो ।[२२] येशूज्यूले आफ्नो आदतअनुसार[२३] शबाथको आराधना गर्नुभयो, र यसलाई युगको अन्त्यसम्मै मान्नू भन्नुभयो ।[२४] यसरी उहाँले, शबाथचाहिँ पुरानो करारको समयमा मात्र होइनकि नयाँ करारको समयमा पनि मानिनुपर्ने परमेश्वरको आज्ञा हो भन्ने कुरा सिकाउनुभयो ।
- निस्तार-चाड
उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ,” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”
- येशूज्यूले क्रूसमा कष्ट भोग्नुअघि, मान्ने ठूलो इच्छा गर्नुभएको सत्यता नै निस्तार-चाड हो । यो दिन उहाँले आफ्ना चेलाहरूलाई रोटी र दाखमद्य दिनुहुँदै त्यसलाई, अनन्त जीवन दिलाउने आफ्नो देह र रगत भन्नुभयो ।[२५] यसरी उहाँले नयाँ करार स्थापना गर्नुभयो । निस्तार-चाडको भोलिपल्ट, उहाँले क्रूसमा रगत बगाउनुभई राज्यको सुसमाचारका सबै सत्यताहरूलाई नयाँ करारद्वारा पूरा गर्नुभयो ।[२६][२७] पाप-क्षमा[२८] र अनन्त जीवनको प्रतिज्ञा समाविष्ट नयाँ करार निस्तार-चाड नै येशूज्यूले प्रचार गर्नुभएको राज्यको सुसमाचारको केन्द्रीय सत्यता हो । ३,५०० वर्षअघि इस्राएलीहरूले निस्तार-चाड मानेर, मिश्रको दासत्वबाट छुटकारा पाएका थिए ।[२९] त्योजस्तै, येशूज्यूले नयाँ करार निस्तार-चाडद्वारा मानव-जातिलाई पाप-क्षमा र अनन्त जीवन दिनुभई, पाप र मृत्युको दासत्वबाट छुटकारा दिलाउनुभयो ।[४]
- छाप्रो-वासको चाड
- येशूज्यूले छाप्रो-वासको चाडमा प्रचार गर्नुभयो, र उहाँमाथि विश्वास गर्नेहरूलाई जिउँदो पानी जस्तै पवित्र आत्माको प्रतिज्ञा गर्नुभयो ।[३०] येशूज्यूले छाप्रो-वासको चाड मान्नुभयो भन्ने कुराबाट, उहाँले तुरहीको चाड र प्रायश्चितको दिन पनि मान्नुभयो भन्ने कुरा प्रमाणित हुन्छ ।[३१]
सुसमाचारको मूल्य
मानव-जातिलाई स्वर्गतर्फ डोऱ्याउने सुसमाचारको मूल्यलाई महसुस गरेका प्रेरित पावलले सुसमाचार प्रचारको मिशनलाई अमूल्य ठाने,[३२][३३] अनि प्रत्येक मण्डलीमा पत्र पठाउँदैपिच्छे सन्तहरूलाई सुसमाचारको महत्त्वबारे जागृत गराए ।[३४] एफिसीको पुस्तकमा सुसमाचारमा समाविष्ट आशिष्हरूबारे लेखिएको छ ।
जब तिमीहरू यो पढ्छौ, ख्रीष्टको रहस्यबारे मेरो आन्तरिक समझ के छ, सो तिमीहरू बुझ्न सक्छौ । जुन कुरा उहाँका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई पवित्र आत्माद्वारा अहिले प्रकट भएको छ, त्यो अरू पुस्ताका मानिसहरूलाई जनाइएको थिएन, अर्थात् सुसमाचारद्वारा नै अन्यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन् ।
यो वचनमा, परमेश्वरलाई नचिनेका अन्यजातिहरू समेत सुसमाचारद्वारा सह-उत्तराधिकारी, एउटै शरीरका अङ्ग र ख्रीष्ट येशूमा रहेको प्रतिज्ञाका साझेदार बन्न सक्छन् भनेर लेखिएको छ । अर्थात् हामीहरू परमेश्वरका उत्तराधिकारी भएर स्वर्गको राज्यलाई उत्तराधिकारको रूपमा प्राप्त गर्नेछौं,[३५][३६][३७] ख्रीष्टको शरीरका अङ्गहरू हुनेछौं,[३८] र अनन्त जीवनको प्रतिज्ञा प्राप्त गरी स्वर्गको राज्यमा सदासर्वदा जिउनेछौं भन्ने कुरा हो ।[३९][४०] यी सबै आशिष्हरू सुसमाचारको केन्द्रीय सत्यता रहेको नयाँ करार निस्तार-चाडमा समावेश छन् । नयाँ करार निस्तार-चाडको रोटी र दाखमद्यले परमेश्वरको देह र रगतलाई सङ्केत गर्ने भएकोले निस्तार-चाडद्वारा हामीहरू परमेश्वरको देह र रगतमा सहभागी भई परमेश्वरका सन्तान, अर्थात् परमेश्वरका उत्तराधिकारीहरू बन्न सक्छौं । साथै हामीहरू ख्रीष्टभित्र एउटै शरीर भई ख्रीष्टको शरीरका अङ्गहरू पनि बन्न सक्छौं ।[४१] निस्तार-चाडमा अनन्त जीवनको प्रतिज्ञा पनि समावेश छ ।[२५]
त्यसैले नयाँ करार निस्तार-चाड समाविष्ट सुसमाचारविना कुनै हालतमा पनि अनन्त जीवन र स्वर्गको राज्य प्राप्त गर्न सकिँदैन । सुसमाचारचाहिँ हामीले मुक्ति पाउनलाई जान्नैपर्ने र मान्नैपर्ने महत्त्वपूर्ण सन्देश हो । सुरुको मण्डलीका प्रेरितहरू र सन्तहरूले सुसमाचारको मूल्यलाई आफ्नो हृदयमा खोपेर, येशूज्यूको शिक्षा र उदाहरणलाई पछ्याउँदै निस्तार-चाड,[४२] शबाथ-दिन[४३][४४] र बप्तिस्मा[४५] जस्ता नयाँ करार सुसमाचार मानेर प्रचार पनि गरे ।[४६] योचाहिँ, सुसमाचार प्रचार गर्ने मण्डलीमा अनिवार्य रूपमा निस्तार-चाड लगायत नयाँ करारका सबै सत्यताहरू हुनुपर्छ भन्ने कुरालाई जानकारी दिने जीवन्त शिक्षा हो ।
भिन्न सुसमाचार
येशूज्यूबाट प्रत्यक्ष शिक्षा पाएका प्रेरितहरूले संसार छोडेपछि मण्डली धर्मनिरपेक्ष हुँदैगयो र दोस्रो शताब्दीको मध्यतिरदेखि सुसमाचार अलि-अलि गर्दै परिवर्तन हुन थाल्यो । परिणामस्वरूप येशूज्यूको शिक्षामा नपर्ने यो भिन्न सुसमाचारले, केचाहिँ परिवर्तन भएको हो भन्ने कुरासमेत छुट्ट्याउन नसक्ने गरेर मानिसहरूका आँखामा छारो हाल्दै, वैधानिक शिक्षाको भेष धारण गरेको छ । सूर्य देवतालाई पुज्ने मिथ्रा धर्मको पवित्र दिन रहेको आइतबारमा आराधना गरियो,[४७] अनि मिथ्राको जन्मदिन रहेको डिसेम्बर २५लाई क्रिसमसको रूपमा मनाइयो,[४८][४९][५०] र मण्डलीमा धर्मनिरपेक्षता र विधर्म भित्रिने क्रममा क्रूस-श्रद्धाको सिद्धान्त अपनाइयो ।[५१] यसको अतिरिक्त बाइबलमा उल्लेख नभएको थ्याङ्क्सगिभिङ डे, र पुनरुत्थानको दिनमा अण्डा खाएर मनाइने इस्टर पनि सबै भिन्न सुसमाचार हुन् ।
यस्ता भिन्न सुसमाचार मान्नेहरू झट्ट हेर्दा परमेश्वरका प्रजा जस्तो देखिए तापनि यिनीहरू कदापि स्वर्गमा प्रवेश गर्न सक्नेछैनन् भनेर येशूज्यूले भन्नुभएको छ ।[५२] येशूज्यूले सिकाउनुभएको सुसमाचार बाहेकका भिन्न सुसमाचार प्रचार गर्ने वा पालन गर्नेहरूले अनन्त विनाशको दण्ड भोग्नेछन् भनेर प्रेरितहरूले पनि चेताउनी दिएका छन् ।
यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ । परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ । तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन् ।
मलाई आश्चर्य लागिरहेछ, कि ख्रीष्टको अनुग्रहमा तिमीहरूलाई बोलाउनुहुनेलाई यति चाँड़ै त्यागेर तिमीहरू भिन्न सुसमाचारतिर लागिरहेछौ । वास्तवमा अर्को सुसमाचार छैन, तर यस्ता कोही-कोही छन्, जसले ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्छन् । हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गऱ्यो भने पनि त्यो व्यक्ति श्रापित होस् ।
यो पनि हेर्नुहोस्
- सुसमाचारको अर्थ
- सुसमाचारको आरम्भ
- राज्यको सुसमाचार
- सुसमाचार र नयाँ करार
- सुसमाचारको मूल्य
- भिन्न सुसमाचार
सन्दर्भ सामग्रीहरू
- ↑ Bill Mounce। "εὐαγγέλιον"। ग्रीक शब्दकोश।
- ↑ "मत्ती २४:१४"।
- ↑ "मत्ती २८:१८-२०"।
- ↑ ४.० ४.१ "यूहन्ना ८:३२-३४"।
- ↑ "रोमी ३:९-१०"।
- ↑ "रोमी ६:२३"।
- ↑ "१ राजा २०:४२"।
- ↑ ८.० ८.१ "यूहन्ना १:२३-३४"।
- ↑ "मत्ती ११:१३"।
- ↑ "लूका १६:१६"।
- ↑ "यूहन्ना १३:१५-१७"।
- ↑ "कलस्सी १:२३"।
- ↑ "२ कोरिन्थी ३:६"।
- ↑ "यर्मिया ३१:३१-३३"।
- ↑ "मत्ती ५:१७"।
- ↑ "प्रेरित २:३८"।
- ↑ "रोमी ६:१-४"।
- ↑ "लूका ३:२१"।
- ↑ "यूहन्ना ३:२२-२३"।
- ↑ "१ पत्रुस ३:२१"।
- ↑ "उत्पत्ति २:१-३"।
- ↑ "प्रस्थान २०:८-११"।
- ↑ "यूहन्ना ४:२३"।
- ↑ "मत्ती २४:२०-२१"।
- ↑ २५.० २५.१ "यूहन्ना ६:५४"।
- ↑ "यूहन्ना १९:३४"।
- ↑ "हिब्रू ९:१५-१७"।
- ↑ "मत्ती २६:१७-२८"।
- ↑ "प्रस्थान १२:११-४२"।
- ↑ "यूहन्ना ७:२, ३७-३९"।
- ↑ "व्यवस्था १६:१६"।
- ↑ "रोमी १५:१६"।
- ↑ "१ थेसलोनिकी २:३-४"।
- ↑ अध्याय ३१ नयाँ करारको विधि, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङ, पेज १९९, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
- ↑ "रोमी ८:१६-१८"।
- ↑ "दानिएल ७:१७-१८"।
- ↑ "१ कोरिन्थी २:६-९"।
- ↑ "१ कोरिन्थी १२:२७"।
- ↑ "१ यूहन्ना २:२५"।
- ↑ "प्रकाश २२:१-६"।
- ↑ "१ कोरिन्थी १०:१६-१७"।
- ↑ "१ कोरिन्थी ११:२३-२६"।
- ↑ "लूका २३:५४-५६"।
- ↑ "प्रेरित १७:१-३"।
- ↑ "प्रेरित १०:३७-४८"।
- ↑ "प्रेरित २०:२४"।
- ↑ "A Study of Mithraism"। स्ट्यान्फोर्ड विश्वविद्यालय।
- ↑ टिम डोउली, ख्रीष्टियान धर्मको इतिहास[A Lion handbook], लायन प्रकाशन, सन् १९७७ जनवरी १, पेज १४१, ISBN: 0856480738
- ↑ "How Christians co-opted the winter solstice"। Big Think। नोभेम्बर २१, २०१८।
- ↑ "स्याटर्नालिया"। World History Encyclopedia। डिसेम्बर १६, २०१६।
- ↑ एभरेट एफ् ह्यारिसन, Baker's Dictionary of Theology, पेज १५२, बेकर पब ग्रूप, सन् १९८७ मे १
- ↑ "मत्ती ७:२१-२३"।