शबाथ-दिन

शबाथ-दिनचाहिँ परमेश्वरले ६ दिनको सृष्टि कार्यपछि सातौँ दिनमा विश्राम गर्नुभएको कुराबाट उत्पन्न भएको परमेश्वरको आज्ञा हो । परमेश्वरले दश आज्ञामध्ये चौथो आज्ञाको रूपमा “शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू” भन्नुभयो ।
येशूज्यूले नयाँ करारको शबाथ-दिन मानेर उदाहरण देखाउनुभयो । त्यो उदाहरणलाई पछ्याउँदै सुरुको मण्डलीका प्रेरितहरू र सन्तहरूले पनि नयाँ करारको शबाथ-दिन माने । हामीले युगको अन्त्यसम्मै शबाथ-दिन मान्नुपर्छ भनेर बाइबलमा लेखिएको छ । शबाथ-दिनचाहिँ परमेश्वर र उहाँका प्रजाबीचको चिन्ह र अनन्त विश्रामको प्रतीक हो । यसकारण नयाँ करारको शबाथ-दिन मान्नेहरू मात्र स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछन् ।
व्युत्पत्ति
शबाथ-दिनको अर्थ विश्राम गर्ने दिन हो । हिब्रू भाषामा शबाथलाई ‘शाबात्’(שַׁבָּת)[१] भनिन्छ, जुन ‘शावात्’(שָׁבַת)[२] भन्ने शब्दबाट व्युत्पन्न भएको हो, जसको अर्थ ‘कामबाट आराम, विश्राम’[३] हो । ग्रीकमा यसलाई ‘शाबातोन’(σαββάτων) भनिन्छ ।
शबाथको उत्पत्ति

परमेश्वरले ६ दिनसम्म आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभएर सातौँ दिनमा विश्राम गर्नुभएको कुराबाट शबाथको उत्पत्ति भयो । उहाँले सातौँ दिनलाई आशिष् दिनुभएर त्यसलाई पवित्र तुल्याउनुभयो ।[४] अर्थात् सातौँ दिन शबाथ-दिन मान्नेहरूले आशिष् पाउनेछन्[५] र पवित्र तुल्याइनेछन् भन्ने अर्थ हो । मोशाको समयमा, परमेश्वरले शबाथलाई दश आज्ञामध्ये चौथो आज्ञाको रूपमा तोक्नुभयो र यो दिनलाई सृष्टिकर्ताको शक्ति सम्झना गर्ने दिन भन्नुभयो ।
“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू । छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो ... किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो ।
परमेश्वरले आफ्ना प्रजालाई शबाथ-दिन मान्नू भन्ने आज्ञा दिनुहुँदैपिच्छे, आकाश र पृथ्वी सृष्टि गर्नुभएको कुरा उल्लेख गरिएको छ ।[६] यसरी शबाथ मान्दैपिच्छे परमेश्वरले हामीलाई उहाँको अर्थात् सृष्टिकर्ताको शक्तिलाई सम्झने गर्ने गराउनुहुन्छ । सृष्टिकर्ता परमेश्वरलाई पुज्ने सही तरिका भनेकै शबाथ-दिन पवित्र रूपले मान्नु हो ।
पुरानो करारको शबाथ-दिन
पुरानो करारको समयमा पूजाहारीहरूले शबाथमा थुमा काटेर त्यसलाई रगतसहित होमबलि, अन्न-बलि र तेलले मुछेको मसिनो पीठोको अर्घ-बलि चढाउने गर्थे ।[७] साथै तिनीहरूले १२ वटा रोटी बनाएर त्यसलाई निखुर सुनको टेबिलमा परमेश्वरको सामु टक्र्याउँथे ।[८] आम मानिसहरूले चाहिँ कुनै काम नगरीकन शबाथ-दिन मान्ने गर्थे ।[९] मानिसले मात्र काम नगर्ने होइनकि सो दिन गाईबस्तुलाई पनि काममा लगाउँदैनथे, यहाँसम्म कि चुल्होमा आगोसमेत बाल्दैनथे ।[१०]
नयाँ करारको शबाथ-दिन
- शबाथ-दिन मान्नुभएका येशूज्यू

पुरानो करारको व्यवस्थाको शबाथचाहिँ नयाँ करारको समयमा पूरा हुने कार्यको छाया हो ।[११][१२] शबाथ-दिनमा थुमाको बलिको रगतचाहिँ पुरानो करारको बलिको वास्तविकताको रूपमा येशूज्यूले मानव-जातिको मुक्तिको निम्ति रगत बगाउनुहुने कुरालाई दर्शाउने नमूना थियो ।[१३] त्यसैले वास्तविकता प्रकट भएको नयाँ करारको समयमा त्यसउप्रान्त शबाथ-दिनमा पशु बलि गर्न आवश्यक परेन । त्यतिका समयसम्म हरेक शबाथमा यरूशलेम मन्दिरमा गरिँदैआएको थुमा बलि, अब भने गर्न आवश्यक छैन तर हामीले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ भनेर येशूज्यूले सिकाउनुभयो ।[१४] अनि हरेक शबाथमा बाइबल बोकेर आराधना गर्नुपर्ने कुराको उदाहरण देखाउनुभयो ।
उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो ।
येशूज्यू आत्मिक प्रधान पूजाहारी[१५] हुनुभए तापनि उहाँले पुरानो करारको समयका पूजाहारीहरूले झैँ थुमा बलि गरेर शबाथ मान्नुभएन, तर सभाघरमा जानुभएर बाइबलद्वारा मानिसहरूसित तर्क गर्नुभयो । ‘आफ्नो आदतअनुसार’ भन्ने अभिव्यक्तिलाई हेर्दा, येशूज्यूले एक-दुई चोटि मात्र होइन तर हरेक चोटि शबाथ मान्नुभयो भन्ने यथार्थता जान्न सकिन्छ ।[१६][१७]
साथै शबाथ-दिनमा अन्य कामकाज गर्न निषेध गर्ने व्यवस्थालाई पनि येशूज्यूले परिवर्तन गरिदिनुभयो । येशूज्यूका चेलाहरूले शबाथमा अन्नका बाला टिपेर खाए, र येशूज्यूले शबाथमा बिरामीहरूलाई निको पार्नुभयो । यो देखेर, पुरानो करारको व्यवस्थालाई जोड दिने ती यहूदीहरूले येशूज्यूलाई, शबाथको नियम उल्लङ्घन गरेको आरोप लगाए । तर शबाथका प्रभु हुनुभएका येशूज्यूले आफ्ना चेलाहरूको पक्षमा रहेर प्रतिकार गर्नुभयो, र बिरामीहरूलाई निको पार्ने काम गर्नुभयो ।[१८] शबाथमा परमेश्वरलाई आराधना गर्ने धर्मविधि येशूज्यूद्वारा पूर्ण रूपमा परिवर्तन भएकोले नयाँ करारको समयका सन्तहरूले येशूज्यूको उदाहरणलाई पछ्याउँदै हरेक शबाथमा आत्मा र सत्यतामा आराधना गरे ।[१९]
- शबाथ-दिन मानेका प्रेरितहरू
येशूज्यूको स्वर्गारोहणपछि पनि, प्रेरितहरू र सुरुको मण्डलीका सन्तहरूले नयाँ करारको शबाथ-दिन माने । येशूज्यूको स्वर्गारोहणपछि ख्रीष्टलाई विश्वास गरेर प्रेरित बनेका पावलले येशूज्यूको उदाहरणलाई पछ्याउँदै आफ्नो आदतअनुसार हरेक हप्ता शबाथ-दिन माने ।[२०]
पावल आफ्नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए, र तीन सातासम्म धर्मशास्त्रबाट तिनीहरूसँग बहस गर्दैरहे । “ख्रीष्टलाई अवश्य दुःख भोग्नु र मृतकबाट जीवित हुनुपर्थ्यो, र यी नै येशू, जसको सुसमाचार म तपाईंहरूलाई सुनाउँछु, उहाँ नै ख्रीष्ट हुनुहुन्छ” भन्ने कुराको अर्थ खोलिकन तिनले प्रमाणित गरिदिए ।
प्रेरित पावलले “मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुसरण गर्दछु” भनेका छन् ।[२१] येशूज्यूको शिक्षामा आज्ञाकारी भएका प्रेरितहरूको उदाहरणलाई पछ्याउँदै नयाँ करारको समयका सन्तहरूले पनि शबाथ-दिन पवित्र रूपमा मान्नुपर्छ ।
- हामीले संसारको अन्त्यसम्म मान्नुपर्ने शबाथ-दिन
हामीले संसारको अन्त्यसम्म शबाथ-दिन मान्नुपर्छ भनेर येशूज्यूले सिकाउनुभयो ।
येशू जैतून डाँडामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ ?” ... “हिउँदमा वा शबाथमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर । किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, जो जगत्को सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ ।”
चेलाहरूले युगको अन्त्यबारे येशूज्यूलाई सोध्दा उहाँले “जगत् सुरु भएदेखि अहिलेसम्म नभएको महासङ्कष्ट हुनेछ, र त्यस बेला हिउँदमा वा शबाथमा भाग्न नपरोस् भनी प्रार्थना गर” भन्नुभयो । हिउँदमा अत्यधिक जाडोले गर्दा सन्तहरूलाई भागदौड गर्न निकै कष्ट हुने, अनि शबाथ-दिनमा चाहिँ सन्तहरूले शबाथको आराधना पवित्र रूपले गर्नुपर्ने भएकोले येशूज्यूले यस्तो वचन दिनुभएको हो । यो कुराद्वारा, परमेश्वरका प्रजाले अन्तिम महासङ्कष्ट आउने अन्त्यको दिनसम्मै शबाथ मान्नुपर्छ भन्ने कुरा प्रमाणित हुन्छ ।
येशूज्यूचाहिँ आदिदेखि अन्त्यसम्म सबै कुरा देख्नुहुने परमेश्वर हुनुहुन्छ ।[२२] परमेश्वरका प्रजाले युगको अन्त्यसम्म शबाथ-दिन मान्न आवश्यक नपर्ने भए येशूज्यूले “हिउँदमा वा शबाथमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर” भनेर भन्नुहुने नै थिएन ।
यसकारण नयाँ करारको समयमा शबाथ-दिन मान्न आवश्यक छैन भन्नु भनेको येशूज्यूको शिक्षाविपरीतको जिद्दी मात्र हो । नयाँ करारको समयमा अर्थात् येशूज्यूको क्रूसीकरणपछि शबाथ-दिन रद्द भनेर बाइबलमा कतै पनि लेखिएको छैन । परमेश्वरका प्रजाले येशूज्यूको शिक्षालाई याद गर्दै युगको अन्त्यसम्म शबाथ-दिन मान्नुपर्छ ।
शबाथको आशिष्
परमेश्वरका प्रजाको चिन्ह
परमेश्वरका प्रजालाई चिनाउने स्पष्ट चिन्ह नै शबाथ-दिन हो । सन्तहरूले शबाथ-दिनद्वारा, उनीहरूलाई पवित्र तुल्याउनुहुने परमेश्वरलाई चिन्दछन् । त्यसै गरी परमेश्वरले पनि शबाथ मान्नेहरूलाई आफ्ना प्रजाको रूपमा स्वीकार्नुहुन्छ ।[२३]
“तैंले इस्राएलीहरूलाई यसो पनि भन्नू: तिमीहरूले निश्चय मेरा शबाथहरू मान्नू । तिमीहरू र मेरो बीचमा यो एउटा चिन्ह हुनेछ, कि म, परमप्रभु नै, तिमीहरूलाई पवित्र गर्दछु भनी तिमीहरूले थाहा पाओ । ‘तिमीहरूले शबाथ मान्नू, किनभने तिमीहरूका निम्ति त्यो पवित्र हो । त्यो अपवित्र गर्ने निश्चय नै मारिओस् । जस-जसले त्यस दिन केही कामकाज गर्ला त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत हुनेछ । छ दिनसम्म कामकाज गरिओस्, तर सातौँ दिनचाहिँ विश्रामको शबाथ हो, जो परमप्रभुको निम्ति पवित्र हो । जस-जसले शबाथमा केही कामकाज गर्ला त्यो मारिनैपर्छ’ ।”
पुरानो करारको समयमा, शबाथ नमान्नेहरू निश्चय नै मारिनुपर्ने त्यस्तो परमेश्वरको दृढ इच्छा थियो ।[२४] यसमा, आफ्ना प्रजालाई शबाथद्वारा पवित्र तुल्याएर मुक्तितर्फ डोऱ्याउन चाहनुहुने परमेश्वरको इच्छा समावेश छ ।
हर्ष र खुशीको दिन
शबाथ मान्नेहरूले पाउने आशिष्बारे यशैया अगमवक्ताले यशैया अध्याय ५६मा वर्णन गरेका छन् ।
“त्यो मानिस धन्यको हो जसले यो गर्दछ, त्यो मानिस, जो यस कुरामा स्थिर रहन्छ, जसले शबाथ-दिन बिटुलो नपारी मान्छ, र आफ्नो हात कुनै पनि खराब गर्नबाट अलग राख्छ ... मेरा शबाथहरू पालन गर्ने, मलाई इच्छा लागेको काम गर्ने, र मेरो करारलाई दृढतापूर्वक समात्ने नपुंसकहरूलाई म मेरो मन्दिर र त्यसका पर्खालहरूभित्र छोराछोरीहरूभन्दा पनि अझ असल स्मारक तुल्याउनेछु, र तिनीहरूलाई अझ असल नाउँ दिनेछु । म तिनीहरूलाई कहिल्यै नकाटिने अनन्तको नाउँ दिनेछु । र परमप्रभुको नाउँलाई प्रेम गर्न र ख्रीष्टलाई परमप्रभुसँग बाँधेर उहाँको सेवा गर्न सक्ने विदेशी र शबाथ-दिनलाई अपवित्र नगरी शबाथ-दिन पालन गर्छन् मेरो प्रार्थनाको घरमा तिनीहरूलाई खुशी देओ । परमप्रभुको सेवा गर्न, परमप्रभुको नाउँलाई प्रेम गर्न र उहाँको आराधना गर्न, शबाथ-दिन बिटुलो नपारी मान्न र मेरो करार पालन गर्न परमप्रभुमा बाँधिएका सबै विदेशीहरूलाई म मेरो पवित्र पर्वतमा ल्याएर मेरो प्रार्थनाको घरमा आनन्दित तुल्याउनेछु । तिनीहरूका होमबलि र बलिदानहरू मेरो वेदीमा ग्रहणयोग्य हुनेछन्, किनकि मेरो भवन सबै जातिहरूका निम्ति प्रार्थनाको घर भनिनेछ ।”
शबाथ-दिन मान्नेहरूलाई परमेश्वरले खुशीसाथ परमेश्वरको पवित्र पर्वतमा ल्याउनुहुनेछ र तिनीहरूको बलिदान(आराधना)लाई खुशीसाथ ग्रहण गर्नुहुनेछ भनिएको छ । यशैया अध्याय ५८मा चाहिँ, शबाथ-दिन मान्नेहरूले परमेश्वरमा रमाहट पाउनेछन् भनेर लेखिएको छ ।[२५]
अनन्त विश्रामको चिन्ह
सन्तहरूले स्वर्गको राज्यमा पाउने अनन्त विश्रामको चिन्ह नै शबाथ हो ।[२६] उत्पत्तिको पुस्तकमा लिखित ६ दिनको सृष्टि कार्यचाहिँ परमेश्वरले ६,००० वर्षसम्म गर्नुहुने आत्मिक सृष्टि कार्यसम्बन्धी अगमवाणी हो ।[२७] ६ दिनको सृष्टिको कार्यपछि सातौँ दिनमा परमेश्वरले विश्राम लिनुभएको कुराचाहिँ मुक्तिको कार्य समाप्त भएपछि पूरा हुने १,००० वर्षको विश्राम सम्बन्धी अगमवाणी हो । प्रेरित यूहन्नाले, मुक्तिको प्रबन्ध समाप्त भएपछि विश्राम हजार वर्ष आउने कुरालाई ‘एक हजार वर्षसम्म राज्य गर्नेछन्’ भनेर व्यक्त गरेका छन् ।[२८] खासमा मुक्ति पाउने प्रजाले सदासर्वदा राज्य गर्नेछन् ।[२९] तर यहाँचाहिँ एक हजार वर्ष राज्य गर्नेछन् भनेर लेखिनुको कारणचाहिँ विश्राम हजार वर्ष आउनुअघि ६,००० वर्षको लामो मुक्तिको कार्य हुनेछ भन्ने कुरा बुझाउनको निम्ति हो । योचाहिँ शबाथ-दिनअघि ६ दिनसम्म काम गर्नु, अनि शबाथ वर्षअघि ६ वर्षसम्म खेती गर्नुजस्तै हो ।[३०]
विश्राम हजार वर्षचाहिँ अनन्त विश्राममा जोडिन्छ । त्यसैले उत्पत्तिको पुस्तकमा हेर्ने हो भने ६ दिनको सृष्टिपछिको सातौँ दिनको अन्त्यबारे कतै पनि उल्लेख गरिएको छैन । ६ दिनको विषयमा चाहिँ ‘साँझ पऱ्यो र बिहान भयो’ भनेर लेखिएको छ[३१] तर सातौँ दिनमा चाहिँ ‘साँझ पऱ्यो र बिहान भयो– सातौँ दिन’ भनेर लेखिएको छैन । यो नै सातौँ दिन, शबाथ-दिनले अनन्त विश्रामलाई जनाउँछ भन्ने अर्थ हो । अनन्त विश्रामको चिन्ह रहेको शबाथ-दिन नियमित र पवित्र रूपले मान्नेहरूले स्वर्गको राज्यमा प्रवेश गरी अनन्त विश्राम उपभोग गर्नेछन् ।
बाइबलको शबाथ-दिन शनिबार हो
परमेश्वरले सुरुदेखि तोकिदिनुभएको आशिषित र पवित्र शबाथ-दिन नै सातौँ दिन हो । हिजोआज अधिकांश मण्डलीहरूले आइतबार आराधना गर्छन्, तर बाइबल र इतिहास लगायतका विभिन्न प्रमाणहरूलाई हेर्ने हो भने बाइबलको आराधनाको दिन रहेको शबाथ-दिनचाहिँ शनिबार हो ।

- आधार १. बाइबल
पात्रोमा हेर्ने हो भने सातौँ दिन रहेको शबाथ-दिनचाहिँ शनिबार हो । बाइबलमा लिखित येशूज्यूको पुनरुत्थानको दृश्यद्वारा पनि यो कुरालाई निश्चित गर्न सकिन्छ ।
शबाथ-दिन बितेपछि ... हप्ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभएपछि उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो । तिनीबाट येशूले सात वटा भूतहरू निकाल्नुभएको थियो ।
येशूज्यू हप्ताको पहिलो दिनमा पुनरुत्थान हुनुभयो भनेर बाइबलमा लेखिएको छ । यहाँ हप्ताको पहिलो दिनले शबाथ बितेपछि आउने दिनलाई जनाउँछ । किनभने ‘शबाथ-दिन बितेपछि हप्ताको पहिलो दिन’ भनेर लेखिएको छ (मर्क १६:१-२) । यसकारण येशूज्यू शबाथको भोलिपल्ट पुनरुत्थान हुनुभएको कुरा जान्न सकिन्छ । येशूज्यू आइतबार पुनरुत्थान हुनुभएको कुरा प्रायः सबैलाई राम्ररी थाहा छ । सरल नेपाली बाइबल, मर्कूस १६:९मा “येशू आइतबार बिहानै मरेकाबाट बिउँतनुभएपछि ...” भनेर लेखिएको छ । यदि शबाथ-दिन बितेपछि आइतबार आउँछ भने शबाथ-दिन निश्चय नै शनिबार हो । यसकारण बाइबलको शबाथ-दिन शनिबार हो ।
- आधार २. क्याथोलिक सिद्धान्तको पुस्तक
आइतबारको सेवा गर्ने रोमन क्याथोलिक मण्डलीले पनि बाइबलको शबाथ-दिन शनिबार हो भनी स्वीकार्दछ ।
“ अन्य उदाहरणहरूको कुरा गरिरहन आवश्यक छैन, के प्रत्येक ख्रीष्टियानहरू आइतबारलाई पवित्र मान्न र अनावश्यक कार्यबाट आफूलाई टाढा राख्न बाध्य छैनन् र ? हाम्रा सम्पूर्ण पवित्र कार्यहरूमा सबैभन्दा महत्त्वपूर्ण कुरा व्यवस्थामा यो विधि पालन गर्नु होइन र ? तर तपाईंले बाइबलको उत्पत्तिदेखि प्रकाशसम्म पढ्नुभयो भने आइतबारलाई पवित्र मान्न स्वीकृति दिने एउटा पङ्क्ति पनि भेट्टाउनुहुनेछैन । धर्मशास्त्रले हामीलाई शनिबारलाई धार्मिक विधिको रूपमा पालन गर्न जोड दिएको छ, जुन दिन हामी कहिल्यै पवित्र रूपले पालन गर्दैनौं । “ — द फेथ अफ आवर फादर्स, जेम्स कार्डिनल गिब्बन्स, ट्यान बुक्स एन्ड पब्लिसर्स, सन् १९८०, पेज नं. ७२-७३
“ “मैले बाइबलको उत्पत्तिको पहिलो पददेखि प्रकाशको अन्तिम पदसम्म पढेको छु, तर आइतबारको दिनलाई पवित्र मान्नू भन्ने त्यस्तो कुनै पनि अभिलेख भेटेको छैनँ । बाइबलमा उल्लेख गरिएअनुसार, हप्ताको पहिलो दिन आइतबारलाई मान्नू भनिएको छैन तर हप्ताको अन्तिम दिन शनिबारलाई मान्नू भनिएको छ ।” “ — द फेथ अफ मिलियन्स, जोन ए. ओ’ब्रायन, आवर सन्डे भिजिटर, Inc., सन् १९७४, पेज १३७
यसरी आइतबार आराधना गर्नेसम्बन्धी वचन बाइबलमा कहीँ पनि छैन । बाइबलको शबाथ-दिन निश्चय नै शनिबार हो ।
- आधार ३. ऐतिहासिक अभिलेख
ई.पू. ६३मा पोम्पेको रूपमा परिचित रोमी सेनापति पोम्पिउसले यरूशलेमको विजयबारे लेखेका दुई ऐतिहासिक पुस्तकहरूलाई तुलना गर्ने हो भने बाइबलको शबाथ-दिन शनिबार रहेको कुरा जान्न सकिन्छ ।
यहूदीहरू सातौँ दिन शबाथमा काम गर्दैनन् भन्ने कुराको फाइदा उठाएर पोम्पीले यरूशलेममाथि विजय गरेको कुरा पहिलो शताब्दीका यहूदी इतिहासकार योसेफसले लेखे । जब पोम्पेले सेनालाई नेतृत्व गरी यरूशलेमलाई घेरा हाले, तब यहूदीहरूले आफ्नो सहरको प्रतिरक्षा मात्र गर्दै, सातौँ दिन शबाथमा कुनै आक्रमण नगरेका कुरा पनि तिनले बताए । हरेक शबाथमा रोमीहरू चूपचाप मन्दिर वरपरका बेँसी र उपत्यकातिर बसेर हातहतियारहरू ढुवानी गर्ने गर्थे । अन्ततः ३ महिनाभित्र यरूशलेम मन्दिर कब्जा गरियो ।[३२]
यहूदीहरूले ‘शनिको दिन’मा कुनै कामकाज नगर्ने भएकाले रोमीहरूका लागि यरूशलेमको पर्खाल भत्काउन धेरै नै सजिलो थियो भनेर रोमी इतिहासकार क्यासियस डियोले तेस्रो शताब्दीको सुरुतिर लेखेका थिए ।[३३]
यो नै, यहूदीहरूले शबाथको रूपमा मान्ने गरेको सातौँ दिनलाई रोमीहरूले शनिको दिनको रूपमा शनिबारमा मान्ने गर्थे भन्ने अर्थ हो । तसर्थ येशूज्यू र प्रेरितहरूले मान्नुभएको शबाथ-दिनचाहिँ शनिबार थियो भन्ने कुरा प्रष्ट हुन्छ ।
- आधार ४. दैनिक बोलीचाली
शबाथ-दिन शनिबार हो भन्ने कुरा केही भाषाका शब्दार्थमा पनि देख्न सकिन्छ । स्पेनी भाषामा शनिबारलाई ‘साबादो(sábado) अर्थात् शबाथ भनिन्छ । निम्न तालिकाचाहिँ हिब्रू शब्द शबाथ’को अर्थ शनिबार हो भन्ने कुराका केही उदाहरणहरू हुन् ।
Language | Saturday Notation |
---|---|
स्पेनी | Sábado (स्याबादो) |
पोर्चुगिज | Sábado (स्याबादु) |
ईटालेली | Sabato (साबातो) |
ग्रीक | Σάββατο(सावातो) |
पोलिश | Sobota (सोबोता) |
क्रोएसियाली | Subota (सुबोता) |
बुल्गेरियाली | Събота (सबोता) |
इन्डोनेसियाली | hari Sabtu(हारी साब्तु) |
शबाथप्रति हरेक सम्प्रदायको दृष्टिकोण
यहूदी धर्म
यहूदी शबाथचाहिँ शुक्रबारको सूर्यास्तबाट सुरु भएर शनिबारको सूर्यास्तमा समाप्त हुन्छ । शबाथमा कुनै कामकाज गर्नुहुँदैन भन्ने पुरानो करारको व्यवस्थाअनुसार अहिले पनि इस्राएल देशमा सरकारी कार्यालय, रेस्टुरेन्ट र बजारहरू शनिबारमा बन्द हुन्छन् अनि बस, रेल लगायत अन्य सार्वजनिक यातायातहरू पनि ठप्प हुन्छन् ।[३४] शुक्रबारको दिन घाम अस्ताउनुअघि प्रत्येक घरमा दुई वटा मैनबत्ती बालिन्छ, र शबाथ सुरु हुने बेलामा तिनीहरू शबाथको रोटी र दाखमद्यद्वारा रात्री भोजन गर्छन्, जसलाई ‘हाला’ भनिन्छ । शबाथलाई कडाइका साथ पालन गर्ने कट्टर यहूदीहरूलाई, बिजुलीको स्विच अन/अफ गर्न समेत निषेध छ । त्यसैले प्रायःजसो घरहरूमा बत्तीहरू स्वचालित रूपमा बन्द गर्ने उपकरणहरू राखिएका हुन्छन् । शबाथ-दिनमा बटन थिच्न नपरोस् भनेर होटल तथा ठूला भवनहरूका प्रत्येक तलाहरूमा स्वचालित रूपमा रोकिने लिफ्ट राखिएको हुन्छ ।[३५]
एल् अल् इस्राएल वायुसेवाले शबाथ-दिनमा उडानहरू भर्दैन । विमानस्थलहरूले पनि उडान र अवतरण बन्द गर्ने भएकाले वायुसेवा कम्पनीहरूले शबाथ-दिनभन्दा अघि वा पछि आफ्नो समयतालिका मिलाउनुपर्ने हुन्छ । अझ, कट्टर यहूदीहरू बसोबास गर्ने क्षेत्रमा त, विदेशी अथवा अन्य क्षेत्रका मानिसहरू शबाथ-दिनमा त्यो क्षेत्रमा प्रवेश नगरून् भनेर त्यस क्षेत्रको प्रवेशद्वार नै बन्द गरिएको हुन्छ । तैपनि यदि त्यहाँ कुनै कार घुस्यो भने यहूदीहरूले त्यो कारलाई ढुङ्गा हानेर तोडफोड गरिदिन्छन् ।[३६][३७]
क्याथोलिकवाद
बाइबलमा शबाथ-दिन शनिबार हो भनिएको छ तर क्याथोलिक मण्डलीले प्रभुको दिन(आइतबार) आराधना गर्ने सिद्धान्त बनाएर लागू गऱ्यो ।
“ तर बाइबलमा चाहिँ आइतबार होइनकि शनिबार भनेर उल्लेख गरिएको छ । यसकारण आफ्नो मण्डलीचाहिँ अन्य मण्डलीजस्तो होइन तर बाइबलअनुसार छ भनेर दाबी गर्ने गैर-क्याथोलिकहरूले पनि शनिबारको सट्टा आइतबारकै दिनमा आराधना गर्नु चासोको विषय होइन र ? साँच्चै विरोधाभासपूर्ण छ । तर यस्तो परिवर्तनचाहिँ प्रोटेस्टेन्टवादको उदय हुनुभन्दा करीब १५औँ शताब्दीअघि लागू भएको थियो, अनि त्यस बेला यो प्रथा विश्वव्यापी रूपमा मान्ने गरिन्थ्यो । यो प्रथा बाइबलको अभिलेखमा नभएर क्याथोलिक मण्डलीको अधिकारमा केन्द्रित भए तापनि तिनीहरूले यो प्रथालाई निरन्तरता दिँदैआएका छन् । “ — द फेथ अफ मिलियन्स, जोन ओ’ब्रायन, आवर सन्डे भिजिटर, Inc., सन् १९७४, पेज नं. ४००-४०१
वास्तवमा आइतबार सूर्य पूजा गर्ने दिन थियो, तर क्याथोलिक मण्डलीले चाहिँ सुरुका ख्रीष्टियानहरूले ख्रीष्टको पुनरुत्थान र पवित्र आत्मा आगमन भएको आइतबारको दिनलाई ‘प्रभुको दिन’को रूपमा सम्झना गर्थे भनेर जिद्दी गर्छ ।[३८]
दश आज्ञामध्ये चौथो आज्ञा रहेको शबाथ-दिनलाई, क्याथोलिक मण्डलीले जथाभावी परिवर्तन गरिदियो । यति मात्र होइन, यसले पाँचौँ शताब्दीतिर दश आज्ञालाई अलि यथोचित रूपले वर्गीकरण गर्नुपर्छ भन्ने बहानामा ‘शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू’ भन्ने आज्ञालाई “परमप्रभुको दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू” भन्ने आज्ञामा परिवर्तन गरिदियो ।[३९]
प्रोटेस्टेन्टवाद
केल्विनवादी आस्था समाविष्ट ‘द वेस्टमिन्स्टर कन्फेशन अफ् फेथ’को अध्याय २१का अनुसार, प्रोटेस्टेन्टहरूको दाबी यस प्रकार छ : “शबाथ-दिनचाहिँ संसारको सृष्टि भएदेखि येशूज्यूको पुनरुत्थानसम्म हप्ताको अन्तिम दिनको रूपमा रहँदैआएको थियो । तर येशूज्यूको पुनरुत्थानपछि यसलाई हप्ताको पहिलो दिन(आइतबार)मा परिवर्तन गरियो ।[४०] तिनीहरूले प्रेरित २०:७[४१] र १ कोरिन्थी १६:२[४२] को वचनलाई उल्लेख गर्दै, सुरुको मण्डलीले हप्ताको पहिलो दिन रहेको आइतबारमा आराधना गरेका थिए भनेर जिद्दी गर्छन् ।[४३] तर प्रेरित अध्याय २०को वचनचाहिँ पुनरुत्थानको दिनलाई सम्झना गर्नेबारे हो भने १ कोरिन्थी अध्याय १६को वचनचाहिँ यरूशलेममा विशेष भेटी सहयोग गर्नेबारे हो, साप्ताहिक रूपमा आइतबार आराधना गर्नेबारे होइन ।
विश्राम मण्डली
सेभेन्थ डे एड्भेन्टिस्ट चर्च(विश्राम मण्डली)ले, सूर्यास्तदेखि दिनको सुरुआत हुन्छ भनेर मान्ने यहूदी परम्परालाई पछ्याउँछ, र शबाथ-दिनचाहिँ शुक्रबारको सूर्यास्तदेखि सुरु भएर शनिबारको सूर्यास्तमा समाप्त हुन्छ भनी दाबी गर्दछ । त्यसैले तिनीहरू शुक्रबार साँझ, शनिबार बिहान र दिउँसो आराधना गर्ने गर्छन् । साथै विश्राम मण्डलीले शबाथचाहिँ परमेश्वर र उहाँका प्रजाबीचको चिन्ह हो भन्ने बाइबलको वचनलाई उद्धृत गर्दै शबाथ परमेश्वरको छाप हो भनेर पनि दाबी गर्दछ ।[४४]
शबाथ-दिन मान्ने परमेश्वरको मण्डली
येशूज्यू र उहाँका चेलाहरूले गर्नुभएजस्तै, नयाँ करारको शबाथ-दिन मान्ने एकमात्र मण्डली नै परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हो ।[४५] बाइबलको समय गणनाअनुसार, सूर्य उदाएपछि दिनको सुरुवात हुन्छ । त्यसैले परमेश्वरको मण्डलीले शनिबार बिहान, दिउँसो र साँझ आराधना गर्छ । यो मण्डलीले शबाथमा सृष्टिकर्ता एलोहिम परमेश्वरको शक्तिलाई सम्झना गर्छ, र शबाथचाहिँ परमेश्वर र उहाँका प्रजाबीचको चिन्ह, अनन्त विश्रामको चिन्ह हो भनी विश्वास गर्दछ ।
यो पनि हेर्नुहोस्
सम्बन्धित भिडियो
- प्रवचन : महासचिव पास्टर गिम जु छलको प्रवचन, ‘शबाथ र परमेश्वरको आशिष्’
- “तपाईं मण्डली कहिले जानुहुन्छ ?”
सन्दर्भ सामग्रीहरू
- ↑ 7676. shabbath, Bible Hub
- ↑ 7673. shabath, Bible Hub
- ↑ "उत्पत्ति २:२"।
- ↑ "उत्पत्ति २:१-३"।
- ↑ "यशैया ५६:२"।
- ↑ "प्रस्थान ३१:१६-१७"।
- ↑ "गन्ती २८:९-१०"।
- ↑ "लेवी २४:५-८"।
- ↑ "प्रस्थान २०:८-१०"।
- ↑ "प्रस्थान ३५:३"।
- ↑ "हिब्रू १०:१"।
- ↑ "कलस्सी २:१६-१७"।
- ↑ "हिब्रू १०:११-१२"।
- ↑ "यूहन्ना ४:२१-२३"।
- ↑ "हिब्रू ५:८-१०"।
- ↑ "मर्कूस १:२१"।
- ↑ "लूका ६:६"।
- ↑ "मत्ती १२:१-१४"।
- ↑ "यूहन्ना १३:१५"।
- ↑ "प्रेरित १८:४"।
- ↑ "१ कोरिन्थी ११:१"।
- ↑ "यशैया ४६:१०"।
- ↑ "इजकिएल २०:१०-१२"।
- ↑ "गन्ती १५:३२-३६"।
- ↑ "यशैया ५८:१३-१४"।
- ↑ "हिब्रू ४:४-६"।
- ↑ "२ पत्रुस ३:८"।
- ↑ "प्रकाश २०:४"।
- ↑ "प्रकाश २२:५"।
- ↑ "लेवी २५:३-५"।
- ↑ "उत्पत्ति १:५"।
- ↑ Antiquities of the Jews, फ्लेभियस जोसेफस, पुस्तक १४, अध्याय ४, पेज नं. ३९०-३९१, १५४४
- ↑ Roman History, पुस्तक ३७, अध्याय १६, डिओ क्यासियस, अर्नेस्ट क्यारी, हर्बर्ट बि. फोस्टरद्वारा अनुवादित, लोएब शास्त्रीय पुस्तकालय ५३. क्याम्ब्रिज, MA: हार्वर्ड विश्वविद्यालय प्रेस, सन् १९१४
- ↑ SHABBAT, तेल आबिब याफो, Tourist Israel
- ↑ Shabbat’s Work Prohibition, My Jewish Learning
- ↑ The Rough Guide to Jerusalem, ड्यानियल ज्याकोब्स, पेज, Rough Guides; दोस्रो संस्करण, सन् २००९ अक्टोबर १९, ISBN 1848361939
- ↑ चाँदीको सेटिङ : यहूदीवादको परिचय, स्टिफन एम्. वाइलेन, पेज १२९, Paulist Press, दोस्रो संस्करण, सन् २००० जुलाई १
- ↑ The Sabbath or the Lord's Day, Catholic News Agency.
- ↑ The Catholic Ten Commandments, Catholic Answers, सन् २००४ मार्च १
- ↑ The Westminster Confession of Faith, Ligonier Ministries.
- ↑ "प्रेरित २०:७"।
- ↑ "१ कोरिन्थी १६:२"।
- ↑ Sunday, New Advent
- ↑ The Sealing, सेभेन्थ डे एडभेन्टिस्ट धर्म-सुधार अभियान
- ↑ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज महासचिव, ‘कसैले एकलो महसुस नगर्ने संसार’चाहिँ परमेश्वरको प्रेम’को आधारमा निर्माण हुन्छ, Monthly Chosun, सन् २०२० मार्च