पवित्रस्थान (पवित्र वासस्थान)
पवित्रस्थान भनेको पवित्र ठाउँ हो,[१] जहाँ परमेश्वर मानिसहरूका माझ वास गर्नुहुन्छ । पवित्रस्थानमा परमेश्वरको करारको वचन अर्थात्, दश आज्ञा खोपिएका वास्तविक शिला-पाटीहरू राखिएको थियो, र त्यो ठाउँबाट इस्राएलीहरूले पाप-क्षमा प्राप्त गर्दथे । यो बाहिरी कोठा र भित्री कोठा मिलेर बनेको हुन्छ, र पहिलो पवित्रस्थानचाहिँ पवित्र वासस्थान भन्ने अस्थायी पालको रूपमा रहेको थियो । पछि, स्थायी ठाउँमा निर्माण गरिएपछि यसलाई मन्दिर भन्न थालियो ।
नाम
पुरानो करार बाइबलमा, पवित्रस्थान भन्ने शब्दलाई हिब्रू भाषामा मिक्दास (מִקְדָּשׁ)[२] अथवा कोदेश (קֹדֶשׁ)[३] भनेर लेखिएको छ, जसको अर्थ हो, ‘पवित्र थोक’ हो । पवित्रस्थानलाई, परमेश्वर आफ्ना मानिसहरूका माझमा बस्नुहुने ठाउँ[४] अथवा परमेश्वरको मन्दिर भनिन्थ्यो ।[५]
कहिलेकहीँ पवित्रस्थानले बाहिरी कोठालाई मात्र जनाउँछ, र कहिले चाहिँ यसले बाहिरी र भित्री दुवै कोठालाई जनाउँछ, जसलाई महा-पवित्रस्थान पनि भनिन्छ । खुलाएर भन्नुपर्दा, यसले बाहिरी कोठा र भित्री कोठा रहेको संरचना(पवित्र वासस्थान) अथवा पूरै भवन(मन्दिर)लाई जनाउँछ । पवित्रस्थान बनेपछि, यसलाई पवित्र वासस्थान भन्न थालियो, किनभने यो बाटेको धागोद्वारा बनाइएको पाल थियो । साथै यहाँ परमेश्वरसित भेट गर्न सकिने भएकोले यसलाई भेट हुने पाल पनि भनिन्थ्यो । यो ठाउँमा गवाहीको सन्दूक (करारको सन्दूक) राखिने भएकोले यसलाई गवाहीको पाल पनि भन्ने गरिन्थ्यो ।[६]
पवित्रस्थानको संरचना
मोशाले बनाएको पवित्र वासस्थानचाहिँ चौडाइ ५० हात र लमाइ १०० हात भएको,[७] आयत आकारको अस्थायी मन्दिर थियो, जसलाई हिजोआजका पालहरूजस्तै सजिलैसित ठड्याउन र खोलेर राख्न मिल्थ्यो । इस्राएलीहरू उजाड-स्थानमा हिँडिरहनुपरेकोले तिनीहरूले एक ठाउँमा एउटा स्थायी भवन बनाउन सकेनन् ।
पवित्रस्थानको सबैभन्दा महत्त्वपूर्ण संरचना रहेको पवित्र वासस्थानचाहिँ हेर्दाखेरि एउटा जस्तो देखिन्थ्यो । तर त्यसको भित्री भागमा चाहिँ अगाडिको कोठा(पवित्रस्थान) र पछाडिको कोठा(महा-पवित्रस्थान)लाई अलग गर्ने एउटा पर्दा राखिएको थियो । पवित्रस्थान निर्माण गरिँदा, दिशा तोकिएको थियो: यसको पछाडिको भाग, जहाँ महा-पवित्रस्थान थियो, त्योचाहिँ पश्चिमतिर फर्केको हुनुपर्थ्यो भने यसको अगाडिको भाग, जहाँ प्रवेशद्वार थियो, त्योचाहिँ पूर्वतिर फर्केको हुनुपर्थ्यो ।[८][९]
पछि, यसलाई अस्थायी पालबाट एउटा स्थायी मन्दिरमा सारियो । यद्यपि यसको आधारभूत संरचना र दिशा भने उही नै रह्यो ।
पहिलाको करारमा आराधनाका धर्म-विधि र पार्थिव पवित्रस्थान पनि थिए । एउटा पवित्र वासस्थान तयार भएको थियो, जसको पहिलो कोठाभित्र सामदान, टेबिल र भेटीका रोटीहरू थिए । यसलाई पवित्रस्थान भनिन्थ्यो । दोस्रो चाहिँ पर्दाभित्र महा-पवित्रस्थान भनिने कोठा थियो, जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्दूक थियो । सन्दूकभित्र मन्न राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लहुरो र करारका शिला-पाटीहरू थिए ।
बाहिरी पवित्रस्थान
बाहिरी पवित्रस्थानचाहिँ पवित्रस्थानको ढोकादेखि पर्दाको अगाडिसम्मको भाग हो । त्यहाँ भेटीका रोटीका लागि टेबिल, सुनको सामदान र धूपको वेदी थियो ।
- भेटीको रोटीका लागि टेबिल : यो टेबिल बबुल काठद्वारा बनेको थियो, जसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ डेढ हात थियो । त्यो निखुर सुनले मोहोरिएको थियो र त्यसका चारैतिर सुनको बिट बनाइएको थियो । टेबिलमा उपस्थितिको रोटी(भेटीको रोटी) सधैँ राखिन्थ्यो, अनि सुनका थाल र भाँडाहरू साथै करुवा र कचौराहरू पनि राख्ने गरिन्थ्यो । उपस्थितिको रोटी मसिनो पीठोले पकाएर छ-छ वटाको लहर गरी दुई ताँती टेबिलमा राख्ने गरिन्थ्यो । हरेक शबाथमा, नयाँ रोटी राख्ने गरिन्थ्यो । अनि त्यो रोटीलाई प्रधान पूजाहारी र तिनका छोराले पवित्र वासस्थानको चोकमा बसेर खान्थे ।[१०][११]
- सुनको सामदान : सामदानको दुवैपट्टि ३-३ वटा गरेर जम्मा ७ वटा हाँगाहरू, र प्रत्येक हाँगाको छेउमा बदामको फूलजस्तै एउटा कचौरा राख्ने गरिन्थ्यो । हाँगा, कचौरा, फूल र कोपिलाहरू सबै त्यही एउटै टुक्रा पिटेको निखुर सुनबाट बनाइएको हुनुपर्थ्यो ।[१२] त्यहाँ निखुर सुनले बनेको मोसादानी र सलेदाका चिम्टा राखिनुका साथै सामदानको अगाडि उज्यालो पार्नलाई सात वटा दियो प्रयोग गर्ने गरिन्थ्यो । पूजाहारीहरूले कुटेका भद्राक्षको शुद्ध तेलद्वारा दियोहरू बालेर त्यसलाई साँझदेखि बिहानसम्म राख्ने गर्थे ।[१३]
- धूपको वेदी : योचाहिँ बबुल काठद्वारा बनेको वेदी हो, जसको लमाइ एक हात, चौडाइ एक हात र उचाइ दुई हात थियो । माथिका चारै कुनाहरूमा सीङ थिए, र त्यो निखुर सुनले मोहोरिनुका साथै त्यसका वरिपरि सुनको बिट बनाइएको थियो । प्रत्येक बिहान र साँझ प्रधान पूजाहारीले सुगन्धित मसलाको धूप वेदीमा बाल्ने गर्थे ।[१४]
भित्री पवित्रस्थान (महा-पवित्रस्थान)
योचाहिँ पर्दापछाडिको भित्री भाग हो । यसको लमाइ, चौडाइ र उचाइ बराबर हुन्छ । करारको सन्दूक राखिएको ठाउँ भित्री पवित्रस्थान हो, जहाँ दश आज्ञा राखिन्छ । यो अति पवित्र ठाउँ भएकोले यसलाई महा-पवित्रस्थान भनिन्छ । महा-पवित्रस्थानभित्रचाहिँ कसैलाई पनि प्रवेश गर्ने अनुमति थिएन । वर्षमा एक चोटि, त्यो पनि प्रायश्चितको दिनमा पाप-बलिद्वारा पवित्र तेलले अभिषेक गरिएका प्रधान
पूजाहारी मात्र प्रवेश गर्न पाउँथे ।[१५][१६]
- पर्दा : करूबको बुट्टा भरिएको पर्दाले पवित्रस्थानको भित्री र बाहिरी भागलाई अलग गरेको थियो । भित्री पवित्रस्थानमा प्रवेश गर्नका लागि पर्दा हुँदै जानुपर्थ्यो ।[१७]
- करारको सन्दूक : पवित्र वासस्थानका सामग्रीहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण भाग नै करारको सन्दूक हो । यो बबुल काठले बनेको हुन्छ, र यसको लमाइ साढे दुई हात, चौडाइ साढे एक हात र उचाइ साढे एक हात आधा हुन्छ । यो निखुर सुनले मोहोरिनुका साथै यसमा चारैतिर सुनको बिट बनाइएको हुन्छ । यसका चारै खुट्टामा सुनका चार वटा मुन्द्रा लगाइएको हुन्छ, अनि लेवीहरूले सन्दूक बोक्नका लागि त्यसका दुवैतिर भएका मुन्द्राहरूमा डन्डाहरू हाले । तिनीहरूले गवाहीका शिला-पाटी(दश आज्ञाको शिला-पाटी)लाई करारको सन्दूकभित्र राखे ।[१८]
- सन्दूकको ढक्कन : करारको सन्दूकलाई ढाक्ने त्यो भागलाई ‘सन्दूकको ढक्कन’ भनिन्थ्यो । परमेश्वरले कृपा-आसनको माथि भएका दुई करूबका बीचबाट मोशासित भेट गर्ने कुरा मोशालाई बताउनुभयो । यी करूबहरूले चाहिँ अदनको बगैँचामा जीवनको रूखको पहरा गरिरहेका करूबहरूलाई जनाउँछ । अनि यहाँ भनिएको परमेश्वरको अनुग्रहले चाहिँ, मानिसहरूलाई दिइएको पाप-क्षमालाई जनाउँछ । सन्दूकको ढक्कनलाई ‘कृपा-आसन’ पनि भनिन्छ ।[१९]
पवित्र वासस्थानको चोक
योचाहिँ पवित्र वासस्थान(पूर्वी ढोका)को प्रवेशद्वारबाट प्रवेश गर्दा देखिने ठूलो ठाउँ हो । पवित्र वासस्थानको चोकमा ६० वटा खम्बाहरू र मसिनो गरी बाटेका सूती कपडाका ३०० हात लामो पर्दाले बार लगाइएको हुन्छ । ती खम्बाहरू पाँच हात(लगभग २.२५ मिटर) अग्लो भएकाले, ढोकाद्वारा बाहेक पवित्र वासस्थानभित्र के भइरहेको छ भनी हेर्न असम्भव थियो ।
- होमबलिको वेदी : योचाहिँ परमेश्वरलाई बलिदान चढाउनका लागि काँसाले बनाइएको वेदी हो ।[२०] पूजाहारीहरूले पवित्रस्थानमा प्रवेश गर्न र धूप बाल्नका लागि होमबलिको वेदीबाट आगो ल्याउने गर्थे ।[२१][२२]
- बाटा : योचाहिँ पूजाहारीहरूले हात र गोडा धुने पानीको बाटा हो । यसलाई होमबलिको वेदी र भेट हुने पालको प्रवेशद्वारको बीचमा राख्ने गरिन्थ्यो । पूजाहारीहरूले पवित्रस्थानमा प्रवेश गर्नुभन्दा अघि आफ्ना हात र गोडा धुने गर्थे ।[२३]
पवित्र वासस्थान र इस्राएलको इतिहास
मोशाले सीनै पर्वतमा दश आज्ञाको शिला-पाटी प्राप्त गर्दा परमेश्वरले तिनलाई स्वर्गीय पवित्रस्थान देखाउनुभयो ।[२४][२५] पर्वतबाट ओर्लेपछि मोशाले मानिसहरूलाई परमेश्वरको वचन सुनाए, र पवित्र वासस्थान निर्माण गर्नका लागि सुन, चाँदी, काँसा र बबुल काठ जस्ता विभिन्न भेटीहरू, र सिपालु मानिसहरू आवश्यक पर्ने कुरा बताए ।[२६] इस्राएलीहरूमध्ये राजीखुशीले दिन चाहनेहरू सबैले पवित्र वासस्थान निर्माणका लागि भेटी ल्याए ।[२७] तिनीहरूले हरेक दिन राजीखुशीका भेटीहरू ल्याएकाले पवित्र वासस्थान निर्माण गर्ने सामानहरूचाहिँ चाहिएको भन्दा ज्यादा भयो । तब मोशाले मानिसहरूलाई थप सामान ल्याउन रोके ।[२८] परमेश्वरका आत्माले भरिएका बजलेल र ओहोलीआब, र हरेक निपुण मानिसले पवित्र वासस्थान निर्माण गर्नका लागि करारको सन्दूक, पूजाहारीहरूको पोशाक लगायत सबै गरगहनाहरू बनाए । तब मोशाले ती कामहरू हेरे, र जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो, तिनीहरूले त्यस्तै नै गरे । अनि मोशाले ती सबैलाई आशीर्वाद मागिदिए । प्रस्थानपछिको दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिनमा परमेश्वरले आज्ञा गर्नुभएबमोजिम मोशाले पवित्र वासस्थान निर्माणका लागि गरगहनाहरू ल्याए, अनि करारको सन्दूकमा दश आज्ञा(गवाहीको शिला-पाटी) राखेर चोकको प्रवेशद्वारमा पर्दा टाँगे । तब भेट हुने पाललाई बादलले छोप्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो । दिनमा चाहिँ बादलको खामो र रातमा चाहिँ आगोको खामो भएर परमेश्वरको बादल पवित्र वासस्थानमाथि देखा पर्थ्यो ।[२९] त्यस बेलादेखि सारा यात्राभरि इस्राएलका सबै घरानाहरूले देख्ने गरेर दिनमा बादलको खामो र रातमा चाहिँ आगोको खामोको रूपमा पवित्र वासस्थानमाथि रहिरहन्थ्यो ।
जब पवित्र वासस्थान निर्माण भयो, तब परमेश्वरले भेट हुने पाल(पवित्र वासस्थान)[३०]बाट मोशालाई बोलाउनुभयो, र पवित्रस्थानमा परमेश्वरलाई बलि चढाउने विधि विस्तृत रूपमा सिकाइदिनुभयो । परमेश्वरको वचनअनुसार मोशाले हारून र तिनका छोराहरूलाई पूजाहारी नियुक्त गरे । बलिदान चढाएपछि मोशा र हारून भेट हुने पालभित्र प्रवेश गरे र बाहिर निस्केर मानिसहरूलाई आशीर्वाद दिए । तब परमेश्वरको महिमा सबै मानिसहरूमाझ प्रकट भयो । परमेश्वरको सामुन्नेबाट आगो निस्क्यो र वेदीमा भएको होमबलि र बोसोलाई भस्म पाऱ्यो ।
पछि, हारूनका दुई छोराहरू नादाब र अबीहूले, परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर बलिदान चढाए ।[२१][२२] त्यतिखेर परमप्रभुबाट आगो निस्केर उनीहरूलाई भस्म पाऱ्यो, र उनीहरू परमप्रभुको सामु मरे ।[३१] तिनीहरूको मृत्युपछि, परमेश्वरले हारूनलाई मृत्युबाट बच्नका लागि सन्दूकको ढक्कनको सामुन्ने पर्दाभित्र महा-पवित्रस्थानमा मनपरी नआउन भन्नुभयो (लेवी १६:१-२) ।[३२] अनि पवित्रस्थानमा प्रवेश गर्दा, हारूनले आफ्नो र आफ्नो घरानाको निम्ति प्रायश्चित गर्न र मृत्युबाट बच्नको लागि आगोमा धूप हाल्नुपर्ने कुरा बताउनुभयो । पवित्र वासस्थान निर्माण भएपछि, इस्राएलका बाह्र कुलहरूले उत्तर, दक्षिण, पूर्व, र पश्चिम गरेर चारै दिशामा तीन-तीन वटा कुलका दरले पवित्र वासस्थानको वरिपरि छाउनी हाले । यहूदा, इस्साखार र जबूलूनका कुलहरू पूर्वमा, रूबेन, शिमियोन र गादका कुलहरू दक्षिणमा, एफ्राइम, मनश्शे र बेन्यामीन कुलहरू पश्चिममा, दान, आशेर र नप्तालीका कुलहरू उत्तरमा र लेवीहरू पवित्र वासस्थानको वरिपरि थिए । लेवीको कुललाई पवित्रस्थानको सेवा गर्ने जिम्मा दिइएको थियो, र तिनीहरूले प्रत्येक कुलको आम्दानीको दशांशको हक पाउँथे ।[३३][३४] इस्राएलीहरू प्रत्येकले आ-आफ्नो कुल र परिवारअनुसार छाउनी हाले । जब-जब पालमाथिबाट बादल हट्थ्यो, तब-तब इस्राएलीहरू प्रस्थान गर्थे, र जुन ठाउँमा बादल अडिन्थ्यो, त्यहीँ नै इस्राएलीहरूले पाल टाँग्थे ।[३५] बादल दुई दिन, एक महिना अथवा एक वर्ष, जति लामो समयसम्म पवित्र वासस्थानको माथि रहन्थ्यो, त्यो अवधिभर इस्राएलीहरू प्रस्थान गर्दैनथे ।
मोशाको पालामा बनाइएको पवित्र वासस्थानचाहिँ पछि इस्राएलीहरू कनानको भूमिमा प्रवेश गरेपछि शीलोमा निर्माण गरियो, र परमेश्वरको करारको सन्दूक पवित्र वासस्थानमा राखियो ।[३६] सोलोमनको पालामा, मोरीयाह डाँडामा यरूशलेम मन्दिर स्थापना गरियो, र तिनीहरूले पवित्रस्थानलाई मन्दिरमा सारे ।
पवित्रस्थानको भूमिका र अर्थ
दश आज्ञा, चाडहरू र पवित्रस्थानचाहिँ एउटा अविभाज्य संस्थाजस्तै एक-अर्कासँग अन्तर्सम्बन्धित छन् । परमेश्वरको करारको वचन रहेको दश आज्ञालाई हिफाजतसाथ राख्नको लागि पवित्रस्थानको आवश्यकता थियो, अनि पवित्रस्थामा परमेश्वरको सेवा गर्नका लागि चाडहरूको आवश्यकता थियो । साथै चाडमा चढाइने पाप-बलिद्वारा मानिसहरू शुद्ध भएर दश आज्ञा राखिएको पवित्रस्थान (जीवनको रूख)मा गई जीवन प्राप्त गर्न सक्थे ।
परमेश्वर वास गर्नुहुने ठाउँ
पवित्रस्थानलाई पवित्र ठाउँको रूपमा लिइनुको सबैभन्दा महत्त्वपूर्ण कारणचाहिँ परमेश्वर त्यहाँ वास गर्नुहुने भएकोले हो । पवित्रस्थानलाई परमेश्वर वास गर्नुहुने परमप्रभुको घर भनिन्थ्यो,[४][३७][३८] र त्योचाहिँ परमेश्वर आफ्ना प्रजाहरूसँग वास गर्नुहुन्छ भन्ने कुराको सङ्केत पनि थियो ।[३९][४०] तिनीहरूले त्यो
ठाउँमा परमेश्वरसित भेट गर्ने भएकोले त्यसलाई भेट हुने पाल पनि भनिन्थ्यो ।[४१][४२][४३][४४]
दश आज्ञा राखिएको ठाउँ
परमेश्वरको आज्ञा, दश आज्ञाचाहिँ करारको सन्दूकको महा-पवित्रस्थानको भित्री भागमा राखिएको थियो ।[४५] परमेश्वरले करारको सन्दूकमा दश आज्ञाहरू राखिदिनुभएर त्यसमाथि(सन्दूकमाथि) दुई करूब अर्थात् स्वर्गदूतहरू भएको ढक्कन राखिदिनुभयो । अदनको बगैँचामा जीवनको रूखलाई पहरा गर्ने दुई करूबहरू करारको सन्दूकमा पनि राखिनाले, त्यहाँ जीवनको फल छ भन्ने कुरालाई दर्शाउँछ ।
पापीहरूलाई जीवनको रूखको फल खान निषेध गर्नका लागि अदनको बगैँचामा जीवनको रूखलाई पहरा गर्ने करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिएको थियो । त्यसै गरी महा-पवित्रस्थानमा करारको सन्दूकलाई पहरा गर्ने दुई करूबहरूसित पनि ज्वालामय तरवार थियो । यसकारण यदि कोही जथाभावी करारको सन्दूकको नजिक गयो भने ऊ मारिन्थ्यो । उज्जाहले संयोगवश करारको सन्दूकलाई छुँदा तिनी त्यहीँ मरे ।[४६] त्यसै गरी हारूनका दुई छोराहरूले परमेश्वरको विधिलाई मिचेकाले तिनीहरू आगोद्वारा भस्म भए ।[४७] फेरि भन्नुपर्दा, जीवनको फलको सट्टामा दश आज्ञा दिइएको हुनाले नै येशूज्यूले यस्तो शिक्षा दिनुभयो, “तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने आज्ञाहरू पालन गर ।”[४८]
पाप क्षमा हुने ठाउँ
परमेश्वर वास गर्नुहुने पवित्रस्थानमा पाप क्षमा गरिन्थ्यो । परमेश्वरले जीवनको फलको सट्टामा दिनुभएको दश आज्ञालाई पापीले सीधै ग्रहण गर्न सक्दैनथे । “रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन”(हिब्रू ९:२२)[४९] भनेर लेखिएजस्तै पाप-क्षमाको लागि पाप-बलिको रगत बगाइन आवश्यक थियो । हाबिलको समयदेखि नै, रगत बलि गर्ने रीति मौखिक रूपमा हस्तान्तरण हुँदैआएर मोशाको पालामा यसलाई संहिताबद्ध गरियो । पुरानो करारको समयमा, पूजाहारीहरूले मोशाको व्यवस्थाअनुसार मानिसहरूका पाप-क्षमाको निम्ति पवित्रस्थानमा पशु-बलिको रगत चढाउँथे । शबाथ-दिन र चाडहरूमा चढाइने बलिदानद्वारा, मानिसहरूका पापहरू केही समयको लागि पवित्रस्थानमा सारिन्थ्यो, र अन्ततः प्रायश्चितको दिनमा ती पापहरू छाडा छोडिने बोकामा सारिन्थ्यो । योचाहिँ नयाँ करारको समयमा सन्तहरूको पाप अस्थायी रूपमा ख्रीष्टमा सारिने, र त्यसपछि चाहिँ चाडमार्फत शैतान(दियाबलस)मा सारिने कुराको छाया हो । छाडा छोडिने बोका एकलास ठाउँमा भौंतारिएर मरेसँगै मानिसहरूका सबै पापहरू क्षमा हुन्थ्यो ।
पार्थिव पवित्रस्थान र स्वर्गीय पवित्रस्थान
मोशाले बनाएको पार्थिव पवित्रस्थानचाहिँ स्वर्गीय पवित्रस्थानको नकल र छाया हो ।[२५] पार्थिव पवित्रस्थानमा प्रवेश गरेर जीवनको फल प्राप्त गर्नको निम्ति चाहिँ पाप-बलिको रगतद्वारा पहिला शुद्ध हुनुपर्थ्यो । त्योजस्तै स्वर्गीय पवित्रस्थानमा भएको जीवनको रूखमा जानको निम्ति, थुमा हुनुभएका ख्रीष्टको रगतद्वारा पहिला शुद्ध हुनुपर्छ ।[५०][५१][५२] ख्रीष्टको अनमोल रगतलाई सङ्केत गर्ने सबै चाडहरू मानेमा हामीहरू जीवनमा प्रवेश गर्न सक्नेछौं ।
यो पनि हेर्नुहोस्
बाह्य कडीहरू
सन्दर्भ सामग्रीहरू
- ↑ "sanctuary"। Britannica।
- ↑ "4720. Miqdash or miqqedash"। Bible Hub।
- ↑ "6944. qodesh"। Bible Hub।
- ↑ ४.० ४.१ "प्रस्थान २५:८"।
- ↑ "यर्मिया ५१:५१"।
- ↑ "गन्ती ९:१५"।
- ↑ "प्रस्थान २७:९-१८"।
- ↑ "प्रस्थान २६:२२"।
- ↑ "गन्ती ३:३८"।
- ↑ "प्रस्थान २५:२३-३०"।
- ↑ "लेवी २४:८-९"।
- ↑ "प्रस्थान २५:३१-४०"।
- ↑ "प्रस्थान २७:२०-२१"।
- ↑ "प्रस्थान ३०:१-१०"।
- ↑ "लेवी १६:६-३४"।
- ↑ "हिब्रू ९:१-७"।
- ↑ "प्रस्थान २६:३१-३३"।
- ↑ "प्रस्थान २५:१०-१६"।
- ↑ "प्रस्थान २५:१७-२१"।
- ↑ "प्रस्थान २७:१-८"।
- ↑ २१.० २१.१ "गन्ती १६:४२-४६"।
- ↑ २२.० २२.१ "लेवी १६:१२"।
- ↑ "प्रस्थान ३०:१७-२२"।
- ↑ "प्रस्थान २५:१-९"।
- ↑ २५.० २५.१ "हिब्रू ८:५"।
- ↑ "प्रस्थान ३५:४-१९"।
- ↑ "प्रस्थान ३५:२०-२९"।
- ↑ "प्रस्थान ३५:३०-३६:७"।
- ↑ "गन्ती ९:१५"।
- ↑ "लेवी १:१"।
- ↑ "लेवी १०:१-२"।
- ↑ "लेवी १६:१-२"।
- ↑ "गन्ती ३:५-८"।
- ↑ "गन्ती १८:२१"।
- ↑ "गन्ती २:१-३४"।
- ↑ "यहोशू १८:१"।
- ↑ "भजनसंग्रह १२२:१"।
- ↑ "भजनसंग्रह १३४:१"।
- ↑ "भजनसंग्रह ११४:२"।
- ↑ "हबकूक २:२०"।
- ↑ "प्रस्थान २५:२२"।
- ↑ "प्रस्थान ३१:७"।
- ↑ "प्रस्थान ३३:७"।
- ↑ "गन्ती ११:२६"।
- ↑ "उत्पत्ति ३:२४"।
- ↑ "२ शमूएल ६:६-७"।
- ↑ "लेवी १०:१-२"।
- ↑ "मत्ती १९:१७"।
- ↑ "हिब्रू ९:२२"।
- ↑ "हिब्रू १०:१९-२०"।
- ↑ "प्रकाश २२:१४"।
- ↑ "प्रकाश ७:१४"।