थ्याङ्क्सगिभिङ डे
थ्याङ्क्सगिभिङ डे भनेको फसल दिनुभएका परमेश्वरलाई धन्यवाद दिने अर्थमा विशेष गरेर प्रोटेस्टेन्ट मण्डलीमा मनाइने एउटा चाड हो । यद्यपि थ्याङ्क्सगिभिङ डे बाइबलमा उल्लेखित परमेश्वरको आज्ञा अथवा चाड होइन । योचाहिँ १७औँ शताब्दीतिर बेलायतका प्युरिटनहरू[१] अमेरिकातिर बसाइँ सरेपछि शरदको पहिलो बाली कटनी गरेर परमेश्वरलाई धन्यवाद चढाएका कार्यबाट उत्पत्ति भएको दिन हो ।

थ्याङ्क्सगिभिङ सम्बन्धी बाइबलको अवधारणा
केही मण्डलीहरूले थ्याङ्क्सगिभिङ डेलाई बाइबलमा उल्लेखित अगौटे फलको चाड, साताहरूको चाड र छाप्रो-वासको चाडसँग तुलना गर्दै व्याख्या गर्छन् ।[२][३] तर थ्याङ्क्सगिभिङ डे र बाइबलका चाडहरूबीच कुनै सम्बन्ध छैन । माथि उल्लेखित चाडहरू फसलको कटनीसँग सम्बन्धित भए तापनि ती चाडहरू फरक-फरक मितिमा फरक-फरक तरिकाले मनाइन्छ । साथै ती चाडहरूमा थ्याङ्क्सगिभिङ डेभन्दा बिलकुलै फरक अर्थ रहेको छ । अझ भन्नुपर्दा, पुरानो करारको अगौटे फलको चाड, साताहरूको चाड र छाप्रो-वासको चाडलाई ख्रीष्टले नयाँ करारको समयमा पूर्ण रूपले पूरा गर्नुभयो । बाइबलमा, अगौटे फलको चाडलाई पुनरुत्थानको दिनको रूपमा मनाइन्छ, र सुतिजानेहरूमध्येमा प्रथम फलको रूपमा पुनरुत्थान हुनुभएका येशूज्यूको शक्तिलाई सम्झना गरिन्छ । त्यसै गरी साताहरूको चाडचाहिँ पेन्तिकोसको दिनमा परिवर्तन भयो, जुन दिनमा परमेश्वरले सुरुको मण्डलीमाथि पवित्र आत्मा खन्याउनुभएको थियो । अन्त्यमा छाप्रो-वासको चाडचाहिँ अन्तिम झरी पवित्र आत्माको शक्तिद्वारा परमेश्वरका प्रजाहरू भेला भएपछि पूरा हुन्छ । तसर्थ नयाँ करारको समयमा, यी तीनै वटा चाडहरू फसलको कटनीसँग सम्बन्धित छैनन् । तैपनि कतिपय मण्डलीहरूले नयाँ करारको समयमा समेत ती चाडहरूलाई फसलको कटनीसँग जोड्ने गर्छन् । कारण तिनीहरूले पुरानो करारका चाडहरू र नयाँ करारका चाडहरूलाई वर्गीकरण गर्न जान्दैनन् ।
मानिसको रीतिथिति मान्दै परमेश्वरको आज्ञा इन्कार गर्नेहरूलाई येशूज्यूले नयाँ करार बाइबलमा हप्काउनुभएको छ ।[४] बाइबलमा थ्याङ्क्सगिभिङ डे उल्लेख नगरिएकोले, केही प्रोटेस्टेन्ट ख्रीष्टियानहरूले थ्याङ्क्सगिभिङ डे लगायत क्रिसमस जस्ता मानव निर्मित बिदाका दिनलाई आलोचना गर्ने गर्छन् । यद्यपि बाइबलमा भएको परमेश्वरको वचनलाई पछ्याउने परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले चाहिँ वर्तमान मण्डलीहरूले मान्ने गरेको थ्याङ्क्सगिभिङ डेजस्ता मानिसको नियम मान्दैन ।[२]
थ्याङ्क्सगिभिङ डेको उत्पत्ति
प्युरिटनहरूचाहिँ सन् १६२०मा मेफ्लावर नामक जहाजमा आन्ध्र महासागरको कठिन यात्रा गर्नुअघि, बेलायतको मण्डली (एङ्गलिकन मण्डली)को सतावटबाट उम्कन नेदरल्यान्डतिर भागेका बेलायती प्रोटेस्टेन्ट ख्रीष्टियानहरू थिए । तिनीहरू म्यासेचुसेट्सको केप कोडमा पुगे, र त्यसको नाउँ ‘प्लाइमाउथ’ राखे ।[५]
६५ दिनको जहाजी यात्रापछि नयाँ महादेशमा आइपुगेका तिनीहरूले चिसो मौसम र भोजन अभावको सामना गरे । त्यो समयमा मेफ्लावरमा भएका १०२ जना मानिसहरूमध्ये ४४ जना मरे । जब त्यहाँका स्थानीय अमेरिकी वाम्पानोआग जातिका मानिसहरूले ती प्युरिटनहरूलाई भोजन प्रदान गरी बाली उब्जाउने र खेती गर्ने तरिका सिकाइदिए, तब बल्ल तिनीहरूको अवस्थामा सुधार हुँदैगयो । त्यसको अर्को वर्ष सन् १६२१को अन्त्यतिर, प्युरिटनहरूले तिनीहरूको पहिलो उब्जनीको खुशी मनाउन ती स्थानीय अमेरिकीहरूलाई आमन्त्रण गरे । तिनीहरूले पहिलो कटनीको अन्नबालीसँगै टर्की काटेर चाड मनाउँदै परमेश्वरलाई धन्यवाद चढाए । संयुक्त राज्य अमेरिकामा यो दिनलाई पहिलो थ्याङ्क्सगिभिङ डेको रूपमा लिइन्छ । त्यस बेलादेखि, संयुक्त राज्य अमेरिकामा पहिलो पटक देखा परेको थ्याङ्क्सगिभिङ डेको प्रभावले गर्दा विभिन्न देशहरूमा परम्परागत प्रथाको रूपमा मनाउने गरिएको कटनीको चाडलाई मण्डलीको बिदाको रूपमा मनाउन थालिएको हो ।[६]
देश र धार्मिक सम्प्रदायअनुसार थ्याङ्क्सगिभिङको मिति र विशेषता
देश र सम्प्रदायका आधारमा थ्याङ्क्सगिभिङ डेको उत्पत्ति फरक-फरक छ र यसलाई फरक-फरक तरिकाले मनाउने गरिन्छ ।
- संयुक्त राज्य अमेरिका
- सन् १६२१मा बेलायती उपनिवेशवादी र स्थानीय अमेरिकी मानिसहरूद्वारा आयोजित कटनीको चाडबाट नै थ्याङ्क्सगिभिङ डेको उत्पत्ति भएको हो ।[७] सन् १६२३मा म्यासेचुसेट्स राज्यले थ्याङ्क्सगिभिङ डेलाई बिदाको दिन घोषणा गऱ्यो,[६] र सन् १७८९मा संयुक्त राज्य अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनले नोभेम्बर २६लाई राष्ट्रिय बिदा घोषणा गरे ।[८][९] तर तेस्रो राष्ट्रपति थोमस जेफर्सनले भने थ्याङ्क्सगिभिङ डे बेलायतको चाड हो भनी दाबी गरेर यो दिनलाई अमेरिकाको राष्ट्रिय पात्रोबाट हटाएका हुनाले यसलाई केही राज्यहरूमा मात्र मनाउन थालियो ।[१०] सन् १८४०को दशकतिर, अमेरिकी लेखिका सारा जोसेफा हालेले थ्याङ्क्सगिभिङ क्याम्पेन सुरु गरेर थ्याङ्क्सगिभिङ डेलाई वार्षिक चाडको रूपमा मनाउनुपर्छ भनी आवाज उठाइन् ।[११][१२] सन् १८६३मा अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले गृहयुद्धको बेला, देशभक्ति जगाउनका लागि नोभेम्बर २६ बिहीबारलाई ‘थ्याङ्क्सगिभिङ डे’ घोषणा गरे ।[१३] अहिलेचाहिँ थ्याङ्क्सगिभिङ डे नोभेम्बर महिनाको चौथो बिहीबार मनाइन्छ, जुनचाहिँ सन् १९४१मा काङ्ग्रेसको संयुक्त प्रस्ताव र राष्ट्रपति फ्र्याङ्कलिन डि. रुजबेल्टद्वारा जारी गरिएको घोषणा थियो । प्रत्येक वर्ष यो दिनमा, अमेरिकी सहरहरूले परेड र अन्य कार्यक्रमहरू गर्छन् ।[७]
- क्यानाडा
- सन् १५७८मा, मार्टिन फ्रोबिसरको नेतृत्वमा भएको सफल अभियानको सुरक्षित यात्राको सम्झनामा क्यानेडियन थ्याङ्क्सगिभिङको उत्पत्ति भयो । थ्याङ्क्सगिभिङ चाहिँ सन् १८७९मा क्यानेडियन काङ्ग्रेसद्वारा स्थापना भएको थियो र यो, अक्टोबरको दोस्रो आइतबारमा मनाइयो, जुनचाहिँ संयुक्त राज्य अमेरिकाको भन्दा १ महिनाअघि थियो ।[७] संयुक्त राज्य अमेरिकामा जस्तै, क्यानाडामा पनि परिवार र साथीभाइ भेला भएर टर्की, क्र्यान्बेरी सस र फर्सीको केक जस्ता परिकारहरू खाने चलन छ ।[१४]
- स्विट्जरल्यान्ड
- स्विट्जरल्यान्डका प्रोटेस्टेन्ट धर्म सुधारकहरूले यसलाई सेप्टेम्बरमा मनाए, र त्यो अहिलेसम्म चलिरहेको छ ।[१५]
- नेदरल्यान्ड
- नेदरल्यान्डमा थ्याङ्क्सगिभिङ चाहिँ नोभेम्बरको पहिलो आइतबारपछि आउने बुधबारमा मनाइन्छ ।[१६]
- जर्मनी
- जर्मन थ्याङ्क्सगिभिङ डे, जसलाई ‘अर्न्टेडाङ्काफेस’(Erntedankfes) भनिन्छ, योचाहिँ सामान्यतया अक्टोबरको पहिलो आइतबारमा मनाइन्छ । तर अङ्गुर र बियर जस्ता क्षेत्रीय विशेष उत्पादनद्वारा यो चाड मनाइने भएकोले क्षेत्रअनुसार मिति फरक हुन्छ ।[१७] जर्मनीको सुसमाचार प्रचार मण्डलीमा सेन्ट माइकल दिवस(सेप्टेम्बर २९)पछि आउने आइतबारलाई थ्याङ्क्सगिभिङ डेको रूपमा मनाइन्छ ।[१८][१९][२०]
- दक्षिण कोरिया
- कोरियामा प्रेस्बिटेरियन र मेथोडिस्ट मण्डलीहरू लगायत अधिकांश प्रोटेस्टेन्ट मण्डलीहरूले नोभेम्बरको तेस्रो आइतबारलाई थ्याङ्क्सगिभिङ डेको रूपमा मनाउँछन् । कोरियाली मण्डलीहरूले यस अमेरिकी बिदाको दिन मनाउन थाल्नुको कारणचाहिँ अमेरिकी मिसनरीहरूको प्रभावले गर्दा हो, जो कोरियामा प्रचार गर्न थालेको प्रभावले थियो । सन् १९०४मा कोरियाका प्रेस्बिटेरियनहरूको सम्मेलनले सौर्य पात्रोअनुसार नोभेम्बर ११लाई थ्याङ्क्सगिभिङ डेको रूपमा मान्ने निर्णय गऱ्यो । त्यसपछि सन् १९०८मा, यो दिनलाई नोभेम्बर महिनाको अन्तिम बिहीबार मनाउने निर्णय गरियो, अनि फेरि सन् १९१४मा नोभेम्बर महिनाको तेस्रो बुधबारमा मान्ने निर्णय गरियो । योचाहिँ ख्रीष्टियान मिसनरी पहिलो पटक कोरियामा आएको दिनलाई सम्झना गर्नलाई बनाइएको दिन थियो । सन् १९२१मा प्रेस्बिटेरियन र मेथोडिस्ट संयुक्त परिषदको बैठकद्वारा, नोभेम्बरको दोस्रो बुधबारमा मनाउने निर्णय भएपछि देशभरिका प्रोटेस्टेन्ट मण्डलीहरूले यो चाड मनाउन थाले ।[१८][२] धार्मिक क्षेत्रमा आबद्ध केही मानिसहरूले “अमेरिकी थ्याङ्क्सगिभिङ कोरियामा चाहिँ किन मान्नुपऱ्यो र ?” भनेर प्रश्न उठाएका हुनाले, तिनीहरूले यसलाई कोरियाको परम्परागत कटनीको चाड रहेको छुसकतिर मनाउने सल्लाह दिए । केही ठूला मण्डली वा सम्प्रदायहरूले चाहिँ आफ्नो पादरी कार्यतालिकासँग मिलाएर हरेक वर्ष अक्टोबरदेखि नोभेम्बरसम्म आफैले मिति तोक्ने गर्छन् ।
- क्याथोलिक मण्डली
- क्याथोलिक मण्डलीले विश्वव्यापी अथवा आधिकारिक रूपमा थ्याङ्क्सगिभिङ डे मान्दैन ।[१९][२१] पुनरुत्थानको दिनपछिको ४०औँ दिनमा, तिनीहरू ‘स्वर्ग उचालिनुभएको दिन’अघि राम्रो फसलका लागि तीन दिने चाड मनाउँछन् ।[१८] दक्षिण कोरियामा चाहिँ शरदमा कटनीको समय अर्थात् छुसकमा पुर्खाहरूका लागि टेबिलमा खानेकुराहरू राखेर थ्याङ्क्सगिभिङ मनाइन्छ ।[२२][२३] अनि कहिलेकहीँ, ‘राजा हुनुभएका ख्रीष्ट’को चाडको आधारमा क्याथोलिक पात्रोअनुसार वर्षको अन्तिम आइतबारमा थ्याङ्क्सगिभिङ डे मनाइन्छ ।[२४]
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ "प्युरिटन्स"। Encyclopedia.com। मे २३, २०१८।
- ↑ २.० २.१ २.२ छाप्रो-वासको चाड र थ्याङ्क्सगिभिङ डेबीच कुनचाहिँ सही हो ?, WATV.org
- ↑ साधारण बाइबलीय निर्देशनहरू, अगौटे फल : विश्वभरिबाट स्टिवार्डसिप विचार र कहानीहरू, पल आर्. लिन्डहोम, पेज ८१
- ↑ "मर्कूस ७:६:७"।
- ↑ "प्लाइमाउथ कोलोनी"। Encyclopedia.com। जुन ८, २०१८।
- ↑ ६.० ६.१ सन् २०२२ थ्याङ्क्सगिभिङ, History.com, अक्टोबर २७, २००९
- ↑ ७.० ७.१ ७.२ थ्याङ्क्सगिभिङ डे Britannica
- ↑ थ्याङ्क्सगिभिङ डे, इतिहासमा आज - नोभेम्बर २६, LIBRARY OF CONGRRESS
- ↑ सन् १७८९, संयुक्त राज्यको तथ्य र मिति, लिओनल दे लिओन, सन् २०१२ पेज ९
- ↑ "अमेरिकामा, एक ताका थ्याङ्क्सगिभिङचाहिँ लडाइँ शब्द थियो"। Los Angeles Times। नोभेम्बर २३, २०१७।
- ↑ सारा जोसेफा हेल : थ्याङ्क्सगिभिङकी गड-मदर, सन् २०२१ अक्टोबर २८, Almanac.com
- ↑ "थ्याङ्क्सगिभिङ डे सधैँ त राष्ट्रिय बिदा थिएन, यी महिलाले यसो हुने गराएकी हुन्"। HISTORY, TIME। नोभेम्बर २३, २०१६।
- ↑ "लिङ्कन र थ्याङ्क्सगिभिङ"। National Park Service।
- ↑ "क्यानाडियन थ्याङ्क्सगिभिङबारे १५ रोचक तथ्य"। Modern Mississauga। सेप्टेम्बर २०, २०२२।
- ↑ संघीय उपवासको दिन सन् २०२३, २०२४ र २०२५ Fast Day 2023, 2024 and 2025, Public Holidays Global
- ↑ थ्याङ्क्सगिभिङको कथा : कसरी अमेरिकामा नेदरल्यान्डले भूमिका खेल्यो, DutchNews.nl, November 20, 2017
- ↑ ""विश्वभरिका अन्य १५ वटा देशहरूले यसरी थ्याङ्क्सगिभिङ मनाउँछन्"। ati। नोभेम्बर ७, २०२१।
- ↑ १८.० १८.१ १८.२ यदि छुसक बिदाको दिन हो भने, जर्मनहरूको कटनीको पर्व एउटा उत्सव हो, Asia Economy, September 22, 2010
- ↑ १९.० १९.१ थ्याङ्क्सगिभिङ डे, Encyclopedia of Korean Culture
- ↑ हिटलरको छायामा प्रचार : तेस्रो रेइचमा प्रतिरोधको प्रवचन, Dean G. Stroud, पेज ९५
- ↑ कोभिड १९का कारण थ्याङ्क्सगिभिङ ओरालो लाग्दै, यो कसरी छुसकभन्दा फरक छ ?, Asia Economy, October 1, 2020
- ↑ थ्याङ्क्सगिभिङ डेको मास, Catholic Guide
- ↑ [FunFun Precedent] (36) पैतृक रीतिरिवाज टेबलसहित हान्गावी मास, Catholic Newspaper, सन् २०१६ सेप्टेम्बर ११
- ↑ Suwon Diocese, किसान पादरी कमिसन थ्याङ्क्सगिभिङ मास, Catholic Newspaper